हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रमझम

'अझै बच्चै छु'

स्कूल पढ्दै नृत्य र अभिनयमा रुचि राख्ने रेजिना उप्रेती सानैदेखि कलाकार बन्न चाहन्थिन्। नभन्दै, धादिङ, गजुरीबाट एसएलसी सकेर कामाडौँ छिरेकी उनी अहिले चलचित्रकी नायिका बनेकी छिन्। सात वर्षअघि टेलिचलचित्र चेतना बाट अभिनय शुरु गरेकी उनको पहिलो चलचित्र आफ्नो मान्छे हो। अग्निपथ, इन्द्रेणी, कर्णवीर लगायतका ३७ नेपाली चलचित्रमा अभिनय गरिसकेकी रेजिना हाल घायल को काम सकेर इन्साफ र जय शिवशङ्कर नामक चलचित्रको छायाङ्कनमा व्यस्त छिन्।

साइबरसंसारको इन्टरनेट पेजमा समेत ग्ल्यामर पोजमा देखिएकी रेजिना 'कथाले मागेजति अङ्ग प्रदर्शन गर्ने' भन्ने कुराको प्रतिवाद गर्छिन्। उनी भन्छिन्, “कथाले माग्दैन, आफूलाई कस्तो सुहाउँछ त्यो पो गर्न सकिन्छ त! कथाले माग्यो भन्दैमा जे पनि लगाएर हिँड्ने?” हालसम्मको आफ्नो काम र कमाइबाट सन्तुष्ट रहेको बताउने रेजिना बेलायत, कोरिया, हङकङ, कतार, मलेशियालगायतका देशहरूमा स्टेज कार्यक्रमका लागि समेत पुगिसकेकी छिन्। केही सातामै कलाकार टोलीका साथ इजरायल र दक्षिण कोरियातर्फ जाने तयारीमा रहेकी उनलाई विदेशतिरै पलायन हुने मन भने छैन। भन्छिन्, “कति नायिकाहरू विदेशिएका छन् तर मेरो विदेशिने सोच छैन।

काठमाडौँमा आफ्नै परिवारका साथ रहँदै आएकी रेजिनाले अहिले नै विवाहका बारेमा सोचेकी छैनन्। बिहे गर्ने उमेर भएन र? उनी भन्छिन्, “यति वर्षमै बिहे गर्नुपर्छ भनेर कहाँ लेख्या छ र? आफूलाई त अझै बच्चै छु जस्तो लाग्छ!

शब्दः अनुशील
तस्बिरः साइबरसंसार डट कम


रमझम साङ्गीत

पोखरेली पप

तस्बिरहरूः स्वरुप रञ्जित
द एज ब्याण्ड

चाहे लोकगीतमा होस् या आधुनिक; या पप! नेपाली सङ्गीत क्षेत्रमा पोखरेली कलाकारहरूको महत्त्वपूर्ण योगदान छ। युवामाझ बढी चर्चित समूहहरू न्ोपथ्य तथा कन्दरा पोखराबाटै जन्मिएका हुन् जो एक दशकअघिदेखि लोकपप शैलीका गीतबाट नेपाली श्रोतामाझ छाइरहेका छन्।

साङ्गीतिक ब्यान्ड बनाएर काम गर्न सजिलो भएपनि लामो समयसम्म यसलाई निरन्तरता दिन भने गाह्रो हुन्छ। यसैकारण विगतमा सफल भएका केही पोखरेली ब्यान्डहरू टुक्रिएका छन् भने गाह्रो–साँघुरो झेलेर पनि केही पोखरेली ब्यान्डहरू आज पनि उत्तिकै चर्चामा छन्।

