हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०४ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

स्थलगत कपिलवस्तु

शक्ति उन्माद

मोइद खाँको हत्यापछि लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले शुरु गरेको साम्प्रदायिक हिंसालाई रोक्ने नाममा माओवादीको हस्तक्षेप बढेपछि कपिलवस्तु घटना चर्किएको हो।

जेबी पुन मगर, कपिलवस्तुमा

घटना नयाँ हैन

तस्बिर जेबी पुन मगर
आक्रमणकारीको निशाना बनेको चन्द्रौटा बजार।

२०४७ साल
१२ वैशाख, मोइद खाँका कार्यकर्ता रामेश्वर चौधरी, मंगल गुप्ता र राजकुमार गुप्ताको नेतृत्वमा स्थानीय जङ्गलबाट काठ तस्करी।

शिवपुरका स्थानीयबासीले रोक्न खोज्दा झपड। त्यसपछि भएको साम्प्रदायिक भीडन्तमा सयौं विस्थापित।

२०४८ साल
२३ वैशाख, सांसद मिर्जा दिलसाद बेगका कृष्णनगरस्थित कार्यकर्ता सज्जन खाँका भान्जीको गाडीले किचेर मृत्यु।

मोइद खाँका भाइ परवेज खाँको नेतृत्वमा शुरु भएको तोडफोड र आगजनीले साम्प्रदायिक रूप धारण।


२०५६ साल
१३ माघमा मोइद खाँका मामाका छोरा डा. इकबाल खाँको माओवादीद्वारा हत्या।

घटनालाई साम्प्रदायिक रंग प्रदान। मोइद खाँका कार्यकर्ताद्वारा २८ वटा सवारीसाधनमा आगजनी।


२०६१ साल
२४ फागुन, राति नेकपा माओवादीद्वारा मोइद खाँको घरमा आक्रमण। उनका भाइ अब्दुल खलिफ र खजेलुर रहमानको मृत्यु।

मोइद समर्थकद्वारा आधादर्जन गाउँका ३०० बढी घरमा आगजनी र लुटपाट। हिंसा प्रतिहिंसामा ३६ जनाको मृत्यु।

तत्कालीन सरकारले मोइद परिवारलाई सुरक्षा दिन खटाएको सेनाको एक टुकडी अझै कायम।


२०६४ साल
३० भदौ, अज्ञात व्यक्तिद्वारा मोइद खाँको हत्या।

घटनालाई साम्प्रदायिक रुप दिने प्रयास। १५ जनाको हत्या, करोडौँको क्षति, सयौं पहाडे मूलका जनता विस्थापित।

३ असोज, स्थानीय माओवादीको नेतृत्वमा जगदीशपुर चौकीमा आक्रमण। तीनको हत्या। सयौं मधेशी मूलका जनता विस्थापित।

मुसलमानको प्रमुख चाड रमजानकै अवसर पारेर मोइद खाँ जस्ता नेताको कसले र किन हत्या गर्‍यो भन्नेे कुरा भोलि आउने अनुसन्धान प्रतिवेदनले खोतल्ला नै। तर हत्यापश्चात् विभिन्न ठाउँमा एकसाथ शुरु भएको हत्या र लुटपाटको नेतृत्व गर्ने प्रायः सबै मोइद सम्बद्ध लोकतान्त्रिक मधेशी मोर्चाकै सदस्य देखिन्छन्। चन्द्रौटामा मोइदका नातेदार कुदरवेटवाका आबताव खाँ, मोइदका कामदार मोहताव खाँ, अब्दुल कलाम, महिन खाँ, शाहिद खाँ, चनइ वर्गदवाका फिरयाद हुसेनलगायतको नेतृत्वमा विध्वंस मच्चाइएको थियो। सबैभन्दा बढी मानवीय क्षति भएको देवीपुर–३ मा बिसनपुरका लखन यादवको नेतृत्वमा उनका छोरा हरिलाल, श्यामलाल, रामनाथ यादव, सर्फु खाँ, फिराद हुसेन, गुदाराम पासी लगायतले हत्या–हिंसा शुरु गरेका थिए।

