आवरण इभेन्ट म्यानेजमेन्ट
चिताए पुग्छ
कुनै उत्पादनको बजार प्रवर्द्धन एवं प्रतियोगिता,
मेला, गोष्ठी, सेमिनार आयोजना गर्न अब चिन्ता नलिए हुन्छ। तिनको सहज
र आकर्षक व्यवस्थापनका लागि तम्तयार छन्, इभेन्ट म्यानेजमेन्ट कम्पनी
र तिनका उत्साही प्रबन्धक।
• सुरेशराज न्यौपाने
 |
| किरण पाण्डे |
| शिलु, अनुज, अजय, त्रिलोकेश्वर र दीपक।
|
भारतको बैंगलोर विश्वविद्यालयबाट
होटेल व्यवस्थापनमा स्नातक दीपक थापालाई अध्ययनको सिलसिलामा गरेका
'रिसर्च'वर्क' र भाग लिएका सेमिनारहरूले 'इभेन्ट म्यानेजमेन्ट' प्रति
उत्सुक बनाइदिए। त्यसैले पढाइ सकेलगत्तै अरूले जस्तो उनी कुनै पाँचतारे
होटेलमा जागिरका लागि धाएनन्, बरु यस पेशामा रुचि राख्ने अजय बज्राचार्य,
अनुजकुमार श्रेष्ठ र यस क्षेत्रमै अनुभव बटुलेका त्रिलोकेश्वर मल्ल
र शिलु श्रेष्ठसँगको सहकार्य अनि महिनौँको अनुसन्धान र गृहकार्यपछि
समारोह व्यवस्थापन (इभेन्ट म्यानेजमेन्ट) मै आˆनो करिअर बनाउने निर्क्योल
गरे।
भविष्यमा निश्चिन्त भई यो टीमले पाँच वर्षअगाडि स्थापित 'डाइरेक्सन
नेपाल' लाई डाइरेक्सन एक्जिविसन एण्ड कन्भेन्शन सेन्टरको नयाँ नाममा
पुनर्संयोजन गरेको छ। काठमाडौँको त्रिपुरेश्वरमा नवनिर्मित युनाइटेड
वर्ल्ड ट्रेड सेन्टरको पूरै एउटा तल्लालाई 'इभेन्ट हब' का रूपमा प्रयोग
गर्न संस्थाले २५ वर्षको सम्ौता गरिसकेको छ।
अहिले दीपकको टीमलाई २९ चैतमा शुरु भएको मुलुककै पहिलो विवाह मेलाको
व्यवस्थापन र प्रचारप्रसार गर्न भ्याईनभ्याई छ। उक्त मेलामा विवाहमा
आवश्यक पर्ने सम्पूर्ण सामग्रीदेखि लिएर लमी र पुरेतसम्मका लागि स्टलहरू
राखिएका छन्। सो टीमले सन् २००७ भरि आयोजना गरिने समारोहहरूको सूची
समेत तयार गरिसकेको छ। उमेरले ३० वर्ष हाराहारीका यी पाँच युवाले इभेन्ट
म्यानेजमेन्टप्रति देखाएको लगाव र महवाकाङ्क्षाले देखाउँछ, करिअर विकासका
लागि यो क्षेत्र उदीयमान मात्र नभई संभावनायुक्त पनि छ।
दीपकका अनुसार, कुनै पनि इभेन्ट सफल बनाउन दूरदृष्टि, प्रतिबद्धता,
व्यवस्थापनको उचित समन्वय र सहकार्य आवश्यक हुन्छ। यसो भए जस्तोसुकै
कार्यक्रम पनि आकर्षक र सफल बन्न सक्छ। तर, आˆनो कामको सुरुआतसँगै
दीपकको टीमले इभेण्ट म्यानेजमेण्टमा दक्ष सहयोगीहरूको अभाव खेप्नु
पर्यो। दीपक भन्छन्, “अनुभवीहरू नभेट्दा विद्यार्थीहरूलाई समेत हामीले
केही काम जिम्मा लगाएका छौँ।” कुशल इभेन्ट म्यानेजरले कम्तीमा महिनामा
रु. २० हजार कमाउन सक्ने दाबी दीपकको छ। उनी स्वयं पनि त्यस्तो जनशक्तिको
खोजीमा छन्।
यी युवाहरूको जोश र आकाङ्क्षालाई देखेर नयाँ वर्षको उपलक्ष्यमा हुने
तीन वटा कार्यक्रमको व्यवस्थापनमा जुटिरहेका प्रभात रिमाल पनि दङ्ग
छन्। सन् १९९७ को 'काठमाडौँ उत्सव' बाट समारोह'व्यवस्थापन यात्रा शुरु
गरेका रिमालको भोग एड एण्ड इभेन्ट म्यानेजमन्ट कम्पनीले अहिलेसम्म
स्वदेशी तथा विदेशी दर्जनौं ब्राण्डको बजार प्रवर्द्धनका लागि विभिन्न
इभेण्टहरूको आयोजना गरिसकेको छ। रिमालकै कम्पनीको आयोजनामा साफी क्वीन,
लक्स ब्युटी स्टार, रक यात्रा, शिखर म्युजिक कन्सर्टजस्ता कार्यक्रम
सफलतापूर्वक सम्पन्न भइसकेका छन्।
मुलुकको खस्कँदो आर्थिक अवस्था तथा अनुभवी र दक्ष जनशक्तिको अभावकै
