हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

आवरण सूचनाप्रविधि

आईटीका आइकन

सूचनाप्रविधिलाई पेशा बनाएर सफलताको सिँढी चढिरहेका व्यक्तिहरूबाट सिक्नुपर्ने कुरा हो' चुनौतीको सामना गर्ने कला।

विवेकराज मौर्य

विक्की श्रेष्ठ

शैक्षिक पृष्ठभूमिका आधारमा विक्की श्रेष्ठ एक कुशल व्यवस्थापक हुनसक्थे। १० वर्षअघि राजधानीमा ह्वात्तै बढेको 'कम्प्युटर क्रेज' को लहलहैमा लागेर सूचनाप्रविधितिर आकर्षित भएका श्रेष्ठ अहिले सफल 'सिस्टम एडमिनिस्ट्रेटर' का रूपमा चिनिन्छन्। बिहान ९'१० बजे कम्प्युटरमा बसेपछि राति २'३ बजेसम्म काममै व्यस्त रहने उनी स्वतन्त्र परामर्शदाताका रूपमा स्वदेश तथा विदेशका आधा दर्जन संस्थासँग पनि आवद्ध छन्। 'इन्टरनेट तथा सर्भर' सुरक्षाबारे व्याख्यान दिन विदेशी संस्थाहरूले उनलाई गुहारिरहन्छन्।

शुरु'शुरुमा प्रोग्रामिङमा बढी रुचि राख्ने श्रेष्ठले कम्प्युटरसम्बन्धी औपचारिक शिक्षा भने लिएका थिएनन्। सूचनाप्रविधिका विविध विधाहरूमध्ये आˆनो रुचिका विषयवस्तुसम्बन्धी जानकारी उनले पाठ्यपुस्तक वा पत्रपत्रिकाबाटै हासिल गरेका हुन्। व्यवस्थापन अध्ययन गरेको व्यक्तिलाई सूचनाप्रविधि क्षेत्रमा स्थापित हुन कति गाह्रो भयो त? श्रेष्ठ भन्छन्, “आईटीमा काम गर्न आधारभूत तथा सैद्धान्तिक ज्ञान हुनु जरुरी छ, अन्य कुरा काम गर्दै जाँदा सिक्न सकिन्छ।”

आठ वर्षअघि इन्टरनेट, इमेल सेवाप्रदायक क्यापिटल अनलाइन मा छिर्दा ग्राहकहरूलाई आइपर्ने समस्या समाधान गरिदिने 'ट्रबल सूटर' का रूपमा करिअर शुरु गरेपनि पेशाको अधिकांश समय भने उनले 'सिस्टम एडमिनिस्ट्रेटर' का रूपमा वर्डलिङ्क मा बिताएका छन्।
नेपालमा यस्ता दिग्गजहरूको जमात नै तयार भइसकेको छ। विनोदमान सिंह, सुविन कुस्ले, गौतम श्रेष्ठ, टोनी सिंह, सुरेन्द्र सिद्धि बज्राचार्य, गौरव उपाध्याय, सरोज जोशी, पारस प्रधानजस्ता नामहरू नेपाली सूचनाप्रविधि क्षेत्रका अरू सफल 'आइकन' हरू हुन्, जसलाई नेपाली आईटीका आशलाग्दा व्यक्तित्व भन्दा फरक पर्दैन।

प्रविधिको प्रभाव
सन् १९९० को दशकमा सूचनाप्रविधितर्फ बढेको विश्वव्यापी आकर्षणको प्रभावबाट नेपाल अछुतो रहने संभावना नै थिएन। सन् १९९४ मा काठमाडौँ विश्वविद्यालयले कम्प्युटरसम्बन्धी उच्च शिक्षाको सुरुआत गरेपछि नेपालमा यसको सकारात्मक प्रभाव पर्‍यो। फलतः सूचनाप्रविधिलाई पेशा बनाउन इच्छुक व्यक्तिले भारत, रूस, अमेरिकालगायत विदेशी मुलुकमा पढ्न जानुपर्ने बाध्यताको अन्त्य भयो। कम्प्युटर शिक्षातर्फ विद्यार्थीहरूको आकर्षणबारे अनुभव सुनाउँदै कान्तिपुर सिटी कलेजका निर्देशक सुमन कटुवाल भन्छन्, “सन् १९९८ मा काठमाडौँ विश्वविद्यालयको पहिलो व्याचका रूपमा निस्कने कम्प्युटर स्नातकहरूको सङ्ख्या २० को हाराहारीमा थियो। अहिले देशभरका कलेज तथा प्रशिक्षण केन्द्रहरूबाट वार्षिक ३०००'३५०० विशेषज्ञ/प्राविधिज्ञहरू तयार भइरहेका छन्।” मुलुकका दर्जनौँ कलेज तथा तालिम केन्द्रद्वारा सञ्चालन भइरहेका कम्प्युटर विज्ञान तथा इञ्जिनियरिङ शिक्षा तथा यसमा देखिएको विद्यार्थीहरूको चापले पनि सूचनाप्रविधितर्फको बढ्दो आकर्षणलाई पुष्टि गर्छ।

