हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट समाज

खुल्दैछन् महिला समलिङ्गी

विस्तारै सार्वजनिक हुँदै आएका महिला समलिङ्गीहरू सङ्गठित भएर आफ्ना हक, अधिकारका कुरा उठाउन थालेका छन्।

डम्बरकृष्ण श्रेष्ठ

काभ्रेकी मीना नेपाली (२२) र बौद्धकी सीमा सापकोटा (२०) श्रीमान्–श्रीमतीका रूपमा बस्छन् (तस्बिर)। श्रीमान्को भूमिका निर्वाह गरेकी मीना ब्वाइज कट् कपाल काट्छिन् र पैण्ट–सर्ट लगाउँछिन्।
एकअर्का बिना बाँच्न नसक्ने प्रतिज्ञा गरेका सरिता चौधरी (२०) र निकिता चौधरी (१७) को सम्बन्धलाई घरपरिवारले स्वीकार नगरेपछि उनीहरू सुनसरीको खनारबाट भागेर काठमाडौँ आएका छन्।
पाँच वर्षअघि समलिङ्गी महिला जोडीका रूपमा नेपालमा पहिलो पटक सार्वजनिक भएका हेटौँडाका मीरा बज्राचार्य (२८) र लक्ष्मी घलान (२८) ले समाजमा आफ्नो हक–अधिकार स्थापित गर्न काठमाडौँमा 'मितिनी नेपाल' नामक नेपाली समलिङ्गी महिलाहरूको सङ्गठन स्थापना गरेका छन्। भर्खरै मात्र बालुवाटारमा कार्यालय खोलेको मितिनीले आफ्ना सदस्यहरूलाई आत्मनिर्भरतासम्बन्धी प्रशिक्षण दिँदै आएको छ।

यी जोडी नेपाली समलिङ्गी महिला समुदायका केही नाम मात्र हुन्। पुरातन सामाजिक, धार्मिक र सांस्कृतिक परिवेश, घरपरिवार तथा कानूनको डरले गुपचुप रहेका महिला समलिङ्गीहरूको समाजका हरेक वर्ग, पेशा, व्यवसायमा ठूलै जमात देखिँदैछ।

यौन सम्बन्धका लागि परस्पर आकर्षित हुने एउटै लिङ्गका व्यक्तिहरूलाई समलिङ्गी भनिन्छ। यीमध्ये पुरुषप्रति आकर्षित हुने पुरुषलाई पुरुष समलिङ्गी अर्थात् 'गे' र महिलाप्रति आकर्षित हुने महिलालाई महिला समलिङ्गी अर्थात् 'लेस्वियन' भन्ने गरिन्छ। 'लेस्वियन' शब्दको उत्पत्ति ग्रीक टापु 'लेसवीस' बाट भएको हो, जहाँ इसापूर्व छैटौं शताब्दीमा महिलाहरूबीचको प्रेम सम्बन्धबारे कविता लेख्ने साफो नामकी एक शिक्षिकाले युवतीहरूका लागि विद्यालय स्थापना गरेकी थिइन्। त्यसैबेलादेखि लेसवीसमा बस्ने र साफोका अनुयायीहरूलाई लेस्वियन भन्न थालिएको हो।

पुरुष समलिङ्गीहरूको संस्था 'ब्ल्यू डाइमण्ड सोसाइटी' ले नेपालमा पुरुष समलिङ्गीहरूको सङ्ख्या ७० हजार बताएको छ। तर, महिला समलिङ्गीहरूको यकिन तथ्याङ्क कसैसँग छैन। १८ साउनमा काठमाडौँमा पहिलो पटक पत्रकार सम्मेलन गरेर मितिनी नेपालले उपत्यकाका १२ सय महिला समलिङ्गी आफ्नो सम्पर्कमा आएको जानकारी दिएको छ, जसमा सरकारी–गैरसरकारी सेवा, शिक्षा, खेलकुद, चलचित्र, सङ्गीत, साहित्य आदि धेरै क्षेत्रका महिला छन्। मीना भन्छिन्, “सबै खुलेर आउन चाहँदैनन्, किनभने आफू समलिङ्गी भएको कुरा खोलेपछि उनीहरूले घर–परिवार, जागिर छाड्नुपर्ने र समाजको छि–छि दूर–दूर सहनुपर्ने हुन्छ।” उनका अनुसार सरकारी कार्यालयहरूमा समलिङ्गी महिलाहरूलाई कारबाही गरिँदा 'नैतिक चरित्र ठीक नभएको' भन्ने आरोप लगाइन्छ।