गणेश्ापुरमा रामेश्वर चौधरी, दुधनाथ तेली, नरुद्दीन मुसलमानलगायतको उद्दण्डता देखिन्छ। यो समूहका १७ जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको थियो। यीमध्ये चौधरी, तेली र मुसलमानको २ असोजमा जगदीशपुर चौकीमा भएको माओवादी आक्रमणमा परी मृत्यु भयो। त्यसैगरी पत्थरदैयामा रामजन यादव, राजेन्द्र खाँ, तिलकराम यादव, तुलसीराम यादवको समूहले वितण्डा मच्चाएको थियो। घटनामा भारतीय नागरिकहरूको पनि संलग्नता देखिन्छ। चन्द्रौटामा सशस्त्र प्रहरी जवान हसन पुरीको हत्या गर्ने भारतको उत्तरप्रदेश, इटवा सगराका रामसवाई यादव हुन्। उनी चन्द्रौटामा मिठाई पसल चलाएर बस्थे।

घटनामा संलग्न भनी समातिएका १७ जनामध्ये बब्बुनन्द साह, भैरु साह बिहारको मोतिहारी, मैउद्दीन आलम चम्पारन र समिम मुसलमान बलरामपुरका हुन्। कृष्णनगरका सिराज अहमद फारुकीका अनुसार मोइदको हत्यालगत्तै भारतबाट १०–१२ वटा मोटरसाइकलमा आएका व्यक्तिहरू कुदरवेटवा पुगेर त्यति नै सङ्ख्यामा थपिई कृष्णनगर फर्किएका र पहाडे समुदायका मानिसमाथि आक्रमणमा उत्रिएका थिए। “हामी तीन–चार जना समाचार सुनेर कुदरवेटवा जाँदैथियौँ”, घटना सम्झँदै उनी भन्छन्, “२०–२२ वटा मोटरसाइकलमा मुख बाँधेर आएका हतियारधारीले हामीलाई बीच बाटोबाटै फर्काए।”

हिजो प्रतिकार समूहमा रहेका यी व्यक्तिहरू जनआन्दोलन–२ पछि 'लोकतान्त्रिक मधेशी मोर्चा' मा सङ्गठित भएका थिए। तत्कालीन सरकारले माओवादी प्रतिकारको नाममा हतियार र तालिम उपलब्ध गराएको यो समूहसँग ती हतियार अझै फिर्ता लिइएको छैन।


माओवादीले मारे
अरू दिन आठ बजे निस्कने मोइद खाँ ३० भदौ ०६४ का दिन साढे सात बजे नै घरबाट हिँडेका थिए। खाँका छोरा नावेदका अनुसार, त्यसदिन उनी केही बिरामी थिए। नावेदसँग सामान्य भलाकुसारीपछि मोटरसाइकल लिएर खेततिर लागेका मोइदको आठ बजेतिरै हत्या भएको खबर लिएर उनका कामदार मोहरम खान घर आएका थिए। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूको भनाइमा मोटरसाइकलमा आएका दुई जना युवाले शिवपुर–४, बालापुरको आफ्नो खेतमा पुग्नासाथ मोइदलाई स्वचालित रिभल्बरले छातीमा सात र कञ्चटमा एक गोली हानेका थिए।

