हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

पुस्तक परिचय

दोलखाको आन्दोलन इतिहास

किताबः आन्दोलनमा दोलखा (तस्बिरहरूको सँगालो)
सम्पादकः राजेन्द्र मानन्धर, शम्भु गौतम
प्रकाशकः नेपाल पत्रकार महासंघ र नागरिक समाज, दोलखा (२०६४ असार)
पृष्ठः १२६, मूल्यः रु.४००


दोस्रो जनआन्दोलनमा आफैँ सहभागी भएका पत्रकार र आधिकारकर्मीले भिडियो र तस्बिरमा जनआन्दोलनको अभिलेख उतार्ने काम उत्साहसाथ गरे। तिनै अभिलेखमा आधारित भएर अहिले फिल्म बनाउने र किताब प्रकाशन गर्ने क्रम बढिरहेको छ। आधा दर्जनजति जिल्लाले फिल्म वा पुस्तकको रूपमा दोस्रो जनआन्दोलनको इतिहासलाई अभिलेख गरेर सार्वजनिक गरिसकेका छन्। यसको पछिल्लो उदाहरण बनेको छ दोलखाबाट हालै प्रकाशन भएको तस्बिरहरूको सँगालो आन्दोलनमा दोलखा।

२०६१ माघ १९ गते राजाको प्रत्यक्ष शासन शुरु भएपछि त्यसको प्रतिरोधमा दोलखामा भएको जनआन्दोलनका तस्बिरहरूलाई समेटेर यो किताब तयार गरिएको छ। किताबमा १४० वटा रङ्गीन तस्बिरहरू परिचयसहित राखिएका छन् र सन्दर्भअनुसार त्यसको संक्षेपमा चर्चा पनि गरिएको छ। १२६ पृष्ठको किताबलाई विभिन्न १० खण्डमा प्रस्तुत गरिएको छ। किताब पल्टाउने बित्तिकै गौरीशङ्कर हिमालको तस्बिरले दोलखाको सम्झना गराइहाल्छ। 'दोलखा र लोकतान्त्रिक आन्दोलन' शीर्षकको पहिलो खण्डमा दोलखाको प्राकृतिक र सांस्कृतिक महत्त्वका साथै २००७ सालयताको राजनीतिक आन्दोलनमा यस जिल्लाको भूमिकाको संक्षिप्त चर्चा गरिएको छ। देशका अन्य क्षेत्रमा जस्तै दोलखामा पनि शुरुमा पेशाकर्मी र नागरिक समाजका अगुवाहरूले कसरी आन्दोलनलाई उठाए र पछि राजनीतिक दलहरूले त्यसको नेतृत्व लिए भन्ने कुरा यो किताबले प्रस्टसँग देखाउँछ। साथै महिला कृषक समूह, जिल्ला घट्टधनी संघ, लेखक साहित्यकार र कर्मचारी समेतको संलग्नताले जनआन्दोलन कसरी शिखरमा उक्लियो भन्ने पनि यसबाट थाहा पाउन सकिन्छ।

सदरमुकाम चरिकोटमा भइरहेको जनआन्दोलनमा सहभागी हुन ३४ किलोमिटर टाढाको काब्रे गाउँबाट मानिसहरू हिँडेर आएको प्रसङ्गले आन्दोलनप्रति गाउँका जनताको भावनालाई प्रतिबिम्बित गर्नुको साथै जनआन्दोलनताकाको चर्चित गीत 'गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ' तरङ्गित भएर आउँछ। राजधानीको आन्दोलनमा दोलखालीहरूलाई परिचालन गर्न नेपाली काङ्ग्रेसका केन्द्रीय नेता भीमबहादुर तामाङको संयोजकत्वमा सात सदस्यीय संयुक्त जनआन्दोलन समिति बनाएर दोलखालीहरू सक्रिय भएका थिए। जसले कोटेश्वर लगायत चक्रपथका आन्दोलनको मोर्चा सम्हालेको तस्बिरबाट समेत देखिन्छ। साथै जनआन्दोलनलाई बल पुर्‍याउन दोलखाका गाउँमा माओवादीले कार्यक्रम गरेको र सदरमुकाममा हुने प्रदर्शनका लागि मानिसहरू पठाएको तर त्यससम्बन्धी तस्बिर पाउन नसकिएको कुरा सम्पादकीयमा उल्लेख गरेर सम्पादकद्वयले यो ऐतिहासिक दस्तावेजमा सबै पक्षको योगदानलाई समेट्ने प्रयास गरेको भान हुन्छ।

