स्थलगत
कडा रूपमा प्रस्तुत हुनुपर्ने बाध्यता छ
रामचरण (आरसी) चौधरी, माओवादी
विधायक
अहिले पनि माओवादीको व्यवहार फेरिएको छैन, माओवादी रुपान्तरण भएनन्,
पुरानो शैली कायमै छ भन्नु आरोप मात्रै हो। यसो भन्नेहरू आफूतिर फर्केर
हेर्दैनन्, अर्काका गलत कुरा मात्र खोजीखोजी हिँड्छन्। हाम्रो सिङ्गो
कार्यकर्तापङ्क्ति रुपान्तरणको क्रममा छ। काम गर्ने दौरानमा सामान्य
कमजोरी जसबाट पनि हुन्छ।
केही ठाउँमा हाम्रो पार्टीले जनसत्ताकै जस्तो गरी काम गरिरहेको साँचो
हो। पुरानो सत्ता समाप्त भएको र नयाँ सत्ता नबनेको अवस्थामा कतिपय
ठाउँमा जनताले सेवासुविधा पाउने निकाय छैनन्। हत्या, बलात्कार, अपहरणजस्ता
सामाजिक अपराध बढ्दै गएका छन्। सरकारका प्रशासनिक निकायहरू अपराध नियन्त्रण
गर्न असफल छन्। कतिपय आपराधिक समूहहरू प्रशासनकै मिलिभगतमा काम गरिरहेका
छन्। यस्तो हालत देख्दादेख्दै हामी चुप लागेर बस्न सक्दैनौँ। कि प्रशासनले
अपराध नियन्त्रणको पहल गर्नुपर्यो, कि हामीलाई निर्वाध रूपमा गर्न
दिनुपर्यो। जुन ठाउँमा राज्यको उपस्थिति छैन, प्रशासनको पहुँच छैन,
त्यो ठाउँमा हामीले जनतालाई सेवा र सुरक्षा दिएका छौँ। धेरै ठाउँमा
वाईसीएल र जनसेवा समितिले गर्दै आएको काम यही हो।
हामीले यसैगरी काम गर्नुपर्छ भन्ने होइन। राज्यले जनतालाई सेवा दिन
नसकेपछि बाध्यतावश हामीले कतिपय ठाउँमा आफैँ सत्ताका कामकारबाही चलाएका
हौँ। यसो गर्दा विभिन्न दल र समूहले हामीमाथि कानून हातमा लिएको आरोप
लगाउँछन्। आफूले पनि केही नगर्ने र अरूले गर्न खोज्दा खुट्टा तान्ने
प्रवृत्ति हो यो। समाजमा यत्रो अपराध भइरहँदा नियन्त्रण गर्न खोज्ने
अभियानमा लागेकालाई कानून हातमा लियो भन्नुभएन। हामी पूरै रुपान्तरण
हुन चाहन्छौँ। तर, कतिपय ठाउँमा पुरानो सत्ताका अवशेषहरू बचेकै हुँदा
र अहिलेको राज्यको उपस्थिति पनि नभएकोले हामीहरू केही कडा रूपमा प्रस्तुत
हुनुपरेको छ।
युद्धकालमा कब्जा भएका घरजग्गाको विषयलाई ठूलो कुरा बनाएर हामीलाई
मात्र बद्नाम गर्ने काम भएको छ। तर, देशले के खोजेको छ, समयको माग
के हो भन्नेबारे कसैले चासो दिँदैन। कब्जा घरजग्गा फिर्ता गर्छौँ त
हामीले भनेकै छौँ नि। मात्र यति हो' सबै जग्गा फिर्ता हुँदैन, साँच्चै
अन्यायपूर्वक कब्जा भएको जग्ग्ाा मात्र फिर्ता हुन्छ; धेरै जग्गा हुने
जमिन्दार र सामन्तहरूको जग्गा फिर्ता हुँदैन, उनीहरूलाई बस्ने घरबाससम्म
मिलाइदिइनेछ। ती जग्गाको अन्तिम टुङ्गो वैज्ञानिक भूमिसुधार लागू गरेपछि
मात्र लगाइनेछ।
अहिले सबैको ध्यान संविधानसभा निर्वाचनमा केन्द्रित हुनुपर्ने बेला
हो। राजतन्त्र सल्बलाउन थालेको छ। राजतन्त्रको अन्त्यका लागि एकजुट
भएर लाग्नुपर्नेछ। यस्तो बेलामा सामान्य जग्गाको कुरा उठाएर सबैको
ध्यान मोड्ने षड्यन्त्र हुन थालेको छ। यसतर्फ हामी गम्भीर हुनुपर्छ।
(माओवादीका केन्द्रीय सदस्य, थारू मुक्ति मोर्चाका अध्यक्ष तथा
अन्तरिम व्यवस्थापिकाका विधायक चौधरीसँगको वार्तामा आधारित)
|