मितिनीकी अध्यक्ष मीना काठमाडौँ बाहिरका धेरै महिलाहरू आफ्नो सम्पर्कमा आइरहेको बताउँछिन्। मितिनीको सम्पर्कमा आएका समलिङ्गी महिलाहरू १३ देखि ६४ वर्षका छन्। समलैङ्गिक सम्पर्क प्राकृतिक नै भएकोले यसको गुण ६–७ वर्षको उमेरदेखि नै देखा पर्ने लक्ष्मी घलान बताउँछिन्।

सरिता चौधरी

महिला–महिला या पुरुष–पुरुषबीचको अन्तरङ्ग सम्बन्धलाई समाज र राज्यले सामान्य रूपमा नलिने हुनाले समलिङ्गी महिलाहरू अझै खुलेर आउन नसकिरहेको बेला हालैको एउटा घटनाले उनीहरूप्रति राज्य र समाजको धारणा बदलिन थालेको हो कि भन्ने सङ्केत गरेको छ। समलिङ्गी भएको आधारमा नेपाली सेनामा कार्यरत एक महिला जोडीलाई थुनेर यातना दिई जागिरबाट निकालिएको एउटा घटना सञ्चारमाध्यममा आएपछि उनीहरूलाई पुनर्वहाली गर्न लागिएको छ। सेनाले घटनाबारे अरू प्रचार होस् भन्ने नचाहेकोले दुईमध्ये एक पीडितसँग हिमाल ले भेट्दा उनले केही बोल्न मानिनन्।

नेपाली सेनामा जस्तो घटना नेपाल प्रहरीमा पनि छ। तर यसअघि प्रकाशमा आएका यस्ता घटनाका परिणाम सुखद् थिएनन्। दुई वर्षअघि नेपालगञ्जमा कार्यरत एक महिला प्रहरीले केटीसँग विवाह गरेको थाहा भएपछि उनको जागिर खोसियो। त्यसको वर्ष दिनअघि बारामा प्रहरी जवान लक्ष्मी गिरीले लेस्वियन जोडी बनाएपछि पाएको सामाजिक दुर्व्यवहार खप्न नसकेर आत्महत्या गरिन्। अर्की एक महिला प्रहरी समलिङ्गी भएको आरोपमा जागिरबाट निकालिएपछि माओवादी छापामार बन्न पुगेकी थिइन्।

आफ्नो जोडीको जबर्जस्ती विवाह गरिदिएपछि तीन वर्षअघि बाराकी एक समलिङ्गी महिलाले आत्महत्या गर्ने प्रयास गरेकी थिइन्। तीन वर्षअघि एक भारतीय महिलासँग समलैङ्गिक विवाह गरेर परिवारबाट अलग भई स्वयम्भूमा बस्दै आएकी कल्पना परियारले आफ्नो जोडीसँगै आत्महत्या गरिन्। उनले मर्नुअघि लेखेको पत्रमा भनिएको थियो, “जुन देशमा हामी जस्ता समलिङ्गीको विवाहले मान्यता पाउँछ, त्यही देशमा फेरि सँगै जन्मन पाऊँ।

राम्री केटी देख्दा हुरुक्कै!

अस्मिता थापा

समलिङ्गी महिलाहरूलाई केटा भन्दा केटी राम्रा लाग्छन्। केटालाई उनीहरू यौनसाथी बनाउन चाहँदैनन्। तनहुँकी बेलु गुरुङ (२४) भन्छिन्, “राम्री केटी देख्दा हुरुक्कै भइन्छ, त्यो केटी कति राम्री एकपटक 'हग' गर्न पाए नि हुन्थ्यो जस्तो लाग्छ। केटाहरूको त वास्तै लाग्दैन।”

