हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ विकास निर्माण

मेशिनको बाटोमा

पछिल्ला वर्षहरूमा निर्माण कार्यमा ठूला र भारी मेशिनहरूको प्रयोग बढ्दो छ।

शैली बस्नेत

मान्छेले खनेर बनाउने हो भने दुई–तीन वर्ष लाग्ने अनुमान गरिएको बाग्लुङ–पाङ्ग सडक एक्सक्याभेटर मेशिन प्रयोग गरेपछि ४५ दिनमै तयार भयो। निर्माण व्यवसायी राजिन खड्काका अनुसार, मानव श्रम मात्र प्रयोग गरेर बनाएको भए झण्डै सवा करोड रुपैयाँ लाग्ने ११ किलोमिटरको यो सडक निर्माण गर्न रु.२५ लाख जति मात्र खर्च भएको छ।

पछिल्ला वर्षहरूमा निर्माणकार्यमा ठूला र भारी मेशिनहरूको प्रयोग बढेकाले नेपाली समाजमा समय, पैसा र श्रम सबै हिसाबले मान्छे भन्दा मेशिन उपयोगी हुने विश्वास स्थापित हुनथालेको छ। एकदशक लामो जनयुद्धको अन्त्य र पछिल्लो जनआन्दोलनको सफलतापछिका वर्षदिनमै देशमा ठूला र भारी मेशिनहरूको सङ्ख्या एकदमै बढेको छ। यस्ता मेशिन किनेर भाडामा दिनेहरूले बजारको माग पुर्‍याउन सकेका छैनन्। युनाइटेड विल्डर्स एण्ड इञ्जिनियर्सका अध्यक्ष पूर्णलाल हिराचन भन्छन्, “आन्दोलनपछि द्वन्द्वले लामो समयसम्म रोकिएको विकास निर्माणका काम गर्ने वातावरण बनेकोले व्यवसायीहरूको व्यस्तता बढेको हो।”

नेपालमा राजमार्ग निर्माण हुन थालेपछि भारी मेशिनहरूको प्रवेश भएको हो। वैदेशिक सहयोगमा हुने सडक निर्माणमा विदेशबाट झिकाइएका त्यस्ता मेशिन पछि स्थानीय व्यवसायीहरूका हातमा पुग्दथे। २०५२ सालमा ठूला सरकारी विकास निर्माणका काममा स्वदेशी निर्माण व्यवसायीहरूले समेत काम गर्न पाउने नीति आएपछि नेपाली व्यवसायीहरूले पनि ठूला मेशिनहरू मगाउन थाले। तर त्यसपछि नै द्वन्द्वले गर्दा विकास निर्माणले गति लिन नसकेकोले धेरै मेशिन भित्रिएनन् र भएका मेशिन भाडामा लगाउनेहरूले पनि पर्याप्त काम पाएनन्। मेशिन चालक (अपरेटर) हरू समेत काम नपुगेर विदेशिए।

अहिले समय बदलिएको छ। शान्ति प्रक्रियासँगै गति लिन थालेकोे विकास निर्माण कार्यअन्तर्गत बाटो, भवन, पुल, बाँध, रिजर्भ्वायर, जलविद्युत् गृह आदि बनाउनेे, गिट्टी कुट्ने कामका लागि ठूला र भारी मेशिनको प्रयोग बढेको छ। निर्माण व्यवसायीहरूका अनुसार पछिल्ला दिनमा गाउँ–गाउँमा सडक पुर्‍याउने लहर आएको र काम छिटो, राम्रो एवं सस्तो हुने हुनाले उपभोक्ता समितिहरूले यस्ता मेशिनको मागलाई बढाएका छन्। भारी मेशिन उत्पादक जेसीवी कम्पनीको नेपालस्थित अधिकृत बिक्रेता मोरङ अटो वर्क्सका प्रमुख व्यवस्थापक विवेक विजुक्छे भन्छन्, “नेपालमा छिटो र भरपर्दो विकास चाहिएकोले उपभोक्ता र निर्माण व्यवसायीहरूले मेशिनको प्रयोगमा जोड दिन थालेका हुन्।”

