आवरण वास्तुकला
विदेशको समृद्धि स्वदेशमै
सिर्जनशील सोच भएका, उत्कृष्ट डिजाइन गर्ने
र समयअनुसार आफूलाई 'अपडेट' गर्दै लैजाने नेपाली आर्किटेक्ट तथा इन्टेरियर
डिजाइनरहरू स्वदेशमै विदेशको समृद्धि जुटाउन सफल भएका छन्।
• जेवी पुन मगर र इन्द्र
श्रेष्ठ
 |
| किरण पाण्डे |
| सिद्धार्थ गोपालन |
पश्चिमा मुलुकहरूमा
धेरै पहिलेदेखि वास्तुशास्त्र र इन्टेरियर डिजाइनलाई जीवनको एक अङ्गका
रूपमा लिन थालिएको हो। नेपालमा भने एक दशकअघिसम्म पनि पढे'लेखेकाहरू
समेत यसबारे कमै जानकार थिए। यसलाई पेशा बनाउनु त न् टाढाको कुरा थियो।
तर अहिले यसले धेरै शहरवासीहरूलाई लोभ्याउन थालेको छ। शयनकक्षभित्र
छिरेका स्याटेलाइट टेलिभिजनको प्रभाव र विदेशिएका नेपालीहरूलेे फर्किआउँदा
ल्याउने अनुभवहरूले समेत यसप्रतिको चासो र उत्सुकता बढाइदिएका छन्।
र, इन्टेरियर डिजाइनलाई पेशा बनाएर ख्याति कमाउने युवाहरू सिर्जनशीलताको
'आइकन' मानिन थालेका छन्। उदाहरण हुन्' आर्किटेक्ट सिद्धार्थ गोपालन।
नौ वर्षअघि भारत, गुजरातस्थित इन्स्टिच्युट अफ इन्भायरोमेन्टल
डिजाइनबाट बीई (आर्किटेक्चर) गरेका सिद्धार्थ गोपालन आज काठमाडौंमा
देखिन्छन् भने भोलि बेलायतको कुनै शहरमा। उनले देश'विदेशमा गर्ने काम
र लिइसकेका 'कन्ट्रयाक्ट' हरूको सूची निकै लामो छ। आर्किटेक्चर र इन्टेरियर
डिजाइन दुवैमा दख्खल राख्ने भएकाले पनि उनको माग बढेको हो। हिजो ठूला
अफिस बनाउनका लागि मात्र खोजिने आर्किटेक्ट र इन्टेरियर डिजाइनरलाई
आज रेष्टुरेन्ट, सपिङ कम्प्लेक्स, बुटिक, सुनचाँदी पसलहरूले समेत अनुबन्ध
गर्न थालेकाले यो पेशाको सम्भावना बढ्दै गएको उनको ठहर छ। पछिल्लो
समयमा फस्टाउन थालेकोे हाउजिङ व्यवसायले पनि यो क्षेत्रलाई स्थापित
गराउन मद्दत पुर्याएकोे छ। मानिसहरू ऋण लिएर समेत घर, बैठक र कार्यकक्षको
डिजाइनमा खर्च गर्न थालेका छन्। गोपालन भन्छन्, “समयअनुसार आफूलाई
'अपडेट' गर्दै लैजाने हो भने यस क्षेत्रमा आउनेहरूलाई फलिफाप छ।”
लक्ष्मी ब्याङ्क, सनराइज होम्स, सिप्रदी कर्पाेरेट
अफिस, चौधरी ग्रुप कर्पाेरेट अफिसलगायत धेरै होटेल र रेष्टुरेन्टहरूमा
गोपालनको कौशल देख्न सकिन्छ। भारतको दिल्लीस्थित गुडगाँवका केही घरको
डिजाइनमा समेत उनी अनुबन्धित भइसकेका छन्। तीन वर्षअघि बेलायतको 'मिस्टिक
मसला' नामक रेष्टुरेन्टको सम्पूर्ण डिजाइन उनकै रेखदेखमा भएको थियो।
अहिले उनको हातमा साङ्ग्रिला होटेल, भ्याली होम्स्, होटेल हिमालयलगायतका