समलिङ्गी पनि हुने र केटासँग सम्बन्ध पनि राख्ने केटीहरू पनि उनीहरूलाई मन पर्दैनन्। शारीरिक सम्बन्धका बेला पुरुषको भूमिकामा रहने र पुरुषकै जस्तो नाम राखेकी उनकी एउटी साथी म्याग्दीकी बद्री मगर (३२) भन्छिन्, “त्यस्ती केटीहरूलाई हामी हेर्दा पनि हेर्दैनौँ।”

काठमाडौँमा बेलुका धेरै समलिङ्गी साथी छन्। अहिलेसम्म कसैलाई जोडी बनाई नसकेकी उनी मन र कुरा मिल्यो भने डेरा र छात्रावासमा बस्ने लेस्वियन विद्यार्थी साथीहरूसँग शारीरिक सम्पर्क गर्न गाह्रो नहुने बताउँछिन्। मितिनीको कार्यक्रम संयोजक रहेकी बेलु भन्छिन्, “केटीहरूसँग कुरा गर्दागर्दै हामी ऊ कस्ती हो भनेर चिन्छौँ। अरू कतिले पनि लेस्वियन भन्ने ठम्याएर आफैँ बोलाउँछन्।” समलिङ्गी महिलाहरू आफूले देहव्यापार भने नगर्ने र साथीहरूलाई रेष्टुरेण्ट, पार्कहरूमा अरू प्रेमी–प्रेमिका सरह 'डेटिङ' मा भेट्ने गरेको बताउँछन्। दुवै महिला भएकाले यौनाङ्ग एकैखाले भएपनि यौन सन्तुष्टिका लागि एकअर्काबीच योनीघर्षण, मुख मैथुनका साथै लेस्वियनहरूका लागि बनेका यौन सामग्रीहरूको प्रयोग समेत गर्ने गर्छन्।

बद्री मगर बक्सिङ र कराँते खेलाडी हुन्। हाल एक प्रमुख राजनीतिक पार्टीसँग सम्बद्ध उनी भविष्यमा राजनीतिमै लाग्ने चाहना राख्छिन्। बद्रीकी यौनसाथी काठमाडौँको एक सरकारी कार्यालयमा काम गर्छिन्। बद्री भन्छिन्, “जागिरबाट निकालिने र समाजको डरले गर्दा उनी खुलेर आउन चाहन्नन्।” कराँते खेलाडी नै रहेकी मितिनी नेपालकी निर्देशक लक्ष्मी अहिले खेलकुद छाडेर समलिङ्गी महिलाहरूलाई सङ्गठित गर्ने अभियानमा जुटेकी हुन्।

अस्मिता थापा

महिला फूटबलकी पूर्व राष्ट्रिय खेलाडी पोखराकी अस्मिता थापा (२८) को जोडी खेलाडी नै रहेकोले कसैले शङ्का गर्दैनन्। उनीहरू नेपालमा महिला समलिङ्गी भनेर कोही नखुलेको अवस्थामा १५–१६ वर्षको उमेरदेखि नै शारीरिक सम्पर्क राख्दै आएका थिए। तर अस्मिता अहिले सात वर्षदेखि रोजगारीका लागि दक्षिण कोरिया गएकी यौनसाथीलाई श्रीमतीले श्रीमान् पर्खेझैँ गरी बाटो हेरेर बसेकी छन्। उनी भन्छिन्, “टेलिफोनमा कहिलेकाहीँ कुरा हुन्छ।”

छोरी समलिङ्गी भएको थाहा पाएपछि प्रायः सबै अभिभावकले केटा खोजेर तुरुन्तै विवाह गरिदिन्छन्। तर धेरैको पुरुषसँगको दाम्पत्य जीवन सफल हुँदैन। जबर्जस्ती यस्तो विवाह गराइएका महिलाहरू श्रीमान्बाट छुट्टिन चाहन्छन्। हालै सामाखुसीको एक दम्पतीबीच भएको खटपट सोह्रखुट्टे थाना हुँदै नेपाल प्रहरीको महिला सेलमा पुगेको छ। यस घटनाकी जानकार बद्री भन्छिन्, “श्रीमती आफूसँग सुत्न मन नगर्ने हुनाले श्रीमान्ले कोकमा निद्रा लाग्ने औषधि मिसाएर पिलाई जबर्जस्ती शारीरिक सम्पर्क गर्ने गरेको रहेछ।” सम्बन्धबिच्छेद गर्न चाहने ती महिलासँग एक–दुईपटक कुरा गर्दा बद्रीलाई उनका श्रीमान्ले आफ्नी श्रीमती बिगार्न लागेको आरोप लगाएका थिए।

