हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९४ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट घरेलु हिंसा

प्रियजन नै दुष्ट भएपछि

आफ्नै प्रेमिका र श्रीमतीलाई तेजाब खन्याएर कुरुप बनाउने कथित प्रेमी वा लोग्नेहरूमाथि खासै कारबाही हुने गरेको छैन।

मनोज श्रेष्ठ, विराटनगरमा

आफन्तकै दुष्ट्याइँको शिकारः रीतादेवी महतो, आकृति राई र सदिना खातुन बायाँबाट क्रमशः।

घरको आर्थिक भार कम गर्न सुनसरीको इटहरीमा काम गर्न आएकी मोरङ, पथरीकी २२ वर्षीया आकृति राईसँग नेपाली सेनाको पूर्वी पृतना मुख्यालयका सिपाही सन्तोष राईले प्रेम विवाह गरे। तर, विवाह गरेको ६ महिना वित्न नपाउँदै आकृतिमाथि लोग्ने सन्तोष, सौता गीता र उनकी बहिनीले मिलेर १७ जेठ २०६३ को राति तेजाब खन्याए। तेजाबले डढेर हेर्नै नहुने भएको आकृतिको टाउको र अनुहार पाकेर पीप आउन थालेपछि माओवादीले उनलाई विराटनगरस्थित महिला पुनर्स्थापना केन्द्र (ओरेक) मा पुर्‍याइदिएका थिए।

शुरुमा सेनाले विभागीय कारबाही गर्ने भनेको सन्तोषलाई भर्खरै मात्र अवकाश दिएको पूर्वी पृतना मुख्यालय, इटहरीका मेजर भरत कार्कीले बताएका छन्। सुनसरी जिल्ला अदालतले सौता गीतालाई पुर्पक्षका लागि मोरङ कारागारमा थुनामा पठाएको छ भने उनकी बहिनी रु.१० हजार जरिवाना तिरेर छुटेकी छन्। विस्थापित जीवन विताइरहेकी आकृति भन्छिन्, “मेरो अनुहार मात्र होइन, भविष्य नै बिगारिदिने सौता र लोग्नेलाई कडा कारबाही हुनुपर्छ।” अहिलेसम्म लोग्नेको तर्फबाट एक रुपैयाँ पनि सहयोग र क्षतिपूर्ति नपाएकी आकृति पथरीमा सानो चियापसल चलाएर बसेकी छन्। उनले सन्तोषसँग गरेको विवाह दर्ता नभएकाले लोग्नेको सम्पत्तिमा दाबी गर्न उनलाई असजिलो परेको छ।

३२ असार २०६३ मा छोरालाई दूध खुवाइरहेकी विराटनगर'१८, जतुवाकी सदिना खातुनको अनुहारमा लोग्ने मोहम्मद अस्लामले तेजाब खन्याउँदा उनको दाहिने आँखा फुट्यो, स्तनलगायत शरीरका विभिन्न भाग डढे। लोग्नेलाई 'भिनाजुसँग लागेकी छ' भन्ने शङ्का हुनु मात्र सदिनाको 'दोष' थियो। अस्लामलाई घटना भएकै राति इलाका प्रहरी कार्यालय रानीले पक्राउ गरी मुद्दा दायर गरेकोर मोरङ जिल्ला न्यायाधीश नवराज उपाध्यायको इजलासले पुर्पक्षका लागि थुनामा राखेर कारबाही गर्ने आदेश दिएको थियो। तर, पुनरावेदन अदालत विराटनगरका न्यायाधीशद्वय विनोदप्रसाद ढुङ्गेल र दीपककुमार कार्कीको इजलासले ३० भदौमा तारेखमा छाडिदियो। छोरीसहित माइतीमा शरण लिइरहेकी २० वर्षीया सदिना भन्छिन्, “मलाई मार्न खोज्ने लोग्नेलाई अदालतले छाडिदियो, ऊ छाती फुकाएर हिँड्छ। छोरीको लालनपालन र आˆनो उपचार गर्न मसँग पैसा छैन। मलाई अब श्रीमान्को अंश मागिदिन सहयोग गर्नुपर्‍यो।”

