हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ संक्षेप

निर्यातले बढायो मूल्य

एकमहिनाको अवधिमा स्थानीय बजारमा गहुँको पीठोको मूल्यमा प्रतिकिलो रु.२ ले वृद्धि भएको छ। साउन महिनामा मैदाको भाउ रु.९ सयबाट बढेर रु.११ सय पुगेको छ।

मैदाजन्य वस्तुहरूको मूल्य बढ्नुको प्रमुख कारणमा पछिल्लो समयमा यहाँको गहुँ विदेशमा निर्यात हुन थालेर हो। १५ दिनअघिदेखि बङ्गलादेशतर्फ गहुँ जान थालेपछि यहाँका मिलहरूमा गहुँको अभाव देखिएको छ।

बङ्गलादेशमा गहुँ निकासी नहुन्जेलसम्म रु. १५ सय प्रति क्वीन्टल रहेको गहुँ अहिले १८ सय तिर्दा पनि पाइँदैन। व्यवसायी रुपकिशोर लाकौल भन्छन्, “हामी उद्योगीहरूले त बढेको भाउमा गहुँ किनेर मैदा बनाउँला, त्यसको लागत बढेपछि मैदाको भाउ पनि बढाउनुपर्दछ।” लाकौलका भनाइमा अब पाउरोटीदेखि लिएर चाउचाउ, बिस्कुट रपशुपालन गर्ने कृषकका लागि चाहिने चोकरको मूल्य पनि बढ्छ।

व्यवसायीका भनाइमा गएको ६ महिनायता भारतले पनि नेपालमा गहुँ ल्याउन रोक लगाइदिएपछि यहाँका मैदामिलहरूले सङ्कट व्यहोर्न थालेका हुन्। गएको चैतमा भारतबाट गहुँ आउन बन्द भएपछि मैदा उद्योगहरू एक महिना बन्द भएका थिए। स्वदेशी मैदा मिलहरूलाईगहुँ नपुगिरहेको बेला निर्यात गर्न दिने सरकारी नीतिले स्थानीय उद्योगहरू सङ्कटमा पर्ने रुपन्देही मैदा मिल एशोसिएशनका पूर्व अध्यक्ष नन्दलाल गोयन्का बताउँछन्। उनी भन्छन्, “गहुँको मूल्य वृद्धि भएपनि किसानहरूले चाहिँ वृद्धि भएको मूल्य पाउन सकेका छैनन्। विचौलियाहरूले भाउ बढाएका हुन्।”

नेपालभरका १९ वटा मैदा मिलहरूमध्ये ६ वटा त रुपन्देहीमा मात्रै छन्। उद्योगीहरूका अनुसार एउटा मैदा मिललाई प्रति महिना १५ हजार क्वीन्टल जति गहुँ आवश्यक पर्दछ। अर्थात् १९ वटा मैदा मिलले प्रति महिना झण्डै दुई लाख क्वीन्टल गहुँ खपत गर्दछन्।
मुकेश पोखरेल, भैरहवा


गन्तव्य मलेशिया प्रकृति संरक्षण र आधुनिकीकरण

सुरेशराज न्यौपाने

भ्रमण वर्ष र स्वतन्त्रताको ५० वर्ष पुगेको अवसरमा मलेशियाले सन् २००७ भरिमा २.१ करोड पर्यटक भित्र्याउने लक्ष्य लिएकोमा गत मेसम्ममा मात्र करिब ९० लाख पर्यटक भित्र्याइसकेको छ। यही अनुपातमा पर्यटकहरू भित्रिने हो भने आगामी डिसेम्बरसम्म यो सङ्ख्या करिब साढे दुई करोड पुग्ने विश्लेषकहरूको दाबी छ। दक्षिण पूर्व एसियाकै मुख्य पर्यटकीय गन्तव्यका रूपमा उदाउँदो मलेशियाले पर्यटनको क्षेत्रमा चालेका अभियान र योजनाहरू नेपालजस्ता मुलुकहरूका लागि उदाहरण बन्न सक्छन्। मलेशियाले विगत दुई दशकमा हासिल गरेको आर्थिक विकासमा पर्यटन व्यवसायको उल्लेख्य योगदान छ। पर्यटक आकर्षणका लागि पेनाङ, लाङकावीजस्ता मनोरम पर्यटकीय गन्तव्यहरूको संरक्षण त गरिएको छ नै, क्वालालम्पुर, गेन्टिङ्ग हाइल्याण्डको आधुनिकता–तर्फ पनि त्यतिकै ध्यान दिएको छ। जसका कारण, मलेशिया, संसारभरका पर्यटकहरूका लागि 'हट स्पट' बनेको छ। मुश्लिम राष्ट्र भए तापनि मलेशियाले आधुनिकताको हरेक पक्ष र क्षेत्रलाई सजिलै अङ्गीकार गरेको छ।

