आवरण फेशन
फेशनमा करिअर
शहरिया समाजमा आयमूलक पेशाका रुपमा उदाइरहेको
'फेशन डिजाइनिङ' मा नयाँ पुस्ताले नाम, दाम र लोभलाग्दो करिअर देख्न
थालेको छ।
• डम्बरकृष्ण श्रेष्ठ
 |
| मीन बज्राचार्य |
| शैलजा अधिकारी |
भारतको दिल्लीमा 'फेशन
डिजाइनर्स कोर्स' गरेर नौ वर्षअघि नेपालमा इण्डियन एजुकेशन सेण्टर
अफ फेशन डिजाइनिङ एण्ड इण्टेरियर डेकोरेशन (आईईसी) शुरु गर्दा नै शैलजा
अधिकारीमा ढिलोचाँडो फेशन डिजाइनको महव सबैले बुझ्छन् भन्ने विश्वास
थियो। त्यसबेला फेशन र डिजाइनबारे आमचासो नदेखिए पनि अहिले यसमा बढ्दो
आकर्षण देखेर उनी दङ्ग छिन्। भन्छिन्, “मैले डिजाइनिङ पढ्दा यसमा लागेर
जीविकोपार्जन होला भन्ने लागेकै थिएन।”
सात वर्षअघि यो पेशामा आएकी तरुनिका महतो चलचित्रका पहिरन, होटेल
र अफिस युनिफर्म, विज्ञापनका लागि पहिरन डिजाइनिङमा सधैँ व्यस्त देखिन्छिन्।
हालसम्म ५४ चलचित्रको डे्रस डिजाइनिङ गरिसकेकी उनी भन्छिन्, “पहिले
डिजाइनर र टेलर माष्टरलाई एकै रूपमा हेरिन्थ्यो, अहिले अन्तर छुट्टिन
थालेको छ।” यस क्षेत्रको भविष्य उज्ज्वल रहेको बताउने उनको अनुभवमा
मेहनतका साथ काम गरे पनि विदेशको तुलनामा नेपाली डिजाइनरको आम्दानी
भने कमै छ।
सरिता जोशीले भारतको दिल्लीमा फेशन डिजाइनिङमा डिप्लोमा गरेर त्यहीँकै
बुटिकहरूमा तीन वर्ष काम गरिन्। नेपाल फर्केर ६ वर्षअघि काठमाडौँमा
डिजाइनर्स हाउस खोलिन्। अहिले उनी आफूले डिजाइन गरेका पहिरन रु.४ हजारदेखि
रु.२५ हजारसम्ममा बिक्री गर्छिन्। अमेरिकामा समेत आˆना नियमित ग्राहकहरू
रहेको बताउँदै उनी भन्छिन्, “रहरले शुरु गरेको डिजाइनिङले अर्थोपार्जन
र सन्तुष्टि दुवै दिएको छ।”
आईईसीमा फेशन डिजाइनिङ पढेर ६ वर्षअघि सङ्गीत श्रेष्ठले कपडाको पुर्ख्यौली
व्यापार छोडेर बुटिक खोले, त्यसको नाम राखियो 'आकर्षण'। आकर्षणमा उनले
तीन जना नयाँ डिजाइनरलाई समेत काम दिएका छन्। भन्छन्, “फेशन डिजाइनिङलाई
करिअर बनाएर मज्जाले जीविकोपार्जन गर्न सकिन्छ।” नेपालमा फेशन डिजाइनिङलाई
६ वर्षयता मात्र करिअरका रूपमा हेर्न थालिएको हो। यो पेशाको बढ्दो
आकर्षणसँगै दुई सयभन्दा बढी बुटिक सञ्चालन भइरहेका छन्। तीमध्ये अधिकांश
राजधानीमा केन्द्रित छन्। डिजाइनरको पेशा नै अँगाल्नेको सङ्ख्या पनि
ण्डै दुई हजार पुगिसकेको यस पेशामा आवद्धहरू बताउँछन्।
बढ्दो आकर्षण
३८ वर्षदेखि फेशन डिजाइनमा संलग्न ज्ञानीशोभा तुलाधरले राजधानीमा नमूना
कलेज अफ फेशन इन्स्टिच्युट सञ्चालन गर्दै आएकी छिन्। राजेश धाख्वा,
योगेन्द्रमेहर बज्राचार्य, रजना शाक्य, सरिता श्रेष्ठ, प्रितम देवान,