पर्याप्त संभावना

निर्माणकार्यहरू एकदमै तीब्र रूपमा भइरहेका सीमावर्ती भारतीय शहरमा बढेको ढुङ्गागिट्टीको मागले पनि नेपालमा मेशिनको उपयोग बढाएको छ। भारतमा ढुङ्गागिट्टी आपूर्तिका लागि ठूला मेशिन नभई नहुने हुनाले नेपालका क्रसर उद्योगहरूको व्यस्तता बढेको छ। कोमात्सु मेशिनका अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङका राजन श्रेष्ठले भारतमा आवश्यक सिमेण्ट आपूर्तिका लागि नेपालमा थप सिमेण्ट उद्योग खुल्ने संभावना पनि बढेकोले ठूला मेशिनहरूको माग अझै बढ्ने देखेका छन्। उनी भन्छन्, “त्यसैले सिमेण्ट उद्योगहरूमा थुप्रै लगानीकर्ताहरूको चासो छ। निकट भविष्यमा चुनढुङ्गा निकाल्ने माइनिङ मेशिनको माग बढ्नेछ।”

आगामी दिनहरूमा नेपालमा धेरै जलविद्युत् परियोजनाहरू पनि निर्माण हुने संभावना भएकोले ठूला र भारी मेशिनको बजार थपिँदै जानेछ। अहिले नै सार्वजनिक निर्माणसँगै ठूला–साना व्यापारिक र आवासीय भवनको निर्माणमा समेत जमिन खन्ने एक्सक्याभेटर, ढलानको घोल बनाउने मिक्सर आदि मेशिनको प्रयोग हुन थालेको छ। मिक्सरको प्रयोग त स–साना घर निर्माणमा समेत हुने थालिसकेको छ। यीबाहेक नहर, जग्गा प्लटिङ, दूरसञ्चार परियोजना, सिमेन्ट कारखाना, इँटाभट्टा, कोइलाखानी, वायुसेवा, नगरपालिकाले गर्ने विकासनिर्माणका कामहरूमा समेत ठूला मेशिनहरूको प्रयोग बढेको छ।

पहाड र भीरपाखा छिचोलेर बाटो बनाउन, मार्बल र ढुङ्गाको काम गर्न तथा ठूला परियोजना निर्माण गर्न मेशिन प्रयोगको विकल्प छैन। मेशिन चालक शिवजी धिमाल भन्छन्, “मेशिन हुँदा तराईको समतल भूभागदेखि विकट पहाडी क्षेत्रसम्म जहाँ पनि काम गर्न सजिलो हुन्छ।” २५ वर्षदेखि निर्माण व्यवसायमा संलग्न पूर्णलाल हिराचन भारी मेशिनका लागि धेरै ठूला परियोजनामा बाहेक अरू सबैजसो काममा अब पहिले जस्तो विदेशीमा भर पर्नु नपर्ने भएको बताउँछन्।

साधारणतया 'अर्थ मुभिङ इक्युपमेन्ट' भनेर चिनिने ठूला र भारी मेशिनहरूलाई निर्माण, माइनिङ र युटिलिटीको वर्गमा छुट्याइन्छ। निर्माणका लागि नेपालमा प्रयोग हुने ठूला मेशिनहरूमा ५० प्रतिशत जति एक्सक्याभेटर मात्रै हुने गरेका छन्। नेपालमा कोमात्सुका एक्सक्याभेटर बढी प्रयोग हुन्छन्। युटिलिटी वर्गमा 'ब्याक हो लोडर' को प्रयोग धेरै हुन्छ, जसको पछाडिको भागले एक्सक्याभेटर र अगाडिको भागले लोडरको काम गर्ने हुनाले धेरै किसिमको काममा प्रयोग हुन्छ। ब्याक हो लोडरका लागि नेपालमा जेसीवी निकै लोकप्रिय छ। निर्माण र माइनिङका लागि प्रयोग हुने डोजर, लोडर, ग्रेडर, रोलर, क्रेन जस्ता अन्य मेशिन पनि आवश्यकताअनुरुप प्रयोग भइरहेका छन्।