उच्चस्तरीय सूचनाप्रविधि आयोगले तयार पारेको एक प्रतिवेदन अनुसार सन् २००५ को अन्त्यसम्म देशभर करिब ११ हजार चार सय सूचनाप्रविधि विशेषज्ञ तथा ३६ हजार पाँच सय प्राविधिज्ञ रहेको अनुमान गरेको छ। यी स्नातकहरूमध्ये करिब आधाजसो उच्च शिक्षा र अवसरका निम्ति विदेशिने गर्छन्, बाँकीले नेपालमै काम गर्छन्। हरेक क्षेत्रमा बढिरहेको कम्प्युटरको प्रयोग सँगसँगै कुनै खास विषयमा दक्षता हासिल गर्ने प्राविधिक तथा विशेषज्ञहरूको माग पनि चुलिँदो छ। पेशागत आधारमा मुलुकभित्र सˆटवेयर विकासकर्ता, डाटावेस व्यवस्थापक, नेटवर्किङ, सञ्चार विशेषज्ञ, 'कम्प्युटेशन' अनुसन्धानकर्तालगायतका विषयमा प्राविधिक विशिष्टता हासिल गर्नेहरूको सङ्ख्या पनि अहिले उल्लेख्य छ।

बजारको मागलाई आधार मान्ने हो भने वेब एवं सˆटवेयर विकासकर्ता, त्यसपछि नेटवर्क विशेषज्ञ आईटीमा सबैभन्दा बढी खपत हुने प्राविधिकहरू हुन्। अन्तर्राष्ट्रियस्तरका विशेषज्ञ तथा प्राविधिज्ञहरूका लागि संसारभर ढोका खुला रहेको स्थिति छ। त्यस्तो जनशक्ति उत्पादनका निम्ति स्वदेशी शैक्षिक संस्थाहरूले विद्यार्थीलाई डिग्री बाँड्ने भन्दा पनि प्रयोगात्मक ज्ञानतर्फ केन्द्रित गराउनुपर्ने सल्लाह दिँदै फोकस नेपालका अनुसन्धान तथा विकास निर्देशक आदिश श्रेष्ठ भन्छन्, “नेपालको आईटी क्षेत्रमा परिपक्वता आइनसकेकाले विशेषज्ञ र प्राविधिज्ञलाई छुट्याएर हेर्ने परिपाटीको विकास अै भइसकेको छैन।”

विकसित देशहरूमा आईटीसम्बद्ध प्राविधिज्ञहरूको बढ्दो मागका कारण पनि यो क्षेत्रतर्फको युवा आकर्षणमा बढोत्तरी आएको हो। सामान्यतया विकासोन्मुख देशको तुलनामा विकसित मुलुकहरूमा जनशक्ति महङ्गो हुन्छ। यो कारणले नेपाललगायतका विकासोन्मुख मुलुकहरूमा 'आउट सोर्सिङ' व्यवसाय (सˆटवेयर निर्माण, सर्भर व्यवस्थापन, कल सेन्टर आदि) को प्रचुर सम्भावना छ। विश्व बजारीकरणमा समाहित भइसकेका स्वदेशी तथा विदेशी कम्पनीहरूमा 'आउट सोर्सिङ' का काम मनग्य रहेको र आउँदा दिनमा यी अवसर अरू बढ्दै जाने संभावना छ। युरोपेली तथा अमेरिकी मुलुकबाट आउने यस्ता कामहरूमा नेपाली प्राविधिज्ञलाई लगाउँदा कम्पनीहरूले उता प्रचलित पारिश्रमिकको दशांश मात्र दिए पुग्ने भएकाले पनि यो व्यवसायले गति लिन थालेको छ। कटुवाल भन्छन्, “दक्ष र काम गर्न सक्छु भन्ने आत्मविश्वास भएका प्राविधिज्ञहरूले मासिक रु.८'१० हजारको तलब सजिलै पाउँछन् तर आˆनो स्तर कहाँसम्म पुर्‍याउने हो र कति प्रगति गर्ने हो भन्ने कुरा भने व्यक्ति स्वयंमा भर पर्र्छ।”

