आवरण
नाम पनि दाम पनि उदाउँदा पेशा'व्यवसाय
नयाँ पुस्ताको नयाँ सोचाइ राजनीतिज्ञहरूले भनिआएको
'नयाँ नेपाल' को औपचारिक रटानभन्दा धेरै अगाडि छ। यो पुस्ता हरेक कुरामा
प्रयोग गर्न र नयाँ'नयाँ परिणाम निकाल्न रुचाउँछ। खुला समाजले उनीहरूलाई
त्यस्तो 'प्लेटफर्म' उपलव्ध गराइदिएको छ।
• पेशल पोखरेल
 |
| डिजिटल इलुस्ट्रेशनः रविन साय्मि |
बीस
वर्षअघि र अहिलेको नेपाल, त्यतिखेरको सामाजिक संरचना र अहिलेको समाज,
अघिल्लो पुस्ता र नयाँ पुस्ताको क्रियाशीलताको तुलना गर्नेहरूले हरेक
कुरामा ठूलो छलाङ भेटेका छन्। त्यतिखेरको समाज धेरै दृष्टिले सङ्कीर्ण
थियो, पढालेखाहरू तुलनात्मक रूपमा थोरै थिए, करिअरका लागि विकल्पहरू
पनि धेरै थिएनन्। सरकारी जागिर र शिक्षण पेशाभन्दा अगाडि सोच्नेहरूका
लागि डाक्टर, इञ्जिनियर वा त्यस्तै केही प्राविधिक पेशाभन्दा नयाँ
र फराकिला विकल्पहरू त्यति सुझ्दैनथे। उद्योग, व्यापार प्रायः परम्परागत
तौरतरिकाहरूमै अल्िएका थिए।
पन्ध्र वर्षयता समाजले काँचुली फेरेको छ। खुला राजनीतिको
प्रभावले खुला समाज, खुला समाजले खुला चिन्तन र खुला चिन्तनले जन्माएका
नयाँ प्रतिस्पर्द्धा, योजनाहरूको परिणामस्वरुप समाजका रुचि, चाहना
र आकाङ्क्षाहरूमा तीव्र परिवर्तन देखिँदैछ। शहरबजारका घरघडेरीमा लगानी
गर्न रुचाउने मध्यमवर्गले छोराछोरीको शिक्षामा लगानी गर्न थालेको छ।
साहुमहाजनलाई समाजका 'आइकन' मान्ने पुरानो मान्यता गर्ल्यामगुर्लुम्मै
ढलेपछि हरेक मान्छेमा अरूभन्दा पृथक्, सकारात्मक, सिर्जनशील, उद्यमशील
देखिने रहर जाग्न थालेको छ। यो पृष्ठभूमिमा हरेक क्षेत्रमा विशेषज्ञताको
खोजी हुनु स्वाभाविक पनि हो। यस्तै विशेषज्ञता आर्जन गर्ने उत्कण्ठा
बोकेका विद्यार्थी, सन्तानको शिक्षामा सक्दो लगानी गर्न उत्सुक बाबुआमा,
प्रतिभाशाली युवालाई आˆनो संस्था, निकायमा तान्न बल्छी थापेर बसेका
व्यावसायिक फर्म, राष्ट्रिय'अन्तर्राष्ट्रिय संस्थाहरू प्रकारान्तरले
नयाँ समाजका नयाँ संवाहक बनेका छन्। “झ्वाट्ट हेर्दा नाटकीय लागेपनि
यो परिवर्तन समयसापेक्ष छ,” मानवशास्त्री प्रा. डिल्लीराम दाहाल भन्छन्,
“खुला समाजको परिणाम पनि हो यो। बाह्र कक्षादेखि नै विद्यार्थीले भोलिको
कार्यक्षेत्र चुन्ने उत्सुकता देखाउनु नै सकारात्मक कुरा हो।”
