हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९४ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

चिठी

अवसर नभएका होइनन्

'नाम पनि दाम पनि' (हिमाल आवरण, १'१५ वैशाख, २०६४) मा केही नेपालीको प्रगति'यात्रालाई नजिकबाट नियाल्न पाइयो। वास्तवमै अवसरको सदुपयोगबाट मात्र आˆनो क्षेत्रमा सफलता हात पार्न सकिन्छ। हिमाल मा उल्लिखित 'आइकन' हरूको सफलताबाट हामीलाई ठूलै प्रेरणा मिलेको छ।

नेपालमा पनि अवसर वा नयाँ'नयाँ कार्यक्षेत्रहरू नभएका होइनन् तर सबैमा अवसर सदुपयोग गर्ने क्षमताको विकास भइसकेको छैन। युवापुस्ताले अवसरकै निम्ति धेरै समय खर्च गरिरहनु परिरहेको छ जसमा ठूलो ऊर्जा खेर गइरहेको छ। नेपालमा दक्ष जनशक्तिको अभाव रहेको अर्को यथार्थ हो। दक्षता भएकाहरूलेे केही न केही गरी आफूलाई कुनै न कुनै काममा संलग्न गराएका छन्। तसर्थ सरकारले पनि दक्ष जनशक्तिको विकासमा महवपूर्ण भूमिका निर्वाह गर्नु आवश्यक छ।

भुमराज तिवारी
बेल्कोट ७ अमारे, डेउडी, नुवाकोट


हतारमा ठोकुवा!

'बढ्दो व्यावसायिक प्रतिष्ठा' (आवरण/पत्रकारिता, १'१५ वैशाख) मा उल्लिखित केही भनाइ वास्तविकताभन्दा बाहिर छन्। फिचरमा मार्टिन चौतारीका मिडिया अनुसन्धाता शेखर पराजुलीलाई उद्धृत गर्दै नेपालमा श्रमजीवी पत्रकारहरूको बारेमा अहिलेसम्म अनुसन्धान नभएको लेखिएको रहेछ तर यो सत्य होइन। श्रमजीवी पत्रकारका बारेमा अनुसन्धान कम भएका होलान् तर हुँदै नभएको चाहिँ होइन।

रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता तथा आमसञ्चार स्नातकोत्तर तह दोस्रो वर्षका लागि २०६१ सालमा मैले नै 'श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र चुनौतीहरू' शीर्षकमा शोधपत्र तयार पारेको थिएँ। शोधपत्रले नेपालका सबै श्रमजीवी पत्रकारको अवस्थाबारे साङ्गोपाङ्ग नउतारे पनि राजधानीबाट प्रकाशन हुने कान्तिपुर, नेपाल समाचारपत्र, अन्नपूर्ण पोष्ट, हिमालय टाइम्स, राजधानी र स्पेस टाइम (२०६१ साल भदौ १६ गतेदेखि बन्द) दैनिकमा कार्यरत पत्रकारको अवस्था र तिनीहरूमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन हुन सके नसकेको लक देखाएको छ।

शोधका क्रममा गरिएको सर्वेक्षणले ५२ प्रतिशत पत्रकारले मात्रै नियमित रूपमा पारिश्रमिक प्राप्त गरेको, ९० प्रतिशतले एक हप्तामा ४८ घण्टाभन्दा बढी काम गरेको, ७० प्रतिशत आफूले पाएको सुविधा र पारिश्रमिकबाट सन्तुष्ट नभएको देखाएको थियो। यो सर्वेक्षण निजी लगानी र नेपाली भाषामा राजधानीबाट प्रकाशित ठूला आकारका दैनिक पत्रिकामा केन्द्रित भएजस्तै रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता विषयमा स्नातक तह दोस्रो वर्ष (२०५८/०५९) का विद्यार्थीहरूले विराटनगर, धनकुटा, वीरगञ्ज, पोखरा, बुटवल र नेपालगञ्जका पत्रकारको अवस्थाबारे सर्वेक्षण गरेका थिए। जुन सर्वेक्षणले ४० प्रतिशत पत्रकारले एक महिनाको तालिम लिएको, ६५.१० प्रतिशत पत्रकारहरू २० देखि २९ वर्ष उमेर समूहका रहेको, ६२ प्रतिशत पुरुष रहेको, ३३ प्रतिशतले पत्रकारिताभन्दा अन्य पेशा पनि गरेको, १५.२५ प्रतिशतले नियुक्तिपत्र/परिचयपत्र नभइकन काम गरेको, ३२.२० प्रतिशत पत्रकार आफूले पाउँदै आएको पारिश्रमिकप्रति सन्तुष्ट रहेको देखाएको थियो।