समलिङ्गी सम्बन्ध राख्ने महिलाहरूमा नेपाली चलचित्र क्षेत्रकी एक चर्चित नायिका पनि छिन्। क्याम्पस अध्ययन गर्दादेखि समलिङ्गी रहेकी उनी चलचित्र क्षेत्रमा प्रवेश गरेपछि भने उनी विपरित लिङ्गी भएकी अरू समलिङ्गी महिलाहरू बताउँछन्।

परिवार र समाजको प्रतिरोध

पहिलो पटक खुलेर बाहिर आउने समलिङ्गी महिला जोडी मीरा बज्राचार्य र लक्ष्मी घलान।

समलिङ्गी यौनसम्बन्ध राख्न मन पराउने महिला–पुरुषहरू भर्खरै मात्र देखा परेका होइनन्। कैयन् पौराणिक धार्मिक ग्रन्थहरूमा समेत समलिङ्गीको वर्णन गरिएको पाइन्छ।

समाजमा गुपचुप समलिङ्गी सम्बन्ध राखेर बसेका महिला–पुरुष प्रशस्तै भए पनि २०४७ सालमा पहिलो पटक पोखराका चीजा गुरुङ र मीरा मकाजू खुला रूपमा समलिङ्गी जोडी भएर बस्न खोज्दा अभिभावकद्वारा छुट्याइएर चर्चामा आएका थिए। त्यस घटनाकी जानकार बद्री मगर भन्छिन्, “मीरालाई उनको परिवारले चीजासँग खोसेर लगेपछि हामी फेरि उनलाई खोस्न गएका थियौँ। तर, हामीमाथि उल्टै केटी बेच्ने आरोप लाग्यो।” बद्रीका अनुसार छुट्याइएपछि चुरोट र रक्सीको लतमा फँसेकी चीजा विदेशतिर लागेकी थिइन्।

पहिलोपटक समलिङ्गी विवाह गर्ने चिजा र मीराको असफल प्रयासपछि लामो समयसम्म नेपाली समलिङ्गी महिलाहरू खुलेर देखा परेनन्। पाँच वर्षअघि मात्रै ब्लू डाइमण्ड सोसाइटीको सम्पर्कमा आएका हेटौँडाका मीरा बज्राचार्य र लक्ष्मी घलान खुला भए। वर्षौँदेखि यस रूपमा बस्दै आए पनि ब्लू डाइमण्ड सोसाइटीको सम्पर्कमा नआएसम्म उनीहरूलाई 'समलिङ्गी' वा 'लेस्वियन' के हो थाहा थिएन।

लक्ष्मी र मीराको सम्बन्धलाई लिएर परिवारमा ठूलै झगडा भएको थियो। लक्ष्मी भन्छिन्, “कतिसम्म भने हाम्रो परिवारलाई केटी बेच्न लागेको अभियोग लगाइयो। हामीलाई काठमाडौँबाट हेटौँडा फर्काएर लैजाने प्रयास गरियो।” लक्ष्मीका बुबा दुवैलाई हेटौँडा लगेर मीरालाई उनीहरूकै परिवारमा फर्काउन काठमाडौँ आएका थिए। लक्ष्मी सुनाउँछिन् “हामीलाई हेटौँडा फर्काउन लाग्दा हामीले बसबाट एकैपटक फाल हाल्न पनि खोज्यौँ। पछि नौबिसेमा गाडी रोकेको बेला उकालै–उकालो भागेर काठमाडौँ फर्क्यौँ।

निकिता र सीमाले केटीसँग विवाह गरेका कारण घरै छाड्नु परेको छ र परिवारले नागरिकता नबनाई दिँदा रोजगारी पाउन सकेका छैनन्। सीमा भन्छिन् “हाम्रो विवाहलाई कानूनी मान्यता नभएकाले मेरो नागरिकताको आधारमा सीमाको बन्दैन, उनको परिवारले बनाइदिँदैन।” गत वर्ष झापाको दमकमा सँगै बस्न थालेका सनम लावती र निरुपा राईलाई परिवारले इलाका प्रहरी कार्यालयमै लगेर छुट्याएका थिए। विवाहित र एक छोराकी आमा भए पनि सनम निरुपासँग सम्बन्ध राख्दै आएकी थिइन्।

