हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९३ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

आवरण ग्राफिक डिजाइन

सिर्जनशीलताको जीत

ललितकला पढेकाहरूले धान्दै आएको 'ग्राफिक डिजाइनिङ' मा 'सˆटवेयर जेनेरेशन' भनिने नयाँ पुस्ताले आˆनो उपस्थिति र प्रभाव देखाउन थालेपछि सिर्जनशीलताको माग र महत्व नै बढेको छ।

सुरेशराज न्यौपाने

नवीन जोशी

पिता आरएन जोशीले क्यानभासमा चलाएको रङ र कुचीले नवीन जोशीमा सानैमा कलाप्रति मोह जगाएको थियो। उच्च शिक्षाका लागि मुम्बईको प्रसिद्ध सर जेजे स्कूल अफ आर्ट पुगेर 'एप्लाइड आर्ट' को पाँचवर्षे अध्ययन सक्नासाथ भारतमै कहलिएका विज्ञापन कम्पनीहरूमा काम गर्ने अवसर मिलेको थियो उनलाई। सन् १९९३ मा स्वदेश फर्केपछि उनले स्टिमुलस, ग्रुप थ्री विज्ञापन एजेन्सी हुँदै लिटिल बुद्ध नामक अङ्ग्रेजी सिनेमामा फेशन र गहना डिजाइनको काम गर्न पाए। ग्राफिक डिजाइनमा नवीनको पूर्ण सक्रियता भने सन् १९९७ मा थमसन नेपाल नामब विज्ञापन एजेन्सीबाट शुरु भएको हो।

थमसनमा क्रियटिभ डिपार्टमेन्ट प्रमुख रहँदा सूर्य चुरोट, शिखर, युएनडीपी, आयो नून, फेयर एण्ड लभ्ली आदिका आकर्षक विज्ञापनहरूको निर्माणमा नवीनको अग्रणी भूमिका रह्यो। नेपाली बजारमा सफल र चर्चित मानिएका यी विज्ञापनका अतिरिक्त नवीनलाई बढीभन्दा बढी स्वदेशी ब्राण्डको डिजाइन गर्ने धोको थियो। त्यो धोको २००१ मा उनी आफैँले खोलेको म्याक्स प्रो डिजाइन कम्पनीले पूरा गर्‍यो। टु पीएम चाउचाउको विज्ञापन डिजाइनदेखि प्रचारप्रसारको सम्पूर्ण जिम्मा उनैले पाए। परिणाम, नवीनले डिजाइन गरेका विज्ञापनहरू आज पनि धेरैका लागि सम्नायोग्य मानिन्छन्। ग्राफिक डिजाइनर, फोटोग्राफर, भिडियो एडिटरसमेत करिब १५ जनाको टोलीलाई परिचालन गर्दै उनले जे गरिरहेका छन्, ती सबै उदाहरण बनेका छन्।

नवीन जोशीजस्तै ग्राफिक डिजाइनिङ क्षेत्रमा अर्को स्थापित नाम हो, नवीनमान श्रेष्ठ। १२ वर्षदेखि यो क्षेत्रमा लागेका श्रेष्ठ पनि मुम्बईको जेजे स्कूल अफ आर्टस्कै विद्यार्थी हुन्। वाटर कम्युनिकेशनका सञ्चालक तथा क्रियटिभ डाइरेक्टर श्रेष्ठले हालसम्म यती एअरलाइन्स्, ब्रिटिश काउन्सिल, डब्लुडब्लुएफ, नेबिको, नेपाल डेरीका लागि काम गरिसकेका छन्। आफूलाई 'भिजुअलाइजर' भन्न रुचाउने श्रेष्ठको भनाइमा पनि नाम चलेका ग्राफिक डिजाइनर र क्रियटिभ डाइरेक्टरहरूले सजिलै मासिक रु.१ लाख कमाइरहेका छन्। नाम र दाम दुवै हिसाबले लोभलाग्दो क्षेत्र हुँदाहुँदै पनि नेपालमा कुशल ग्राफिक डिजाइनरहरूको सङ्ख्या अै न्यून छ। यस्तै डिजाइनरको श्रेणीमा पर्छन् कार्टुनिष्टद्वय रविन साय्मि र अविन श्रेष्ठ।

