हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

आवरण

यी अपराधमा पनि क्षमादान?

११ वर्षको सशस्त्र द्वन्द्वमा मानवता विरुद्धका अपराध र गम्भीर प्रकृतिका मानवअधिकार उल्लङ्घनमध्ये केही चर्चामा आएका घटना मात्रले पनि स्थितिको गम्भीरता देखाउँछ।

मोहन मैनाली

कोटबाडा कालीकोटः १२ फागुन २०५८ मा कालीकोटको कोटबाडामा माओवादी खोज्ने क्रममा सेनाले अन्धाधुन्द गोली चलाउँदा स्थानीय गाउँवासीसहित कोटबाडा विमानस्थल निर्माणको काम गर्न गएका ३७ जनाको ज्यान गयो। तीमध्ये १७ जना मजदुर धादिङ जोगिमाराका दलित र आदिवासी जनजाति समुदायका थिए।

 

कनक दीक्षित

पाण्डुसेन बाजुराः बाजुराको सदरमुकाम मार्तडीबाट गस्तीमा निस्केको सेना र प्रहरीको टोलीले १२ कात्तिक २०५९ को बिहान झिसमिसेमा आङ्पानीमा तास खेलेर बसिरहेका सात जना किसानलाई माओवादी ठानेर घरभित्रै पसेर गोली हानी हत्या गरेको थियो।

 

कनक दीक्षित

दोरम्बा रामेछापः सरकार–माओवादीबीच दोस्रो वार्ता भइरहेको बेला ३२ साउन २०६० मा दोरम्बामा बैठक बसिरहेका रामेछापका माओवादी कार्यकर्तालाई सेनाले घेरा हालेर गिरफ्तार गरी नजिकैको डाँडाकटेरीमा पुर्‍याई लाइन लगाएर गोली हानी हत्या गरेको थियो। यस घटनामा १९ माओवादी र एक सर्वसाधारणसहित २० जनाको हत्या भएको र उषा नामकी एक महिला बेपत्ता भएको स्थलगत प्रतिवेदन राष्ट्रिय मानवअधिकार आयोगले दिएको थियो।

मोहन मैनाली

माडी चितवनः २३ जेठ २०६२ मा माडीमा माओवादीका कार्यकर्ताले एक यात्रुवाहक बसलाई धरापमा पारी ३८ जनाको ज्यान लिए। १५० यात्रु लिएर हिँडेको बसलाई दुई सय मिटर टाढा तानिएको बिजुलीको तारबाट विष्फोटमा पारिएको थियो।

 

मैना सुनार काभ्रेः काभ्रेकी १५ वर्षीया मैना सुनुवारलाई श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालको सेनाले सन् २००४ फेब्रुअरीमा गिरफ्तार गरी यातना दिएर हत्या गरेको थियो। सोही तालिम केन्द्रमा गाडिएको मैनाको शव नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालय र मानवअधिकारवादी संघसंस्थाको पहलमा केही महिनाअघि उत्खनन् गरिएको थियो।

 

मीन बज्राचायर्

भैरवनाथ गण काठमाडौँः सशस्त्र द्वन्द्वकालमा माओवादीको आशङ्कामा मानिसहरू गिरफ्तार गरेर चरम यातना दिने, दुर्व्यवहार गर्ने र बेपत्ता बनाउने मामलामा काठमाडौँस्थित भैरवनाथ र युद्धभैरव गणले प्रमुख भूमिका खेलेका थिए। नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालयले सन् २००३ को सेप्टेम्बर–डिसेम्बरमा भैरवनाथ गणको हिरासतमा राखिएका तर बेपत्ता पारिएका ४९ जनाको पहिचान भएको पुष्टि गरेको थियो। उक्त अवधिमा १३७ जनालाई पक्रेर थुनामा राखेको कुरा भैरवनाथ गणले राष्ट्रसंघीय छानबिन टोलीसँग स्वीकार गरेको थियो।