नयाँ पुस्ताको नयाँ सोचाइ राजनीतिज्ञहरूले भनिआएको
'नयाँ नेपाल' को औपचारिक रटानभन्दा धेरै अगाडि छ। नेताहरू प्रत्येक
सभा, समारोहमा 'नयाँ नेपाल' को प्रसङ्ग दोहोर्याउँछन् तर उनीहरूसँग
त्यसको स्पष्ट खाका, योजना देखिँदैन। तर नयाँ पुस्तासँग योजना पनि
छन्, उत्साह पनि छ। यो पुस्ता हरेक कुरामा प्रयोग गर्न र नयाँ'नयाँ
परिणाम निकाल्न रुचाउँछ। खुला समाजले उनीहरूलाई त्यस्तो 'प्लेटफर्म'
उपलब्ध गराइदिएको छ। दायाँबायाँ नगरी हातमुख जोर्न गाह्रो हुने सरकारी
जागिरतिर नयाँ प्रतिभाहरू नतानिनुको एउटा कारण त्यो पनि हो। खुला अर्थतन्त्र
र खुला परिवेशले घूस नखाई स्वाभिमानपूर्वक बाँच्ने आधारहरू सिर्जना
गरिदिएपछि उनीहरू पहिलेभन्दा बढी उत्साही छन्। आर्जन, प्रतिष्ठा, चुनौती
हरेक दृष्टिले निजी क्षेत्रका उद्यमी, प्रबन्धक, विशेषज्ञहरू सरकारका
सचिव, सहसचिवभन्दा धेरै चिनिन्छन्, मिडियामा पनि धेरैपटक उद्धृत भइरहन्छन्।
हुन पनि, 'बिजनेस एक्ज्युकेटिभ'हरू व्यापारको मेरुदण्ड मानिन थालेका
छन्। विक्की श्रेष्ठजस्ता सूचनाप्रविधिका युवा अभियन्ताहरू सफलताको
'आइकन' बनेका छन्। आर्किटेक्ट सिद्धार्थ गोपालनलाई कार्यतालिका मिलाउन
धौ'धौ परिरहेको छ। व्यावसायिक फोटोग्राफर, सङ्गीत संयोजक, फेशन डिजाइनरहरूको
नाम र दाम परम्परागत पेशाकर्मीहरूभन्दा धेरै माथि छ भन्दा बाबु पुस्ताका
धेरैलाई आश्चर्य लाग्न सक्छ। ब्याङ्करको आर्जन, कानून व्यवसायीको सक्रियता;
विज्ञापन, ग्राफिक डिजाइनिङ जस्ता सिर्जनात्मक काममा सन्तुष्टि भेटिरहेकाहरूको
लोभलाग्दो दिनचर्या, पत्रकारितामा भित्रिएको व्यावसायिकता, कलाकारहरूको
अन्तर्राष्ट्रिय ख्याति र समारोह व्यवस्थापनजस्ता नयाँ'नयाँ क्षेत्रमा
देखिएको युवा'आकर्षणबारे सुनेका, बुेकाहरूले 'जता सिर्जनशीलता र लगन,
त्यतै नाम, त्यतै दाम' देख्न थालेका छन्।
यो नयाँ 'ट्रेण्ड' का अघि भन्सार अधिकृतको बङ्गला,
मालपोत अधिकृतको ठाँट सामाजिक समृद्धिको प्रमाण मानिँदैनन् आजभोलि।
उनीहरूको नाम लिनासाथ 'कसरी कमाए, हामीलाई थाहा छ' जस्ता नकारात्मक
टिप्पणी आउँछन्। बरु पर्यटनमा महिला संलग्नतालाई प्रवर्द्धन गर्ने
पोखराकी लकी छेत्री, जातीय उत्थान र लैङ्किक समानताका निम्ति साहसिक
अगुवाई गर्ने नेपालगञ्जकी मोहम्मदी सिद्दिकी, दुर्गम गाउँहरूमा प्रविधि
