सम्पादकीय
प्रतिगमनको हौवाः अर्थहीन प्रचार
 |
| किरण पाण्डे |
हिजोआज
राजनीतिक दलका नेता, कार्यकर्ता र कतिपय सामाजिक कार्यकर्ताले पनि
पटकपटक एउटा भनाइ दोहोर्याएको सुन्न पाइन्छ। तर्क र त्यसका आधार आ'आˆना
भएपनि तिनको भनाइको निष्कर्ष भनेको 'यसो नभए प्रतिगमनले टाउको उठाउँछ'
भन्ने हुन्छ। कतिले राजा र दरबारको नाम लिएर र कतिले नलिइकन त्यही
कुरा दोहोर्याउँछन्' यसो भएन भने राजा सक्रिय हुन्छन्, प्रजातन्त्र
सङ्कटमा पर्छ।
उनीहरूको 'यसो भएन भने' भन्ने भनाइभित्र मूल रूपमा
६ असारमा चुनाव नभएमा प्रतिगमनले टाउको उठाउने आशङ्का देखिन्छ। अ कतिपयले
आठ दलको एकता टुटेमा, कतिले मधेश समस्या बेलैमा समाधान नभएमा, आदिवासी
जनजातिका माग पूरा नभएमा विद्रोह हुने र त्यो मौकामा राजा सक्रिय हुने
अड्कलबाजीको प्रचार गरिरहेका छन्। यी विषयलाई यसरी प्रस्तुत गरिएको
छ, यसबाट कुनै न कुनै रूपमा सर्वसाधारणको ध्यानाकर्षण भइरहेको छ।
यथार्थ के हो भने वर्तमान अन्तरिम सरकारले मुलुकको
आवश्यकता अनुसारका कामलाई प्राथमिकता तय गरेर सम्पन्न गर्न सकिरहेको
छैन। निर्वाचन आयोगले असारमा चुनाव हुन सक्दैन भन्नु परिरहेको छ, सरकार
बोल्दैन। प्रधानमन्त्रीले मधेश आन्दोलनले उठाएका मागहरू पूरा गरे,
तर आन्दोलनकारी पक्षसँग छलफल गर्न चाहेनन्। आदिवासी, जनजातिहरू आन्दोलनमा
छन्, सरकार प्रभावकारी वार्ता थालिरहेको छैन। गोलमेच सम्मेलन गरेर
सबैका माग पूरा गर्न आम सहमतिमार्फत् संविधानको दोस्रो संशोधन गर्नुपर्नेमा
सरकारले त्यतापट्टि ध्यानै दिएको देखिन्न।
यस्तो अवस्थामा हिजो पराजित भएका यथास्थितिवादीहरूले
चलखेल गर्न खोज्लान् कि भनेर गरिने आशङ्कालाई पूरै नाजायज भन्न मिल्दैन।
तर, अहिले राजनीतिक दलका नेताहरू र कतिपय अगुवा सामाजिक कार्यकर्ता
समेतले भने मुलुकमा सानो तलमाथि पर्नासाथ प्रतिगमन उठिहाल्ने र प्रजातन्त्र
सङ्कटमा परिहाल्ने अवस्था छैन। जनआन्दोलनको जगमा बनेको सरकारले संयम
र साहसका साथ काम थालेर देशलाई अगाडि लैजानुपर्थ्यो, त्यो भइरहेको
छैन। तर यसको अर्थ मुलुक पछाडि फर्किँदैछ र देशमा अब प्रतिगमन नै भित्रन
सक्ने वातावरण तयार भइसक्यो भन्ने होइन।
जेठ र असारमा हुन सकेन त के भयो; आगामी कात्तिक, मङ्सिरमा
संविधानसभा चुनाव गर्न सकिन्छ। अ मुलुकले ६ महिनामा बहस, अन्तरक्रिया
गरेर, सम्पूर्ण कानूनी र राजनीतिक प्रक्रिया पुर्याएर निर्विवाद चुनाव
गर्न समय पाउनेछ। फेरि, असारमा चुनाव नभएर मङ्सिर पुग्नुभन्दा पनि
