आवरण चित्रकला
साधनासँगै आम्दानी
साधनाबाट जीवनको चरम सन्तुष्टि आर्जन गरिरहेकाहरूसँगै
लाख र करोडमा दाम कमाउनेहरू पनि छन्, नेपाली चित्रकलामा।
• शरद के.सी.
 |
| किरण पाण्डे |
| हरेराम जोजु |
सरदर नेपाली
उचाइको चौडा शरीर। उमेर ६७ वर्ष। निवासको दोस्रो तल्लामा उक्लिँदा,
फरक'फरक कुची घरि एउटा रङ घरि अर्को रङमा चोप्दै क्यान्भासमा केही
कोरिरहेका भेटिन्छन्, उनी। “आजकल त पहिले जस्तो आर्ट गर्न सकिँदैन,”
नाकबाट र्न खोजेको पावरवाल चश्मा माथि सार्दै अनुभूति सुनाउन थाल्छन्,
शशि शाह, “उहिलेको त कुरै नगरौँ, चित्र कोर्दा रात बितेको थाहै हुँदैनथ्यो।”
युवावयका ती जोशिला दिनहरू सुनाउँदै जाँदा 'बूढा' शशि रौसिँदै गए,
“काममा यति मग्न भइन्छ कि योगी'महात्माको जस्तो ध्यान गर्नै नपर्ने।”
उनी रोकिएनन्, “प्राणायाम भन्छन् नि! हो, त्यस्तै, हुन्छ पेन्टिङ गर्दा।
सास रोकी'रोकी रङ भर्नुपर्दा निकै कसरत हुन्छ।”
शशिजस्तै उत्तम नेपाली, वत्सगोपाल वैद्य, कृष्णगोपाल
रञ्जित, डीवी चित्रकार जस्ता पुराना चित्रकारहरूको सृजना'साधना हेर्दा
लाग्छ, क्यान्भास नै उनीहरूका निम्ति संसार बनेको छ। “एक्कै छिन है!”
कुराकानीकै बीचमा जुरुक्क उठेर छेवैको कोठा छिरेका शशि पुनः गफिन आइपुगे,
“हेर्नुस् न, ब्लडप्रेसरको औषधि अघि नै खानुपर्ने, भुसुक्कै बिर्सेछु।”
सम्भवतः औँलामा च्यापेको चुरोटले नपोल्दासम्म साहित्य सृजनामा मग्न
हुने महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो कविताले भने जस्तै तपस्याको
गाँठी कुरा बुेका छन्, ती कलासाधकहरूले।
तपस्या ठूलो हो तर अ छ यौटा मुटुकुरा
तपस्या ठूलो हो जिउ सब जिती विश्व जितिने
जिती आफूलाई त्रिभुवन त्यसै पाइरहने
तपस्या ठूलो हो तर मुटुकुरा सुन्दर चिने
यस्तै अब्बल सर्जक र साधकमा दरिन्छन्, वरिष्ठ कलाकार मनुजबाबु मिश्र
पनि। अर्थोपार्जनका निम्ति मात्र कला रचना नगर्ने कलाशिल्पी, जो अन्तरमुखी
कलासर्जक मानिन्छन्, को जीवन भौतिक सुविधाका दृष्टिले कष्टकर हुनसक्ने
चित्रकारहरू बताउँछन्। मिश्रका अनुसार, विशेषतः आत्मसन्तुष्टिका निम्ति
चित्र कोरिने अन्तरमुखी कला सर्जकको सङ्ख्या विदेशमा पनि निकै कम छ।
तथापि कलाप्रतिको अनुपम आस्था, आदर्श र स्नेह, इतिहास धान्ने लालसा
अनि पेशाप्रतिको निष्ठाले ती कलाकारको आराधनालाई डग्न दिँदैन। “लक्ष्मीप्रसाद
देवकोटाले मुनामदन पैसा कमाउन भनेर लेखेका थिएनन्,” साहित्यको उदाहरण
पेश गर्दै कलाकार मिश्र भन्छन्।
नेपालमा पनि व्यावसायिक अर्थात् आर्जनमुखी चित्रकारको सङ्ख्या बढ्दो
छ। नयाँ'पुराना दुवै पुस्ताका सर्जकहरू देश'विदेशमा चित्रकला प्रदर्शनी
