रिपोर्ट मलेशियाको रोजगारी
कष्टकर नै छ जीवन
आकर्षक सुविधा र तलब पाउने थोरैलाई छाडेर मलेशियामा कार्यरत अधिकांश नेपाली कामदारहरूको जीवन कष्टकर देखिन्छ। ।
•
सुरेशराज न्यौपाने, क्वालालम्पुरमा
 |
| तस्बिरहरू सुरेशराज न्यौपाने |
| थोरै तलबको कामः महेश्वर घिमिरे, धनबहादुर
घले, रामकाजी श्रेष्ठ (बायाँबाट क्रमशः) |
सुरक्षागार्डमा मलेशियाली
र नेपालीलाई मात्र राख्ने मलेशिया सरकारको पछिल्लो निर्णयपछि अहिले
नै करिब चार लाख नेपाली कामदार पुगिसकेका यस मुलुकमा तत्कालै थप एक
लाखले काम पाउने भएका छन्। तैपनि मलेशियाको काम र कमाइबाट नेपालीहरू
त्यति सन्तुष्ट छैनन्। राजधानी क्वालालम्पुरमा भेटिएका अधिकांशले यो
अवस्थाका लागि मुख्यतः नेपालका म्यानपावर कम्पनी र सरकारी निकायलाई
दोष दिए।
दुई वर्षदेखि क्वालालम्पुरको अन्तर्राष्ट्रिय विमानस्थलमा
काम गरिरहेका गुल्मीका प्रल्हाद थापा मगर अविचल ओभरसिज, अनामनगरबाट
मासिक १५०० मलेशियन रिंगिट (१ रिंगिटÖ रु.२०) तलब पाउने आशमा मलेशिया
आएका थिए। तर एजेन्टले पहिलो महिना नै विभिन्न शीर्षकमा रकम कटाएर
५०० रिंगिट मात्र दियो। प्रल्हाद भन्छन्, “भाषा पनि नजान्ने, नबुझ्ने,
जति दियो त्यति लिनु पर्यो। कसलाई गुनासो गर्नु।” करिब डेढ लाख रुपैयाँ
खर्च गरेर मलेशिया आएका उनले एकदमै धेरै ओभरटाइम गर्दा पनि आफ्नो आम्दानी
१२०० रिंगिटभन्दा बढाउन सकेका छैनन्। यसबाट उनी मासिक ५००–७०० सम्म
बचत गर्छन्।
काठमाडौँमा भनिएजस्तो तलब नपाएपछि प्रल्हादले आफूलाई
पठाउने म्यानपावर कम्पनीमा धेरैपटक फोन गरे, तर आश्वासन बाहेक केही
पाएनन्। उनी म्यानपावरले काठमाडौँमा कामदार आफैँले तिर्नुपर्ने भनी
कुनै जानकारी नै नगराएको कोठाभाडा, बिजुली र पानीको पैसा तथा औषधि
उपचार खर्च समेत व्यहोरिरहेका छन्। क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा
कार्यरत सयौँ नेपालीको अवस्था प्रल्हादकै जस्तो छ।
दुःखको सुरुआत देशबाटै
मलेशियामा काम गर्न आउने नेपाली युवाहरूको दुःख आफ्नै देशबाट शुरु
हुन्छ र मलेशिया आइपुगेर चुलिन्छ। म्यानपावर कम्पनीहरूले पैसा लिएर
पनि महिनौँसम्म काममा नपठाई झुलाएर राख्नु, पठाएपछि पनि भनिएबमोजिमको
काम र तलब उपलब्ध नगराउनु धेरै नेपाली कामदारको लागि सामान्य कुरा
बनिसकेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेर ढाका एअरपोर्ट
पुगेदेखि नै नेपाली युवाहरूले दुःख र पीडाको अनुभव गर्न थालिसक्छन्।
ढाका एअरपोर्टमा मलेशिया जाने हवाइजहाजको बोर्डिङ पास पाउन नेपालीहरूले
घन्टौँ प्रतीक्षा र बिन्तीभाउ गर्नुपर्छ। विदेशी भाषा नजानेर पर्ने
कठिनाई बेग्लै छ।