लेककी हे माया... तथा हङ्गकङ्ग पोखरा... जस्ता गीतबाट ख्याति कमाएको कन्दरा समूह सदस्यहरू विदेशिनाले करिब एकदशक निष्त्रि्कय रह्यो। समूहका ड्रमर सुनील थापा भन्छन्, “गायक विवेक बेलायतमा, गिटारिस्टहरू अमर इटालीमा र विजय हङ्गकङ्गमा अनि म र अर्का गिटारिस्ट सन्दिप मात्रै पोखरामा छौँ।” तर गत वर्ष सुहाउँदो नामसहित कन्दरा ले नयाँ अल्बम रिलिज गरेको छ– वर्षौंपछि। दुईहप्ताका लागि विवेक श्रेष्ठ नेपाल आएको मौका छोपेर सो अल्बम निकालेको सुनील बताउँछन्।

त्यस्तै एक दशकअगाडि निक्लेकोे अर्को पोखरेली ब्यान्ड देउराली का धेरैजसो सदस्यहरू विदेशिएकाले कन्सर्टहरूमा भरपुर प्रदर्शन गर्न नपाएको भनाइ समूहका बेस गिटारिस्ट तेज केसीको छ। देउराली का गायक दाजुभाइ आनन्द र शान्त बज्राचार्यले आफ्नै एकल अल्बम पनि निकालेका छन्। साथीहरूले एकल अल्बम निकाले पनि ब्यान्ड भने नटुक्रेको बताउँदै तेज थप्छन्, “यसै साल हामीले नयाँ अल्बम निरन्तरता निकालेका छौँ।” निरन्तरता नाम राखेर आफूहरूले सङ्गीतलाई निरन्तरता दिएको उनको तर्क छ। पोखराको लेस द्यान जिरो ब्याण्ड भने अहिले टुक्रिएको छ। तीन सदस्य रहेको यो समूहका एक सदस्य समूह छाडेर रबिन एन्ड द रेभलुसन ब्यान्डमा गएपछि गायक बिकु गुरुङ आफू पनि अब एकल गायनमा जाने बताउँछन्।

झ्याम्म झ्याम्म... बोलको गीतबाट ख्याति कमाएको डि मोर्चाब्यान्डले फेरि यही गीतलाई रिमिक्स गरेको छ। हाल अर्को रिमिक्स गीत छ भने माया छपक्कै लाइदेउ... बोलको पुरानो गीतको सूटिङमा व्यस्त यो समूह आगामी महिनादेखि बुटवल, पोखरा, बाग्लुङ र काठमाडौँमा सङ्गीत यात्रा गर्ने तयारीमा छ। प्ाुरानो गीतलाई नयाँ शैलीमा अथवा रिमिक्स गरेर निरन्तरता दिने यो समूहका गायक भाष्करध्वज श्रेष्ठ भन्छन्, “हामी समयको मागअनुसार चल्न चाहन्छौँ।

ल्ाोकपप शैलीका गीत गाउने यी समूह बाहेक अहिले पाश्चात्य शैलीका रक गीतहरूको माग पनि पोखरामा बढ्दै गएको छ। इमेज एफ एममा पोखरेली गीतहरूको कार्यक्रम विमल्स शो चलाउने विमल ढकाल भन्छन्, “पोखरामा रक क्याटेगोरीका गीतहरूको डिमान्ड बढ्दो छ।” रक शैलीका गीत गाएर अलग पहिचान बनाउन ब्यान्ड खोलेको द एजब्यान्डका गायक जीवन गुरुङ बताउँछन्। बन्दको बेलामा पनि कन्सर्ट र फूटबल म्याच चल्ने पोखरेली चलनबाट सन्तुष्ट यस समूहका ड्रमर वसन्त शर्मा थप्छन्, “काठमाडौँमा जस्तो नानाथरीका बन्दले पोखरेली जनतालाई गीत सुन्नबाट कहिल्यै बाधा पुर्‍याउँदैन।