मोरङ बुद्धनगर'१ की रीतादेवी महतोमाथि छिमेकका सचानन्द यादवसहित चार जनाले 'सम्धीसँग लागी' भनेर २९ साउन ०६३ राति तेजाब खन्याए। अहिलेसम्म प्रहरीले उनीहरूलाई पक्राउ गरेको छैन। इलाका प्रहरी कार्यालय, रानीका प्रहरी निरीक्षक केशव थेवेको भनाइले प्रहरी प्रशासन गम्भीर नभएको देखाउँछ। थेवे भन्छन्, “अदालतले वारेन्ट जारी गरेपनि पक्राउ परेका छ्रैनन्। हामी खोज्न जाँदा उनीहरू हुँदैनन्।” दुई छोरीकी आमा रीताको दाहिने आँखा फुटेको छ। शरीरको दाहिने पाटोले राम्ररी काम नगरेकोले उनी काम गरेर खान नसक्ने भएकी छन्। उनलाई सम्धी विन्देश्वर र ज्वाइँ मनवारीले पाल्दै आएका छन्। रीतादेवी भन्छिन्, “मेरो शरीर त बिग्रियो बिग्रियो, मलाई तेजाब खन्याउने अपराधीलाई कारबाही नहुँदा दुःख लागेको छ।”

मोरङ र सुनसरीमा पछिल्ला एक'डेढ वर्षमा मात्रै यस्ता डेढ दर्जन घटना सार्वजनिक भएका छन्। प्रहरी र यस क्षेत्रमा कार्यरत संघसंस्थाका भनाइमा, कतिपय घटना भित्रभित्रै मिलाउने गरिएका कारण सङ्ख्या अै धेरै हुनसक्छ। भारततिर उपचार गर्न लैजाने चलनले पनि गुपचुप पार्न सजिलो भएको छ। तर सार्वजनिक जानकारीमा आएका घटनामा पनि पीडकलाई कारबाही भएको छैन। कतिपय घटनामा स्वयं पीडित पक्ष नै पीडकबारे 'थाहा छैन' भनेर मौन बस्छन्।

विराटनगर'४ की गीता मगरले अर्कै केटासँग विवाह गर्ने निधो गरेको थाहा पाएपछि उनका प्रेमीले २ वैशाख २०६४ मा उनीमाथि तेजाब खन्याइदिए। स्थानीय विराट नर्सिङ्ग होममा उपचार गराइरहेकी गीताको परिवारले अहिलेसम्म पनि प्रहरीमा उजुर गरेको छैन। गीताको शरीरको देव्रे पाटोका अनुहार र हात डढेका छन्। उनी भन्छिन्, “म भान्सामा थिएँ, एक्कासि कसैले मलाई एसिड छर्केर भाग्यो। कसले गर्‍यो केही थाहा भएन।” गीताका भाइ सुमन पनि अपराधीबारे केही बताउन चाहँदैनन्। भन्छन्, “कसले किन खन्यायो थाहा हुन सकेन।” १३ वैशाखमा गीताको विवाह हुन लागेको थियो।

भारतबाट सुनसरीको सिरिपुरजग्दी'९ मा विवाह गरेर आएकी १९ वर्षीया पुनमकुमारी सरवरिया एसिडले डढेको कुरुप अनुहार लिएर माइत गएकी छन्। गाउँका केही युवाले उनलाई १७ भदौ २०६० मा बलात्कार गरेर एसिड खन्याई मार्ने प्रयास गरेका थिए। परिवारले घरबाट निकालेको र भारतमा काम गर्न गएका लोग्नेले पनि वास्ता नगरेकोले उनी माइत गएकी हुन्। सुनसरीकै हरिपुर'८ निवासी १७ वर्षीया पल्सीदेवी यादवलाई दाइजो नल्याएको भनेर सासूससुरा र श्रीमानले २९ फागुन २०५९ मा तेजाब खन्याइदिए। पल्सीदेवीको माइतीले उजुरी दिएपनि लोग्ने पक्षले जबरजस्ती गरेर फिर्ता गर्न लगाई घटनालाई गाउँमै 'मिलापत्र' गराएको थियो।

