हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९४ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट गोरखपुरका अस्पताल

उपचारका नाममा ठगिन्छन् नेपाली

स्वदेशी सञ्चारमाध्यमहरूको प्रचार'प्रसार र चिकित्सकहरूको सल्लाहबाट उपचार गराउन गोरखपुर धाउने अधिकांश नेपालीहरू रोग निको पारेर भन्दा त्यहाँका चिकित्सक तथा अस्पतालबाट हुने ठगीको पीडा बोकेर फर्कन्छन्।

मुकेश पोखरेल, गोरखपुर, भारतमा

ज्योति पौडेल

शुरुमा रु.५ हजारमै सम्पूर्ण उपचार हुन्छ भनेर आनन्दलोककी डा.अल्पना अग्रवालले भनेपछि अर्घाखाँचीकी सुमित्रा खनाललाई गोरखपुरको आनन्दलोक अस्पतालमा भर्ना गरियो। बुटवलका चिकित्सक डा. विमल थापाले गर्भवती खनालको बच्चा तल र सालमाथि भएको बताएपछि उनलाई राम्रो उपचारका लागि आनन्दलोक पुर्‍याइएको थियो। अभिभावक सरस्वती भुसाल त्यहाँका डाक्टरले सबै रिपोर्ट हेरेर रु.५ हजारमा उपचार गर्न सकिने बताएपछि भर्ना गरिएको बताउँछिन्।

भर्ना गरेलगत्तैदेखि उपचार भन्दा पैसाको माग बढ्न थाल्यो। भोलिपल्टै डिस्चार्ज भएकी सुमित्रा खनालको उपचारबापत अस्पतालले रु.२२ हजार बराबरको बिल थमाएको थियो। भुसालका अनुसार, विरामी हेर्न आउने नर्समध्ये एउटीले भारु ४०० र अर्कीले भारु ६०० मागेका थिए भने बिरामी हेर्न आएका डाक्टरहरूलाई प्रत्येक पटक भारु ४०० दिनु पर्दथ्यो। अस्पताललाई तिर्ने रकम नपुगेपछि सुमित्रा खनाल परिवारले सुनौली पुगेर रकम दिने शर्तमा घडी बन्धकी राखी गाडीवालासँग पैसा मागेर बुाएपछि मात्र मुक्ति पायो। सरस्वती भुसाल भन्छिन्, “पैसा नदिएसम्म बन्दुक बोकेर बसेको गार्डले बाहिर आउनै दिएन।”

यो त गोरखपुरमा उपचार गर्न जानेहरूले पाउने दुःखको एउटा उदाहरण मात्र हो। ३२ वर्षदेखि स्थानीय गोलघर नजिकै लज चलाउने नेपाली भक्तबहादुर हिराचनका अनुसार उपचारका लागि आउने बिरामीहरूमध्ये धेरैजसो कुनै न कुनै रूपमा ठगिन्छन्।

नजिकको ठूलो भारतीय शहर भएकाले रुपन्देही, नवलपरासी, कपिलवस्तु, प्यूठान, पाल्पा, गुल्मी, अर्घाखाँची, कास्की, वाग्लुङ्ग, स्याङ्जालगायतका जिल्लाबाट मानिसहरू उपचारका लागि गोरखपुर पुग्ने गर्छन्। पहिले किनमेलका लागि धेरै नेपालीहरू जाने गोरखपुरमा हिजोआज उपचारका लागि जानेहरू धेरै हुनथालेका छन्। हिराचनको लजमा दैनिक पुग्ने २५'३० जनामध्ये पनि अधिकांश उपचारकै लागि आएका हुन्छन्। उनी भन्छन्, “रोगको पीडा लिएर मकहाँ बस्नेहरूमध्ये धेरै ठगीको पीडा लिएर नेपाल फर्कन्छन्।”