सन् २००७ लाई ऐतिहासिक र कीर्तिमानी बनाउन मलेशिया र त्यहाँका जनताले देखाएको आतिथ्य र सत्कारकै परिणाम हुनसक्छ, छिमेकी मुलुकहरूका पर्यटकीय गन्तव्यहरूलाई समेत बेवास्ता गर्दै खाडी मुलुकका पर्यटकहरूको ओइरो नै लागेको छ। भारत, पाकिस्तान, नेपालजस्ता पर्यटनका लागि कहलिएका मुलुकहरू छेउमै हुँदाहुँदै पनि खाडी राष्ट्रका पर्यटकहरूले मलेशियालाई नै आफ्नो भ्रमण गन्तव्य बनाउनुमा मलेशियन सरकार र त्यहाँको क्षेत्रले पर्यटन क्षेत्रप्रति देखाएको लगाव र गम्भीरता मुख्य कारण हुन्। सँगै मलेशियन एअरलाइन्स्ले ल्याएको सहज र सुलभ 'प्याकेज'हरू पर्यटक आकर्षणको थप कारण बनेको छ। भ्रमण वर्षका अवसरमा यो वर्ष मात्रै मलेशियाभर तीनदर्जनभन्दा बढी विभिन्न उत्सव र कार्यक्रमहरू भइरहेका छन्। जसमध्ये विश्व सङ्गीत महोत्सव, फरमुला वान ग्रान्ड प्रि, साइकलिंग, चलचित्र महोत्सव प्रमुख छन्। त्यस्तै मलेशियाभर १६ जूनदेखि २ सेप्टेम्बरसम्मलाई 'मेगा सेल कार्निभल' (किनमेल मेला) घोषणा गरिने विगतको परम्परालाई निरन्तरता दिइएको छ।

संसारभरका पर्यटकहरूको ध्यान खिच्न सफल मलेशियालाई पर्यटन गन्तव्य बनाउँदै त्यहाँ पुग्ने नेपालीहरूको सङ्ख्या पनि प्रत्येक वर्ष बढ्दो छ। नेपाल भित्रिने मलेशियाली पर्यटकको तुलनामा त्यहाँ जाने नेपाली पर्यटकहरूको सङ्ख्या धेरै छ। गत वर्ष ४५०० मलेशियनले नेपाल भ्रमण गरेकोमा करिब १४ हजार नेपालीहरू पर्यटकका रूपमा त्यहाँ पुगेका थिए। किन बढेको छ त मलेशिया प्रतिको आकर्षण? नेपाली पर्यटकहरूलाई आकर्षक प्याकेजहरूमा मलेशिया पठाउँदै आएको मार्कोपोलो ट्राभल्सका प्रबन्ध निर्देशक सुबोध राणा भन्छन्, “मलेशियाले पर्यटन क्षेत्रमा ठूलो लगानी त गरेको छ नै साथै त्यहाँका जनताले पनि पर्यटन क्षेत्रलाई आत्मसात् गरेका छन्।

सुरेशराज न्यौपाने, मलेशियामा


सीतापाइलामा सीईडीबीको एटीएम

क्लिन ईनर्जी डेभलप्मेन्ट बैंक लि. (सीईडीबी) ले २८ साउन २०६४ देखि २४ घण्टे एटीएम सेवा सञ्चालनमा ल्याएको छ। काठमाडौँको सीतापाइलामा स्थापित उक्त एटीएम मेशिनबाट त्यस क्षेत्रका सर्वसाधारणहरू लाभान्वित हुने ब्याङ्कको विश्वास छ।

गर्भनिरोधक फेमिनिल बजारमा

परिवार नियोजन तथा प्रजनन् स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको मेरी स्टोप्स् सर्भिसेजले महिलाहरूका लागि गर्भनिरोधक खानेचक्की फेमिनिल बजारमा ल्याएको छ। काठमाडौँ र देशका विभिन्न भागहरूमा बिक्रीवितरण शुरु गरिएको फेमिनिल अन्तर्राष्ट्रिय गुणस्तरको रहेको दाबी मेरी स्टोप्स्को छ।

बजाजको पल्सर–२०० बजारमा

बजाज मोटरसाइकलले २०० सीसी क्षमताको नयाँ मोडलको पल्सर बजारमा ल्याएको छ। डीटीएसआई इञ्जिन जडित यो बाइक नेपाल भित्रिने पहिलो 'तेलले चिस्याउने' (ओयल कुल्ड्) प्रविधि जडित बाइक भएको कम्पनीले जनाएको छ। यो प्रविधिका कारण इञ्जिनलाई चिसो बनाइराख्ने र अत्यधिक चापमा पनि चालकलाई मोटरसाइकल हलुको अनुभूति गराउने दाबी कम्पनीको छ। एभरेष्ट ब्याङ्कमार्फत् फाइनान्स सुविधामा उपलब्ध गराइने, पाँच वर्ष निःशुल्क सर्भिसिङको सुविधा रहेको यो बाइकको बजार मूल्य रु.१ लाख ८२ हजार ५०० रहेको छ।