मोफसलको असन्तुष्टि

सुनिल, विक र डि मोर्चा ब्याण्ड

काठमाडौँ बाहिरका कलाकार भएका कारण उपत्यकास्थित सञ्चारमाध्यम तथा म्युजिक कम्पनीहरूले उपेक्षा गर्ने गरेको आरोप पोखरेली कलाकारहरूको छ। डि मोर्चा का भाष्कर भन्छन्, “हामी तपाईंलाई सहयोग गर्छौँ तर रोयल्टी भने दिँदैनौँ भन्ने समेत कम्पनीहरू छन् राजधानीमा।” कन्दरा का सुनील आफ्नो अनुभव सुनाउँछन्, “बिक्री गर्ने जति क्यासेटमध्ये हजार प्रति हामीलाई नै किन्नुस् भन्छन्।” त्यस्तै लेस द्यान जिरो का बिकु भन्छन्, “हाम्रो अल्बम सान्तना रेकर्डस् बाहेक अन्य कुनै म्युजिक कम्पनीले सुनिदिएन।” काठमाडौँका टेलिभिजन तथा एफएम रेडियोहरूले समेत आफ्ना गीतहरू त्यति नबजाइदिने गरेको यी सङ्गीतकर्मीकोे गुनासो छ। कलाकारहरूका यस्ता समस्या समाधान गर्न र आवाज उठाइदिन गत साल एक सामूहिक संस्था समेत स्थापना भएको कलाकारहरू बताउँछन्।

त्यसैगरी पश्चिमाञ्चल क्षेत्रको सङ्गीतलाई टेवा पुर्‍याउने उद्देश्यले पोखराको अन्नपूर्ण एफएमले गत वर्षदेखि अन्नपूर्ण एफएम अवार्ड को थालनी गरेको छ। स्टेशन म्यानेजर दीपेन्द्र श्रेष्ठका अनुसार यस क्षेत्रमा रहेका स्रष्टालाई सम्मान गर्ने लक्ष्य यस अवार्डको रहेको छ।

प्रेरणा मरासिनी


रमझम विविध

ह्यारी पोटर नयाँ रेकर्ड

सन् २००७ को जुलाई महिना ह्यारी पोटरका फ्यानहरूका लागि विशेष रह्यो। ह्यारी पोटर पुस्तक शृङ्खलाको बहुप्रतीक्षित सातौँ तथा अन्तिम भाग 'ह्यारी पोटर एण्ड द डेथली ह्यालोज' र पाचौं पुस्तकमा आधारित चलचित्र 'ह्यारी पोटर एण्ड द अडर अफ फिनिक्स' एकै महिनामा निक्लिएपछि धेरै पोटर फ्यानले गएको जुलाई महिनालाई 'समर टु रिमेम्बर' भन्न थालेका छन्। दश वर्षअगाडि निक्लिएको पहिलो भागदेखि नै ह्यारीलाई के होला भन्ने खुल्दुली जगाएको लेखिका जेके रोलिङको सातौं भागले पुस्तक बिक्रीको इतिहासमा पहिले नदेखिएका विभिन्न रेकर्डसहित वातावरण संरक्षणमा पनि नयाँ रेकर्ड राखेको छ। पोटर कथाको पछिल्लो पुस्तक रिसाइकल गरिएका कागजको प्रयोग र वातावरण प्रदूषणमा कमी ल्याउने प्रविधिमा छापिएको छ।

ुस्तक प्रकाशकहरूलाई वातावरणमा कम क्षति पुर्‍याउने हिसाबले काम गर्न प्रेरित गराउने क्यानडाली संस्था मार्केट इनिसिएटिभका अनुसार यो कदमले झण्डै दुई लाख रूख काटिनबाट जोगिएका छन् भने करिब ८७ सय टन कार्बोन डाइअक्साइड उत्सर्जन हुनबाट रोकिएको छ। सन् २००३ मा अमेरिकी प्रकाशक स्कोलास्टिकले ह्यारीको छैटौं पुस्तक रिसाइकल नगरिएका कागजमा छापेकोले क्यानडामा उक्त प्रकाशकका पुस्तक बहिस्कार गरिएको थियो। छैटौं पुस्तकलाई रेनकोस्ट बुक्स नामक प्रकाशकले मात्र वातावरण मैत्री ढङ्गमा छापेको थियो भने पछिल्लो पुस्तकलाई विश्वका १६ प्रकाशकले वातावरण मैत्री ढङ्गमा छापेका छन्। जेके रोलिङ स्वयंले अग्रसरता लिएपछि यो पुस्तक बृहत् रूपमा वातावरण मैत्री ढङ्गमा आउन सकेको हो। यसरी ह्यारी पोटरको सातौँ पुस्तकलाई विश्वकै सबैभन्दा 'ग्रीन बुक' दाबी गर्न थालिएको छ।

