हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

आवरण सोसल साइन्स

सामाजिक जटिलताको अध्ययन

समाजका विभिन्न जटिलताहरूको अध्ययनमा स्वदेश र विदेशका थुप्रै अनुसन्धानकर्ताहरूले नेपालप्रति चासो देखाइरहेको पृष्ठभूमिमा 'सोसल साइन्स' लोभलाग्दो पेशा'व्यवसायको रूपमा स्थापित हुँदैछ।

ध्रुब सिम्खडा

मीन बज्राचार्य
डा. कृष्ण हाछेथु

भैंसेपाटीको बङ्गलामा बस्छन्, भर्खरै किनेको मारुति अल्टो चढेर नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) मा काम गर्न जान्छन् अनि सोसल साइन्सको अध्ययन'अनुसन्धानमा समय बिताउँछन्' सह'प्राध्यापक डा. कृष्ण हाछेथु (४६)। एसएलसीपछि बसभाडा तिर्ने पैसा नभएर कानून पढ्न काठमाडौँ जान नसकी भक्तपुरमै 'आर्टस्' पढेका हाछेथुको जीवनमा यही क्षेत्रले सबै कुरा पुर्‍याइदिएको छ।

त्रिविको सह'प्राध्यापकको जागिर र मासिक रु.१५ हजारको तलबले मात्रै यो सम्भव भएको हो त? १९ वर्षअघि सहायक प्राध्यापकका रूपमा सिनास प्रवेश गर्दा रु.१,४२५ मासिक तलब बुेको सम्ँदै हाछेथु भन्छन्, “अमेरिकी संस्था एनडीआईका लागि गरेको 'व्याकग्राउण्ड स्टडी अफ पलिटिकल पार्टिज् इन् नेपाल' मेरो पहिलो कन्सल्टेन्सी थियो। त्यसबाट ३,२०० अमेरिकी डलर पाएँ। यस्ता काम जुट्दै गएपछि जीवन सहज हुँदैगयो।” सिनासको जर्नल मा 'मास मूभमेन्ट १९९०' छापिएपछि उनलाई भेट्न देश'विदेशबाट विद्वान्हरूको घुइँचो लाग्न थाल्यो। 'नेगोसियशन विहाइन्ड कन्स्टिट्युशन मेकिङ्'१९९१' भन्ने अनुसन्धानपत्र प्रकाशित भएपछि अमेरिकी राजनीतिशास्त्र संघले ६ महिनाका निम्ति उतै बोलायो।

नेपालको ठेट नेवार परिवारमा जन्मेका हाछेथुले सोसल साइन्समै आˆनो भविष्य देखे र अन्ततः त्यही बाटो रोजे। डाक्टर, इञ्जिनियर नबने समाजमा कुनै स्थान नहुने त्यस जमानामा मास्टर बनेर जीवन निर्वाह गर्नु, त्यसमा पनि सोसल साइन्स (अर्थशास्त्र, राजनीतिशास्त्र, इतिहास, ग्रामीण विकास, समाजशास्त्र/मानवशास्त्र आदि) को अध्ययनमा लागेर अगाडि बढ्नु सजिलो थिएन। तर, 'जहाँ इच्छा त्यहाँ उपाय' भनेैँ राजनीतिशास्त्री हाछेथुले हिम्मत हारेनन्, डेढ दशकमै शान'मान र सम्पन्नताको सिँढी चढ्दै गए। उनको सफलताको सिँढीमा महवपूर्ण खुड्किलो बन्यो, विद्यावारिधिको थेसिसमा आधारित किताब' 'पार्टी विल्डिङ इन् नेपाल'। हाछेथु भन्छन्, “२०५६ सालमा यो किताब छापिएपछि त यति काम आउन थाल्यो कि भ्याउनै सकिएको छैन।”