मोइदको लाश जीपमा हालेर घर कुदरवेटवा ल्याई नपुर्‍याउँदै आक्रमण र तोडफोड शुरु भइसकेको थियो। साढे आठ बजेदेखि चन्द्रौटा, कृष्णनगर, तौलिहवा, बुटवललगायत कपिलवस्तुका पश्चिमी गाउँहरूमा आगजनी, लुटपाट र हत्याको शृङ्खला एकसाथ शुरु भयो। मोइद समर्थक एउटा समूहले दाङबाट काठमाडौँतिर लागेको ना२ ख ९६४४ नम्बरको बसमाथि तोडफोड गर्‍यो। चालक लोकबहादुर बस्नेतको औंला काटियो। यात्रुमाथि हातपात भयो। घटनास्थलबाट भागेर भालुवाङ पुगेका यात्रुहरूले चन्द्रौटाको वस्तुस्थिति बताएपछि लमहीमा पनि तोडफोड र आगजनी शुरु भयो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी शशिहजुर सिलवाल भन्छन्, “१० बजेसम्म १२ जनाको हत्या र करोडौँको क्षति भइसकेको थियो भने १० देखि १ बजेसम्म लुटपाट मच्चिएको थियो।” एक बजेपछि मात्र व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरियो।

तर मोर्चाले यी सबै नरसंहार माओवादीले गराएको बताउँदै आएको छ। उत्तरप्रदेशको दुधनियामा भेटिएका मोर्चाका केन्द्रीय अध्यक्ष तथा काङ्ग्रेसका नेता ब्रह्मानन्द उपाध्यायले भने, “माओवादीले मोइदजीको हत्या गरेपछि शुरुको दिन आक्रोशवश घटना भयो। त्यसपछि माओवादीले आतङ्क मच्चाएका हुन्।”

तर माओवादी कपिलवस्तु ईन्चार्ज चन्द्रबहादुर चन्दले पछिल्लो समय मोइद खासँग सम्बन्ध सुधारिँदै गएकोले हत्यामा माओवादीको संलग्नता नभएको दावी गरेका छन्। उनी भन्छन्, “पूर्वी मधेशमा माओवादी सफाया गरेजस्तै पश्चिममा पनि त्यस्तै गर्ने षड्यन्त्रको सूत्रपात हो मोइद हत्या प्रकरण।”

विथोलिएन सद्भाव
लोकतान्त्रिक मधेशी मोर्चाले घटनालाई साम्प्रदायिक रुप दिन खोजेपनि त्यसमा ऊ सफल हुन सकेन। मोर्चा कार्यकर्ताको आक्रमणबाट बच्न भागेका २८ जना पहाडे मूलकालाई पत्थरदैया गाविसका पूर्व अध्यक्ष गल्लु खानले तीन दिन आफ्नो घरमा लुकाएर राखेका थिए। ३० भदौमा भागेर १२ किमी दक्षिणमा पर्ने बहादुरगञ्ज पुगेका बिसनपुरा, देवीपुरका १४ वर्षीय किशोर सुदन सुनारलाई मधेशी मूलको एउटा परिवारले पाँच दिन पालेर राख्यो। ३० भदौको घटनामा परी उनका बुबा शोभाराम सुनार र काका दिलबहादुर सुनारको मृत्यु भएको थियो। कृष्णनगरमा हतियारसहित उत्रिएका आक्रमणकारीहरूबाट पहाडे मूलका नागरिकलाई बचाउने प्रयास गर्ने सिराज खानका कारण धेरैको ज्यान जोगिएको थियो।

चन्द्रौटामा तोडफोड र आगजनी हुन थालेपछि स्थानीय शिक्षक अब्दुल खानलगायत स–साना बच्चाहरूले आक्रमणकारीहरूलाई हात जोडेर त्यसो नगर्न अनुरोध गरेका थिए। नेकपा एमालेका कपिलवस्तु जिल्ला सदस्य नेत्र अधिकारी भन्छन्, “त्यस्ता सद्भाव दूतहरूकै कारण ठूलो साम्प्रदायिक हिंसा टर्‍यो। कतिपय त्यस्ता सद्भाव दूतहरू माथि त आक्रमण नै भयो।” धारिलो हतियारसहित आएकाहरूलाई रोक्न खोज्दा देवीनगरका १७ वर्षीय अमीर खाँलाई निर्घात कुटियो, उनको सम्पत्ति लुटियो र घर जलाइयो। अमिरकी आमा फातुन मुसलमान भन्छिन्, “हामी सँगै बस्नुपर्छ यस्तो गर्नुहुँदैन भन्दा हामी माथि आक्रमण गरियो।”

