हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

विज्ञान–विचार

चिया पिउने बानी बसालौं

डा. तीर्थबहादुर श्रेष्ठ

अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुट्टामा
बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा

– कवि भूपि शेरचन

'चिया पिउनुभयो?' आजभोलि बिहानीको आम भेटवाक्य यस्तै हुनेगर्छ। रिमिक्सको 'चियाबारी' मा झुल्ने तरुण पुस्तादेखि भूपिका शब्द र नारायणगोपालको स्वरमा चियाको बुट्टामा अल्झेको पछ्यौरीको व्यथा सुन्ने पाको पुस्तासम्म उत्तिकै भेटिन्छन्। चिया उत्पादनमा नयाँ क्षितिज उघ्रने सङ्केत पनि देखिँदैछ। त्यसैले आज चियाकै कुरा गरौँ।

नेपालमा चियाखेती डेढ सय वर्ष (वि.सं. १९२०) अघि शुरु भए पनि काठमाडौँको जनजिब्रोमा यसको स्वाद पस्कने श्रेय २००० सालतिर सुनधारामा खुलेको 'धरहरा माइला' को पसललाई जान्छ। अतीतलाई सम्झिँदा एनआरटीका फूटबल खेलाडीहरू खेलमैदानबाट सीधै माइलादाइकहाँ पुगेर आलुचप र चियाको कपमा रमाएको दृश्य बिर्सनै सकिन्न। हुन त त्यसअघि नै ल्हासाबाट फर्केका केही नेपाली साहुका घरमा नून र घ्यू हालेको भोटेचियाको प्रवेश भइसकेको हो, तर माइलादाइकहाँ दूध र चिनी हालेको चिया पाइन्थ्यो।

चियाः एउटा गुणी वनस्पति
चिया सेवनको इतिहास पाँच हजार वर्ष पहिलेको चीनका एक बादशाह च्छेन नुङसँग गाँसिएको छ। उनले रोगबाट बच्नलाई उमालेको पानी पिउने बानी बसाल्न चियाको सेवन शुरु गरेको भनाइ छ। यसरी चीनबाट जापान हुँदै फैलिएको चिया आज संसारकै साझा पेय बनेको छ।

चिनियाँहरू चियालाई 'च्छा' वा 'छ्या' भन्दछन् भने जापानीहरू 'च्चा' वा 'चाः'। तिब्बती एवं हाम्रा हिमाली क्षेत्रका बासिन्दालेे पनि यस्तै–यस्तै शब्दबाट चियालाई सम्बोधन गर्दछन्। वनस्पति विज्ञानले चियालाई 'च्छा' वा 'थ्या' (thea)नामाङ्कन गरेको छ। त्यसैमा आधारित भएर होला, फ्रान्सेली र अरू केही युरोपेली भाषामा चियालाई 'थे' भनिन्छ। बेलायतीहरूले त्यसबाट एउटा अक्षर 'एच' हटाएर 'टिया' र पछि 'टी' भन्न थाले। हामीले 'चिया' भन्यौँ। भारतमा कहीँ 'चा' त कहीँ 'चाय' भनिन्छ। रूसीहरूले पनि युरोपको सिको नगरेर नेपाल–भारतको लवजसँगै मिल्ने गरी 'चाइ' भन्छन्। वैज्ञानिक जगतमा पहिले 'थिया साइनेन्सिस्' (Thea sinensis)भनिने चियालाई आजभोलि परिस्कृत गरेर 'क्यामेलिया साइनेन्सिस' (Camellia Sinensis) भन्ने गरिएको छ।

चियाबारीमा तरुनातरुनीहरू कम्मरसम्म झाडीमा डुबेर चियाका पत्ती टिपिरहेका देख्दा चियाको बोट सधैँ यस्तै बामपुड्के होलान् जस्तो लाग्छ। चियाका बोटमा नयाँ पालुवा र पातलाई मात्र बढावा दिन प्रत्येक वर्ष गरिने काँटछाँटले गर्दा चिया बगानमा बुट्टा काटेजस्तै गरी मिलेको देखिने मनमोहक हरियाली दृश्य प्राकृतिक नभएर मिहेनती हातको कलात्मक सिर्जना हो। त्यसै छोडिदिने हो भने त चियाको पनि चिलौनेको झँै पाँच–सात मिटर अग्लो वृक्ष हुन्छ। त्यसमा चिलौनेकै जस्ता सेतो फूल फुल्दछन् र बीउ लाग्दछ। त्यसैले बीउ लिने चियाको बोटलाई नकाटिकनै राखिन्छ।

