आवरण विज्ञापन
जीवन्त र सिर्जनशील
ल्याण्डस्केप, वाइल्डलाइफ, स्पोर्टस्, फेशन,
फिचर फोटोग्राफी जस्ता फरक'फरक विधामा विशेषज्ञता हासिल गर्न खोजिरहेको
जमातको सक्रियताले समेत देखाउँछ, फोटोग्राफीप्रति नयाँ पुस्ताको मोह।
• किरण नेपाल
 |
| किरण पाण्डे |
| रञ्जित आचार्य |
औषधि पसलमा सामान
राखिदिन आग्रह गर्ने 'ग्लुकोज' का एक बजार प्रवर्द्धकलाई 'विज्ञापन
नभएकाले बिक्दैन, राख्दिनँ' भन्ने जवाफ नदिएको भए, रञ्जित आचार्य न
कुशल विज्ञापन व्यवसायी हुन्थे न देशका थोरै व्यावसायिक विज्ञापन एजेन्सीहरूमध्ये
एक प्रिज्मा एड्भरटाइजिङ नै हुन्थ्यो। ग्लुकोज राख्न अस्वीकार गरेका
आचार्यलाई नै प्रवर्द्धक कम्पनीले त्यसको विज्ञापन बनाउने जिम्मेवारी
दियो। उनले ग्लुकोजको टेलिभिजन कमर्सियल (टिभीसी) बनाउनुका साथै यसरी
बिक्री प्रवर्द्धन गरे, काठमाडौँको 'स्टक' दुई महिनामै सकियो। स्टक
सकिएपछि कम्पनीले विज्ञापनमा थप लगानी गरेन। “ग्लुकोजकै विज्ञापन र
बजार प्रवर्द्धनका लागि खोलेको कार्यालयको भाडा तिर्नुपर्ने बाध्यता
भएपछि नयाँ ग्राहकको खोजी गर्दै, काम पाउँदै आजको अवस्थामा आइपुगियो,”
आचार्य भन्छन्। अहिले उनी विज्ञापन व्यवसायको उचाइमा छन्।
प्रतिस्पर्धीहरू रञ्जितको आक्रामक 'आउटडोर सेल्स प्रमोशन क्याम्पेन'
सँग कायलै हुन्छन्। प्रिज्माको जग नै 'सेल्स प्रमोशन क्याम्पेन' हरूबाट
बनेको हो। उपभोक्तासँग सरोकार राख्ने वस्तुलाई सोै तिनका हातसम्म पुग्ने
बाटाहरू ठम्याएर रञ्जितले आˆना ग्राहकका उत्पादनको बिक्रीसँगै आˆनो
कारोबार पनि बढाएका छन्। विशेषगरी भारतीय कम्पनीहरूलाई यहाँको बजार,
प्रतिस्पर्धी र उपभोक्ताहरूबारे जानकारी उपलब्ध गराउनुलाई उनले आˆनो
व्यापार विस्तारको आधारभूत रणनीति बनाएका छन्। रञ्जित भन्छन्, “बजार
प्रवर्द्धनका लागि सञ्चारमाध्यमसँगै मैले अन्य माध्यमहरू पनि प्रस्तुत
गरेँ, जसले तिनको बिक्रीसँगै मेरो काम पनि बढायो।”
स्थापनाको डेढ दशकमै प्रिज्माले आˆनो कारोबारलाई वार्षिक रु.८ करोडभन्दा
बढी पुर्याएको छ। अहिले ऊ मेरो मोबाइल, कोकाकोला, सामसुङ, वेष्टर्न
युनियन, बजाज मोटरसाइकल, किया, कोडाक, डीएचएल जस्ता बहुराष्ट्रिय कम्पनी
तथा अन्तर्राष्ट्रिय ब्राण्डहरूको विज्ञापन एवं बजार प्रवर्द्धन गरिरहेको
छ। यी सबैका सूत्रधार हुन् रञ्जित आचार्य।
हो, अहिलेको पुस्ताका सफल विज्ञापन व्यवसायीहरूमा पर्छन्, रञ्जित।