विस्थापितलाई सुरक्षित ठाउँमा पुर्‍याउने, तिनको लगत राख्नेलगायत दुई समुदायबीच मध्यस्थकर्ताको भूमिका निर्बाह गर्ने नेपाल मुस्लिम इत्तेहाद संघ, कपिलवस्तुका अध्यक्ष अहमद अब्दुल रहु जस्ता नेताहरूका कारण पनि घटनालाई साम्प्रदायिक रुप दिन खोज्नेहरूको कुत्सित योजना सफल हुन नसकेको हो। अहमद भन्छन्, “आफ्नो गल्ती ढाकछोप गर्न कपिलवस्तुमा बारम्बार यस्ता साम्प्रदायिक दङ्गा गराउन खोजिएपनि त्यसका योजनाकारहरू कहिल्यै सफल भएका छैनन्।”

३० भदौमा मोर्चाका कार्यकर्ताले साम्प्रदायिक हिंसा फैलाउन खोजेजस्तो त्यसको भेलिपल्टदेखि माओवादीले पहाडेहरूलाई उक्साएर वातावरण बिगार्ने कोशिश गरे। ३१ भदौमा चन्द्रौटामा माओवादी कार्यकर्ताको नेतृत्वमा मुसलमानहरूका घर र उनीहरूका सम्पत्तिमाथि तोडफोड एवं आगजनी भयो। एउटा मदरसा र मस्जिदमा पनि आक्रमण गरियो। १ असोजमा पत्थरदैयाको जगदीशपुरबाट वाईसीएलका कार्यकर्ताले स्थानीय लालजित चौधरी र नरसिंह चौधरीलाई २४ घण्टा नियन्त्रणमा राखेर आतङ्कित गर्ने काम गरे। भोलिपल्ट २ गते जगदीशपुर चौकीमा राखिएका पत्थरदैया–५ का नरुद्दीन मुसलमान, रामेश्वर चौधरी र दुधनाथ तेलीलाई बाहिर निकालेर हत्या गरेपछि कपिलवस्तुको दक्षिणी भेगबाट भारत विस्थापित हुनेहरूको सङ्ख्या सयौँ पुग्यो।

यी घटनामा वाईसीएल अवध उपराज्यका संयोजक टेकबहादुर घर्ती 'मुनाल' नै सेल्टरमा बसेर काम गरिरहेका देखिन्थे। अखिल नेपाल शिक्षक सङ्गठनका महासचिव भेषराज भुसाल पनि मैदानमै खटेका थिए। त्यसबाहेक माओवादी विधायक इलियास मुसलमान र उमा बिकले पनि वातावरण बनाउनुको साटो बिगारेको स्थानीय वासिन्दाहरूको भनाइ छ। घटनास्थलदेखि तीन किलोमिटर पूर्वको वाईसीएल तालिम केन्द्रमा रहेका दुई सयभन्दा बढी कार्यकर्ताले नपुगेर रुपन्देही र नवलपरासीबाट थप पाँच सय जनशक्ति थपिएको थियो। 'मुनाल' भन्छन्, “आक्रोशित जनताले क्यान्टोनमेन्टमा रहेका जनमुक्ति सेना बाहिर निकालेर भए पनि सहयोग गर्नुपर्‍यो भनेपछि हामीले सहयोग गरेका हौँ।