र उज्यालो पुर्याउने गोर्खाका वीरबहादुर घले, पर्यावरण र पक्षीहरूको
जीवनचक्र पछ्याइहिँड्ने राजेन्द्र सुवाल, गाउँविकासमा अहोरात्र घोत्लिने
खोटाङका मदन राई धेरैका आदर्श बनिरहेका छन्। र, सफलताको दृष्टान्त
बनिरहेका छन्, बेमौसमी तरकारी खेतीमार्फत् बाँके'हिरिमिनियामा कृषि
जागरण ल्याउने वंशीलाल मौर्यलगायतका कृषक। सेवामूलक व्यवसाय र तिनमा
लागेका युवाहरू भावी नेपालका आधारस्तम्भ बन्ने संभावना पनि उत्तिकै
छ।
शान्ति स्थापनापछि नेपालको अर्थतन्त्रले पुनः गति लिने
कुरामा विश्वस्त व्यक्तिहरूले केही समयभित्रै सेवाप्रदायक क्षेत्रमा
अपूर्व लहर आउने संभावना देखेका छन्। उनीहरूका अनुसार अब समाजशास्त्रीहरूसँगै
ग्रामीण विकासविज्ञहरूको ठूलो माग हुनेछ। देश संघीय संरचनामा जानासाथ
स्थानीय प्रशासनका हरेक तहमा विज्ञहरूको ठूलो उपयोगिता देखिनेछ। यातायात
सञ्जाल बढ्नेछ, निर्माण व्यवसायले पुनः गति लिनेछ। र, प्राविधिक जनशक्तिलाई
स्वदेशमै भ्याई'नभ्याई हुनेछ। अर्थशास्त्री प्रा.डा. विश्वम्भर प्याकुर्याल
भन्छन्, “मुलुकको प्राथमिकतामा परेको क्षेत्रको वृद्धि र विस्तारमै
कुनै पनि पेशाको विकास र विस्तार निर्भर रहन्छ। राज्यको मुख्य प्राथमिकता
अर्थतन्त्र हुने बित्तिकै रोजगारी र पेशाका नयाँ नयाँ क्षेत्रहरू देखा
पर्न थालिहाल्छन्।”
प्रकृतिले सम्पन्न नेपालमा पर्यटन क्षेत्रका अनन्त संभावनालाई
समयानुकूल कोट्याउने जनशक्तिको माग, मर्यादा हिजो पनि थियो, आज पनि
छ। र्याˆिटङ, रक क्लाइम्बिङका विशेषज्ञ र विश्वस्तरका पथप्रदर्शक
स्वदेशमै तयार भइसकेको पृष्ठभूमिमा 'रैथाने पर्यटन' विस्तारको संभावना
पनि उत्तिकै छ। “सङ्क्रमणकाल भनेर अल्िरहने बेला छैन अहिले,” पर्यटन
व्यवसायी कर्ण शाक्य भन्छन्, “राजनीतिको दोहोरी गीत सधैँ चलिरहन्छ।
यो टुङ्गिएला, जीतहार होला भनेर पर्खनु व्यावहारिक हुँदैन।” पछिल्लो
समयमा हरेक नेपालीलाई आ'आˆनो दायित्व सम्ाउने 'कर्तव्यबोध अभियान'
मा क्रियाशील शाक्यको विचारमा अहिले देश'निर्माणका लागि 'नयाँ नेपाल'
को गज्जबको बहाना मिलेको छ। जनतामा छालजस्तै आकाङ्क्षा जागेको छ। उनी
भन्छन्, “छाल आइरहेकै बेला नेता, बुद्धिजीवीहरूले 'नयाँ नेपाल' को
बहानालाई देश'निर्माणका निम्ति 'क्यास' गर्नुपर्छ।”
यसो हुन सके आर्थिक समृद्धिसँगै सामाजिक आवश्यकता र
