हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
ऋतुराज

ऋतुविचार

किन नहुने मानव कर्तव्य सङ्घ?

भन्छन् नेपालमा ३० हजारभन्दा बढी गैरसरकारी संस्थाहरू दर्ता छन्। ९०० नेपालीको भागमा एउटा गै.स.स. पर्छ। यो केही महिनाअघिको आँकडा हो। अहिले यो सङ्ख्या बढेर अझै धेरै भएको हुनुपर्छ। संस्था दर्ता हुने काम देशभरि नै दिनहुँजसो भइरहेछ। हुनै पनि पर्‍यो! प्रत्येक ९ जना नेपालीका लागि एउटा संस्था नपरेसम्म त के मजा भयो र!

जेहोस्, मौजुदा दर्तावाल संस्थाहरूमा सयौँ संस्थाहरू त मानवअधिकार संरक्षणसित सम्बन्धित छन्― मानवअधिकार, जनाधिकार। यो अधिकार, त्यो अधिकार।

हामीले नागरिकशास्त्रको प्रारम्भिक पाठमा पढेको कुरा के हो भने अधिकार र कर्तव्य भनेका एउटै सिक्काका दुई पाटा हुन्। यो कहावत सके सिक्का मात्रै प्रचलनमा हुँदा बनेको हुँदो हो। तर कागजी (अचेल प्लास्टिक पनि) नोटकै उदाहरण दिने हो भने अधिकार र कर्तव्य एउटै नोटका दुई पाटा हुन्। हात्ती, हरिण या गैँडाको तस्बिर एकापट्टि हुने अनि राजाको तस्बिर भएतिरको पाटो चाहिँ सपाट खाली हुने त हुन सक्तैन।

त्यसैले भन्न सकिन्छ, जहाँ अधिकार हुन्छ त्यहाँ कर्तव्य हुन्छ अथवा जहाँ कर्तव्य हुन्छ त्यहाँ अधिकार हुन्छ। तर अहँ, हाम्रो देश नेपालमा त केवल एउटै कुरा छ― अधिकार, अधिकार, अधिकार! कर्तव्यको नाम कतै छैन।

त्यसकारण भाषाविद् प्राध्यापक डा. नोवलकिशोर राईको प्रश्न छ मानव कर्तव्य सङ्घ गठन किन गरिँदैन? किन अधिकार सङ्घ मात्र? मानव कर्तव्य संघ वा सङ्गठन बनेको खण्डमा डा. राई आफ्नो सम्पूर्ण बुद्धिवर्कत लगाएर त्यस्तो संस्थाको स्वेच्छिक सेवा गर्न तत्पर छन्।

वास्तवमा यो प्रसङ्ग उनकै उत्प्रेरणा र प्रोत्साहनमा यहाँ उठाइएको हो। किनभने उनको कथन सान्दर्भिक र मननीय छ।
छन् कोही उनको यस चुनौतीलाई स्वीकारेर उनलाई त्यस्तो कर्तव्यपरायण संस्थाको भोलेन्टियर बनाउन सक्ने?

प्रकाशकका तस्बिर
केही पेशा या काम यस्ता हुन्छन् जो मानिसका आँखामा हम्मेसी पर्दैनन्। उनीहरूको काम महत्त्वपूर्ण हुन्छ, तर उनीहरूले पर्दापछाडि रहेर काम गर्नुपर्ने हुन्छ। उदाहरणका लागि भनौं न, सिनेमाटोग्राफर या फिल्म बनाउन पैसा लगानी गर्ने निर्माता। सिनेमाटोग्राफर र निर्माता नभई सिनेमा बन्दैन। तर, वाहवाही हुन्छ पर्दामा देखा पर्ने हिरो र हिरोइनको। उनीहरूलाई सबैले चिन्ने, सबै उनीहरूकै प्रशंसा गर्ने। सिनेमाटोग्राफर र निर्माताको नाम त तपसिलमा आउने। उनीहरूको अनुहार कसैले नचिन्ने।

अखबार मालिक वा प्रकाशक हुनु पनि करिब–करिब फिल्मको प्रोड्युसर हुनु जस्तै हो। पाठकले चिन्छन् सम्पादक र रिपोर्टरलाई। प्रकाशक भइखानेलाई कसैले नचिन्ने?