यसक्षेत्रमा लागेर नाम र दाम कमाउने हाछेथु मात्र होइनन्; कृष्ण भट्टचन, राजेन्द्र प्रधान, सौभाग्य शाह, देवराज दाहाल, सुधीन्द्र शर्मा, हरि शर्माजस्ता पछिल्लो पुस्ताका अरू युवा अनुसन्धानकर्ताहरू पनि छन्। २०४६ सालको राजनीतिक खुलापनसँगै यस क्षेत्रमा आˆनो पहिचान बनाउन सफल यी अनुसन्धानकर्ताहरूको सक्रियता र व्यस्तताले पनि 'लिबरल आर्टस्' कै आकर्षण देखाउँछ। नेपाल राजनीतिशास्त्र संघ, नेपाल इतिहास संघ, नेपाल अर्थशास्त्र संघ, समाजशास्त्र/मानवशास्त्र समाज, सोशल साइन्स वहाः, नेपाल समसामयिक अध्ययन केन्द्र, इन्ष्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), न्यूएरा, नेपाल फाउण्डेशन फर एड्भान्स स्टडिज् (नेफास) लगायतका अनुसन्धान संस्थाहरू पनि कार्यक्षेत्रमा जुटेका छन्। २०१७ सालमा प्रजातान्त्रिक मार्ग अवरुद्ध गरिएपछि खल्बलिएको वातावरणमा समेत डोरबहादुर विष्ट, प्रयागराज शर्मा, हर्क गुरुङ, लोकराज बराल, हृषीकेश शाह, तुलसीराम वैद्य, त्रिरत्न मानन्धर, चैतन्य मिश्र, श्रीधर खत्री, कृष्ण खनाल, विश्वम्भर प्याकुरेल, सुशीलराज पाण्डे, कृष्ण पोखरेल, पीताम्वर शर्मा, धु्रवकुमारहरूले आˆना अग्रज बाबुराम आचार्य, सूर्यविक्रम ज्ञवाली, नयराज पन्त, योगी नरहरिनाथ, डिल्लीरमण रेग्मी, अम्बिकाप्रसाद उपाध्यायहरूले डोर्‍याएको समाजशास्त्रीय अध्ययनलाई निरन्तरता दिएका हुन्।

राजनीतिक खुलापनसँगै आदिवासी जनजाति, महिला, मधेशीका कुरा मज्जैले उठिरहेका छन्। द्वन्द्व, राजनीति र सामाजिक विकाससम्बन्धी सर्वेक्षण, विश्लेषणलगायतका काममा एक'डेढ दशकदेखि विदेशी पैसा भित्रिने क्रम बढेको छ। यही अनुपातमा निजी'क्षेत्रका अनुसन्धान संस्था र अनुसन्धानकर्ताहरू बढेका छन्, यद्यपि तीमध्ये धेरैजसो प्राज्ञिकभन्दा दातृ निकायहरूका चाहना अनुसारका प्रतिवेदन लेख्नमा व्यस्त किन नहोऊन्!

मुलुकको विकास र सामाजिक तथा सांस्कृतिक क्षेत्रको समग्र अध्ययन अनुसन्धानका लागि भनेर सरकारले राष्ट्रिय योजना आयोग, प्रज्ञा'प्रतिष्ठान, तथ्याङ्क विभाग, नेपाल प्रशासनिक प्रशिक्षण केन्द्रलगायतका निकायहरू गठन गरेको भएपनि २०२८ मा नयाँ शिक्षापद्धति लागू गरेर प्राविधिक तथा व्यावसायिक शिक्षामा ध्यान केन्द्रित गरेपछि सोसल साइन्स छायाँमा पर्दै गयो। सोसल साइन्स र प्राविधिक/ व्यावसायिक शिक्षा अध्ययन गर्नेहरूको सन् ५०'६० को दशकमा रहेको ८०ः२० को अनुपात ७०'८० को दशकमा ६३ः३७ र २००० को दशकमा ४२ः५८ हुनपुगेको थियो।