अहिले विश्वमै ग्राफिक डिजाइन आशलाग्दो पेशाका रूपमा अगाडि आएको छ। पत्रपत्रिका, छापा'टिभी विज्ञापन, म्युजिक भिडियो, एनिमेशन, वेब डिजाइन, चलचित्र वा भिडियो गेम' सबैतिर ग्राफिक डिजाइनरको भूमिका महवपूर्ण हुने गरेको छ। २०४० को दशकमा इम्प्याक्ट र डेस्लाज ग्राफिक डिजाइन हाउसबाट संस्थागत रूपमा शुरु भएको नेपालको ग्राफिक डिजाइनिङ अहिले राजधानीमा मात्र सयौँको सङ्ख्यामा रहेका डिजाइन हाउस र विज्ञापन एजेन्सीसम्म फैलिसकेको छ। ललितकलामा स्नातक गौरी महर्जन इम्प्याक्टका संस्थापकमध्ये एक हुन्। उनी भन्छन्, “ग्राफिक डिजाइनिङ अहिले हामीले काम गर्दाको सीमित क्षेत्रलाई नाघेर व्यापार'व्यवसाय, सञ्चारमाध्यम, मनोरञ्जन लगायतका हरेक क्षेत्रमा अनिवार्य भइसकेको छ।” एक दशकअघिसम्म पनि गौरीजस्ता ललितकलाका विद्यार्थीहरूले नै धानेको यो क्षेत्रमा पछिल्लो समयमा सˆटवेयर जेनेरेशन (ग्राफिक डिजाइन प्रोग्राम सिकेको पुस्ता) भनिने नयाँ पुस्ताले प्रवेश पाएको छ।

तर, सˆटवेयर सिक्दैमा सफल ग्राफिक डिजाइनर बन्ने कुरामा भने नवीन जोशी त्यति विश्वस्त छैनन्। उनको भनाइमा, सिर्जनशीलता प्रमुख कुरा हो। उनी भन्छन्, “जसले 'भिजुअल जजमेन्ट' गर्न सक्दैन, त्यो व्यक्ति सफल ग्राफिक डिजाइनर बन्ने सम्भावना कमै रहन्छ।” तर, यदि यी गुणहरू छन् भने जो कोही पनि ग्राफिक डिजाइनर बनेर शुरुमै न्यूनतम मासिक रु.१० हजार कमाउन सक्छ। यो क्रम त्यतिमै रोकिँदैन र आर्ट डाइरेक्टर हुँदै क्रियटिभ डाइरेक्टरसम्म पुग्न सक्छ, जसले न्यूनतम पनि मासिक रु.१ लाखसम्म कमाउने जोशीको दाबी छ। उनका अनुसार जसमा चित्रकलाको पनि ज्ञान र कौशल छ, त्यस व्यक्तिले ग्राफिक डिजाइनिङ क्षेत्रबाट बेग्लै पहिचान बनाउन सक्छ।

१३ वर्षदेखि ग्राफिक डिजाइनरका रूपमा कार्यरत सुन्दर बस्नेत पनि कलाको ज्ञानसँगै परिकल्पना गर्न सक्ने जो कोहीका लागि ग्राफिक डिजाइनलाई उत्कृष्ट 'प्रोफेशन' ठान्छन्। सुन्दरका अनुसार बजारको ट्रेण्ड र अरूको मनको भावनाअनुसार चित्तबुझ्दो डिजाइन बनाउनु नै कुनै डिजाइनरका लागि सबैभन्दा ठूलो चुनौती हो। ललितकलामा स्नातक बस्नेतका अनुसार नेपाली बजारमा ग्राफिक डिजाइनरहरूको ठूलो माग भए पनि सिर्जनशील र दक्ष जनशक्तिको अभाव छ। तर जो दक्ष छन्, तिनका सिर्जनाले राम्रो मूल्य र प्रोत्साहन पाइरहेका छन्। उदाहरण हुन् अनिल स्थापित। अनिलले बनाएका क्यासेटहरूको आवरणमा डिजाइनिङ र परिकल्पनाको कुशल संयोजन पाइन्छ। नेपालका सबैजसो चर्चित सङ्गीतकर्मीहरूका लागि काम गरिसकेका अनिलले करिब १३ सय क्यासेटको आवरणसज्ज्ाा गरिसकेका छन्। अनिलका भनाइमा पनि अबको युवा पुस्ताका लागि ग्राफिक डिजाइनिङमा राम्रो अवसर सिर्जना हुँदैछ।

इन्टरनेटको बढ्दो प्रयोगसँगै वेब डिजाइनिङमा लागेका ग्राफिक डिजाइनरहरूले यसलाई थप फराकिलो बनाउँदै लगेका छन्। नेपालका वेब डिजाइनरहरूमध्ये दीपङ्कर र अभिनव कसजू मात्र नभई डिकेश जोशी, प्रयास श्रेष्ठले आˆनो कुशल र लोभलाग्दा डिजाइनबाट थुप्रै व्यापारिक घराना र प्रतिष्ठित संस्थाहरूलाई आˆनो 'क्लाइन्ट' को सूचीमा पारिसकेका छन्। चर्चित इन्टरनेट पत्रिका साइबर नेपाल का सञ्चालक ड्रिम्स् एण्ड आइडियाज्का दीपङ्कर र अभिनवलाई बेवसाइट बनाउन भ्याई नभ्याई छ। ड्रिम्स् एण्ड आइडियाज्ले मात्रै महिनामा ६'७ वटा कम्पनीको बेवसाइट बनाउने गर्दछ। एउटा साइट बनाएको कम्तीमा पनि रु.२५ हजार लिने गरेको दीपङ्कर बताउँछन्। २६ वर्षीय प्रयास श्रेष्ठ पनि घरमै बसेर अमेरिकाको सियाटल र शिकागोस्थित विभिन्न कम्पनी र व्यक्तिहरूको वेब साइट डिजाइन गर्छन्। मासिक करिब रु.४० हजारको नियमित आम्दानी गरिरहेका प्रयासको भनाइमा आगामी दिनमा राम्रा डिजाइनरहरूलाई स्वदेशको अवसरसँगै आउट सोर्सिङबाट आउने विदेशका कामहरू नै पर्याप्त हुनेछन्।