२३ वटा प्रोजेक्ट छन् भने भुटानमा अमेरिकी लगानीमा बन्न लागेको एउटा
रिसोर्ट र माल्दिभ्सको पाँचतारे होटेलकोे सज्जाको जिम्मा पनि गोपालनले
पाएका छन्। गोपालन जस्तै व्यस्त छन् डिजाइन सेलका आर्किटेक्ट अरुणदेव
पन्त।
राजधानीको सिभिल होम्स् उनकै डिजाइनमा बनेको हो। गोकर्ण
क्लव हाउस, साउदर्न हाइट्स, जोमसोम माउन्टेन रिसोर्ट र साङ्ग्रिला
भिलेजमा पनि उनको सीप एवं क्षमता देख्न पाइन्छ। डिजाइनका हिसाबले राम्रो
मानिएका कम्फर्ट होम्स् र लक्ष्मी ब्याङ्कको बाह्य संरचनामा अलग छाप
छोड्न सफल छन् वास्तुकला परामर्शदाता राजेश श्रेष्ठ। स्टार हाउजिङ
र स्टार मलका डिजाइनर केज कन्सल्टेन्टका नवीन श्रेष्ठ र अष्ट्रेलियामा
अध्ययन पूरा गरी सिङ्गापुरमा अनुभव बटुलेर नेपाल फर्किएका सञ्जय श्रेष्ठहरू
राम्रो नाम र दाम कमाइरहेका आर्किटेक्टमध्ये गनिन्छन्। पढाइ सकेर विदेशमै
राम्रो काम गर्ने नेपाली आर्किटेक्टहरूको सङ्ख्या त खुट्याउन पनि गाह्रो
भइसकेको छ।
सन् १९६१ मा कलकत्ताबाट वास्तुकलामा स्नातक गरेका गङ्गाधर भट्ट पहिलो
नेपाली आर्किटेक्ट मानिन्छन्। नेपालमा २०५२ सालदेखि आर्किटेक्चरको
पढाइ शुरु गरेको इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकबाट २०५६ सालमा
२१ जना आर्किटेक्ट तयार भए। अहिले काठमाडौँ इन्जिनियरिङ, नेपाल इन्जिनियरिङ,
ख्वःप इन्जिनियरिङ र एक्मी इन्जिनियरिङ कलेजमा पनि आर्किटेक्चरको पढाइ
हुनथालेको छ। इन्टेरियर डिजाइनमा आकर्षण बढेपछि पूर्वाञ्चल विश्वविद्यालय
र कान्तिपुर होटेल म्यानेजमेन्ट एण्ड इन्टेरियर डिजाइन कलेजले तीनवर्षे
स्नातक कक्षा शुरु गरेका छन्। राजधानीमा मात्र अन्य १० इन्स्टिच्युटहरूले
पाँच महिनेदेखि दुईवर्षे डिप्लोमा कोर्सको तालिम दिइरहेका छन्। त्यसबाहेक
बुटवल, पोखरा र धरानमा पनि यस्ता इन्स्टिच्युटहरू खोलिएका छन्।
सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स (सोना) मा दर्ता भएका
आर्किटेक्टको सङ्ख्या ४३५ छ। सन् १९७२ मा पाकिस्तानबाट अध्ययन पूरा
गरेर सन् १९७४ देखि टेक्निकल इन्टरफेस नामक फर्म चलाउँदै आएका, सोनाका
अध्यक्ष विभूतिमान सिंहका अनुसार, संस्थामा दर्ता नभएका र विदेशमा
काम गरिरहेका समेत नेपालमा करिब पाँच सय आर्किटेक्ट छन्। सजावटप्रतिको
आकर्षण र त्यसमा गरिन थालेको बढ्दो लगानीले पाँचवटै क्याम्पसबाट बर्सेनि
उत्पादन हुने विद्यार्थीहरू नेपालमै खपत हुनसक्ने वातावरण तयार भइसकेको
उनको दाबी छ।
