हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

आवरण फोटोग्राफी

नयाँ पुस्ताको मोह

ल्याण्डस्केप, वाइल्डलाइफ, स्पोर्टस्, फेशन, फिचर फोटोग्राफी जस्ता फरक'फरक विधामा विशेषज्ञता हासिल गर्न खोजिरहेको जमातको सक्रियताले समेत देखाउँछ, फोटोग्राफीप्रति नयाँ पुस्ताको मोह।

विवेकराज मौर्य

किरण पाण्डे
जगदीश तिवारी`

तीस वर्षअघि पिसकोर स्वयंसेवीको एक समूह तनहुँको चुदी, रम्घा पुगेको थियो। गाउँको रहनसहन, परम्परा र संस्कृति बुेमात्र काम गर्न सजिलो हुन्छ भन्ने निर्क्योलका साथ त्यो समूहका व्यक्तिहरूले विभिन्न परिवारसँग छुट्टाछुट्टै बस्ने चाँजो मिलाए। संयोगवश, एकजना फोटोग्राफर गाउँको तिवारी घरमा पुगे। र, त्यही संयोगले एउटा गाउँले ठिटोको उत्सुकतालाई मलजल गर्‍यो। आˆनो घरमा बस्न आएका स्वयंसेवीले क्यामरा चलाएको देख्ता र उनीसँग फोटोग्राफीबारे कुराकानी गर्दा १३ वर्षे जगदीश तिवारीमा भविष्यमा फोटोग्राफर बन्ने दृढता जाग्यो।

२०३९ सालतिर पढाइको सिलसिलामा काठमाडौँ आएपछि शुरु भयो जगदीशको फोटोग्राफर बन्ने सङ्घर्ष। घरबाट पढाइ तथा खानबस्नका लागि पठाइएको रकम जोहो गर्दै उनी फोटोग्राफीको पत्रपत्रिका किन्थे र महिना, दुई महिनामा एक दिनका लागि रु.३० मा क्यामरा भाडामा लिई सैद्धान्तिक ज्ञानलाई प्रयोगमा ल्याउँथे। आफूभित्र लुकेको प्रतिभालाई निखार्न उनले औपचारिक फोटोग्राफीको शिक्षा लिनुपरेन। बरु, आफूलाई ल्याण्डस्केप फोटोग्राफी विधामा खार्दै विशेषज्ञता हासिल गरे। अहिले उनै तिवारीले खिचेको एउटा तस्बिर साढे सात लाख रुपैयाँसम्ममा बिकेको छ। तथापि, उनी पैसाभन्दा बढी पेशासँग मोह राख्छन्। उनी भन्छन्, “पैसा कमाउने उद्देश्यले यो पेशामा लागेको भए शायद म कहिल्यै सफल हुन सक्दैनथेँ।” राम्रो काम गर्नसके जुनसुकै पेशामा पैसा कमाउन सकिन्छ भन्ने मान्यता राख्ने तिवारी थप्छन्, “काम भने अद्भुत हुनैपर्छ।”

फरक किसिमको प्रस्तुति नै धेरैका लागि आकर्षक हुन्छ भन्ने निर्क्योलका साथ सगरमाथा क्षेत्रको तस्बिर खिच्न २७ पटकसम्म कालापत्थर पुगेका तिवारी आˆनो अनुभव सुनाउँदै भन्छन्, “सामान्य अवस्थामा त जोकोहीले पनि सगरमाथा वरपरका तस्बिर उतारेका छन्। माघ'फागुनको कठ्याङ्ग्रिँदो जाडोमा हिउँले ढाकिएको बाटो छिचोल्दै सेताम्मे हिमशृङ्खलाको फोटो उतार्नुमा अर्कै मजा र एड्भेञ्चर छ।” फोटो खिच्ने क्रममा अन्नपूर्ण क्षेत्रमा दुई दिनसम्म हिउँले पुरिएको घरमा कैद भएको, कालापत्थरमा बाटो हराउँदा एक्लै रातभरि हिँडेको र चितवनमा बाघसँग जम्काभेट भएको सम्ँदै तिवारी भन्छन्, “विशेष फोटो खिच्न यतिको जोखिम त उठाउनै पर्छ।”

नयाँ आयाम
हालैका दिनहरूमा फोटोग्राफर बीच प्रतिस्पर्धा, डिजिटल प्रविधिको आगमन र बढ्दो मिडिया बजारका कारण फोटोग्राफीले ठूलै फड्को मारेको छ। परिणामस्वरुप; यस क्षेत्रमा व्यावसायिकता बढ्न थालेको छ। विधाअनुसार विशेषज्ञता हासिल गर्ने होड पनि त्यतिकै चल्न थालेको छ। कान्तिपुर पब्लिकेसन्सका फोटो सम्पादक तथा रोयटर न्युजका फोटोपत्रकार गोपाल चित्रकार भन्छन्, “आठ दश वर्षअघि फोटोग्राफी क्षेत्र छोड्छु कि जस्तो लागेको थियो, तर डिजिटल प्रविधि भित्रिएपछि मलाई फोटोग्राफीले फेरि डोर्‍यायो।” वास्तवमै, डिजिटल प्रविधिका कारण फोटोग्राफीतर्फ नयाँ पुस्ताको मोह अचम्मैसँग बढेको छ। नयाँ प्रविधिले राम्रो फोटो उतार्न सकिने, काम चाँडो हुने र प्रयोग पनि धेरै गर्न सकिने अनुभव सुनाउँदै अर्का फोटोपत्रकार चन्द्रशेखर कार्की भन्छन्, “प्रविधिका कारण नयाँ पुस्तालाई फोटोग्राफीमा प्रवेश गर्न निकै सजिलो भएको छ।”

