हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९४ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनता

बचाउने अभियान

लागूपदार्थ प्रयोग गरिरहेका तथा पूर्व प्रयोगकर्ता महिलाहरूलाई सङ्गठित गर्नु अहिले उनको प्रमुख काम भएको छ, जसमा प्राथमिकतामा पर्ने गरेका छन् एचआईभी सङ्क्रमित महिला। लामो समयसम्म लागूपदार्थको प्रयोग गरेर दुर्व्यसनसम्बन्धी धेरै तीता अनुभव सँगालिसकेकी एकता महत (२५) को यो अभियानमार्फत् थुप्रै महिलाले नयाँ जीवनको अनुभव गरिरहेका छन्। एकता भन्छिन्, “लागूपदार्थ प्रयोग गर्ने व्यक्ति, त्यसमा पनि महिलाको कथाव्यथा कस्तो हुन्छ भन्ने कुरा मैले राम्ररी बेकी छु।”

सात कक्षामा पढ्दादेखि नै हेरोइन प्रयोग गर्न थालेकी एकताले लागूपदार्थकै कारण काठमाडौँ, सिफलस्थित घरबाट निस्कनुपरेको थियो। सोही क्रममा पढाइ समेत चौपट भयो। पछिल्लो समयमा लागूपदार्थबाट मुक्तिको जीवन जिउने इच्छाशक्ति बटुलेपछि उनी उपचारमा जुटिन्। रिचमण्ड फेलोसिपको महिला पुनःस्थापना केन्द्रमा दुई वर्षसम्म उपचार गराएपछि उनले अठोट गरिन्, “म पनि महिलालाई लागूपदार्थबाट मुक्त बनाउने काममा जुट्छुु।” त्यसपछि व्यक्तिगत तथा सामाजिक हेयभावको पर्दा चिर्दै उनी लागूपदार्थको पूर्व प्रयोगकर्ताका रूपमा सार्वजनिक भइन्। एक वर्षअघि बूढानीलकण्ठमा …अभियान' नामको संस्था, सुरक्षा र बासका लागि पाँच बेडको पुनःस्थापना केन्द्र स्थापना गरी लागू पदार्थका पूर्वप्रयोगकर्ता तथा एचआईभी सङ्क्रमित महिलाहरूलाई सङ्गठित गर्ने अभियानमा सक्रिय छिन् उनी। महिलाहरूलाई लागूपदार्थको व्यसनबाट बाहिर निकाल्नु र पूर्व प्रयोगकर्ता एवम् एचआईभी सङ्क्रमितहरूलाई समाजमा पुनःस्थापित गर्नु उनको ध्येय हो। भन्छिन्, “यो मेरो धेरै पहिलेदेखिको एउटा सपना थियो।

शब्द/तस्वीरः कुमार सु्ब्बा


नेपालकै चासो

उनी हङकङ बसी'बसी नेपालका राजनीतिक घटनाक्रम र सामाजिक परिवर्तन नियाल्छन्। नेपाली समाजको बृहत् अध्ययनका निम्ति नेपाली पत्रपत्रिका नछुटाई पढ्छन्, नेपालका सहकर्मीहरूसँग इमेल, पत्राचार गर्दै तथ्य केलाउँछन्। अनि, हङकङको कमाइको उपयोग गर्दै बर्सेनि नेपाल आउँछन्, आˆना नयाँ पुराना मित्रहरूसँग भेटघाट तथा नेपालको इतिहास र राजनीतिबारे अध्ययन गर्छन् र त्यसको निचोड लेखिरहन्छन्। बेलायती नागरिक जोन ह्वेल्प्टन (५७) को नेपाली समाज पर्गेल्ने यो क्रम अहिले पनि अटुट छ। सन् १९८७ मा किङगस्, सोल्जर एण्ड प्रिस्ट मा थेसिस गरेर नेपालकै बारेमा विद्यावारिधि गरेका ह्वेल्प्टनको लगाव देख्नेहरू उनलाई नेपालका पक्का मित्र भन्न हिच्किचाउँदैनन्।

सन् १९७२ मा स्वयंसेवी अध्यापकका रूपमा नेपाल आएकाथिए यी अन्वेषक। रहँदा बस्दा उनी नेपालको सामाजिक संरचनासँग लोभिँदै गए अनि लेख्दै गए अ हिस्ट्री अफ नेपाल, पिपल पलिटिक्स एण्ड आइडियोलजीः डेमोक्रेसी एण्ड सोसल चेञ्ज इन् नेपाल (सह'लेखन), नेपाल रि'डिष्कभर, नेपालको बिब्लियोग्राफी, जङ्गबहादुर इन् युरोप, न्याशनालिटी एण्ड एथ्निसिटी इन् अ हिन्दु किङ्डम (सह'लेखन) जस्ता विचारोत्तेजक पुस्तक। यिनले लण्डन विश्वविद्यालयको स्कूल अफ ओरियन्टल एण्ड अफ्रिकन स्टडिजमा नेपाली भाषासमेत पढाएका थिए। अहिले लण्डनको ब्रिटिस लाइब्रेरीबाट रमेश ढुङ्गेलले सङ्कलन गरेका हड्सनसम्बन्धी सामग्रीहरूको सम्पादन गरिरहेका ह्वेल्प्टन हङकङको एक विद्यालयमा अङ्ग्रेजी पढाइरहेका छन्। त्यसैबाट खर्च निकालेर काठमाडौँ धाइरहन्छन्। प्राध्यापक अभि सुवेदी भन्छन्, “जोन यहाँ आउँदा मैकहाँ बस्छन्। मेरो घरमा जोन्स रुम नै छ, जहाँ उनका दराज र किताबहरू छन्।”