चियाको रंग, स्वाद, गुण र दोष त्यसको रसायनिक सारतत्वमा निर्भर हुन्छ। चियामा हुने 'क्याफिन' नामक रसायनिक पदार्थले मानसिक थकाइ कम गराउँछ र जाँगर बढाउँछ। यसमा हुने 'एमिनो एसिड' हरूमध्ये 'थियानिन' ले स्वाद र सुवास दिन्छ। 'क्याटेचिन' र 'पोलिफिनोल' लेे हाम्रो शरीरभित्र उत्पन्न हुने कतिपय विकारहरूलाई नियन्त्रण गर्न मद्दत पुर्‍याउँछन्। तिनमा निहित 'एन्टिअक्सिडेन्ट' गुणले शरीरको प्रतिरक्षा शक्ति बढाउन मद्दत गर्दछ, जसको कमीबाट विश्वका मूल चार प्राणघातक रोग– मस्तिष्कघात, हृदयघात, मधुमेह र क्यान्सर समेत प्रभावित हुने अमेरिकाको हार्वर्ड मेडिकल स्कूलको एक अनुसन्धानले देखाएको छ। यस्तो लाभप्रद तत्व हरियो चिया (ग्रीन टी) मा बढी हुने बताइन्छ।

नेपालमा चियाको लत

नेपालको तराई, मधेश र मध्यपहाडी भेकमा २००७ सालपछि मात्र चियाको लत लागेको हो। २०३० सालसम्म पनि मुख्य–मुख्य गौँडा छोडेर अरू ठाउँमा चिया पसल भेटिन गाह्रै पर्थ्यो। गाउँघरतिर चिया–चमेना गराउने पसललाई 'होटेल' र छ्याङ–रक्सी पाइने पसललाई 'भट्टी' भन्ने चलन थियो। अहिले त्यो दुवैको समायोजन भएर 'रेष्टुराँ' बनेको छ, जहाँ 'चिया–सिया पाइन्छ?' भन्दै छिनर्ेे ग्राहकको 'सिया' भित्र मादक पदार्थ र तिनका लागि सितनलगायत नमालुम अरू के के आशय लुकेको हुन्छ। 'चिसो चिया' माग्नेले त ठाडै रक्सी मागेको बुझिन्छ।

भोट र हिमालका गाउँघरतिरको चिया संस्कृति अलि बेग्लै पाराको छ। पुरानो काठको आरी वा नयाँ चिनियाँ माटोको कपमा पिउन दिइने भोटेनून र चौँरीको घ्यूसहित 'ढुङ्मो' मा मथिएको चियाको स्वादै अर्कै। अगेनामा चियापानी कहिल्यै खाली हुँदैन। पाहुनाको सत्कार चियाबाटै शुरु हुन्छ। तिब्बत र चीनमा जस्तै कप रित्तिन नपाउँदै भरिदिने चलन भएकोले थप्ने इच्छा नभए अन्तिम कपको चिया नपिइकनै छोड्नुपर्छ। भोटेचिया धूलो वा पत्तीजस्तो नभई डल्लो वा चारपाटे इँटाजस्तो हुनेगरी खाँदेर सुकाइएको हुन्छ र बनाउने बेलामा त्यसैको टुक्रालाई नूनसँग पानीमा हालेर उमालिन्छ। उच्च धरातलमा उम्लिने पानीमा धेरै तापमान नहुने हुनाले नून वा अरू घुल्ने पदार्थ थप्यो भने त्यसले बढी तापमान लिने र चियाको राम्रो रंग झार्न सक्ने हुनाले नून हालेर पकाउने गरिएको हो। यो जुक्ति नलगाए त्यहाँ धूलो वा पत्ती चियाको पनि रंग र स्वाद आउँदैन।