ढाकाबाट शुरु हुने तनाव, हीनताबोध र अन्योल क्वालालम्पुर
पुगेपछि झन् बढ्छ। कति नेपालीहरू एअरपोर्टमै अलपत्र पर्छन् भने कम्पनीमा
पुग्नेेहरू पनि त्यहाँ वास्तवमा गर्नुपर्ने काम र पाइने तलब–सुविधा
देखेर झसङ्ग हुन्छन्। क्वालालम्पुरको पेट्रोनाश टावरमा अवस्थित 'द
इसेटान सुपरमार्केट' मा सुरक्षागार्डको काम गरेर १२०० रिंगिट कमाइरहेका
राजविराजका सुनिल बस्नेत ४५० रिंगिट मात्र कमाउने अधिकांश नेपाली कामदारहरूको
अवस्था एकदमै खराब भएको बताउँछन्। पेट्रोनाश टावरमा मात्रै सुरक्षा
गार्ड र अन्य काममा गरेर करिब १५० नेपाली काम गर्छन्। बस्नेतका अनुसार,
सरसफाइको काम गर्नेहरूका लागि नर्क जस्तै छ– मलेशिया।
जसको कम तलब छ, उनीहरू नै आधारभूत सुविधाहरूबाट पनि
बञ्चित छन्। पेट्रोनाशका सफाइ कामदारहरू आफूले पाउने ६०० रिंगिट तलबमध्ये
१८० मलेशिया सरकारलाई लेवी (कर) र ५० रिंगिट कोठा, पानी र बिजुलीको
दस्तुर तिर्छन्। यसमा खाना र अन्य खर्च समेत थप्दा २०० पनि बचत हुँदैन।
६०० भन्दा कम तलब हुनेहरूको त बचत नै हुँदैन भने पनि हुन्छ। बस्नेत
भन्छन्, “काठमाडौँमा कागज देखाउँदा सबै सुविधा हुन्छ भनेर देखाइन्छ,
यहाँ आएपछि त्यसको ठीक उल्टो हुन्छ।
सुन्ने कोही छैनन्
 |
| राम्रो कमाइः दीपक जीसी, गगन शाही र रामबहादुर थापा। |
मलेशियामा सुरक्षा र सरसफाइका काममा संलग्नभन्दा कता
हो कता बढी नेपाली कारखाना मजदुरका रूपमा काम गर्छन्। क्वालालम्पुरको
पिउटर कारखानामा मात्रै ५० भन्दा बढी नेपाली कामदार छन्। लमजुङका महेश्वर
घिमिरे, धादिङका धनबहादुर घले, ललितपुरका रामकाजी श्रेष्ठ, भोजपुरका
सुरेन्द्र पराजुली, गुल्मीका महेश श्रेष्ठलगायत धेरै नेपालीको मासिक
तलब ४५० रिंगिट मात्र छ।
यति थोरै तलबमा काम गरिरहेका नेपालीहरूले कारखानामा
प्रयोग हुने रसायनहरूले पुर्याउन सक्ने जोखिमबाट आफैँ बच्नुपर्दछ।
कुनै दुर्घटना भएर स्वास्थ्य एवं शारीरिक समस्या देखिएमा उपचार खर्च
आफैँले व्यहोर्नुपर्दछ। काठमाडौँमा स्वास्थ्य बीमा हुने र उपचार खर्च
पाउने भनिए पनि यहाँ त्यसको ठीक उल्टो व्यवस्था भएको उनीहरूको गुनासो
थियो। तर विभिन्न देशहरूसँग धमाधम श्रम सम्झौता गर्ने, कतै आफैँ कामदार
पठाउने र धेरै ठाउँमा म्यानपावर कम्पनीहरूलाई पठाउन अनुमति दिने काम
गरिरहेको सरकार यी कामदारहरूको स्थितिप्रति भने त्यति गम्भीर देखिँदैन।
स्वतन्त्रताको ५० वर्ष र भ्रमण वर्ष समेत मनाइरहेको
मलेशिया अहिले संसारभरका लाखौँ पर्यटकको आगमन र विभिन्न रंगीविरंगी
कार्यक्रमहरूको आयोजनले सजिएको छ। तर यस्तो महोत्सवमा आ–आफ्नो ठाउँबाट