मातहतमा ४६ जना कर्मचारी भएपनि उनी औसतमा दैनिक १२ घण्टा काम गर्छन्
र कम्तीमा ६ वटा मिटिङ भ्याउँछन्। तोकिएको समयमा काम सक्न कहाँ के
गर्नुपर्ने हो, त्यसको रेखदेखसँगै कार्यालयभित्रको हरेक क्रियाकलाप
आˆनो जानकारीमा राख्छन्। नयाँ ग्राहक (अकाउण्ट) आकर्षित गर्ने रणनीति
बनाउन आˆनो ल्यापटपमा बारम्बार घोरिन्छन्। यतिबिघ्न कामका बीच परिवारका
लागि समय कतिखेर त? रञ्जित भन्छन्, “अण्डरस्ट्याण्डिङको बीचमा।”
यसरी 'प्रोफेशनल' बन्नका लागि यो पेशामा दिनुपर्ने अत्यधिक समय परिवारलाई
दिनुपर्ने समयबाट चोरेर मात्र पूरा गर्न सकिने भएपनि पछिल्लो समयमा
करिअरका हिसाबले उदीयमान क्षेत्र मानिएको छ, विज्ञापन व्यवसाय। यसमा
बहुआयामिक जनसम्पर्कको सञ्जाल बनाउने ठाउँ, प्रशस्त आकर्षण, पैसा र
व्यस्तता हुन्छ। आफूले गरेको काम सञ्चारमाध्यममा सबैले हेर्छन्, तत्काल
प्रतिक्रिया आउँछ। विज्ञापन बनाउने र प्रकाशन/प्रसारण गर्ने क्रममा
उद्योग व्यापार क्षेत्रका हस्तीहरूसँगै सिनेमा तथा टेलिभिजनका 'सेलिब्रेटी'
एवं सञ्चारकर्मीहरूसँग सङ्गत भइराख्छ। विज्ञापन एजेन्सीभित्र सफलता
चुम्दै आएका अर्का विज्ञापनकर्मी, की एडभरटाइजिङका निर्देशक दीपक कोइरालाको
भनाइमा, यसमा 'लाइफ' छ।
नेपालमा प्रोफेशनल विज्ञापन एजेन्सीहरू थोरै छन्, यद्यपि यो सङ्ख्या
बर्सेनि बढ्दो छ। केही अपवादलाई छाड्ने हो भने अधिकांश विज्ञापन एजेन्सीलाई
युवाहरूले नेतृत्व गरेका छन्। प्रिज्माका रञ्जित तथा की एडका दीपकसँगै
थमसन् नेपालका नवीनलाल जोशी, इकोका पितापुत्र जेके र अरुण स्थापित,
त्रिकोणका राजेन्द्र अर्याल, बिजनेश एडभाण्टेजका सुबु श्रेष्ठ र दीपेन्द्र
टण्डन, वाटर कम्युनिकेशनका नवीन श्रेष्ठ, आउटरिचका उजय शाक्य, लायन्जका
सङ्केत लामिछाने आदि यस्ता प्रतिनिधिमूलक नामहरू हुन् जसले विज्ञापनका
क्षेत्रमा आफूलाई पेशेवरका रूपमा प्रस्तुत गर्दै नाम, दाम र इज्जत
कमाएका छन्। स्वदेश'विदेशमा उच्च शिक्षा हासिल गरेका हुन् वा १०'१५
वर्षको अनुभवका साथ आफूलाई 'प्रोफेशनल' साबित गरेका; यी पेशेवर विज्ञापनकर्ताहरू
आˆनो कामलाई आकर्षक तुल्याउन कुनै कसर छाड्दैनन्।
ग्राहक सेवा (क्लाइण्ट सर्भिस्) र सिर्जनशील (क्रियटिभ) शाखा विज्ञापन
एजेन्सीका प्राण हुन्। ग्राहक सेवाले व्यापार भियाउँछ भने सिर्जनशीलताले
त्यसलाई टिकाउँछ। पहिलोले ग्राहकलाई 'आˆनो' बनाउँछ भने दोस्रोले उसको