सबैसँग परिवारको सम्बन्ध नराम्रो पनि छैन। सानैदेखि केटाको व्यवहार गर्ने बेलुलाई पूर्व भारतीय सैनिक रहेका उनका बाबुले ठूलो सहयोग गरेका छन्। आफूलाई घरपरिवारमा केही समस्या नभएको बताउँदै उनले भनिन्, “बुबा त मैले केटी विवाह गरेर ल्याए बुहारी भनेर भित्र्याउन तयार हुनुहुन्छ, तर आमा मात्रै केटी–केटीको पनि विवाह हुन्छ र भन्नुहुन्छ।” छोरी समलिङ्गी भएको थाहा पाएपछि उसको अधिकारप्रति सचेत कलङ्कीका एक अभिभावकले हालै मात्र मितिनी नेपालमा आएर आफ्नी छोरी लेस्वियन भएकीले सँगै राखेर पढाइ दिन आग्रह गरेका लक्ष्मी बताउँछिन्।

तर, अधिकांश अभिभावकहरूको धारणा बेग्लै छ। उनीहरूले समलिङ्गी सम्बन्ध परिवार र समाजले पचाउन सक्दैन, समलिङ्गी छोरी वा चेलीबेटी भए आफ्नो प्रतिष्ठा घट्छ भन्ने मान्यता राख्ने गरेकाले यस्ता महिलाहरूको ठूलो समस्या र पीडा नै बन्ने गरेको छ, पारिवारिक सम्बन्ध। नेपालमै जन्मे–हुर्केको भए पनि उनीहरूसँग नागरिकता प्रमाणपत्र हुँदैन।

मौन कानून
नेपालमा समलिङ्गी सम्बन्धलाई कानूनी मान्यता र सामाजिक स्वीकृति छैन। त्यसैले अधिकांश समलिङ्गी महिलाहरू लुकीछिपी बस्न बाध्य छन्। थुप्रैले आफ्नो त्यस्तो सम्बन्ध भएको रहस्य खुलेपछि परिवार, समाज र राज्य सबैतिरबाट परित्यक्त हुनु परेको छ। राज्य र समाजको यत्रो तिरस्कार बीच पनि अहिले धेरैलाई अचम्म पार्दै महिला समलिङ्गीहरूको एकपछि अर्को जोडी सार्वजनिक भइरहेका छन्।

विभिन्न प्रकारका कष्ट सहनु परे तापनि महिला अधिकारवादी तथा मानवअधिकारवादीहरूले खासै सहयोग नगरेका उनीहरूको गुनासो छ। अहिले दलित, जनजाति, अपाङ्ग सबै महिलाका कुरा उठे पनि समलिङ्गी महिलाको आवाज नउठेकोमा दुःख व्यक्त गर्दै मीरा बज्राचार्य भन्छिन्, “समलिङ्गी भएपनि हामी यो देशका अङ्ग हौँ, महिलाले ५० प्रतिशत अधिकार पाउनुपर्ने आवाज उठिरहेको बेलामा त्यसमा हामीलाई पनि अटाइनुपर्छ।”

महिला–महिला बीच यौन सम्बन्ध र विवाह हुन्छ या हुन्न भन्नेबारे नेपालको कानूनले केही बोलेको छैन। यसबीच भारतमा केही समलिङ्गी महिला जोडीले कानूनी मान्यता पाइसकेका छन्। महिला कानूनी विकास मञ्चकी अधिवक्ता मीरा ढुङ्गाना भन्छिन्, “महिला–महिला या पुरुष–पुरुष बीचको यस्तो सम्बन्ध व्यक्तिगत छनौटको कुरा हो र नागरिकको व्यक्तिगत छनौटलाई राज्यले सम्मान गर्नुपर्छ तर हामीकहाँ त्यो भइरहेको छैन। हाम्रो कानून नै यसबारे मौन छ।

कुमार सुब्बाको सहयोगमा