सोसल साइन्सको अध्ययन यसरी घट्नुको पछाडि राज्यको प्राथमिकतामा यो विधा नपर्नु, त्रिविअन्तर्गतका सिनास, आर्थिक विकास तथा प्रशासनिक केन्द्र (सेडा) र केन्द्रीय विभागहरूबीच अध्ययन/अनुसन्धान र पठनपाठनमा सम्बन्ध अनि अध्ययनमा 'इन्टरडिसिप्लिनरी एप्रोच' नहुनु मानिएको छ। भाषा, साहित्य, कला र सोसल साइन्सलाई सँगसँगै अगाडि नबढाएसम्म आधुनिक युगको चाहना अधुरै रहन्छ। युवा राजनीतिशास्त्री हरि शर्मा भन्छन्, “विभागहरूमा विषयहरूलाई अलग'अलग राखिने कार्यले गर्दा सोसल साइन्सको विकास हुनसकेको छैन। तर समाजको जटिलता बढ्ने क्रमसँगै सोसल साइन्सको महव बढेर गएको छ र खुला वातावरणमा नै त्यसका विभिन्न आयामहरू प्रकट हुन्छन्।”

त्रिविअन्तर्गतका अनुसन्धान केन्द्रहरूमा भने यी आयाम र तिनको प्रभाव अै स्पष्टसँग देख्न सकिएको छैन। केहीले जर्नल प्रकाशनलाई समेत नियमित पार्न सकेका छैनन्। केन्द्रहरूसँग अनुसन्धान बजेट कम हुनु र सोसल साइन्सका केन्द्रीय विभागहरूलाई अनुसन्धान बजेट नै नदिइनुले यसक्षेत्रमा संलग्न अधिकांश व्यक्तिहरू प्रतिवेदन लेख्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ/संस्थाहरूबाट राम्रो कमाइ गर्ने प्रतिस्पर्धामा लागेका छन्। त्यसकारण आजभोलि प्राज्ञिक अनुसन्धान घटे पनि चाङका चाङ विकासे प्रतिवेदन लेखेर अनुसन्धानकर्ताहरूले नाम र दाम कमाएका छन्।

बेलाबेला यस्ता विसङ्गत पक्षहरू हावी भए पनि समाजशास्त्र/मानवशास्त्र, अर्थशास्त्र र ग्रामीण विकासजस्ता विषयहरूको अध्ययनमा विद्यार्थीको रुचि बढेको छ। यी विषय पढ्नेहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ/संस्थामा राम्रो काम पाउन थालेका छन्। आकर्षक 'करिअर' र व्यावसायिकताबाट राम्रो जीवन निर्वाह हुने भएकाले युवापुस्ताको ध्यान यसतर्फ खिचिनु स्वाभाविकै हो। मुलुकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ/संस्थाहरूको सक्रियता बढ्न थालेपछि समाजशास्त्र/मानवशास्त्र आकर्षक बन्न पुगेको त्रिवि समाजशास्त्र/मानवशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. कृष्ण भट्टचन बताउँछन्।

यो आकर्षण विस्तारै उच्चमाध्यमिक विद्यालयहरूमा पनि बढ्दैछ। निजीक्षेत्रका केही नाम चलेका स्कूलहरूले सोसल साइन्स पढाएर 'ए'लेभल' को परीक्षामा विश्वमै नाम कमाउन सफल भएका छन्। पाटनढोकास्थित रातो बङ्गला स्कूलकी विद्यार्थी प्रकृति मिश्रले समाजशास्त्र र प्रणयशमशेर जबराले मनोविज्ञानमा यो वर्षको ए'लेभलमा विश्व टप गरेर यस्तो उदाहरण प्रस्तुत गरेका छन्। स्नातक तहमा पनि मिश्रले राजनीतिशास्त्र र राणाले मनोविज्ञान वा पत्रकारिता पढ्ने चाहना राख्नुले सोसल साइन्सकै आकर्षणलाई पुष्टि गर्दछ।

अहिले समाजका विभिन्न जटिलताहरूको अध्ययनमा स्वदेश र विदेशका थुप्रै अनुसन्धानकर्ताहरूले नेपालप्रति चासो देखाइरहेको पृष्ठभूमिमा 'सोसल साइन्स' लोभलाग्दो पेशा'व्यवसायको रूपमा स्थापित हुँदैछ।