सामान्य निर्माणमा चाहिने यी मेशिनहरूसँगै केही सङ्ख्यामा अत्याधुनिक निर्माणका लागि आवश्यक नयाँ मेशिनहरूको माग पनि हुन थालेको छ, जसमा अग्ला भवन बनाउँदा निर्माण सामग्री तलमाथि ओसार्ने टेलिस्कोपिक लोडर, सुरुङ खन्ने लङबुम एक्सक्याभेटर, सडक नबिगारी पुनः कालोपत्र गर्ने कोल्ड मिलिङ मेशिन, खानीमा काम गर्ने नयाँ माइनिङ मेशिन आदि पर्दछन्। शहरका साँघुरा गल्लीमा घर भत्काउने वा बनाउने, नगरपालिकाले फोहोर उठाउने जस्ता कामका लागि सानो आकारको बहुउपयोगी स्किड स्किटरको उपयोग हुने संभावना बढेको विवेक विजुक्छे बताउँछन्।

हाल नेपालमा आठ वटा कम्पनीले उत्पादन गर्ने ठूला र भारी मेशिन भित्रिँदै आएका छन्। मोरङ्ग अटो वर्क्सले जेसीवीका, कन्टिनेन्टल ट्रेडिङले कोमात्सुका, ट्रयाक्टर्स नेपालले क्याटरपिलरका, वर्ल्डवाइड टे्रडिङले हिटाची र कावासाकीका, नकासु मोटर्सले एल एण्ड टी केशका र अटोइलेक्ट्रोमेकले टेरेक्स भेक्ट्राका उत्पादन भित्र्याइरहेका छन्। सबै कम्पनीका गरेर नेपालमा बर्सेनि करिब ३५० मेशिन आउँछन्, जसको कुल मूल्य झण्डै रु.१ अर्ब ७५ करोड पर्दछ। नयाँ मेशिन धेरै महँगो हुने कारण यसरी भित्रिने मेशिनमध्ये आधाभन्दा बढी 'रिकन्डिशन्ड' हुने गरेका छन्।

सुरक्षित लगानी
मेशिन भाडामा लगाउनेेहरूको व्यवसाय पनि फस्टाउँदो छ। बजारमा काम धेरै मेशिन थोरै भएकाले प्रतिस्पर्धा कम र भाडा दर राम्रो छ। एउटा एक्सक्याभेटरको भाडा प्रति घण्टा रु.२५०० देखि ३५०० आउँछ भने ब्याक हो लोडरको रु.१००० देखि १५०० पर्छ। व्यवसायीहरू यस हिसाबले काम पाएमा मेशिनमा हुने लगानी बढीमा चार वर्षमै उठ्ने बताउँछन्।

निर्माण व्यवसायीहरूले आफूसँग भएका मेशिन काम छउञ्जेल आफैँ प्रयोग गर्ने र अरू बेला भाडामा दिने हुनाले तिनको मेशिनमा हुने लगानी त अझ अरूको भन्दा चाँडो उठ्ने गरेको छ। निर्माण व्यवसायी श्याम महर्जन आफूले एक्सक्याभेटरमा गरेको लगानी एक डेड वर्षमै उठ्नेमा ढुक्क छन्। यस्ता मेशिनको औसत सञ्चालन अवधि १० वर्षको हुन्छ र राम्रो अवस्थामा राख्न सके तिनबाट अझ बढी काम लिन सकिन्छ। यसका साथै प्रयोग भएका पुराना मेशिनको किनबेच पनि राम्रै मूल्यमा हुने हँुदा व्यवसायीहरूको लगानी सुरक्षित छ।

१४ वर्षदेखि निर्माण सामग्री ढुवानीमा संलग्न नमस्ते ढुवानीका सञ्चालक ताराबहादुर कँडेलले हालसालै मेशिन भाडामा दिन शुरु गरेका हुन्। उनी भन्छन्, “यस्ता मेशिन भाडामा दिँदा उधारो चल्दैन। हिजोआज धेरै बाटो बनिरहेकोले एउटा गाउँमा पुगेको मेशिनले अर्को गाउँमा पनि काम पाउँछ। धादिङमा बाटो बनाउन वैशाखमा लगेको मेरो मेशिनले अहिलेसम्म उतै काम पाइरहेको छ।”