सिङ्गो देश एकठाउँमा उभिएर निर्वाचन सम्पन्न गर्नु मूल कुरा हो। बरु
त्यो एकताले चाहिँ प्रतिगमनलाई कमजोर बनाउँछ।
नेपाल र नेपालीलाई सघाउन प्रतिबद्ध अन्तर्राष्ट्रिय समुदाय, राजनीतिक
दलका जागरुक कार्यकर्ता, चनाखो र जुारु सामाजिक कार्यकर्ताको बलियो
पंक्ति वर्तमान लोकतन्त्रको जग हो। देश, प्रजातन्त्र र नेपाली जनताप्रतिको
उत्तरदायित्वका बारेमा नेपाली सेनाको प्रतिबद्धतालाई अै ओठेभक्ति नै
मान्ने हो भने पनि, कम्तीमा संयुक्त राष्ट्रसंघको शान्ति सेनामा जान
पाउने लोभले पनि उसले अब लोकतन्त्र विरुद्ध उभिन एकपल्ट सोच्नै पर्ने
परिस्थिति छ।
आठ राजनीतिक दलभित्र सत्ता स्वार्थदेखि दलीय सन्तुलनसम्मका
मामिलामा सानातिना असमदारी सधैँजसो नै रहन्छन्। नेपाली काङ्ग्रेसलाई
आफू ठूलो देखिइरहनु परेको छ भने नेकपा (एमाले) लाई आˆनो देशव्यापी
प्रभाव माओवादीभन्दा धेरै छ भनिरहनु परेको छ। यसभन्दा छुट्टै नेकपा
माओवादी आफू काङ्ग्रेस र एमालेभन्दा क्रान्तिकारी छु भनिरहनुपर्ने
बाध्यतामा छ। यस्तो परिस्थितिमा गिरिजाप्रसाद कोइरालाले शेरबहादुर
देउवालाई भेटे भन्ने थाहा पाएपछि माधव नेपाल र प्रचण्डको भेटघाट'राजनीति
शुरु हुनु आश्चर्यको कुरा होइन।
लोकतन्त्रका उपलब्धिको रक्षा गर्दै त्यसको संस्थागत
विकास गर्न सरकारलाई खबरदारी गर्ने लाखौँको नागरिक पंक्ति अहिले पनि
सजगताका साथ बसेको छ भन्ने यथार्थ लोकतन्त्रको वार्षिकीमा देशव्यापी
रूपमा जनताले गरेको खबरदारीले देखाएको छ। संविधानसभाको निर्वाचनमार्फत्
मुलुकको भविष्य निर्धारण गर्ने अभियानमा ६ महिना चुनाव सर्दैमा जनता
निराश भएको निर्क्योलमा पुग्नुहुँदैन। दरबारसँग सेनाको भावनात्मक सम्बन्ध
छ त्यसैले लोकतन्त्र असजिलोमा पर्नासाथ सेनाले दरबारलाई साथ दिन्छ
भनेर आठ दलका नेता कार्यकर्ताले अब दोहोर्याउन पाउँदैनन्। किनकि यदि
त्यस्तो अवस्था छ भने सेनालाई लोकतान्त्रिक बनाउने जिम्मेवारी उनीहरू
स्वयंको हो।
समग्रमा प्रक्रिया केही ढिलो भएको, बाटोमा केही अलमल
भएको हो तर मुलुक पूरै निराशाजनक बाटोमा छैन। आठ दल बीचका सानातिना
असमदारी र खटपट मुलुकको लोकतन्त्रलाई नै असजिलो पार्ने अवस्थामा पुर्याउने
तहका छैनन्। दलका कतिपय नेताहरूले हौवा खडा गरेजस्तो लोकतन्त्र नै
समस्यामा पर्न आँटेको र प्रतिगमनले टाउको उठाउन खोजिरहेको अवस्था यो
होइन। राजा ज्ञानेन्द्र, पशुपति वा दक्षिणकाली जाँदा नै कोकोहोलो गर्नुपर्ने
तहमा नेपाली प्रजातन्त्र कमजोर छैन। प्रतिगमनको हौवा तत्कालका लागि
एउटा अर्थहीन प्रचार बाहेक केही होइन।
|