उत्पादनलाई बजारमा 'ठूलो' बनाइराख्छ। यी दुईबीचको सन्तुलन विज्ञापन
एजेन्सीका लागि जति चुनौतीपूर्ण छ, त्यति नै महवपूर्ण पनि। र, विज्ञापनलाई
व्यवसाय बनाउनेहरूका लागि पनि यी दुई क्षेत्र नै अवसरयोग्य मानिन्छन्।
कामको स्वरुप अनुसार कपी राइटिङ, इलुस्ट्रेशन, भिजुअलाइजेशन, ग्राफिक
डिजाइन आदि सिर्जनशील कार्य भित्र पर्ने भएपनि सबैको हैसियत करिब बराबरी
नै हुन्छ। जानिफकारहरूको भनाइमा शैक्षिक योग्यता भन्दा पनि सिर्जनशीलता
नै यसभित्रको करिअर विकासको मुख्य मापक हुने गर्छ। इलुस्ट्रेशन तथा
ग्राफिक डिजाइन बाहेकको कामका लागि 'हाइटेक माइण्ड' आवश्यक पर्दैन।
सामान्यतः ग्राहक सेवामा काम गर्नेहरू जुनियर एक्जिक्यूटिभका रूपमा
प्रवेश गरेर प्रति महिना रु.१०'१२ हजारको आम्दानी गर्छन् भने डाइरेक्टर
हुँदासम्म प्रति महिना रु.१ लाखसम्मको आम्दानी गर्न सक्छन्। यसबीचमा
क्लाइण्ट सुपरभाइजर बन्दाखेरि नै बजारमा तिनको कामको बारेमा छाप बनिसकेको
र बजार मूल्य बन्न थालिसकेको हुन्छ। जुनियर एक्जिक्यूटिभ पदका लागि
'प्लस टु' वा एसएलसी योग्यता भएकाहरूबाटै चित्त बुाउने एजेन्सीहरू
धेरै छन्। की एडभरटाइजिङका निर्देशक कोइराला भन्छन्, “कामप्रतिको लगाव,
करिअर बढाउने उत्साह र कडा परिश्रम गर्नसक्छु भन्ने देखाउने हो भने
शैक्षिक योग्यता गौण हुन्छ।”
विज्ञापन एजेन्सी एउटा त्यस्तो प्लेटफर्म हो, जहाँबाट बजारलाई 'एरिअल
भ्यू' मा स्पष्टसँग हेर्न सकिन्छ। बजारको ज्ञान, बिक्रीका तौरतरिका,
कम्पनी र उसको ब्राण्डको अवस्थालाई हरेक कोणबाट जान्नबुझ्न सकिन्छ।
त्यसैले हुनसक्छ, व्यक्तिलाई कुनै पनि काम गर्न सक्ने बनाउने स्कूल
मानिन्छ, ग्राहक सेवालाई। यो क्षेत्रको अनुभवी व्यक्तिले जुनसुकै वस्तुको
ब्राण्ड, बिक्री र बजार प्रवर्द्धन गर्न सक्छ। अहिले पनि केही प्रमुख
संस्थाका ब्राण्ड, बिक्री र बजार प्रबन्ध तथा मिडिया मार्केटिङ गर्ने
विज्ञापन एजेन्सीमा ग्राहक सेवामा काम गरेकाहरूकै सङ्ख्या उल्लेख्य
छ।
उता क्रियटिभ काम गर्नेहरूले रु.१५ हजारबाट शुरु गरेर रु.१ लाखभन्दा
बढीसम्म मासिक तलब पुर्याएको उदाहरण स्थानीय विज्ञापन एजेन्सीहरूमा
छ। यस क्षेत्रतर्फको अनुभव र सिर्जनशीलता जति फराकिलो हुँदै जान्छ,
त्यही गतिमा उसको बजार मूल्य बढ्दै जान्छ।
विगत अनुभवले देखाएको छ' सञ्चारमाध्यम र उपभोक्तामुखी बजारको विकास