शैली


हजुरबादेखि नातिसम्म

वितेको आधा दशकको अवधिमा काठमाडौँको रुप पत्याउनै नसकिने गरी फेरिएको छ। गाईवस्तु चर्ने धरहराको फेदी अहिले व्यस्त व्यापारिक केन्द्र बनेको छ। न्यूरोडको गेट अगाडि कुनैबेला जङ्गबहादुरको विशाल सालिक थियो भन्ने अहिलेका धेरैलाई थाहै छैन (हे.तस्बिर)। नेपालमा पहिलो पोष्टकार्ड प्रकाशनमा ल्याउने स्वर्गीय द्वारिकादास श्रेष्ठका तस्बिरहरूमा काठमाडौँ मात्र हैन दार्जीलिङको पुरानो स्वरुप पनि देख्न पाइन्छ।

द्वारिकादासको ७५ औं पुण्यतिथिका अवसरमा उनका छोरा ज्ञानेन्द्रदास र नाति कशिसदास श्रेष्ठले समेत खिचेका तस्बिरसहितको अ मुभमेण्ट ईन टाइम १९५४–२००७ नामक प्रदर्शनी नेपाल आर्ट काउन्सिल, बबरमहलमा १–५ भदौमा भइरहेको छ। हजुरबादेखि नातिसम्मले खिचेका तस्बिरको यो प्रदर्शनीमा पहिलो सगरमाथा आरोही तेञ्जिङ नोर्गेले आफ्नै तस्बिरमा अटोग्राफ गरेको पोष्टकार्ड पनि राखिने र प्रदर्शनीबाट सङ्कलित केही रकम आशमान आर्ट फण्डलाई प्रदान गरिने नाति कशिसले बताए। द्वारिकादासका पुराना मित्र तथा फोटो कन्सर्नका डीबी थापाको सहयोग रहेको प्रदर्शनीको आयोजक आशमान रहेका छन्। जीवनभर तस्बिर खिच्ने र फोटोग्राफीसम्बन्धी प्रशिक्षण दिनमै विताएका द्वारिकादासको यो पहिलो प्रदर्शनी हो। उनको तीन वर्षअघि निधन भएको थियो।ल