राम्रो उपचार हुन्छ भन्ने विश्वासमा गोरखपुर पुगेका नेपालीहरूले बिरामी हेर्न वार्डमा आउने प्रत्येक डाक्टर/नर्सलाई भिजिटपिच्छे पैसा दिनु पर्दछ। नदिए उनीहरू बिरामीको बेड नजिक पनि पर्दैनन्, बिरामीले रोगबाट मुक्त हुने भन्दा पनि थप रोग बोक्नुपर्छ। सुमित्रासँग राति एक बजे आएर नर्सहरूले भारु १२०० मागेका थिए। अभिभावकले बिहान भारु ४०० दिँदा लिएनन्, बरु पेट सफा गर्दागर्दै काम सकियो भनी छाडेर हिँडे। परिणामः राति उनको पिसाब बन्द भयो। कोठा सफा गर्न आउने कुचिकारहरूलाई पनि यसैगरी पैसा नदिए दुर्गन्धित कोठामै बस्न बाध्य हुनुपर्छ। बहिनीको उपचार गराउन गएका बेला भोगेको सास्तीको बयान गर्दै भैरहवाका गोविन्दवन्धु अर्याल भन्छन्, “पैसा नदिए जति नै फोहोर भएपनि कोठा सफा हुँदैन।”

एकपटक यहाँ आएर उपचारका नाममा ठगिएकाहरू …गोरखपुर' को नाम सुन्दै तर्सन्छन्। “उपचारको नाममा नेपालीहरूलाई लुट्न बसेका छन्, त्यहाँ डाक्टरहरू,” गोरखपुरको वाग्ची नर्सिङ होममा श्रीमती ज्योतिको उपचारका लागि पुगेका उदय पौडेलले बताए। सामान्य पेट दुखेर ९ जेठ २०६२ मा सो नर्सिङ होम पुर्‍याइएकी ज्योतिलाई डाक्टरहरूले करिब करिब पागल नै घोषणा गरेका थिए। ज्योति भन्छिन्, “पेट दुख्दा पेनकिलर दिन्छ, त्यसले काम गर्दैन। नौ दिनसम्म बस्दा यति सिरियस भइयो, डाक्टरहरूले मानसिक रोगी भनेर साइकियाटि्रष्टकहाँ लैजान ठिक्क पारे।”

विज्ञापनको एक नमूना।

अस्पताल भर्ना भएका बिरामीलाई आˆनो पेवा ठान्छन् डाक्टरहरू। बिरामी वा अभिभावकको कुरा त्यहाँ चल्दैन। ज्योतिलाई उनका अभिभावकले मानसिक रोगी होइन भन्दा नमानेका डाक्टरहरूले डिस्चार्ज गर्न पनि मानेनन्। आफूले भोगेको पीडा सुनाउँदै ज्योति भन्छिन्, “होइन भनेर जति रुँदा'कराउँदा पनि मान्दैनथे। श्रीमान्लाई हप्काउँथे।” पछि साइकियाटि्रष्टकहाँ लैजाने बेलामा हो'हल्ला गरेपछि मात्र ज्योतिलाई डिस्चार्ज गरिएको उदय बताउँछन्।

डाक्टर, नर्स, कुचिकार र अस्पतालले मागेको पैसा तिर्दा समेत बिरामीलाई सञ्चो नभएका उदाहरण पनि प्रशस्तै छन्।गोरखपुर, शाहपुरस्थित एक नर्सिङ होमले बिरामीलाई सन्चो हुने बताएपछि रुपन्देही, पड्सरीकी चन्द्रावती श्रीवास्तवको उपचारमा छोराहरूले करिब रु.२ लाख खर्च गरे। ण्डै ६ महिनासम्म उपचार गराउँदा पनि रोग निको हुन नसकेकी चन्द्रावतीको दुई महिनाअघि मृत्यू भयो। छोरा सन्तोष भन्छन्, “रोग निको हुन्छ भनेर जायजेथा धितो राखेर उपचारमा खर्च गरियो, तर न आमा रहनुभयो न पैसा नै।”

वाग्ची नर्सिङ होममा ज्योतिलाई नौ दिन राख्दा उदयले रु.१ लाख बुाए, तर उनलाई सञ्चो भएन। अर्को ठाउँमा लगेर भिडियो एक्सरे गराउँदा पित्तथैलीमा पत्थरी भएको पत्ता लाग्यो। आखिर मुम्बईको सरकारी अस्पतालमा पुगेपछि मात्र उनको रोग निको भयो। मुम्बईका चिकित्सकहरूले खनालको पाठेघर सफा नभएको बताएका थिए, जुन नर्सहरूले मागेका भारु.१२०० नदिएका कारण भएको स्पष्ट छ।