कुनै एक विषयमा विशिष्टता हासिल गरेका विकासकर्ता वा नेटवर्किङमा काम गर्ने विशेषज्ञहरूले मासिक रु.२५ देखि करिब रु.७५ हजारसम्म कमाउनेे धारणा यस पेशामा संलग्न व्यक्तिहरूको छ। स्थापित व्यक्तिहरूका अनुसार इज्जतको पैसा कमाउने छोटो बाटो भने छैन। “निरन्तर रूपमा समर्पित भई काम सिक्न सकेकै कारण होला, अब आएर मेरो क्षमतालाई मानिसहरूले चिन्न थालेका छन्,” विक्की श्रेष्ठ भन्छन्, “पहिले पैसातर्फ ध्यान नै गएन, अहिले पैसाले पिरोलेको छैन।”

सूचनाप्रविधिलाई पेशा बनाएर सफलताको सिँढी चढिरहेका व्यक्तिहरूबाट सिक्नुपर्ने कुरा हो' चुनौतीको सामना गर्ने कला। समान रूपमा सम्भावना र चुनौती बोकेको यस क्षेत्रमा प्रवेश गरेपछि अन्य क्षेत्रमा काम गर्न वा अन्य पेशा अपनाउन पनि सजिलो हुने विज्ञहरूको अनुभव छ। भारतस्थित पूणे विश्वविद्यालयबाट कम्प्युटर विज्ञानमा स्नातकोत्तर गरी तीन वर्षदेखि मदन पुरस्कार पुस्तकालयका कम्प्युटेशनल अनुसन्धानकर्ताका रूपमा कार्यरत सृष्टि गुरुङ भन्छिन्, “डिग्रीका आधारमा कम्प्युटर क्षेत्रमै पनि अन्य काम गर्न सकिन्थ्यो, तर यहाँ जति 'च्यालेञ्ज' छ, त्यो अन्य ठाउँ र काममा नहुन पनि सक्छ।”

आईटीविज्ञहरूका निम्ति नेपालमा दिइने पारिश्रमिक तुलनात्मक रूपले कमै भए पनि यहाँको अर्थतन्त्रअनुसार 'राम्रै हो' भन्ने तर्क अमेरिकी कम्पनी डीटूहकआईको काठमाडौँ शाखामा कार्यरत इञ्जिनियरिङ व्यवस्थापक मिलन लामिछानेको छ। उनी भन्छन्, “हाम्रा लागि अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको 'आउट सोर्सिङ' काम दिनेहरूका लागि नेपाली प्राविधिज्ञहरू पनि विश्वस्तरका छन् भनेर विश्वास दिलाउनु हो र उनीहरूको मन जित्नु हो।” उचित बजार व्यवस्थापनको अभाव हुँदाहुँदै पनि 'आउट सोर्सिङ'मार्फत् नेपालमा नयाँ र खुबी देखाउने खालका विभिन्न कामहरू आइरहेका छन्, जसबाट विभिन्नस्तरका संस्था तथा व्यक्तिहरू लाभान्वित भएका छन्। आउट सोर्सिङमार्फत् मेडिकल ट्रान्सक्रिप्सनको काम नेपालमा छोटो समयमै शिथिल भएको सम्ँदै बुटवलस्थित वायुकमका संस्थापक केशव नेपाल भन्छन्, “नेपालमा सूचनाप्रविधिको विकास भर्खरै मात्र शुरु भएको हो। यसलाई उचित आकार र स्वरुप दिन सरकारले मध्यस्थता गर्नुपर्छ, समयसाक्षेप नियमकानुन ल्याउनुपर्छ।” भारतलाई उदाहरण मानेर यो व्यवसायलाई अरू व्यवस्थित गर्ने हो मात्र भने यसले आर्थिक क्षेत्रमा ठूलो योगदान दिन सक्छ। तर त्यसका निम्ति निजी तथा सरकारीस्तरबाट शैक्षिक, संस्थागत तथा पूर्वाधारको विकास पनि समानान्तर रुपले गर्दै लान जरुरी छ।