केही न केही योगदान पुर्याइरहेका नेपाली कामदारहरूका लागि भने मलेशियामा
आफ्नो गुनासो सुन्ने र समस्याको सही सुनुवाई हुने भरपर्दो एवं आशलाग्दो
निकाय भेट्न मुश्किल छ। विभिन्न वर्ग, जात र क्षेत्रका लाखौँ नेपाली
मलेशियाको क्वालालम्पुर, पेनाङ, मलाका आदि स्थानहरूमा निकै दुःख–कष्ट
खेपेर काम गरिरहेका छन्। अधिकांशको एउटै चाहना छ– मुलुकमा शान्ति छाओस्
र स्वदेशमै रोजगारीको अवसर सिर्जना होस्।
देशको असहज अवस्था र रोजगारीको अभावका कारण विदेशिएका
नेपाली कामदारहरूले भोग्नु परेका समस्याहरूप्रति सरकारले समयमै ध्यान
नदिने तथा गलत सूचनाको प्रभावमा पारेर नेपाली युवाहरूलाई न्यून तलब
र सुविधामा विदेश पठाउने रोजगार कम्पनीहरूलाई अनुगमन र कारबाही नगर्ने
हो भने रोजगारीका लागि विदेशिन बाध्य नेपालीहरूको दुःख र पीडाको गाथा
झन् थपिँदै जानेछ।
भाषा र जानकारीको अभाव
 |
| आ–आफ्नै अनुभवः प्रल्हाद थापामगर, गोपी पाण्डे, लोकबहादुर देउवा,
सुनिल बस्नेत र छवि अधिकारी। |
नेपालीहरूले स्थानीय मलाया वा अङ्ग्रेजी भाषा नजान्दा
पनि थप दुःख पाएका छन्। हालैको एउटा घटना सम्झिँदै बस्नेत भन्छन्,
“एकजना नेपालीले पार्किङस्थलमा सामान भेटेर सुरक्षा गार्डलाई बुझाउँदा
समेत बिनसित्ति चोरीको आरोपमा जेल बस्नु परेको थियो।
बस्नेतसँगै काम गर्ने पाँचथरका छवि अधिकारीलाई पनि
नेपाली दाजुभाइहरूले पाएको दुःख देख्दा असह्य हुने गर्छ। उनी भन्छन्,
“घरमा दुईछाक खान पुग्ने अवस्था छ भने यहाँ नआएकै बेस।” माओवादी युद्धका
कारण गाउँमा बस्न नसकी रु.९० हजार ऋण लिएर डेढ वर्षअघि मलेशिया आएका
उनी आफ्नो तीनवर्षे करार सकिने प्रतीक्षामा छन्। अब नेपालमै पनि केही
गर्न सकिएला भन्ने विश्वास व्यक्त गर्दै उनी भन्छन्, “यहाँ आउने अधिकांश
नेपालीहरूको लक्ष्य कम्तिमा ऋण तिर्न सक्ने जति कमाउने, करार अवधि
पूरा गर्ने र घर फर्कने नै हो।
विदेश जाँदा हुनुपर्ने कैयौँ सामान्य जानकारी नभएर पनि
नेपालीहरूले दुःख पाउने गरेका छन्। रोजगारदाता वा बाटोमा पर्ने मुलुकका
विमानस्थल, अध्यागमन, सुरक्षा र श्रमसम्बन्धी नियमकानून एवं तौरतरिकाहरू
तथा त्यसमाथि समय–समयमा परिवर्तन भइरहने उडान र सुरक्षा नियमहरूको
जानकारी नभएर पनि नेपालीहरू अप्ठ्यारोमा पर्ने गरेका छन्
थोरै मात्र खुशी
मलेशियामा काम गर्ने नेपाली सुरक्षागार्डहरूको आम्दानी र सुविधा अरूको
तुलनामा आकर्षक छ। त्यसमा पनि सिटी, एचएसबीसी जस्ता अन्तर्राष्ट्रिय
ब्याङ्कहरूमा अझ राम्रो छ। क्वालालम्पुर सिटी सेन्टरस्थित सिटी ब्याङ्क
शाखामा मात्र १८ जना नेपाली सुरक्षागार्ड छन्। ड्यूटीमै भेटिएका बाँके,