त्यसै भएर प्रकाशकहरू पनि मौका पर्नासाथ या जानाजान मौका मिलाएर आफ्नो तस्बिर अखबारको पानामा छपाउन चुक्दैनन्।
अहिले एउटा दैनिक अखबारका प्रकाशकहरू आफ्नो तस्बिर पालैपालो आफ्नो पत्रिकामा छपाइरहेछन्। साउनको झरी के पर्‍यो, बाढी आयो। बाढी के आयो, दक्षिणको समतलभूमि डुबानमा पर्‍यो। बाढी पीडितका लागि राहत कार्य शुरु भयो। अनि त्यस अखबारले पनि राहतका लागि चन्दा जम्मा गर्ने काम शुरु गर्‍यो। साना रकम दिनेको नाम र ठूलो रकम दिनेको फोटो नै अखबारमा छापिने भयो। दाताले चेक दिने, प्रकाशकले चेक थाप्ने अनि फोटो अखबारमा छापिने। एउटै प्रकाशन कम्पनीमा धेरै डाइरेक्टर हुन्छन्, पालैपालो चेक बुझ्ने अनि फोटो छपाउने। क्या रमाइलो!

अझ एउटा अङ्ग्रेजी दैनिक अखबारका वारिसे प्रकाशक त आफ्नै कर्मचारीलाई स्याबासीको प्रमाणपत्र दिंदै गरेको, आफूले आयोजना गरेको पार्टीमा पाहुनाहरूसँग कुरा गर्दै गरेको अवस्थाको क्यामेरातिर ट्वाल्ल परेर हेरेको तस्बिर बरोबर छापिरहन्छन्। त्यस अखबारले फुड फेस्टिबल, फेशन–शो, म्युजिक कन्सर्ट इत्यादि पनि आयोजना गर्ने गर्दछ। त्यस्तोमा प्रकाशक भइखाएको मान्छेलाई आफ्नो तस्बिर छाप्ने राम्रो मौका मिल्दछ। अचेलभरि तिनको तस्बिर छापिने रफ्तार कम भएको छ। शायद देशबाहिर कतै गए हुनन्।

हुन पनि हो, अखबार छाप्न पैसा लगानी गर्ने प्रकाशकहरू। पत्रकारहरू र सम्पादकलाई तलब दिने उनीहरू। अनि उनीहरूकै तस्बिर चाहिँ नछापिने?

घट्दैन बढेको उमेर र जनसङ्ख्या
सडक गाडीहरूले खचाखच रहन्छ, फुटपाथ मानिसहरूको भीडले। शहरबीचको कुनै पनि ठाउँमा एकाध किलोमिटर हिँड्नुपर्‍यो भने मानिसको जुधाइ र ठोक्काइले जीउ थङ्थिलो हुन्छ। यसै पनि हामीकहाँ अर्कालाई नधकेली, नघचेटी र नछोइकन हिँड्ने कसैको बानी छैन। छेउबाट हिँड्नेको, पछाडिबाट उछिन्नेको, अघिल्तिरबाट आउनेको धक्कमधक्का खानु अनिवार्य छ। यस्तो छ हालत राजधानीका सडक, बाटो–चौबाटो टोल–मुहल्लाहरूको अचेल। जहाँ जाउ, जता जाउ मानिसहरूको उर्लंदो भीड छ। कसैको धक्का नखाई बाटामा हिँड्नै सकिँदैन।

कुनै बेला थियो कतै टाढा होइन हिन्दूस्तानको कलकत्ता, बम्बई, दिल्लीको त के कुरा त्यहीँ गोरखपुर र पटना शहर पुगेर आउँदा पनि काठमाडौँ खुला–खुला शून्य–शून्य लाग्दथ्यो। यहाँका सडकमा मानिस हिँडेको, गाडी, रिक्सा वा ठेलागाडा चलेको देख्दा 'स्लो मोसन' को फिल्म हेरे जस्तो लाग्दथ्यो।

तर अचेलभरि सबै थोक बदलिएको छ। अब काठमाडौँ देखिसकेको मानिस बाहिरको कस्तै ठूलो शहरमा गएर पनि आत्तिदैन। कलकत्ताको बडाबजार, दिल्लीको चाँदनीचोक या बम्बईको भिक्टोरिया टर्मिनल यहीँका बागबजार, चाबेलचोक र रत्नपार्क बनेका छन्।
देशमा चर्केको द्वन्द्वका कारण गाउँघरका मानिस यहाँ थुप्रिएका हुन्। द्वन्द्व साम्य भएपछि फर्कनेछन्। जान्नेहरू त्यसै भन्ने गर्थे र हामीले पत्याएका थियौँ।

तर खोई त को फर्केर गए? काठमाडौँको भीड एक थोपा घटेको छैन, बरु बढेको पो छ। यहाँ मात्र होइन हरेक साना–ठूला बजार र नगरमा उस्तै भीडभाड देखिन्छ। गाउँ पनि कल्पना गरे जस्तो खाली र शून्य छैन।

त्यसैले योजनाकारहरू, भ्रममा नपर्नुहोस् र अरूलाई पनि भ्रममा नपार्नुहोस्। जस्तोसुकै शान्ति आओस् यो भीड घट्नेवाला छैन। एकपल्ट बढेको उमेर र जनसङ्ख्या कतै घट्छ? ?