हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

सूचना' प्रविधि

सँगसँगैः भाषा र प्रविधि

पाटनढोकाको एउटा कार्यकक्षमा हाल भइरहेको अनुसन्धान र सफ्टवेयर विकासको काम सकिएपछि कम्प्युटरले नै अन्य भाषामा प्रकाशित लेखलाई नेपालीमा अनुवाद गर्न तथा निरक्षर र दृष्टिविहीनका लागि पाठ पढिदिन सक्छ।

विवेकराज मौर्य

दुई वर्षदेखि भाषाशास्त्रका नौ विद्वान् प्रत्येक दिन घण्टौँ पाटनढोकाको एउटा कार्यालयमा कम्प्युटरसित खेलिरहेका छन्। १० तन्नेरी प्राविधिज्ञले उनीहरूलाई साथ दिइरहेका छन्। उनीहरूको ध्येय हो' नेपाली भाषालाई संसारका बलिया भाषासरह समृद्ध, सक्षम बनाउनेर नेपालीमै सूचना तथा सञ्चारप्रविधिको अधिकतम् उपयोग गर्न सकिने आधारभूमि तयार गर्ने। यो सञ्चारप्रविधिमा नेपाली भाषाको प्रवेश र प्रयोगलाई सजिलो पार्ने एउटा प्रयास हो। मदन पुरस्कार पुस्तकालय र त्रिभुवन विश्वविद्यालय, भाषाविज्ञान विभागको साा परियोजना 'भाषा सञ्चार' ले यो काम गरिरहेको छ।

बेलायतको 'ओपन युनिभर्सिटी' को सक्रियता र अन्य केही युरोपेली विश्वविद्यालय एवं भाषा अनुसन्धान संस्थाहरूको सहयोगमा सञ्चालन भइरहेको यो परियोजनाले सन् २००७ को अन्त्यसम्ममा नेपाली भाषामा उपलब्ध लिखित तथा मौखिक पाठहरूको सङ्ग्रह, त्यसमा आधारित समकालीन नेपाली शब्दकोश र नेपालीमा लेखिएका सबै सामग्रीलाई कम्प्युटरले पढ्न सक्ने 'पाठवाचक' बनाउने लक्ष्य राखेको छ।

सन् २००२ मा नेपाली युनिकोड प्रविधिको प्रयोग हुनु अगाडि पनि कम्प्युटरमा नेपाली भाषाको प्रयोग भएको हो। तर, अपेक्षाअनुरुप यसको उपयोग र विकास भएको थिएन। नेपालमा कम्प्युटरको प्रयोग परिमार्जित टाइपराइटरका रूपमा सीमित रहेको ठान्नेहरू धेरै थिए। आज नेपाली भाषामै डाटा विश्लेषण, परिमार्जन र कम्प्युटर सञ्चालन गर्न सकिन्छ। लेख्न, वर्ड प्रोसेसिङ वा लेआउट गर्नबाहेक कम्प्युटरमा नेपाली भाषाको प्रयोग गर्न सकिन्न भन्ने मानसिकतामा परिवर्तन आउन थालेको छ। कम्प्युटर चलाउन अङ्ग्रेजी जान्नैपर्ने बाध्यता पनि अब छैन। परियोजना व्यवस्थापक सृष्टि गुरुङ भन्छिन्, “हाल भइरहेको अनुसन्धानले नेपाली भाषामा कम्प्युटर सञ्चालन मात्र होइन, वैज्ञानिक शब्दकोश तयार गर्ने, अन्य भाषामा प्रकाशित लेखलाई नेपालीमा यान्त्रिक अनुवाद गर्ने, निरक्षर तथा दृष्टिविहीनहरूलाई कम्प्युटरले नै पाठवाचन गरिदिनेलगायतका सˆटवेयर विकास गर्ने आधार दिएको छ।”

नयाँ आयाम
अङ्ग्रेजी तथा अन्य युरोपेली भाषाका तुलनामा नेपालीमा कम्प्युटरमा कामकाजका निम्ति अहिलेसम्म ज्यादै न्यून सुविधाहरू उपलब्ध छन्। यसमा व्यापक परिवर्तन ल्याउने परियोजनाको लक्ष्य छ। त्यहाँ कार्यरत् भाषाविद् रामराज लोहनी भन्छन्, “हामीले नेपाली भाषामा प्रकाशित १ करोड ४० लाख शब्दहरूको पाठसङ्ग्रह तयार पारिसकेका छौँ। यो स्रोत भाषा अध्ययन'अनुसन्धानमा रुचि राख्ने अनुसन्धानकर्ताहरूलाई पनि निकै उपयोगी हुनेछ।”