कोहलपुरका गगन शाही, स्याङ्जाका रामबहादुर थापा र पाल्पाका दीपक जिसीको
आम्दानी सुन्दै लोभलाग्दो छ। यी तिनै जना औसत मासिक १४०० रिंगिट (करिब
रु.२८ हजार) कमाउँछन्।
सात वर्ष नेपाल प्रहरीमा काम गरेर मलेशिया आएका दीपक
भन्छन्, “नेपालमा आदर्शका कुरा मात्र भए। शान्तिसुरक्षा र आर्थिक अवस्था
ठीक भएन। जनताको आम्दानी कम भयो। त्यसैले परदेशिनु परेको हो।” दीपकको
भनाइसँग सहमत देखिन्छन्, गगन पनि। अझ थप ५–६ वर्ष मलेशियामै बस्ने
योजना बनाएका गगन भन्छन्, “१० लाख रुपैयाँ जति कमाउने अनि बिहे गर्न
नेपाल फर्किने र उतै व्यापार गरेर बस्ने।”
हातहातमा मोबाइल भएका दीपक र उनका सहकर्मीहरूलाई देश
र आफन्तहरूको खबर थाहा पाउन त्यति कठिनाई छैन। त्यसमा पनि मलेशिया
पुग्ने नेपाली पत्र–पत्रिकाका साथै त्यहीँबाटै प्रकाशित हुने नेपाली
भाषाका पत्रिकाहरू पढ्न पनि छुटाउँदैनन् उनीहरू।
करिब ३५ नेपालीलाई रोजगारी दिइरहेको क्वालालम्पुरको
'पासेज अफ इण्डिया' नाउँ गरेको भारतीय रेष्टुराँ चेनमा कार्यरत धरानका
प्रेम तामाङ, मदानपुर (नुवाकोट) का गोपी पाण्डे र धनगढीका लोकबहादुर
देउवाका लागि पनि मलेशिया त्यति असहज छैन। औसत ५०० रिंगिट तलब र बस्ने–खाने
सुविधा पाएका गोपी अन्य नेपालीहरूले पाएको दुःख सुन्दा आफूहरूलाई भाग्यशाली
नै ठान्छन्।
गोपीसँगै भेटिएका देउवा चाहिँ विदेशमा जति राम्रो भए पनि आफ्नो देशमा
जस्तो नहुने स्पष्ट गर्दै भन्छन्, “यहाँ त राम्रै छ, तर स्वदेशमै रोजगारी
पाएको भए अर्काको देशमा आउनु पर्दैनथ्यो।” देउवा, गोपी र प्रेम कार्यरत
रेष्टुराँका अन्य शाखामा समेत नेपाली कामदार नै धेरै छन्। यसो हुनुमा
नेपालीहरूको इमान्दारी, व्यवहार र विश्वास नै मुख्य कारक रहेको गोपी
बताउँछन्। तर, केही कामदारहरूले पाएको राम्रो सुविधा र तलबले सम्पूर्ण
नेपाली कामदारहरूको वास्तविक अवस्थालाई प्रतिबिम्बित नगर्ने बताउँछन्,
सुनिल बस्नेत। उनी भन्छन् “थोरैका लागि मात्र मलेशिया राम्रो छ।
नियम नजानेर थप दुःख
 |
विश्वका धेरै
अन्तर्राष्ट्रिय विमानस्थलमा ओहोरदोहोर गर्ने यात्रुहरूले हातेव्यागमा
थोरै मात्र तरल वा तरल मिश्रित सामान बोक्न पाउँछन्। गएको ३१ मार्च
२००७ देखि मलेशियाको अन्तर्राष्ट्रिय विमानस्थलले पनि यो नियम लागू
गर्यो।
मलेशियाको नयाँ नियमअनुसार यात्रुले आफूसँगै विमानभित्र
लिएर जाने 'ह्यान्ड लगेज' अर्थात् हातेव्यागमा पानी, अन्य पेय पदार्थ,
तरल खानेकुरा, दन्तमञ्जन, साबुन, शृङ्गारका सामग्री, कपालमा लगाउने
जेल, लोसन, तेल, जुत्ताको क्रिम, तरल ग्याँस भएका दाह्री काट्ने फोम,
अत्तर र बडी स्प्रे तथा यस्तै प्रकृतिका सामान सबै गरेर एक लिटर वा