गर्ने हैसियत बनाएका छन्। दश, बीस वा पचास हजार होइन, लाख र करोड आम्दानी
गर्न सक्षम भएका छन्। कृष्णगोपाल रञ्जित, हरेराम जोजु, सृजन राजभण्डारीलगायतले
चित्र बनाएरै काठमाडौँमा घरघडेरीहरू जोडेको चर्चा कला क्षेत्रमा नयाँ
रहेन। उदयचरण श्रेष्ठको त एउटा सृजना नै लाखौं मूल्यमा बिक्री हुन्छ।
“व्यावसायिक चित्र मात्र बनाएको भए त तीन वटा घर बनाउन सक्थे। तर,
सृजनात्मक चित्रकला'प्रतिको प्रेमका अगाडि पैसा मात्र सबथोक लाग्दो
रहेनछ,” ४३ वर्षीय जोजु सुनाउँछन्, “नेपाली चित्रकलालाई अन्तर्राष्ट्रियकरण
गर्न सक्ने हो भने, सृजनात्मक कला पनि आम्दानीको राम्रो स्रोत हुनसक्छ।”
किरण मानन्धर, रागिनी उपाध्याय, अस्मिना रञ्जित, एरिना ताम्राकार,
सुनिल सिग्देल, अशोकमान सिंह, मनिषलाल श्रेष्ठ जस्ता विभिन्न उमेर
र पुस्ताका कलाकारहरूका सृजनाले विदेशीलाई समेत आकर्षित गर्ने गर्छन्।
कतिपयका निम्ति त विदेश पानी'पँधेरो बनेको छ। “तर, प्रत्येक पेशाको
मर्मलाई इमानदारीपूर्वक अँगाल्न सक्नुपर्छ,” अष्ट्रेलिया र अमेरिकामा
समेत आर्टसम्बन्धी शिक्षा लिएकी अस्मिना बताउँछिन्। नेपाली चित्रकलामा
कसले व्यावसायिक र कसले अन्तरमुखी कला सृजना गरिरहेको छ भन्ने खुट्याउन
गाह्रो छ। नयाँ'पुराना पुस्ताको सङ्गमभित्र काम गर्ने'नगर्ने र स्तर
भए'नभएका सबै खालेको जमघट छ। तथापि, मनुजबाबु मिश्र व्यावसायिक कला
पनि सृजनात्मक हुने बताउँदै भन्छन्, “यसको साह्रै ठूलो सम्भावना छ।”
नेपाली चित्रकलाको विकासको इतिहास कोट्याउँदा चित्रकलाप्रति राणाशासक
र राजा'महाराजाहरूको मोह देखिन्छ। र, यसलाई बालकृष्ण सम, लैनसिंह बाङ्गदेल
र तेजबहादुर चित्रकारलगायतका दिग्गज चित्रकारहरूले कालान्तरमा संस्थागत
स्वरुप दिने प्रयत्न गरेका छन्। आधुनिक नेपालमा यससम्बन्धी औपचारिक
शिक्षा दिने शिक्षण संस्था र प्रवर्द्धन गर्ने संस्थाहरूको विकास भएको
छ। परम्परागत, माध्यमिक, आधुनिक, समसामयिक, लोककलासहित थाङ्का, मैथली
र पानी'तेल रङ इत्यादि विविध विधा र प्रविधियुक्त कलाको उभार छ, अहिले।
सूचना र प्रविधिको विकासले गर्दा चित्रकलाले प्रचार'प्रसार, टीकाटिप्पणी,
विश्लेषण र विवेचनाको अवसर पाएको छ। त्यसले पनि युवापुस्ताको ध्यान
तान्न सहयोग गरेको हुनुपर्छ, चित्रकलाप्रति। विभिन्न माध्यमबाट कलात्मक
अभिव्यक्ति प्रवाह गरिरहेकी अस्मिना भन्छिन्, “ठूलो भएपछि आर्टिष्ट
बन्छु भन्ने युवा भेटिन थाल्नु पनि यसको विकासको सङ्केत हो।”
यसको विकासको अर्को मापन हुनसक्छ, चित्रकला प्रदर्शनका निम्ति निजी
क्षेत्रबाट दर्जनौँ नाफामुखी र गैरनाफामुखी आर्ट ग्यालरीको स्थापना।
बजार विस्तारको राम्रो माध्यम बनेका त्यस्ता ग्यालरीहरूले प्रदर्शन