चराका साथी

मकवानपुर, गढीका गौतम सापकोटा (२५) भेट भएका मानिसलाई आफू ११४ वटा चराचुरुङ्गीको आवाज निकाल्ने, कागसँग बात मार्न सक्ने र कागको आवाज निकालेर हुल नै बोलाउन सक्ने बताइहाल्छन्। उनका कुरा सुन्दा पत्यार नलागे तुरुन्तै उनी 'काग, काग' भन्दै आफ्ना साथीहरूलाई बोलाउन कस्सिन्छन्। धेरै ठाउँ कागको 'जुलुस' निकालेर गौतमले मानिसहरूलाई आश्चर्यमा पारिसकेका छन्।
बकुल्ला, कोइली, ढुकुर, मयुर, जुरेली, लामपुच्छ्रे, डाँफे, लभ वर्डस्लगायतका धेरै चरा–चुरुङ्गीको आवाज निकाल्ने उनको आवाज सुनेर कागको भने हुलै उनको टाउको माथि आकाशमा आइपुग्छ। हेटौँडाबाट काग कराउँदै काठमाडौँ छिरेका उनले राजधानीका खुल्लामञ्चदेखि विभिन्न विद्यालयमा आफ्नो विलक्षण प्रतिभा देखाइसकेका छन्। २०६२ वैशाखदेखि चराहरूको आवाज निकाल्न शुरु गरेको बताउने उनी आवाज सिक्न दिन र रात जुनसुकै बेला जङ्गल–जङ्गल चहार्ने गर्छन्। उनको अरू पनि धेरै चराको आवाज निकालेर नाम कमाउने र चरा संरक्षणमा लागिपर्ने चाहना छ। चराका आवाज सुनाउँदै १५ जिल्लामा घुमिसकेका गौतम भन्छन्, “नेपालमा पाइने ८६५ प्रकारका चराहरूको आवाज निकालेर गिनिज बुकमा नाम लेखाउने धोको छ।” उनी आउँदो जाडोमा साइबेरियाबाट आउने चराहरूको आवाज सिक्न अरुण उपत्यका जाने योजनामा छन्। भन्छन्, “उपत्यकाका विद्यालयहरूमा चराका आवाजहरू सुनाएर, काग बोलाएर खर्च जुटाउँदैछु।

डम्बरकृष्ण श्रेष्ठ


रुसको इतिहास काठमाडौंमा

तस्बिरहरूः किरण पाण्डे
सञ्जीव उप्रेती, सुनिल पोख्रेल र दिलभूषण पाठक।

सय वर्षअगाडि रूसमा भएको सत्य घटनालाई इतिहासको पानाबाट ल्याएर नाटकको रूपमा मञ्चन भइरहेको छ, त्यो पनि काठमाडौँमा! हो, १९०५ फेब्रुअरीमा रूसमा घटेको घटनामा आधारित अल्बेयर क्यामुले लेखेको 'द जस्ट'को नेपाली रुपान्तर न्यायप्रेमी अहिले गुरुकुलमा प्रदर्शन भइरहेकोे छ।

भूमिगत अवस्थामा रहेको एक क्रान्तिकारी पार्टीभित्र जीवन–मृत्यु, क्रान्ति, त्याग, बलिदान अनि प्रेम र घृणाबीचको कस्तो अन्तरसङ्घर्ष हुन्छ भन्ने कुरा नाटकमा सहज रूपमा प्रस्तुत गरिएको छ। नाटकका कलात्मक दृश्य, संवाद र परिस्थितिले दर्शकलाई आफैँले भोगिरहेको र आफ्नै देशको कथा जस्तो पनि लाग्नसक्छ।

नाटकमा रूसको क्रान्तिकारी समाजवादी पार्टीका कार्यकर्ताहरुका तत्कालीन जारका अधिराजकुमार ग्य्रान्ड ड्युकको हत्याको तयारी र हत्यापछिको परिस्थिति समेटिएको छ। अधिराजकुमारको सवारीको बग्गीमा बम प्रहार गरेर उनको हत्या गर्ने अभिभारा पाएको कालिआएफ (यानिक) ले शुरुमा बग्गीमा केटाकेटी पनि भएकाले बम हान्न नसकेपछि उनले पार्टीभित्र चर्को आलोचना खेप्नुपर्छ। आफूलाई क्रान्तिकारी सावित गर्नैका लागि पनि दोस्रो पटक उनी अधिराजकुमारको हत्या गर्न सफल हुन्छन् र एक्लै समातिइन्छन् पनि। मृत्युदण्डको पर्खाइमा रहेका उनलाई माफी मागे मुक्त गर्ने प्रस्ताव गरिए पनि उनी खुशीसाथ फाँसीमा झुण्डिन तयार हुन्छन्।