अवसरका थुप्रै ढोका खुल्ने कुरामा आशावादी शाक्य स्वयं सकारात्मक सोचाइ
बोक्ने युवापुस्ताका 'आइकन' बनेका छन्। विश्वव्यापीकरणको लहरमा नेपाली
क्षमता र सीपले नेपालमै खुम्चिनुपर्ने अवस्था नरहेपछि यस्ता 'आइकन'
र उनीहरूबाट प्रेरित युवा पुस्ताले स्वदेशमै सीमित हुनुपर्ने स्थिति
अब रहेन। विश्वव्यापी 'ट्रेण्ड' सँग समन्वय गर्दै जाँदा पेशाका थुप्रै
विकल्पहरू देखा पर्ने संभावना औंल्याउँदै अर्थशास्त्री डा. प्याकुरेल
भन्छन्, “भूमण्डलीकरण, उदारीकरण तथा खुलापनका आधारभूत मान्यताहरूमा
सर्वदलीय सहमतिसहित न्यूनतम संयुक्त कार्यक्रम आउनेबित्तिकै व्यापक
रूपमा नयाँ कार्यक्षेत्रहरू उदाउने निश्चित छ।”
त्यतिकै निश्चित मानिँदैछ अवसर छोप्ने तयारी, जुन समाजका
हरेक क्षेत्रमा शुरु भइसकेको छ। “योग्यता हासिल गर्ने कुरामा समेत
प्रतिस्पर्द्धा देखिँदैछ,” छोराछोरीलाई देशविदेश जहाँ पठाए पनि, जसरी
भए पनि सक्षम बनाउने अभिभावकहरूको रहरप्रति लक्ष्य गर्दै मानवशास्त्री
दाहाल भन्छन्, “यसले आत्मबल बढाउँछ, परनिर्भरता घटाउँछ। प्रतिस्पर्द्धात्मक
प्रक्रिया हो, यो। बजारमा जस्तो जनशक्तिको खाँचो छ, त्यस्तै बन्ने
अभ्यास पनि हो। यसले व्यक्तिवादी प्रवृत्ति पनि केही बढाउँला तर अन्ततः
सक्षमता बढाउँछ, जुन स्वागतयोग्य कुरा हो।”
हिमाल ले नयाँ वर्ष २०६४ को आरम्भमा त्यस्तै सक्षमताको
जयगान गर्न खोजेको छ। नयाँ जमानाका उदाउँदा पेशा/व्यवसाय र तिनका केही
प्रतिनिधि पात्रहरूबारे उत्खनन् गर्ने यो अभियान राष्ट्रनिर्माणमा
प्रत्यक्ष, परोक्ष योगदान पुर्याउने 'अनसङ हिरो' (चर्चा नगरिएका नायक)
हरूलाई अभिनन्दन गर्ने प्रयत्न पनि हो। उनीहरूका काम, अठोट र सपना
नयाँ पुस्ताका निम्ति मार्गदर्शक बन्न सक्छन्। यस्ता पथप्रदर्शक क्षेत्र
र व्यक्तित्वहरू अरू पनि थुप्रै छन्। राजधानीमा भन्दा बढी मोफसलमा
हुन सक्छन्। यो अङ्कमा समेटिएका अधिकांश पेशा र प्रतिनिधि पात्रहरूको
कार्यक्षेत्र राजधानी भए पनि उनीहरूमध्ये प्रायः मोफसलबाट आएका हुन्।
विकेन्द्रित संरचनाले फस्टाउने मौका पाएको भए उनीहरूले काठमाडौँमै
आउनुपर्ने, यतै खुम्चिनुपर्ने थिएन। आशा गरौँ, भोलिको संघीय संरचनाले
यस्ता प्रतिभालाई देशभर जहाँकहीँबाट पनि समाज परिवर्तनको अभियान हाँक्ने
अवसर दिनेछ।
|