शिला श्रेष्ठ लगायतका नाम पनि फेशन डिजाइनको क्षेत्रमा अगाडि छन्।
डिजाइनरकै रूपमा नाम र दाम कमाइरहेका तरुनिका महतो, सङ्गीत श्रेष्ठ,
आर्सिया बानो, विष्णु गौतम, सूर्यलक्ष्मी श्रेष्ठ, सुष्मा सिंह आईईसीका
उत्पादन हुन्। नमूना फेशन कलेजबाट पढेर लक्ष्मी घले, भीमकुमारी बुढा
मगर, मुन प्रजापति, युविन श्रेष्ठ, महिमा कंसाकार, अनिष शर्मा, पुनम
ढुङ्गेल, अर्पण देवान, प्रेरणा पाण्डे, सुजन राई, विन्दु राई, सिर्जना
श्रेष्ठ आदि पनि सम्भावनायुक्त डिजाइनर मानिन्छन्।
२४ चैतमा राजधानीमा सम्पन्न 'मिस नेपाल' २००७' मा २५ जना फेशन डिजाइनरले
तयार पारेका आकर्षक पहिरनहरूको प्रदर्शनी गरिएको थियो। यसबाहेक यो
पेशामा हरेक वर्ष नयाँ'नयाँ अनुहारहरू थपिँदै जाने क्रम तीब्र छ। राजधानीमा
बुटिक सञ्चालन गर्ने एक डिजाइनरले महिनामा रु.५० हजारदेखि रु.५ लाखसम्म
कमाउने शैलजा अधिकारी बताउँछिन्। उनी भन्छिन्, “हेर्दा बजार सानोे
लागे पनि सबै बुटिक र डिजाइनरहरूले करोडौँको कारोबार गरिरहेका हुन्छन्।”
उनका अनुसार विवाहको समयमा डिजाइन गरिने बेहुलीको एउटै पहिरनको मूल्य
रु.१ लाख ५० हजारसम्म हुने गरेको छ। एक बुटिकमा तीनदेखि सात जनासम्म
डिजाइनरले रोजगारी पाइरहेका हुन्छन् भने कतिले घरैमा डिजाइन'हाउस चलाएर
राम्रो आम्दानी गरिरहेको पाइन्छ। अरूका बुटिकमा काम गर्ने डिजाइनरले
पनि मासिक रु.७ हजारदेखि ३० हजारसम्मको आम्दानी गरिरहेका छन्।
शैलजाले ३५ जना विद्यार्थीबाट शुरु गरेको आईईसीमा हाल ३१६ जनाले फेशन
डिजाइनिङ पढिरहेका छन्। त्यहाँबाट हालसम्म ११ सय डिजाइनर उत्पादन भइसकेकोे
शैलजा बताउँछिन्। फेशन डिजाइनिङको अध्ययन/अध्यापन इन्स्टिच्युटबाट
उक्लेर कलेजसम्म पुगेको छ। नमुना फेशन इन्स्टिच्युटले पूर्वाञ्चल विश्वविद्यालयसँग
सम्बन्धन लिएर तीन वर्षदेखि नमुना कलेज अफ फेशन डिजाइनिङमार्फत् स्नातक
तहको अध्ययन/अध्यापन गराउँदै आएको छ। उच्च माध्यमिक शिक्षा परिषदको
योजना तथा अनुगमन महाशाखाले 'प्लस टु' मा समेत फेशन डिजाइनिङ तथा इन्टेरियर
डेकोरेशनको अध्यापन शुरु गर्ने सोचाइ बनाएर काम थालिसकेको छ। नमुना
कलेजका प्रिन्सिपल जीवेश्वर श्रेष्ठ २०५९ सालयता २२ जना डिजाइनर उत्पादन
भइसकेको र अहिले ७० जना अध्ययनरत् रहेको बताउँछन्। श्रेष्ठका भनाइमा
डाक्टर, इञ्जिनियर नबनेर फेशन डिजाइनर बन्न उत्सुक युवाहरूको सङ्ख्या
अहिले उल्लेख्य छ। उनी भन्छन्, “यो पेशामा दाम र नामसँगै ग्ल्यामर
पनि भएकाले आकर्षण बढेको छ।”
राजधानीमा आईईसी र नमूनासँगै लर्ड बुद्ध एजुकेशन, लकोटिया इन्स्टिच्युट,