स्थानीय प्रशासनले स्थानहद तोकेपछि कोदोबारीमा विरोध सभा गरिरहेको, कृषक र गृहिणीहरूले हलो र डोको बोकेर प्रदर्शन गरिरहेको र जनआन्दोलनका घाइतेहरूलाई स्थानीय बासिन्दाले उद्धार गरिरहेको लगायत अरू केही तस्बिर मन छुने खालका छन्। साथै २०६२ चैत २७ गते कर्मचारी र शिक्षकद्वारा आयोजना गरिएको मौन जुलुस र कोणसभाको भिडियो खिचिरहेका तत्कालीन शाही नेपाली सेनाका एक अधिकृतको तस्बिर रोचक छ। प्राविधिक दृष्टिले कमसल तस्बिर किताबको कमजोर सम्पादनका बाबजूद यो एउटा महत्त्वपूर्ण कालखण्डको ऐतिहासिक दस्तावेज भएको छ।

काठमाडौँबाट १३२ किलोमिटर पूर्वमा रहेको 'दोलखाको इतिहास नलेखे नेपालको इतिहास पूरा हुँदैन' भन्ने इतिहासकार बाबुराम आचार्यको भनाइलाई सार्थक तुल्याउने सानो प्रयास हो यो किताब। जनआन्दोलनमा सक्रिय भूमिका खेलेका नेपाल पत्रकार महासंघ र नागरिक समाज दोलखाले ४३ स्थानीय संघसंस्था र व्यक्तिको सहयोगमा यो किताबको संयोजन र प्रकाशन गरेर उदाहरणीय काम गरेका छन्।

हरि बस्नेत


मिडियाको अन्तरकथा

किताबः मिडया अध्ययन २
सम्पादकः देवराज हुमागाईं, प्रत्यूष वन्त, शेखर पराजुली, कोमल भट्ट
प्रकाशकः मार्टिन चौतारी
पृष्ठः ३५८+७, मूल्यः रु.१५०


नेपाली मिडिया सम्बन्धी जर्नल मिडिया अध्ययन १ निकालेको ६ महिनापछि नै मार्टिन चौतारीले मिडिया अध्ययन २ निकालेको छ। पहिलो अङ्कमा पाठक तथा शुभेच्छुकहरूले देखाएको रुचि र उत्सुकताका कारण दोस्रो अङ्कका लागि काम गर्ने जाँगर बढेको बताएका छन् जर्नलका सम्पादकहरूले।

मिडिया अध्ययन २ मा राजधानी र मोफसलका छापा, रेडियो र टेलिभिजन मिडियाका विगत र वर्तमान खोतल्दै यसका चुनौती झल्किने विभिन्न अनुसन्धानमूलक लेखहरू समेटिएको छ। कृष्णराज सर्वहारीको 'थारू पत्रपत्रिकाको विगत र वर्तमान', अनुभव अजीतको 'नेपाली चलचित्रको आरम्भ' र तिलक पाठकको 'साप्ताहिक पत्रिकामा दलीय राजनीति' सम्बन्धी उत्खनन गहकिला लेख हुन्।