यही पाठसङ्ग्रहका आधारमा भाषा'सञ्चारले 'समकालीन नेपाली शब्दकोश' तयार गरिरहेको छ। “सन् २००७ को अन्त्यसम्ममा मुद्रित र डिजिटल संस्करणमा सार्वजनिक हुने शब्दकोशको करिब एकतिहाई काम सम्पन्न भइसकेको छ। यसमा करिब ३० हजार मूल शब्द रहनेछन्। प्रत्येक शब्दहरूको परिभाषा, त्यसको अर्थ प्रस्ट पार्ने उदाहरण र पूरक जानकारी राखिनेछ”, भाषाविद् लोहनी भन्छन्।
लिखित र मौखिक भाषाको अध्ययनका लागि छुट्टाछुट्टै पाठसङ्ग्रह आवश्यक भएकाले परियोजनाले बोलीचालीको 'कथ्य' भाषालाई पनि सङ्कलन गरिरहेको छ। र, सँगसँगै भइरहेको छ' नेपाली भाषालाई लैङ्गिक, जातीय, सामाजिक भिन्नताको आधारमा समेत अनुसन्धान तथा विश्लेषण गर्ने काम। कथ्य पाठसङ्ग्रहमा कार्यरत भाषाविद् भीमनारायण रेग्मीका अनुसार डिजिटल रूपमा सङ्गृहीत यस्तो पाठसङ्ग्रहले भाषिक क्षेत्रमा भइरहने परिवर्तनहरूको अध्ययन'विश्लेषणमा सघाउ पुर्‍याउनेछ।

त्रिवि, भाषाविज्ञान केन्द्रीय विभागका प्राध्यापक तथा परियोजना प्रमुख डा.योगेन्द्रप्रसाद यादव नेपाली भाषाको अध्ययन, अनुसन्धान र प्रयोगलाई प्राविधिक रूपले सजिलो पार्न सके त्यसको सकारात्मक प्रभाव मुलुकका अन्य भाषामा पर्ने कुरामा विश्वस्त छन्। उनी भन्छन्, “नेपाल जस्तो बहुभाषिक देशमा कुनै एक भाषाको विकासका क्रममा भाषाविद् तथा प्राविधिकहरूले प्राप्त गरेका अनुभव अन्य भाषाको विकासका लागि पनि महवपूर्ण र उपयोगी हुनेछन्।”

नेपालमा यसअघि भाषा र प्रविधिलाई समानान्तर रूपमा अध्ययन गरिएको थिएन। त्यसैले भाषा सञ्चार परियोजनाका निम्ति सबै काम नयाँ थिए। चुनौतीहरू पनि उत्तिकै देखिए। परियोजना व्यवस्थापक सृष्टि गुरुङका अनुसार नेपालमा यस्ता विषयमा विशिष्टता हासिल गरेका स्वदेशी प्राविधिज्ञहरूको कमी छ। यसका अभियन्ताहरूले बेलाबेलामा विदेशी विशेषज्ञहरू समेत िकाउनुपर्‍यो। उनी भन्छिन्, “हाम्रो अनुसन्धानले तयार पारेको खाकाका आधारमा उपयोगी सˆटवेयर र प्रविधि विकासका निम्ति विशिष्टता हासिल गरेका विशेषज्ञहरू आकर्षित गर्नु साँच्चै चुनौतीपूर्ण छ।” यो पृष्ठभूमिमा प्रायः सˆटवेयर पश्चिमी दुनियाँको आवश्यकता र पृष्ठभूमिमा निर्माण गरिने बताउँदै ओपन युनिभर्सिटीका प्राध्यापक तथा भाषा सञ्चार परियोजनाका निर्देशक डा.प्याट हल भन्छन्, “कुनै भाषालाई अङ्ग्रेजी जस्तो 'किलर ल्याङ्गवेज' बाट जोगाउनका लागि त्यसको प्रयोग बढाउनुका साथै त्यसलाई प्रविधि अनुकूल बनाउँदै लैजानुपर्छ।”

भाषाविद्हरूले पहिल्याएको एउटा तथ्य हो' सूचनाप्रविधिको विकाससँग भाषालाई जोडिएन भने भाषाको भविष्य खतरामा पर्ने सम्भावना छ। सयभन्दा बढी स्थानीय भाषा भएको मुलुकमा नेपाली भाषा विकासका अनुभवहरू स्थानान्तरण गर्दै जाने हो भने सबै भाषाको वैज्ञानिक अनुसन्धान गर्न सजिलो हुने अनुभवहरूले देखाइसकेका छन्। तर नयाँ पुस्ताका युवा जसरी अङ्ग्रेजी भाषातर्फ आकर्षित भइरहेका छन्, राष्ट्रिय भाषाहरूलाई तिनले बुझ्ने प्रविधिमा रुपान्तरण नगर्ने हो भने ती भाषा लोप हुने खतरा पनि त्यतिकै छ। ११ चैतमा आयोजित भाषा सञ्चार परियोजनाको दोस्रो वार्षिकोत्सवमा सहभागी भाषाविद्हरूको एउटै आवाज थियो' अब भाषालाई प्रविधि अनुकूल नबनाई सुखै छैन।