गरिदिएबापत सामान्यतः चित्रको मूल्यको ३० प्रतिशत लिने गर्छन्। यसै
माध्यमबाट पनि विदेशका म्युजियमसम्म समेत नेपाली चित्रहरू पुग्ने गरेका
छन्। तर, नेपालमा भने त्यस्ता चित्र सङ्कलनको चलन त्यतिविधि छैन। जेनतेन
हातमुख जोर्ने नेपालीहरूको निम्ति दशौं हजार मूल्यका चित्र महँगो भएर
पो हो कि? कलाकारहरूको बुाइमा कलाको अर्थ बुझ्नेहरूसँग पैसा छैन। किन्ने
सामर्थ्य भएकाहरूले या त बुझ्दैनन्, बुझ्नेले त्यसको कदर गरिरहेका
छैनन्।
देशको सिमाना काटेर विदेशका सङ्ग्रहालयसम्म प्रवेश गरेका नेपाली चित्रकला
राजधानी बाहिरका जिल्लासम्म राम्ररी विस्तार भएको पाइँदैन। जबकि नेपाली
कलाकारहरू भने ब्रह्माण्डका कुनाकुनासम्म काल्पनिक विचरण गरेर चित्र
उतार्ने गर्छन्। वर्षौँदेखि ललितकला क्याम्पसमा कलाविद्या बाँडिरहेका
गोविन्द डङ्गोलले दक्षिणी भारतमा स्त्री गणेश अर्थात् मदर गणेशको पूजा
गर्ने चलन रहेको थाहा पाएपछि गणेशका विभिन्न स्वरुपलाई चित्रमा उतारेका
छन्।
चित्रकारका चित्रहरू चियाउँदा लाग्दैन, कहीँ पुग्न र केही भोग्न बाँकी
छ, उनीहरूले। कहिले टहटह जून लागेको, कहिले चूक पोखिएको रातको त कहिले
कुहिरीमण्डल र बादल'हिउँले छोपेको हिमाल, बाटो, जङ्गल, बस्तीको कल्पना
उतार्छन् चित्रमा। आकाशबाट पृथ्वीको बस्ती, जमिनबाट क्षितिज अनि आफूले
नदेखेको स्वर्गको काल्पनिक वस्तीदेखि समुन्द्रभित्रको सौन्दर्य होस्
वा डल्ला'ढुङ्गा फुटाउँदै जोहो गरिरहेको जीवनका साथै अभाव, सम्पन्नता,
पीडा र प्रसन्नता के पो समेटिँदैनन् र उनीहरूका चित्रहरूमा। सबैखाले
परिवेश र वातावरणमा रमाउन पाउँछन्। अरूले भोगेको आनन्दमात्र होइन,
दुःख र कष्टको अनुभूति पनि आफैँले भोगेजस्तै गरी गहन र यथार्थ ढङ्गले
कुची र रङ पोतेर क्यान्भासमा उतार्न सक्छन्। सतीदेवीको लाश बोकेर बौलाहा
जस्तै डाँडा, हिमाल र पाखा'पर्वत चहारिरहेका शिव, स्वर्गका सुन्दर
परीहरू, दानव'राक्षसको रौद्ररुप अनि वैभवपूर्ण सम्पन्नताको कल्पना
गर्ने त्यही कलाकारले अन्तिम सत्य मृत्युको औपचारिक विसर्जन थलो आर्यघाटको
मौनतालाई भावमा उतारेको हुन्छ। मान्छेमात्र होइन, जीवजन्तु र चरा,
फट्याङ्ग्राका दुःख वेदना र सौहार्दता पनि उनैले उतार्छन्। शायद त्यसैले
होला केही नेपाली चित्रकारहरूले समेत आफूलाई घत लागेको प्रिय चित्र
लाखौँ रकम दिँदा पनि बेच्न चाहँदैनन्, बरु अभावले आफूलाई जतिसुकै पिरोलोस्।
त्यसैले वरिष्ठ कलाकार मनुजबाबु मिश्र ल्याबमा काम गरिरहेको वैज्ञानिकले
पैसाका निम्ति अन्वेषण नगर्ने बताउँदै भन्छन्, “साँच्चिकै कलाकारले
खान नपाए पनि सृजना गर्न छोड्दैन। यो त रक्सी र चुरोटको नशा जस्तै
पो हो त।”
|