बीमा संस्थानको वात्सल्य बीमा योजना

राष्ट्रिय बीमा संस्थानले ८ वर्षसम्मका बालबालिकाका लागि वात्सल्य जीवन बीमा शुरु गरेको छ। संस्थानका अनुसार बीमाङ्क रकम रु.१ लाखदेखि ५ लाखसम्म रहने छ। बीमित अवधि न्यूनतम ८ वर्षदेखि २२ सम्म रहने उक्त योजनामा आमाबुबा दुवै प्रस्तावक रहन सक्ने व्यवस्था गरिएको छ।

एल्मुनियम प्यानलहरू बजारमा

हंसराज हुलासचन्द एण्ड कम्पनीले भारतको एलु–बन्ड इन्टरप्राइजेजद्वारा निर्मित एलस्ट्रङ र मेटास्ट्रङ ब्राण्डका एल्मुनियम प्यानलहरू बजारमा ल्याएको छ। कम्पनीका अनुसार एलस्ट्रङ र मेटास्ट्रङ प्यानलमा गुणस्तरीय एल्मुनियम प्रयोग गरिएको छ। ३० आकर्षक रङमा उपलब्ध मेटास्ट्रङ प्यानलहरू टिकाउ हुनुका साथै ग्रेनाइट र मार्वलहरूभन्दा पनि आकर्षक हुने दाबी कम्पनीको छ।

बाढीपीडितलाई नबिल कर्मचारीको सहयोग

तराईका विभिन्न भागमा गएको बाढी–पहिरोका पीडितहरूको सहयोगार्थ नबिल ब्याङ्क कर्मचारीहरूको तर्फबाट रु.१ लाख ५१ हजार १५१ का साथै लत्ताकपडा प्रदान गरिएको छ। उठेको रकम र सामग्री पीडितहरूसम्म पुर्‍याउनका लागि गैरसरकारी संस्था हृदय समूहलाई हस्तान्तरण गरिएको ब्याङ्कले जनाएको छ।

टेरेक्स–भेक्ट्रा अब नेपालमा

शान्ति बहालीसँगै तीब्रता लिँदै गएको निर्माण बजारमा आफ्नो स्थान सुनिश्चित पार्ने क्रममा निर्माण उपकरणहरूको अन्तर्राष्ट्रिय उत्पादकहरूको नेपाल प्रवेश गर्ने क्रमले तीब्रता पाएको छ। यसै क्रममा काठमाडौँस्थित अटो–इलेक्ट्रो–मेक प्रा.लि.मार्फत् निर्माण उपकरणहरूको अन्तर्राष्ट्रिय ब्राण्ड टेरेक्स–भेक्ट्रा स्थानीय बजारमा प्रवेश गरेको छ। यससँगै कम्पनीद्वारा उत्पादित ब्याक हो लोडर्स, स्किड स्टियर लोटर्स, कम्प्याक्टर्स, एक्सक्याभेटर तथा अन्य निर्माण उपकरणहरू नेपाली बजारमै पाइने भएका छन्।

म्याकोज चिकेन क्रेकर बजारमा

बिक्यास फुड इण्डस्ट्रिज प्रा.लि.ले म्याकोज चिकेन क्रेकर बजारमा ल्याएको छ। विभिन्न ब्राण्डका तयारी खाजा उत्पादन गर्दै आएको उक्त कम्पनीका अनुसार म्याकोज चिकेन क्रेकर उच्च गुणस्तरको हुनुका साथै स्वादमा पनि नौलोपन रहेको छ। २५ ग्राममा उपलब्ध हुने यस खाजाको उपभोक्ता मूल्य प्रति प्याकेट रु.१५ राखिएको छ।

बीओकेको नयाँ शाखा

आफ्नो सेवालाई विस्तार गर्ने क्रममा बैंङ्क अफ काठमाण्डू लिमिटेडले काठमाडौँको गोङ्गबु र बाँकेको कोहलपुरमा दुई शाखा सञ्चालनमा ल्याएको छ। आफ्ना १६ शाखा तथा ६ वटा सेवा काउन्टर समेत कुल २२ स्थानबाट सेवा प्रदान गर्दै आएको यस ब्याङ्कले गाउँगाउँमा पनि शाखाहरू विस्तार गर्दै जाने जनाएको छ।