एक केजीभन्दा बढी राख्न पाउँदैनन्। हातेव्यागमा यात्रुले आफूलाई अति
आवश्यक पर्ने यस्ता हरेक सामग्री १०० मिलिलिटर वा १०० ग्राम वा ३.४
औन्स भन्दा कम परिमाण वा तौलको तथा २२ सेमी चौडा र १८ सेमी अग्लो बट्टा
वा भाँडामा बन्द गरिएको हुनुपर्छ। ती बट्टा वा भाँडा समेत हावा नछिर्ने
पारदर्शी प्लाष्टिकका व्यागहरूमा राख्नुपर्छ। यी बाहेकका अन्य तरल
सामान चाहिँ 'लगेज' भनिने विमानमा अलग्गै पठाइने सुटकेस वा झोलामा
राख्नुपर्नेछ।
यात्रुले बच्चाको दूध र खानाहरू बोक्नुपर्ने भएमा टिकटमा
बच्चासँगै यात्रा गरेको भन्ने जनाइएको हुनुपर्ने छ। त्यस्तै, अत्यावश्यक
औषधि र इन्सुलिनहरू बोकेर हिँड्नुपर्ने यात्रुसँग ती औषधिका प्रमाणित
कागजपत्र तथा टिकटमा सो कुराको उल्लेख हुनुपर्नेछ। यात्रुहरूले सुरक्षा
जाँचस्थलभन्दा भित्रपट्टिका 'ड्युटी फ्री' पसलमा किनेको तरल सामग्री
पनि हातेव्यागमै बोक्न पाउँछन्। तर ती सामान पनि बन्द प्लाष्टिक झोलामा
राखिएको र खरिद गरेको रसिद साथैमा बोकेको हुनुपर्नेछ।
वैदेशिक रोजगारमा जाने अत्यधिक नेपाली कामदारहरूको गन्तव्य
वा ट्रान्जिट हुने गरेका अन्तर्राष्ट्रिय विमानस्थलमा लागू भएको यस्तो
नियमबारे ती नेपालीलाई भने कमै जानकारी हुने गरेको छ। फलस्वरुप कहिल्यै
विदेश नगएका र अङ्ग्रेजी पढ्न–बोल्न नजान्ने धेरै नेपालीहरूले अनाहक
दुःख पाउने गरेका छन्। नेपालको विमानस्थलमा यो नियम लागू नभएकोले पनि
नेपालबाट आउने यात्रुहरूले धेरै झञ्झट बेहोर्नु परेको हालै काठमाडौँबाट
थाइल्याण्ड हुँदै मलेशिया आइपुगेका सागर थापा भन्छन्, “यस्तो नियम
भएको कुरा हामीलाई कसैले भनेनन्। नेपालको एयरपोर्टबाट छिराउन दिए,
थाइल्याण्डमा आएर सबै फाल भन्छन्। त्यत्रो पैसा हालेर ल्याएको सामान
फाल्नु पर्दा रुनु कि हाँस्नु भयो।
विदामा घर गएर फर्किने हुन् वा पहिलो पटक आउने धेरै
नेपाली कामदारले मलेशियामा महँगो हुने कारण साबुन, दन्तमञ्जन, कपालमा
लगाउने जेलजस्ता थुप्रै दैनिक उपभोग्य सामान नेपालबाटै ल्याउँछन्।
यीबाहेक उनीहरू घरको कोसेलीको रुपमा खानेकुराहरू ल्याउँछन्। तर ती
सबै सामान थाइल्याण्डमा फ्याँकिएको देखेर दुःख मानेका थापाले भने,
“मेरो त अलि अलि थियो, तर अरू नेपालीहरूको सामानको पसारो नै लागेको
देखेँ। घरबाट माया गरेर पठाइदिएको घ्यू, अचार, महहरू समेत फ्याँकियो।
साबुन र दन्तमञ्जनको थुप्रो लागेको थियो।” यात्रुहरूलाई यति महत्त्वपूर्ण
नियमको जानकारी म्यानपावर कम्पनी, ट्राभल एजेन्सी, वायुसेवा कम्पनी,
विमानस्थल प्रशासन वा सुरक्षा जाँच टोली कसैले पनि काठमाडौँमै किन
नदिएका होलान्?
सपना बस्याल, क्वालालम्पुर
|