जति हुन्छ, विज्ञापनको बजार त्यति नै बढ्छ।राजनीतिक अन्योलका कारण
दुई'तीन वर्षयता विज्ञापन बजार स्थिर देखिए पनि त्यसअघिसम्म यसको वृद्धि
१०'१२ प्रतिशतको हाराहारीमा रहेको जानकारहरू बताउँछन्। राजनीतिक अस्थिरताका
कारण विगत दुई'तीन वर्षदेखि बजारमा नयाँनयाँ उत्पादन आउने क्रम कम
भएका कारण विज्ञापन क्षेत्र प्रभावित हुन पुगेको हो।
वि.सं. २०४६ को परिवर्तनसँगै ह्वात्तै माथि आएको विज्ञापन क्षेत्र
अहिले पनि पूर्ण रूपमा 'संस्थागत' भएको भने छैन। विज्ञापनकै भाषामा,
सञ्चारमाध्यममा प्रकाशन/ प्रसारण हुने विज्ञापनहरूलाई 'एवभ द लाइन'
(एटीएल) भनिन्छ भने त्यसबाहेकका सम्पूर्ण विज्ञापनहरूलाई 'विलो द लाइन'
(बीटीएल)। पछिल्लो समयमा 'एटीएल' व्यापार केही संस्थागत भएपनि, 'होर्डिङबोर्ड'
लगायतका विभिन्न 'आउटडोर' विज्ञापनका माध्यमहरू जनाउने र ठूल्ठूला
कम्पनीहरूको प्रायोजनमा हुने बाहेकका 'इभेण्ट' मार्फत् हुने 'बीटीएल'
व्यापारको आकार ठम्याउन मुस्किल छ। परिणाम, नेपाली विज्ञापन व्यवसायको
वास्तविक आकार संभाव्य आकलनमै सीमित छ।
पछिल्लो पुस्ताले 'लाइफ' मानेको विज्ञापन व्यवसाय पूरै दोषमुक्त छ
भन्ने पनि छैन। यहाँ काम गर्ने निश्चित समयतालिका हुन्न। निजी संस्थाहरूमा
काम गर्नेहरूका लागि बनेको 'आउने समय बिहान नौ बजे, जाने समय काम सकिएपछि'
भन्ने भनाइ विज्ञापनको क्षेत्रमा सामान्य मानिन्छ। हरेक एजेन्सीको
काम ग्राहकको आवश्यकता अनुसार तय हुने हुँदा यहाँ काम गर्ने समयतालिका
नै हुँदैन, भएपनि प्रभावकारी रूपमा कार्यान्वयन हुन्न। कतिपय अवस्थामा
ग्राहकको भावनाको सम्मान गर्नका लागि आˆनो 'इगो' त्याग्नुपर्ने हुन्छ।
जोखिम पनि धेरै छ, विज्ञापन व्यवसायमा। आˆनो कल्पनामा सिर्जनशील कुरा
अर्काका लागि ग्राह्य नहुन पनि सक्छ। ग्राहकको आवश्यकतामा सचेत नहुँदा
राम्राराम्रा सिर्जनशीलता पनि स्वीकार्य नभएका थुप्रै उदाहरण छन्।
यति हुँदाहुँदै पनि विज्ञापन व्यवसायलाई करिअर बनाउनेहरूको सङ्ख्या
बढ्दो छ। र, सफल हुनेहरूको सङ्ख्या पनि बढिरहेको छ। माग बढेकैले हुनसक्छ,
स्थानीय कलेज र विश्वविद्यालयहरूले विज्ञापनलाई महवपूर्ण विषयको रूपमा
प्रस्तुत गर्न थालेका छन्। नाम, दाम र पहिचानका हिसाबले विज्ञापन व्यवसाय
पनि उदाउँदो पेशा बन्न पुगेको छ। किनकि विज्ञापन व्यवसायीहरूले भनेजस्तै
यो जीवन्त र सिर्जनशील छ।
|