केही वर्षअघिसम्म फोटोग्राफीलाई स्टुडियो सञ्चालकसम्म मात्र सीमित राख्ने सामाजिक सोचमा ठूलो परिवर्तन आउनुको एक मुख्य कारण पनि संभवतः यही नै हो। र, यस्तै परिवर्तनसँगै फोटोपत्रकार, ल्याण्डस्केप फोटोग्राफर, वाइल्डलाइफ फोटोग्राफर, स्पोर्टस् फोटोग्राफर, फेशन फोटोग्राफर, फिचर फोटोग्राफर जस्ता विभिन्न विधाहरूमा विशेषता हासिल गर्दै आफूलाई स्थापित बनाउने जमात पनि दिनहुँ बढिरहेको छ। फोटोग्राफीमा देखिएको अर्को …ग्ल्यामर' हो यो।

फोटोग्राफीमा दक्षता हासिल गर्नलाई उत्कृष्ट र महँगा सामान नै प्रयोग गर्नुपर्छ भन्ने मान्यता पनि अहिले खण्डित भइरहेको छ। “फोटोग्राफी कला र प्रविधिको सङ्गम हो, जहाँ प्रविधिभन्दा बढी कलालाई ग्राह्यता दिनुपर्छ,” वि.सं. २०५७ मा फेयर एण्ड लभ्ली विज्ञापनका निम्ति फोटो खिचेर ख्याति कमाएका एड फोटोग्राफर माधव थापा थप्छन्, “सामानको कुरा गर्ने हो भने नेपालमा व्यावसायिक फोटोग्राफर भन्दा गैरव्यावसायिक फोटोग्राफरहरूले महँगा महँगा सामान चलाउने गरेका छन्, जुन आफैँमा एउटा व्यङ्ग्य पनि हो।”

तुलनात्मक रूपमा फोटोग्राफी अन्य पेशाभन्दा खर्चिलो हुँदाहुँदै पनि नेपालमा यसको प्रचुर सम्भावना रहेको फोटोग्राफरहरू बताउँछन्। चित्रकार भन्छन्, “हाम्रो देशमा जति विविधता छ, फोटोग्राफी कलामा पनि त्यतिकै विविधता ल्याउन सकिन्छ।” यस्तै विविधता रुचाउने फोटोग्राफरहरूले महिनाको औसतमा बीस हजारभन्दा बढी कमाउने गरेका छन्। तथापि, प्रकृति हेरी आˆनो फोटोको राम्रै मूल्य तोक्न सकिने तर्क थापाको छ। उनी थप्छन्, “एक सेसनकै रु.१५ देखि २५ हजार कमाउने गरेको छु।”

ट्ट हेर्दा फोटो खिचाइ जति सजिलो देखिन्छ, यो पेशा त्यति सहज भने छैन। भरपर्दो र उत्कृष्ट सामान चलाउँदाचलाउँदै र आफू कुशल हुँदाहुँदै पनि समय, परिस्थिति र वातावरणका कारण आˆनो फोटो सामान्य र उत्कृष्टताको दोसाँधमा उभिने फोटोग्राफरहरूको ठहर छ। यसलाई पुष्टि गर्दै कार्की थप्छन्, “कुशल फोटोग्राफर बन्न खट्न सक्नुपर्छ, उत्कृष्ट फोटो खिच्न ठीक समय ठीक ठाउँमा पुग्न सक्नुपर्छ।” तथापि, मिडिया र पत्रपत्रिकाको बढ्दो सङ्ख्या र स्तरका साथै मानिसहरूमा फोटोग्राफीप्रतिको रुचिले व्यावसायितालाई बढावा दिएको छ। “अबको आवश्यकता प्राविधिक ज्ञान, कलाका साथसाथै गहिरो अध्ययन पनि हो,” बढ्दो प्रतिस्पर्धामा आफूलाई अग्रस्थानमा ल्याउनुपर्ने सल्लाह दिँदै चित्रकार भन्छन्, “त्यसो भए फोटोग्राफीलाई देशको सीमाले सीमित राख्न सक्दैन।”

यति हुँदाहुँदै पनि मुलुकमा फोटोग्राफीसम्बन्धी उच्च शिक्षाका निम्ति स्तरीय शैक्षिक संस्थाको अभाव छ। व्यावसायिक फोटोग्राफी अध्ययन गर्न विदेशै जानुपर्ने बाध्यता छ। स्थानीय रुचि अनुसारको फोटो प्रस्तुत गर्न नसकिने समस्या पनि उत्तिकै छ। सञ्चारमाध्यमको प्रभाव र फोटोले बोक्ने मर्मले सर्वसाधारणलाई यस विधातर्फ तान्न सफल भएको तस्बिरहरूकोे बढ्दो मूल्यले पनि स्पष्ट देखाउँछ। नेपालमै हातहातै रु.१२'१५ हजारमा फोटो बिक्री हुनुले पनि यसलाई अ संभावनायुक्त बनाएको छ। यो वातावरणले व्यावसायिक फोटोग्राफरहरूमा उत्साह थपेको छ। र, फोटोग्राफरहरूबीच पारस्परिक प्रतिस्पर्द्धाको बाटो खोलेको छ। तिवारी भन्छन्, “फोटो उतार्दा फोटोग्राफरले …भ्युफाइण्डर' मार्फत् एउटा आँखाको मात्र प्रयोग गर्न पाउँछ, तर जबसम्म उसले लाखौँको आँखाबाट हेर्न सक्दैन तबसम्म ऊ राम्रो फोटोग्राफर हुन सक्दैन।”