प्रचुर सम्भावना हुँदाहुँदै ग्राफिक डिजाइनका हरेक पक्ष र व्यावहारिकताका बारेमा सूक्ष्म अध्ययन गराइने शिक्षण संस्थाको अभावका कारण पनि ग्राफिक डिजाइनर बन्न चाहनेहरूमा अन्योल छ। ग्राफिक डिजाइनर भनेर आफूलाई चिनाउने युवाहरू सामान्य डिजाइनका लागि समेत इन्टरनेटमा निर्भर रहन बाध्य छन्। औपचारिक शिक्षण संस्थाको अभावलाई केही पूर्ति गर्ने उद्देश्यका साथ चार वर्षअघि भक्तपुरमा सेन्टर फर आर्ट एण्ड डिजाइन खुलेको छ। काठमाडौँ विश्वविद्यालयअन्तर्गत सञ्चालित यस कलेजले चारवर्षे स्नातक कोर्सभित्रै व्यावसायिक ग्राफिक डिजाइनलाई समावेश गरेकाले भविष्यमा सानै सङ्ख्यामा भए पनि कुशल डिजाइनरहरू उत्पादन हुने आशा गर्न सकिन्छ। यसबाहेक राजधानीभित्रै ग्राफिक डिजाइनिङ अध्ययन गराइने करिब तीन दर्जन इन्स्टिच्युटहरूले हरेक महिना करिब दुई सय डिजाइनर उत्पादन गरिरहेका छन्। तर, सुन्दर बस्नेतका अनुसार यति ठूलो सङ्ख्यामा जनशक्ति उत्पादन भए पनि अधिकांशमा अपेक्षित दक्षता छैन। उनी भन्छन्, “कम्प्युटर सˆटवेयर सिकेका मात्र भेटिन्छन्, व्यावहारिक ज्ञान र क्रियटिभिटी शून्यप्रायः हुन्छ।”

यस्तै अभावका कारण हुनसक्छ, ठूला'ठूला मिडिया हाउस र विज्ञापन एजेन्सीहरूमा ग्राफिक डिजाइनरदेखि क्रियटिभ डाइरेक्टरको उच्च पदसम्म भारतीयहरूकै बोलवाला छ। ग्राफिक डिजाइनर्स गिल्डको अध्यक्षसमेत रहेका बस्नेत यसो हुनुमा सरकारी पक्षलाई पनि दोषी देख्छन्। उनी भन्छन्, “सक्षम युवाशक्तिलाई खपत गर्न सक्ने प्रशस्त सम्भावना देख्दादेख्दै पनि सरकारले यसलाई आधिकारिक पेशा र क्षेत्रका रूपमा चिन्न सकेको छैन।” यसका बाबजुद सामान्य डिजाइनका लागि समेत भारतको दिल्ली'बम्बई धाउने नेपाली व्यापारिक कम्पनीहरूले हालका दिनमा नेपाली डिजाइनहरूलाई पनि केही हदसम्म विश्वास गर्न थालेका छन्। आजभोलि पत्रपत्रिका, टेलिभिजनका विज्ञापनहरू मात्र नभई, औषधि र खाद्यवस्तुका प्याकेटका डिजाइनसमेत नेपालमै गर्न थालिएको छ। नेपाली डिजाइनरले आर्जेको ख्याति र सफलताबाटै यो संभव भएको हो।


विकसित विधाः एनिमेशन

ग्राफिक डिजाइनिङकै विकसित विधा एनिमेशनप्रति पनि युवाहरूको आकर्षण बढ्दो छ। टु'डी र थ्री'डी एनिमेशनबाट बनाइएका विज्ञापनहरू नेपाली टेलिभिजन च्यानलहरूमा उल्लेख्य मात्रामा देख्न सकिन्छ। साकालाका बुम चाउचाउको एनिमेटेड विज्ञापन बनाएको कीर्ति स्टुडियोले ब्याङककस्थित युनिसेफ कार्यालयका लागि बर्डˆलुसम्बन्धी एनिमेशन समेत बनाइसकेको छ। निर्माण सिमेन्ट, रमपम, सुजल गम को टिभी विज्ञापनहरू बनाइसकेको एम्प्टी स्पेशेस्को पनि एनिमेशनमा अलग्गै चिनारी छ। नेपालमा एनिमेशनको ठूलो भविष्य देख्ने प्रभाकर क्षेत्रीको साइरस्ली स्टुडियोले पनि एनिमेशनबाट डिजाइनिङ पेशाको विकासमा राम्रै योगदान पुर्‍याइरहेको छ।