गोरखपुर पुग्ने नेपालीहरू ठगिने क्रम सीमापारि सुनौलीदेखि नै शुरु हुन्छ। सुनौलीमा लाइन लागेर बसेका जीप र ट्याक्सीवालाहरूले तानातान गरेर गाडीमा कोच्छन् अनि बीच बाटामा लगेर अगाडि जान नसक्ने बताउँदै अलपत्र पारेर मनलागी भाडा असुल्छन्। गएको फागुनमा बुटवलका चुरामणि खत्रीलाई फरेन्डा पुर्‍याएर अलपत्र पारिएको थियो। नेपालीहरूलाई यताउता डुलाएर उनीहरूसँग पैसा असुल्ने र लुट्ने काममा गोरखपुरका रिक्सावालाहरू पनि कम छैनन्। बुटवलबाट डा. लोकेन्द्रदेव भट्टको सिफारिसमा दाँतको उपचारका गर्न वर्षदिन अघि गोरखपुर पुगेका भैरहवाका लोकनाथ ज्ञवाली रिक्सावालाहरूबाटगोरखपुरमा ठगिएको घटना सुनाउँदै भन्छन्, “एक ठाउँमा लैजा भनेको अर्कै ठाउँमा पुर्‍यायो। भारु १० दिँदा हुनेमा दुई हजार ठटायो।” गोरखपुरमा सन्चो नभएको रोग पछि चितवनको भरतपुरमा ठीक भएको उनी बताउँछन्।

नेपालीहरूलाई उपचारका लागि गोरखपुर जान प्रेरित गर्ने काम नेपालका स्थानीय सञ्चारमाध्यमहरूमा आउने विज्ञापनले गरिररहेका छन्। आनन्दलोक अस्पताल पुगेकी सुमित्रालाई स्थानीय एक एफएमबाट प्रशारित विज्ञापनले विश्वास दिलाएको थियो। त्यहाँका डा. अल्पना र डा. आनन्द अग्रवालले दूरबिन प्रयोग गरेर पाठेघर, पित्तथैलीलगायतका अप्रेशनहरू गर्ने जानकारी एफएमबाट पाएपछि सुमित्रा त्यता गएकी थिइन्। नेपालका स्थानीय एफएम रेडियोहरूमा आनन्दलोकको मात्र नभई गोरखपुरका केही अन्य निजी क्लिनिक र नर्सिङ होमका यस्तै विज्ञापनहरू पनि सुन्न पाइन्छ। “प्रचार सुन्दा त भगवान् नै बसेको जस्तो हुन्छ। तर पुगेपछि को के गर्न बसेको छ भनेर थाहा हुन्छ,” सरस्वती भुसाल भन्छिन्।

गोरखपुरमा नेपालीहरू ठगिनुको अर्को कारण नेपालका चिकित्सकहरू पनि भएको भुक्तभोगीहरू बताउँछन्। नेपाली डाक्टरहरूले आˆना बिरामीहरूलाई …रिफर' गरेर पठाएकै डाक्टर वा अस्पतालका विरामी नै धेरै ठगिएका छन्। वाग्ची नर्सिङ होममा ठगिएका उदय पौडेल बुटवलस्थित लुम्बिनी नर्सिङ होमका चिकित्सक सञ्जय गोड्करको सिफारिसमा पुगेको बताउँछन्। भैरहवाको युनिभर्सल मेडिकल कलेजबाट पनि धेरै विरामी गोरखपुर रिफर हुने गरेका पीडितहरू बताउँछन्।

बुटवलका चिकित्सक धर्मदत्त सुवेदी बिरामी र उनका अभिभावकले प्रचारको पछाडि मात्र नलागी आफैँ सचेत हुनुपर्ने बताउँछन्। डा.सुवेदी भन्छन्, “जति प्रचार तिनले आˆनो सेवाका बारेमा गर्छन्, त्यति नै प्रचार त्यहाँ हुने ठगीका बारेमा पनि हुनुपर्ने आवश्यकता छ। तर ठगीको प्रचार चाहिँ निक्कै कम छ।”