टिप्पणी खण्डअन्तर्गत विजय घिमिरेद्वारा लेखिएको 'नेपालमा आर्थिक पत्रकारिता', डा. सुशील कोइरालाद्वारा गरिएको 'नेपाली मिडियामा स्वास्थ्य' को विवेचना निकै पठनीय छन्। सुजित महतद्वारा गरिएको वीरगञ्जको पत्रकारिताको आलोचनात्मक विश्लेषण र मोहन मैनालीको पत्रकारिता तालिम सम्बन्धी टिप्पणी सटिक छन्। जर्नलमा लेख, टिप्पणी, संस्मरण, पुस्तक समीक्षा र सन्दर्भ सामग्री गरी पाँच खण्ड छन्। हर्षमान महर्जनद्वारा तयार गरिएको 'नेपाली प्रेस स्वतन्त्रताः सन्दर्भ सामग्री' ले नेपालको प्रेस स्वतन्त्रताको बारेमा अध्ययन गर्न चाहने सबैलाई गतिलै सहयोग पुर्‍याउने छ। नेपाली मिडिया बुझ्न चाहने सबैका लागि राम्रो चौतारी भएको छ मार्टिन चौतारीको मिडिया जर्नल।


पौराणिक नारीगाथा

किताबः द्रौपदी र सीता
लेखकः मदनमणि दीक्षित
प्रकाशकः पैरवी प्रकाशन, २०६४
पृष्ठः १६४+२४, मूल्यः रु.१५०

वेद र पुराणका विषयवस्तु एवं पात्रहरूलाई लिएर लेखिएका माधवी, त्यो युग, हाम्रा प्राचीन नारी जस्ता धेरै कालजयी कृतिका लेखक मदनमणि दीक्षितको २०४९ मा प्रकाशित सीता र द्रौपदी को दोस्रो संस्करण निस्केको छ। द्रौपदी र सीताको माध्यमबाट तत्कालीन युगमा नारीहरूको स्थान, अवस्था र तिनप्रति पुरुषहरूको दृष्टिकोणलाई चित्रित गरिएको यो किताबमा द्रौपदीको व्यक्तित्व अलि निडर, विद्रोही र सङ्घर्षशील देखिन्छ भने सीता निमुखो, निसहाय र निरीह देखिन्छिन्। यी दुई पात्रको माध्यमबाट लेखकले हाम्रो पूर्वीय समाज कसरी क्रमशः नारीप्रधानबाट पुरुषप्रधान हुँदै गयो भन्ने ऐतिहासिक–सामाजिक विकासक्रमको सटिक चित्रण गरेका छन्। यो कृतिको पहिलो संस्करण निस्कँदा लेखकले नयाँ पुस्तालाई यसतर्फ आकर्षित र प्रवृत्त गर्न सकोस् भन्ने अपेक्षा राखेका थिए। अहिले १५ वर्षपछि दोस्रो संस्करण निस्कँदा लेखको सो अपेक्षा पूरा भएको अनुभव गर्न सकिन्छ।


झर्रो नेपाली शब्दकोश

किताबः झार्रो शब्द्यौली
संकलकः प्रा. बालकृष्ण पोखरेल
प्रकाशकः जगदम्बा प्रकाशन, २०६४
पृष्ठः १२०+१०, मूल्यः रु.१५०

झर्रो आन्दोलनको स्वर्ण वार्षिकोत्सवको अवसर पारेर जगदम्बा प्रकाशनले प्रा. बालकृष्ण पोखरेलको झर्रो शब्द्यौली प्रकाशित गरेको छ। यो शब्द्यौलीलाई पोखरेलले २०२९ सालमा प्रकाशित झर्रा शब्दहरूको बढी प्रयोग भएको आफ्नो निबन्ध सँगालो उकुसमुकुस मा ४८ पृष्ठको परिशिष्टको रूपमा राखेका थिए। यति महत्त्वपूर्ण सामग्रीलाई एउटा किताबभित्र लुकाएर राखिएको जगदम्बा प्रकाशनका अध्यक्ष कमलमणि दीक्षितलाई चित्त बुझेनछ र उनकै हुटहुटीले गर्दा झर्रा शब्दहरूको यो अलग्गै कोश निस्क्यो।
निबन्ध सँगालोमा समावेश गरिएको परिशिष्टको तुलनामा चार दोब्बर बढी, लगभग चार हजार शब्द समेटेर निकालिएको यो किताब सम्भवतः पहिलो नेपाली झर्रो शब्दकोश हो। सानै भए पनि यो कृति विद्यार्थी र विद्वानहरूदेखि नेपाली भाषा र शब्दसँग खेल्ने सबैलाई उपयोगी हुने कुरामा द्विविधा छैन।