बीचमा पनि रिमालको टीमले वार्षिक रु.१५ लाखदेखि रु.५० लाखसम्मको कारोबार
गर्दै आएको छ। मुलुकमा छाएको शान्तिसँगै आगामी दिनमा यो कारोबार करोडौँमा
पुग्ने रिमालको विश्वास छ। स्वदेशभित्रै अन्तर्राष्ट्रिय स्तरका इभेन्ट
आयोजनाको रहर बोकेका रिमाललाई यस क्षेत्रमा कलिला इभेन्ट म्यानेजरहरूको
प्रवेशले थप उत्साहित बनाएको छ। उनी भन्छन्, “यस्ता कम्पनीहरूको आगमनले
प्रतिस्पर्द्धा बढाउँछ र त्यसले स्तरवृद्धिमा पनि सघाउँछ।” शुरुमै
प्रतिफलको हिसाबकिताब नगरी धैर्य गर्न सकेमा नवप्रवेशीहरूका लागि यो
क्षेत्रमा प्रचुर सम्भावना रहेको रिमालको ठहर छ।
इभेन्ट म्यानेजमेन्टको क्षेत्रमा भाष्करराज राजकर्णिकार, किरणकृष्ण
श्रेष्ठ, प्रशान्त ताम्राकार जस्ता नाम पनि उत्तिकै कहलिएका छन्। शिक्षामूलक,
साङ्गीतिक तथा साहित्यिक समारोहमा आफूलाई बढी व्यस्त राख्छ, किरणकृष्णको
नेपालय ले। मोडल तथा फेशन कोरियोग्राफर प्रशान्त ताम्राकारको पनि अधिकांश
समय विभिन्न इभेन्टको आयोजना र त्यसको चिन्तनमै बितिरहेको हुन्छ। प्रशान्तको
विज इन्टरन्याशनलको पनि इभेन्ट म्यानेजमेन्टमा बेग्लै 'क्रेज' छ। उनको
कम्पनीले मेला, साङ्गीतिक कार्यक्रमदेखि चङ्गा चेट र फेशन शोजस्ता
रोचक र ग्ल्यामरस कार्यक्रमहरूको व्यवस्थापन गर्दै आएको छ। मनोरञ्जनप्रति
समाजको बढ्दो लगावसँगै समारोहहरूको माग बढ्ने, परिणामस्वरुप इभेन्ट
म्यानेजमेन्ट कम्पनीहरूका लागि नयाँ नयाँ अवसर सिर्जना हुने भनाइ प्रशान्तको
छ। यस क्षेत्रमा नाम र दाम दुवै भएको बताउँदै ताम्राकार भन्छन्, “बाइक
चढ्ने मलाई मारुती अल्टो चढ्ने बनाएको यही पेशालेहो।”
यी अनुभवी समारोह व्यवस्थापक र तिनका कम्पनीहरूसँगै राजधानीको पार्टी'पुस्ताबीच
लोकप्रिय बनेको छ, पार्टी नेपाल। नयाँ वर्ष, भ्यालेन्टाइन डे, क्रिसमसलगायतका
विभिन्न सन्दर्भमा पार्टी नेपालले आयोजना गर्ने सांस्कृतिक कार्यक्रमहरूमा
राजधानीका किशोरकिशोरीहरूको राम्रो उपस्थिति रहने गर्छ। शैक्षिक प्रदर्शनीहरूको
आयोजना गर्ने गरेको ग्लोबल एक्जिविसन पनि सफल व्यवस्थापककैै पंक्तिमा
आउँछ।
नेपालमा औपचारिक रूपमा 'इभेन्ट म्यानेजमेन्ट' आरम्भ गर्र्ने श्रेय
जान्छ, वीरेन्द्र राजकर्णिकारलाई। उनको कम्पनी हाउस अफ राजकर्णिकारले
सन् १९९० मा बृहत्स्तरको पहिलो व्यापार मेला 'हिमालयन एक्स्पो' आयोजना
गरेको थियो। देश'विदेशका कम्पनीहरूको उल्लेख्य सहभागिता रहेकेा उक्त
मेलाबाटै मुलुकमा पहिलो पटक एकै स्थानमा फुड फेस्टिबल, साङ्गीतिक कार्यक्रम,
फेशन शोका साथै आवश्यक सरसामानहरूको बिक्री र प्रदर्शनीको सुरुआत भएको
हो। सन् १९९९ सम्म हरेक वर्ष दशैँ महोत्सवको आयोजना गर्दै आएको सो
कम्पनी अहिले भने समारोह व्यवस्थापनमा केही सुस्त देखिएको छ। कम्पनीकी
निर्देशक मिनु राजकर्णिकारका अनुसार, “मुलुकको कमजोर आर्थिक अवस्थाका
कारण हामीले थप प्रदर्शनीको आयोजना गर्न सकेनौं।” तथापि, मिनुको भनाइमा
आर्थिक क्षेत्रको सुधारसँगै नयाँ सोच र परिकल्पनाका साथ यस्ता इभेन्ट
आयोजना गरिएमा प्रतिफल पाउने सम्भावना प्रशस्त छ।
मिनुको त्यो विश्वासलाई सार्थक बनाउन मुलुकभर खुलेका करिब चार दर्जन
र खुल्ने क्रममा रहेका इभेन्ट म्यानेजमेन्ट कम्पनीहरूको अहं भूमिका
रहनेछ। र, इभेन्ट म्यानेजरहरूका लागि नयाँ नयाँ अवसरहरू सिर्जना हुनेछन्।
|