म्याङलोर विश्वविद्यालय, भारतबाट इन्टेरियरमा स्नातक
(बीएस्सी आईडी) गरेर फर्किएकी सृष्टि प्रधान र पुल्चोकबाट सात वर्षअघि
बीई (आर्किटेक्चर) गरेकी सृजना महर्जनका भनाइमा एक सफल डिजाइनरले मासिक
३० हजारदेखि ७० हजार रुपैयाँभन्दा बढी कमाइरहेका छन्। इन्टेरियर डिजाइनिङको
धेरैजसो काम पनि आर्किटेक्टबाटै भइरहेकोमा अब विशेष ठाउँका लागि सोही
विषयमा विशेषज्ञता हासिल गरेका इन्टेरियर डिजाइनरलाई नै अनुबन्ध गर्ने
चलन शुरु भइसकेको छ। यसले पनि यो विधामा लाग्नेहरूका निम्ति सम्भावनाको
अर्को ढोका खोलिदिएको छ।
इन्टेरियर डिजाइन वास्तुकलाकै एउटा स्वरुप हो। यसमा
रचनात्मकता हुन्छ र अरूले भन्दा भिन्न प्रस्तुति दिनासाथ डिजाइनरबारे
सोधखोज हुन थाल्छ। अनि शुरु हुन्छ काममा परिमार्जन र आफूलाई अरूभन्दा
कुशल देखाउने होडबाजी। निरन्तरको लगावले डिजाइनरलाई छुट्टै पहिचान
दिन्छ र पेशामा स्थापित बनाउँछ। जो स्थापित हुन्छ, उसले नाम र पैसा
त कमाउँछ नै।
अै कमी
नेपालमा भवन या घर निर्माणका लागि नक्सा बनाउनेलगायतका सम्पूर्ण काम
सिभिल इन्जिनियरहरूले गर्दै आएका थिए। तर, आर्किटेक्टले ललितकला, मनोविज्ञान,
समाजशास्त्र, बत्ती, रङ, इन्टेरियर, वास्तुशास्त्र, हावापानी, ध्वनि
आदिको बारेमा राम्रो अध्ययन गरेका हुने हुनाले ग्राहकले उपलब्ध गराएको
ठाउँ र बजेटमा सीमित रहेर अपेक्षाअनुरुपकैे डिजाइन दिन सक्छन्। अहिले
सरकारी र निजीस्तरमा राजधानीमा मात्र वार्षिक करिब रु.१ अर्बको निर्माण'कारोबार
हुने गरेको बताइन्छ। शहरी विकास तथा भवन निर्माण विभागले हेर्ने स्वास्थ्य
क्षेत्रसम्बद्ध भवन निर्माणमा गत वर्ष रु.७६ करोडको बजेट विनियोजन
गरिएको थियो। यस्तै काम अन्य मन्त्रालय, विभागहरूमा पनि बर्सेनि भइरहेका
हुन्छन्। यी काममा प्रत्यक्ष'परोक्ष रूपमा आर्किटेक्ट र इन्टेरियर
डिजाइनरहरू संलग्न हुन्छन्।
नेपाली आर्किटेक्ट प्रायः राजधानीमै सीमित रहेकाले राजधानी बाहिरका
कतिपय परियोजनामा भारतीय आर्किटेक्टहरू अनुबन्धित हुँदै आएका छन्।
सोनाको एक अध्ययन अनुसार अहिले पनि वीरगञ्ज र विराटनगरबाट मात्र भारतीय
डिजाइनरहरूले बर्सेनि करिब रु.३० करोड लगिरहेका छन्। आर्किटेक्ट र
इन्टेरियर डिजाइनरहरूले सेवा शुल्कबापत सरकारीस्तरमा लागतको तीन प्रतिशत
र निजी क्षेत्रमा ६ देखि १५ प्रतिशतसम्म पाइरहेको पृष्ठभूमिमा डिजाइनरहरूका
लागि आशलाग्दो ठाउँ बनेको छ, नेपालको निर्माण व्यवसाय। यसले स्वदेशी
डिजाइनरहरूको खुबी पर्खिरहेको छ। |