'मोफसलका पत्रकार' सवर्ेेक्षण प्रतिवेदन बजारमा उपलब्ध छ। 'श्रमजीवी ऐन कार्यान्वयनको अवस्था र चुनौती' सम्बन्धी शोधपत्रको 'इलोक्ट्रोनिक कपी' मार्टिन चौतारीको पुस्तकालयमा छ।

भुवन केसी
कान्तिपुर टेलिभिजन, काठमाडौँ


मानसिकता उस्तै

सरकारी गाडीहरूको भइरहेको दुरुपयोगबारे हिमाल को खोज (सरकारी गाडी दुरुपयोग, १'१५ वैशाख) प्रशंसनीय छ। व्यवस्थाले मात्र मानसिकता बदल्न गाह्रो हुँदो रहेछ भन्ने यथार्थ यसबाट प्रस्ट हुन्छ। बढीभन्दा बढी सुविधा लिने लालसा राजनीतिज्ञहरूले नत्यागेसम्म कर्मचारीहरू प्रोत्साहित भई नै रहन्छन्। हिमाल को रिपोर्टमा उल्लिखित सरकारी गाडीहरू कहिले आˆनो पूर्व नम्बरमा फर्कने हुन्, हेरौँ।

सुव्रत स्वार, सुयश स्वार
पो.ब.नं. ५०३, काठमाडौँ


खै खोज्ने फुर्सद?

न्यायालयलाई यसो भन्न त नहुने, तर न्यायालयमा शरण पर्न जानेहरूमध्ये उल्लेख्य चाहिँ आˆनो व्यक्तिगत फाइदा र सरकारी सम्पत्ति कुम्ल्याउनका लागि जाने गर्छन् भन्ने कुरा पटकपटक सावित भएको छ। त्यस्ता कुरा थाहा पाई पाई पनि 'गरिखान्छ भने खाओस् न त' भन्ने सोचेर बुजु्रगहरू पनि उजुरी दिनपट्टि लाग्दैनन्। गर्नैपर्ने मुद्दामा पनि कतिसम्म मानमर्दन गरिँदो रहेछ भन्ने तथ्य 'सर्वोच्च अदालतमा घूस' (१'१५ चैत, २०६३) मार्फत् स्पष्ट भएको छ। सर्वोच्चमै मनपरी हुन थालेपछि मुलुकमा विधिको शासन कसरी कायम होला?

हिमाल को खोज त एउटा उदाहरण मात्रै हो। जिल्ला अदालत र अन्य अदालतहरूको पनि त गति उही हो। त्यसतर्फ खोजी गर्ने फुर्सद कसलाई?

कमला राजभण्डारी
ऐंसेलुखर्क'३, खोटाङ

जनताको प्रत्यक्ष सम्पर्क रहने न्यायालयमा हुने भ्रष्टाचारले न्यायालयप्रति जनतामा रहेको विश्वास घटाउने निश्चित छ। देश पुनर्निर्माणको तयारीमा रहेको बेला आएकोे भ्रष्टाचारको यो प्रसङ्गले सम्पूर्ण न्यायप्रेमीहरूलाई स्काइदिएको छ। यस प्रसङ्गले नेपालमा चल्दै आएको एउटा उखानलाई चरितार्थ गरेको छ, धनीलाई चैन गरिबलाई ऐन।