क्रिष्टललगायतका फेशन डिजाइन प्रशिक्षण केन्द्रहरूमा पनि प्रशिक्षार्थीहरूको
भीड देख्न सकिन्छ। काठमाडौँमा इण्डियन इन्स्टिच्युट अफ फेशन डिजाइनिङ
(आईआईएफटी) को शाखा समेत खुलिसकेको छ। यस्ता प्रशिक्षण केन्द्रबाट
हरेक वर्ष करिब एक हजार डिजाइनर तयार हुन थालेका छन्। इन्स्टिच्युटहरूमा
६ देखि १५ महिनासम्मका कोर्समार्फत् डिप्लोमा इन फेशन डिजाइनिङ र कलेज
अफ फेशन डिजाइनिङमा स्नातकसम्मको कक्षा सञ्चालन हुँदै आएका छन्। डिजाइनर
बन्नका लागि प्रशिक्षण लिनेहरूमा ३० प्रतिशत पुरुष छन्। इन्स्टिच्युट
धाइरहेका १८ देखि ५० वर्षसम्मका महिलाहरूको लर्कोले समेत देखाउँछ'
यसको आकर्षण।
फैलँदैछ फेशन
डेढ दशकअघिसम्म अभिजात्य वर्गहरूबीच मात्र सीमित रहेका राजधानीका बुटिकहरूमा
अहिले सर्वसाधारणको समेत पहुँच संभव भएकोे छ। यसबाट आˆनै मौलिक भेष'भुषालाई
आधुनिक रुप दिनुका साथै विश्वबजारमा चलेका डिजाइन लगाउन समेत नेपालीहरूलाई
सहज भएको छ।
१२ वर्षअघि शुरु भएको मिस नेपालदेखि स्थानीयस्तरमा हुने सौन्दर्य
प्रतियोगिता र फेशन शोसम्म डिजाइनहरूले बनाउने ड्रेसको माग बढेको छ।
प्रजातन्त्र पुनःस्थापनापछि फस्टाएका एअरलाइन्स, क्यासिनो, होटेल,
ब्याङ्क, बहुराष्ट्रिय कम्पनीहरूमा कार्यरत कर्मचारीहरूको ड्रेस डिजाइन
गर्ने कर्पोरेट व्यापार स्थानीय बुटिकहरूले पाएका छन्। यी व्यवसायमार्फत्
कामकाजी महिलाहरूको सङ्ख्यामा भएको वृद्धिले यिनलाई थप व्यक्तिगत ग्राहक
समेत दिलाएको छ।
फेशन'संसारमा मध्यमवर्गको प्रवेशले बुटिकको सङ्ख्या ह्वात्तै बढाइदिएको
छ। कुनैबेला राजधानीको दरबारमार्ग, ठमेलतिरमात्र सीमित बुटिकहरू यतिखेर
पोखरा, धरान, विराटनगर, वीरगञ्ज, बुटवल, जनकपुर जस्ता शहरमा सजिलै
भेटिन्छन्। ललितपुरको कोपुण्डोलमा मात्र चार दर्जन जति बुटिकहरू रहेका
छन्। आईईसीको आयोजनामा हरेक वर्ष हुँदै आएको 'सनसिल्क फेशन सप्ताह'
मा राजधानीका अन्य फेशन स्कूल, बुटिकसँगै डिजाइन पढिरहेका बाहिरका
विद्यार्थीको समेत संलग्नता रहने गरेको छ। फेशन डिजाइनिङमा मोफसलको
रुचि ठम्याउने क्रममा आइइसीले राजधानी बाहिर समेत आˆनो शाखा विस्तार
गरेको छ।
धरानमा १० वर्षदेखि नै बुटिकहरू सञ्चालित हुँदै आएका छन्। उत्तम बनेपाली,
हेमा राई आदि डिजाइनरहरूले तयार गरेको डिजाइनको बजार समुद्रपारिसम्म
पुगेको छ। यी सबै गतिविधिलाई नेपाली डिजाइनले मार्न थालेको फड्कोका
रूपमा औंल्याउँदा अब अतिरञ्जना ठानिँदैन। र, अब 'टालाटुली बटुली कति
राम्री पुतली' जस्तै नयाँ पुस्ताका नयाँ डिजाइनलाई औंल्याउँदै निर्धक्क
भन्न सकिन्छ, 'नयाँ, नौला डिजाइनका चिटिक्क छन् पुतली।' |