अधिकतम् नेपालीले 'सीटीसी' (कट–टियर–कर्ल) भनिने धूलो चिया उपभोग गर्छन्भने केहीले 'अर्थोडक्स' पत्ती चिया पनि मन पराउँछन्। चिनियाँ हरियो चिया 'ग्रीन टी' वा त्यसमा चमेलीको फूल मिसिएको 'ज्यास्मिन टी' पनि हाम्रो रुचिमा रम्न थालेको छ। चियाको पानी सेलाएपछि त्यसमा वरफ राखी 'आइस टी' बनाएर पिउने चलन पनि छ।

ओलङचुङगोलाका दिदीबहिनीले हिलेमा बनाउने भोटेचिया ठाउँको उचाइअनुसार ठीकै टर्रो, धनकुटामा झन् टर्रो अनि धरान पुगेपछि खाइनसक्नु टर्रो र तीतो हुन्छ। त्यसैले चियाको स्वाद लिनलाई ठाउँ अनुसारको चिया र चिया बनाउने तरिका हुनुपर्छ। काठमाडौँमा चियालाई पानीमा उमालेर होइन, उम्लेको पानी चियापत्तीमा खन्याएर दुई–तीन मिनेट छोपी बनाएमा राम्रो रंग र मीठो वास्ना आउँछ। चियाको पानीको स्वादले मात्र तृप्त नहुने जिब्रोहरूका लागि दूध, चिनी र महदेखि कागती, अदुवा, मरिच, अलैँची, दालचिनी, सुकुमेल इत्यादि विभिन्न मरमसला हालेर स्वाद थप्ने चलन छ। केही नमिसाई पिइने हरियो वा जस्मिन चियामा पनि कसै कसैले चिनी हाल्ने गर्दछन्।

चिया पार्टी

कुनै वैगुन नभएको पेयपदार्थको रूपमा चियाको स्थान संसारभर सुरक्षित छ। चिया पार्टी गर्नु वा चिया खान भेट्नु सभ्य समाजको परिचायक नै बनिसकेेको छ। अपरिचितसँग परिचय गर्न र परिचितसँग अझ नजिक हुन चियामा निम्तो गर्ने परम्परा नै छ। 'चिया पिउन जाउँ न.... मेरोमा चिया पिउन आउनोस् न... चिया पिएर जानुस् न...' भन्नु सौहार्दताको द्योतक बनिसकेको छ। कार्यालयहरूमा पनि चियाको सत्कार बढ्न थालेको छ। 'टी–व्याग' ले गर्दा त्यो अझ सजिलो भएको छ।

केही दशकयता हाम्रा नेता र राजनीतिक दलहरू पनि नियमित चिया पार्टी गर्न थालेका छन्। मेलमिलापको नीति लिएर प्रवासबाट नेपाल भित्रिएका नेपाली काङ्ग्रेसका नेता विश्वेश्वरप्रसाद कोइरालाले २०३४ सालको दशैँ पूर्णिमादेखि चाबहिलस्थित निवासबाट शुरु गरेको चिया पार्टीलाई उहाँको शेषपछि धेरै वर्ष गणेशमान सिंहले क्षेत्रपाटी, चाक्सीबारीमा डाक्नुभयो। काङ्ग्रेसले अहिले पनि सो परम्परालाई जारी राखेको छ। केही वर्षदेखि दशैँकै अवसरमा एमालेले आफ्नो पार्टी कार्यालय, बल्खुमा चिया पार्टी गर्न थालेको छ। दशैँ र अन्य विभिन्न सन्दर्भ पारेर अरू दलले पनि चिया पार्टी गर्न थालेका छन्।

१८ औँ शताब्दीको पूर्वार्द्धतिर युरोपका विशेष गरेर उच्च घरानियाँ महिलाहरू अपरान्हको समयमा सहेली र पाहुनासँगै बगैँचामा बसेर चिया पिउँदै गफ र मनोरञ्जन गर्दथे। यसैगरी सांस्कृतिक पूर्णताले परिस्कृत जापानी चिया समारोहलाई मानवसभ्यताको उच्चतम शिष्टाचार मानिन्छ।