न्यायालयभित्रको यस्तो अपराधलाई सर्वसाधारणसमक्ष ल्याउन सहयोग गर्ने काठमाडौँ' १५ का राजेश शाक्यलाई धन्यवाद।

अर्जुन दाहाल
मिर्गे'५, दोलखा


तर दङ्ग छ मुस्ताङ

'हिमपातः धेरै हाँसे, कृषक रोए' (अर्थ/संक्षेप, १६'३० फागुन) मा लेखिएको पर्वतवासीको समस्या साह्रै मार्मिक छ। अघिल्लो वर्ष (२०६२) को कात्तिकमा मुस्ताङमा परेको हिउँबाट स्याउ, खुर्सानी, ओखर, आरूका हजारौँ बिरुवाका हाँगाविँगा भाँच्चिएर लाखौँको नोक्सानी भएको थियो तर फागुन २०६३ मा परेको हिउँले भने कृषकहरू दङ्ग छन्। लामो समयदेखि मुस्ताङमा हिमपात नभएकाले उवा, गहुँ, जौ बाली सुक्ने अवस्थामा पुगेका थिए तर फागुनमा परेको हिमपातले केही हदसम्म सिंचाईका लागि चाहिने पानीको खाँचो पूरा गरिदिएको छ।

'पाखोमा फल्ने पैसा' शीर्षकमा अलैँची उत्पादक देशमा नेपाल प्रथम स्थानमा रहेको पढ्न पाउँदा मन हर्षविभोर भयो। केही चिजमा त नेपाल विश्वमा नै प्रथम रहेछ। त्यसनिम्ति पूर्वी पहाडका किसानलाई मुरी'मुरी धन्यवाद।

हृदयप्रसाद श्रेष्ठ
जोमसोम'७ मुस्ताङ


अब हाम्रो निम्ति बोलिदिनोस्

हिमाल खबरपत्रिका केही वर्षयता विभिन्न स्रोतद्वारा प्राप्त भइरहेछ। बन्दुकभन्दा विचार शक्तिशाली हुन्छ भन्ने तथ्य सावित गर्न पनि हिमाल को उल्लेख्य भूमिका रह्यो।

यसै सन्दर्भमा 'डिरेल' भएको प्रजातन्त्र पुनः 'लिक' मा ल्याउन सफल भएकोमा बौद्धिक जगत, नागरिक समाज तथा सम्पूर्ण नेपाली जनतामा हाम्रो हार्दिक बधाई छ। लोकतन्त्र भित्रिएपश्चात् अहिले तपाईंहरू अलिकता फुर्सदमै हुनुहुन्छ होला। यदि त्यस्तै भए समय खेर नफाली अब तपाईंहरू अर्थात् नेपालीभाषी भुटानी जनताको भलो चाहने सम्पूर्ण नेपाली बुद्धिजीवीहरूले भुटानी शरणार्थी मुद्दा लिएर संसदमा आवाज उठाइदिनु पर्‍यो। 'उकालो लाग्दा' जस्ता मार्गदर्शक स्तम्भमार्फत् अब प्रत्येक अङ्कमा तपाईंहरूले हाम्रोनिम्ति बोल्दिनोस् भनी अनुरोध गर्दछु।

आर.बी. थापा,
दक्षिण भुटान


गोपीकृष्ण कहो

सडक किनारको
ज्योतिषी सुगालाई मैले सोधें
मीठाराम' गोपीकृष्ण कहो
चुनाव कहिले हुन्छ कहो
सुगाले जवाफ फर्कायो
जनताराम' गोपीकृष्ण कहो
चुनाव आषाढमा हुन्छ कहो
तर कुन आषाढमा हुन्छ मत कहो।


एउटै माग पूरा गर

सबैतिर आन्दोलन चक्काजाम
अविवाहित महिलाले पनि
खोजे काम
सबै परेछन् दङ्ग
खोलेछन् अविवाहित
महिला संघ
निकाले जुलुस
लगाए नारा
मन पर्दैन माइतीघर
एउटै छ माग पूरा गर
हाम्रो माग सिउँदो भर।

लक्ष्मण नेवटिया,
विराटनगर ' १२