पीडितहरूलाई उपचार सहयोग र दोषीलाई कानूनी कारबाही गर्ने काममा केही गैरसरकारी संस्थाहरूले पनि पहल गर्ने गरेका छन्। सुनसरीमा गएको एक वर्षमा भएका चार र ०५७ देखि ०६२ सम्मका नौ वटा एसिड खन्याइएका घटनाका महिलाहरूको उपचार र वकालत स्थानीय गैरसरकारी संस्था सामाजिक सचेतनाको लागि सूचना केन्द्र (शिक्सा) ले गरेको छ। ०६३ सालमा मोरङमा भएका आधा दर्जन घटनाका पीडितहरू महिला पुनर्स्थापना केन्द्र (ओरेक) मा आएका छन्। १८ भदौ २०६३ मा मोरङमा ओरेकले पीडितहरूलाई भेला गरेर प्रमुख जिल्ला अधिकारी मोदराज डोटेल र प्रहरी उपरीक्षक गोपाल भण्डारीलगायत अधिवक्ता, चिकित्सक, पत्रकार, पीडित तथा आठै राजनीतिक दलका पदाधिकारीहरूसमक्ष पीडकमाथि कारबाही गर्न प्रतिबद्धता मागेको थियो(हे.तस्बिर)। त्यसबेला सबैजसो दल र पदाधिकारीले पीडित पक्षप्रति सहानुभूति जनाए पनि उनीहरूलाई क्षतिपूर्ति दिलाउने तथा पीडकलाई कारबाही गर्ने'गराउनेतर्फ कसैले पनि सशक्त पहल गरेको देखिएन। पीडितहरूले न्याय नपाएको मात्रै होइन, विस्थापित समेत हुनु परेको छ।

महिलामाथि तेजाब हमला हुनुमा प्रकारान्तरले यौन मामिला नै जोडिएको देखिन्छ। अरूसँग लागेको, अर्कैसँग विवाह गर्न खोजेको जस्ता कारण प्रकाशमा आएका छन्। ८ भदौ ०६३ मा सुनसरीको मध्येहर्साइ'१ निवासी ४० वर्षीया जानकीदेवी मेहतामाथि 'पुरुषहरू बसेर जग्गाको विषयमा छलफल गरिरहेको ठाउँमा गएर बोलेको' भनेर एसिड खन्याइएको थियो। मेहताको अनुहार, स्तन र शरीरका विभिन्न भाग डढेको भएपनि सुनसरी जिल्ला अस्पताल, इनरुवाका डा. इन्द्रनारायण दासले प्रतिवेदनमा 'सामान्य' लेखिदिएका कारण अदालतले पीडकहरूलाई थुनामा नराखेको शिक्साका कार्यक्रम संयोजक राजेन्द्र पोखरेल बताउँछन्।

आकृति, सदिना, रीतादेवी र जानकीदेवीका घटनामा जिल्ला अदालत सुनसरी र मोरङमा मुद्दा चलिरहेका छन्। तेजाब खन्याइएका घटनालाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउनुपर्ने हुन्छ। सामान्यतया यस्ता घटनाका पीडितहरूको मृत्यु नभई अङ्गभङ्ग मात्र हुने भएकाले पीडकहरूलाई ठूलो कानूनी सजाय नहुने अवस्था छ। यस मामिलाका जानकार अधिवक्ता डिल्ली दाहाल भन्छन्, “यस्ता केही कानूनी जटिलता छँदैछन्, सँगसँगै सरकारी पक्षले राम्रो अनुसन्धान र प्रमाण नजुटाउने हुनाले दोषीहरू अदालतबाट मुक्त हुन्छन्। स्पष्ट कानून र बलियो कार्यान्वयन संयन्त्र नभएको कारण पीडकहरूलाई कुनै कारबाही भएको छैन।” अदालतले सदिना खातुनको लोग्नेलाई तारेखमा छाडेपछि फौज्दारी अभियोग भए पनि केही निजी वकिलहरू समेत पीडितका पक्षमा बहस गर्न अघि सरेका छन्।