चिया उत्पादनमा नेपाल
चिया उत्पादनमा नेपाल पनि अग्रसर छ। १० वर्षअघि साढे चार हजार हेक्टर क्षेत्रफल चियाखेतीले ढाकेको नेपालमा हाल तराई, भावर र औले भेकमा लगाइने सीटीसी चियाखेती करिब नौ हजार तथा पर्वतीय पाखामा हुने अर्थोडक्स चियाखेती सात हजार गरी १६ हजार हेक्टरमा फैलिएको र क्रमशः बढ्दै पनि छ। अर्थोडक्स चियाको ६० प्रतिशत खेतीमा सात हजारभन्दा बढी साना किसान परिवार संलग्न छन् र ५० हजार व्यक्तिले रोजगारी पाइरहेका छन्।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्मारिका 'चियै–चिया' मा प्रकाशित तथ्याङ्कअनुसार २०६२/६३ सालमा नेपालमा १ करोड ३६ लाख किलोग्राम चिया उत्पादन भयो, जसमध्ये १२ प्रतिशत अर्थोडक्स र अरू सीटीसी चिया थियो। नेपालबाट समुद्रपार निकासी हुने अर्थोडक्स चिया मात्रै हो,जुन उत्पादनको ९५ प्रतिशत विदेश जान्छ। यसले विश्व व्यापार संघ (डब्ल्यूटीओ) को सदस्यता प्राप्त गरेपछि चियाको वैदेशिक व्यापारमा झेल्नुपर्ने चुनौती र त्यसबाट दोहन गर्नुपर्ने अवसरहरूका बारेमा देशले स्पष्ट नीति, रणनीति र कार्यक्रम अवलम्बन गर्नुपर्ने खाँचो देखाएको छ। अन्तर्राष्ट्रिय बजारमा पुग्न हाम्रो चियाले अनेकन् परीक्षा र पहरा पार गर्नुपर्ने हुन्छ। यसले सरुवा रोगव्याध नियन्त्रण गर्ने क्वारेन्टाइन जाँच, कीटनाशक रासायनिक विषादीबाट मुक्त भएको प्रमाणीकरण र जैविक आतङ्क (बायो–टेररिज्म) नियन्त्रणको अमेरिकी प्रावधानलाई छिचोलेर अन्तर्राष्टिय बजार पुग्नुपर्छ। यस क्रममा नेपाली चियाले स्वच्छ र स्वास्थ्यबर्द्धक वस्तुको रूपमा आफ्नो स्वत्व अर्थात् 'ब्राण्ड नेम' र प्रतीक चिन्ह कायम गर्न पछिपर्नु हुँदैन।

नेपालको भूस्वरुप र नेपाली जनमानसको स्वभाव सुहाउँदा बालीहरूमध्ये चियाको स्थान विशिष्ट छ। नेपाली चियालाई विश्व बजारको प्रतिस्पर्धामा उतार्नका लागि हामीले वैज्ञानिक अनुसन्धानमा जोड दिनुपर्दछ। चियासँग गाँसिएका किसान, मजदुर, उद्यमी, व्यवसायी र व्यापारीहरूबीचको सम्बन्ध र समन्वय सुचारु, समन्यायिक र पारदर्शी बनाउन सबैले आफ्नो सकारात्मक भूमिकालाई क्रियाशील बनाउनुपर्ने हुन्छ। कहिले किसान र कारखाना मालिकको खिचलो त कहिले द्वन्द्वको कारणले चियामा व्यवधान उत्पन्न भएको खबर पत्रपत्रिकाका पृष्ठ तथा रेडियो, टेलिभिजनमा आउँछन्। यस्ता समाचार पढेर वा सुनेर बिहानीको चिया पिउँदा चियाको स्वाद खल्लो हुनु स्वाभाविकै हो, जसमा सम्बद्ध सबै पक्षले विचार पुर्‍याउनु पर्छ।

चिया आफैँमा एक शुद्ध र निश्छल पेय पदार्थ हो, त्यसैले यसमा कुनै किसिमको छलछाम र फोहोरी राजनीति नगरौँ। यो स्वस्थकर पनि छ, त्यसैले चिया पिउने बानी बसालौँ।