मेशिनको बढ्दो प्रयोगले मेशिन अपरेटरहरूले पनि पहिलेको तुलनामा नियमित काम पाइरहेका र राम्रो आम्दानी गरिरहेका छन्। काठमाडौँ हेभी इक्युपमेन्ट, कलङ्कीका अमर खुलाल भन्छन्, “पहिले काम नपाएर भारततर्फ गएकाहरू अब फर्किन थालेका छन्।” अझै पनि बजारमा दक्ष अपरेटरको कमी नै छ। विशेषगरी भारत र खाडी मुलुकहरूमा उनीहरूको माग धेरै हुने गरेकोले काम सिक्ने वित्तिकै विदेशिने प्रवृत्तिका कारण अपरेटरहरूको कमी भएको हो। अहिलेसम्म हेभी इक्वीपमेण्ट अपरेटरका लागि नेपालमा औपचारिक तालिम दिने व्यवस्था नभएकोले पनि पर्याप्त सङ्ख्यामा दक्ष अपरेटरहरू उत्पादन हुनसकेका छैनन्।

उत्साहजनक रूपमा बढेको मेशिनको प्रयोग सँगसँगै समस्या पनि छन्। मेशिन किनबेचमा सरकारले उपलब्ध गराउने भन्सार र भ्याट छुटको दुरुपयोग भएको छ। कतिपय कम्पनीले आफ्नो आवश्यकताको निहुँ पारी छुटमा मेशिन भित्र्याएर पछि अर्कैलाई बेच्ने गरेको गुनासो आधिकारिक बिक्रेताहरूको छ। त्यस्तै गाउँ–गाउँमा भाडामा पुग्ने मेशिनमा कहिलेकाहीँ बीचका मानिसले धेरै फाइदा उठाइदिँदा उपभोक्ताहरू ठगिएका छन्। कुन मेशिन केका लागि हो भन्ने कुरा नबुझी मेशिन किन्ने वा भाडामा दिने–लिने समस्या पनि छ। नेपालमा ठूला मेशिनहरूमा नयाँ भन्दा धेरै पुराना र रिकन्डिशन्ड हुने गर्दा यसले अर्को समस्याको संभावना उब्जाएको छ। नकासु मोटर्सका केदार लामिछानेको भनाइमा ठूलो परिमाणमा यस्ता मेशिन भित्र्याउँदा भोलि गएर नेपाल कतै थोत्रा मेशिनहरूको डम्पिङ साइट पो बन्ने हो कि भन्ने डर छ।

विशेषगरी गाउँहरूमा उचित योजना बिना नै सडक निर्माण र मेशिनको प्रयोग भइरहेकाले त्यस्ता विकास कार्य दिगो हुन नसक्ने ट्याक्टर्स नेपालका महेन्द्र कँडेल बताउँछन्। उनी भन्छन्, “मेशिनको प्रयोगसँगै उचित प्राविधिक योजना र तयारी गरेमा मात्र यथोचित फाइदा लिन सकिन्छ।” ठूला र भारी मेशिनको प्रयोगले खर्च कम र काम राम्रो हुन्छ भन्ने धारणा अझै बलियो रूपमा स्थापित हुन नसक्नु अर्को समस्या हो।

निर्माण कार्यमा मेशिनको प्रयोगले मानव श्रम विस्थापित हुने डर पनि छ। तर १० वर्षसम्म रोकिएका विकास गतिविधिलाई तीब्र बनाउने हो भने मेशिनको प्रयोग नबढाई सुख छैन। वर्ल्डवाइड ट्रेडिङका निर्देशक नारायण नकर्मी भन्छन्, “काम जहिले सके पनि हुन्छ भन्ने हो भने मात्र मेशिन नलगाई काम गर्न सकिन्छ, निश्चित समयभित्र काम पूरा गर्नुपर्ने हो भने त मेशिनको प्रयोग हुनैपर्छ।”

अर्कोतिर, जटिल भौगोलिक बनोट भएकाले प्राविधिक दृष्टिकोणले पनि नेपालमा ठूल्ठूला विकास निर्माणका काममा मेशिन प्रयोग गर्नैपर्ने बाध्यता छ। अटोइलेक्ट्रोमेकका व्यवस्थापन निर्देशक राजेन्द्र महतारा भन्छन्, “हिमाल, पहाड र तराई सबैतिर विकास पुर्‍याउन ठूला र भारी मेशिन प्रयोगको विकल्प नै छैन।”