पौने दुई घण्टासम्म पनि दर्शकलाई कौतुहलताका साथ बाँधेर राख्न सक्नु गुरुकुलको रिमाल नाटकघरमा २२ भदौसम्म मञ्चन हुने न्यायप्रेमीको सफल पक्ष हो। मञ्चमा भूमिगत पार्टीको कार्यालय र यानिकलाई राखिएको कारागारको दृश्य मात्रै देखिए पनि बग्गीको आवाज र पार्टी कार्यालयको झ्यालमा बसेर बम पड्केको आवाज सुन्न पर्खिरहेका समूहका नाइके आनेन्कोभ बोर्‍या र दोरा बीचको संवादले दर्शकले घटनास्थलमै पुगेको अनुभूत गर्छन्। नाटकमा रूसको जारको इतिहास भएपनि अधिराजकुमार, बग्गीको सवारी, दरबारको गेट, नाचघर आदिको प्रसङ्गले दर्शकलाई आफ्नै देशको इतिहास र वर्तमानसँग तुलना गर्न बाध्य पार्छ। त्यही भएर होला, यो नाटक ०४६ सालको आन्दोलनलगत्तै फ्रान्सेली सांस्कृतिक केन्द्रमा केही दिन प्रदर्शन गरिएको थियो।

कल्पना घिमिरेले नेपालीमा रुपान्तरण गरेको र सुनिल पोखरेलको निर्देशन रहेको यस नाटकमा गुरुकुलका नयाँ पुराना कलाकारहरूले जीवन्त अभिनय गरेका छन्। मञ्च सजावट, ध्वनि र प्रकाश संयोजनले पनि नाटकलाई स्तरीय बनाउन मद्दत गरेको छ। पहिलोपटक रंगमञ्चमा उत्रिएका अध्यापक/लेखक डा. सञ्जीव उप्रेती (यानिक) र पत्रकार दिलभूषण पाठक (आनेन्कोभ) को अभिनय हेर्दा उनीहरूको यो पहिलो अभिनय जस्तो लाग्दैन। सुनिल पोखरेल, निशा शर्मा, प्रवीण खतिवडा, विष्णुभक्त फुयाल, सरिता गिरी, बसन्त भट्टले पनि अब्बल अभिनय गरेका छन्।

अनुशील


शोभाको कला

रंगकर्मी शोभा चन्दले १९ साउनमा राजधानीको ठमेलस्थित जात्रा क्याफेको पहिलो तलामा पेरिसबाट सिकेर आएको 'पर्फमिङ आर्ट' प्रस्तुत गरिन्। विगत दश वर्षदेखि फ्रान्सको पेरिस शहरमा 'थिएटर आर्ट' पढिरहेकी शोभाको कलालाई दर्शकले नजिकैबाट नियालेका थिए। रेल स्टेसनको जस्तो आवाज घन्किरहेको क्याफेको कोठामा चन्दले करिब एक घण्टा विभिन्न हाउभाव र ब्याले शैलीको नृत्यबाट आफ्नो कला प्रस्तुत गरेकी थिइन्। गत महिना थिएटर आर्टमा पीएचडी थेसिसको तयारी गर्न स्वदेश फर्किएकी चन्द आफ्नो 'पर्फमिङ आर्ट' देखाएर अहिले पेरिस फर्किसकेकी छिन्।


बाढीपीडितका लागि वेभ को फूटबल

हालै देशका विभिन्न भागमा गएको बाढी–पहिरो पीडितहरूको सहयोगार्थ हिमालमिडिया प्रा.लि.को सहप्रकाशन वेभ युवा मासिकले २६ साउनमा एक मैत्रीपूर्ण फूटबल प्रतियोगिता आयोजना गर्‍यो। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पत्रकार र सेलिब्रेटीहरूबीच सम्पन्न उक्त प्रतियोगितामा सेलिब्रेटी टीम ४–३ ले विजयी बन्यो। विजयी टीमको नेतृत्व गायक योगेश्वर अमात्यले र पत्रकार टोलीको नेतृत्व वेभ का म्यानेजिङ एडिटर अनुपप्रकाशले गरेका थिए।