कपिलवस्तुको गाउँगाउँमा वाईसीएलले गस्ती गर्न थालेपछि भारतमा विस्थापितहरू घर फर्कन डराइरहेका छन्। नेपाल–भारत सीमा कृष्णनगरदेखि तीन किलोमिटर दक्षिण, भारतको दुधनिया वरपर रहेका विस्थापितहरूको एउटै भनाइ छ, “घर फर्कनासाथ माओवादीले मार्छन्, त्यसैले फर्कदैनौँ।” विस्थापितहरूलाई लोकतान्त्रिक मधेशी मोर्चाका पदाधिकारीलगायत कपिलवस्तुमा हालसालै गठन भएको जनतान्त्रिक तराई मुक्ति मोर्चा (गोइत समूह) का सदस्यहरूले माओवादीको डर देखाएपछि उनीहरू घर फर्कन नमानेका हुन्।

स्थानीय प्रशासनको लापर्वाहीका कारण मोइद खाँको हत्या भएको दुई घण्टामा जलेको कपिलवस्तु घटनालाई मोर्चा र माओवादीले आफ्नो अनुकूल प्रयोग गर्न र साम्प्रदायिक रुप दिन ठूलो कसरत गरे पनि उनीहरूले सोचेजस्तो सफलता पाएनन्। सधैँ शक्ति सङ्घर्षको मारमा पिल्सिने कपिलवस्तुका सर्वसाधारण यसपटक पनि माओवादी र मोर्चाबीच चलेको शक्ति–उन्मादका शिकार बने।

साथमा मुकेश पोख्रेल भैरहवा


चुकेको मिडिया

३० भदौ बिहान १० बजे बुटवलस्थित एक एफएमबाट चन्द्रौटा वरपरका गाउँमा पहाडेमाथि मुसलमान समुदायले आक्रमण शुरु गरेको समाचार प्रसारण शुरु भएलगत्तै बुटवलको रजिया मुस्तफा र मदिना मस्जिदमा तोडफोड र लुटपाट शुरु भयो। स्थानीय प्रशासनले कर्फ्यू लगाउञ्जेलमा दुईवटा ट्रक, एक मोटरसाइकल र मस्जिदमा तोडफोड र लुटपाट भइसकेको थियो। आक्रमणबारे चन्द्रौटादेखि १५ किमि पूर्वमा पर्ने बुड्डीबाट स्थानीय सम्वाददाताले एफएममा 'लाइभ रिपोर्टिङ' गरेका थिए। सम्वाददाताले मोइद खाँको हत्यालगत्तै दक्षिणका गाउँहरूबाट मुसलमान समुदाय पहाडे वस्तीमा नृशंस हत्यामा उत्रेको समाचार प्रसारण गरेपछि बुटवलमा पहाडे समुदायका केही व्यक्तिहरू तोडफोडमा उत्रेका थिए।

३ असोजमा जगदीशपुर चौकीमा स्थानीय माओवादी कार्यकर्ताको नेतृत्वमा गएका पीडितहरूले आक्रमण गरेपछि दुई जनाको तत्कालै र अर्कोको उपचार गर्दागर्दै मृत्यु भयो। तर रेडियो नेपाललगायत स्थानीय एफएमहरूले पाँच जनाको मृत्यु भएको समाचार प्रसारण गरे। ३ असोजमै काठमाडौँ र बुटवलबाट प्रकाशित हुने केही दैनिक पत्रिकाले पनि हुबहु त्यही समाचार छापे। मारिएका भनिएका कपिलवस्तु बहादुरगञ्जका शिवकुमार गुप्ता, प्रसोत्तमपुरा दबराका सोहनकुमार पाण्डे र परसैयाका राजकुमार चौधरी सकुशलै थिए। ६ असोजमा कपिलवस्तुको जवाभारी पुगेको यस सम्वाददातासँग त्रिभुवन आदर्श मावि पिपरीका शिक्षक दुर्गाप्रसाद चतुर्वेदी सोध्दैथिए, “के मिडियाले दिने अरू समाचारको तथ्य पनि यस्तै हुन्छ?”

भारतीय सञ्चारमाध्यमले हिंसालाई भड्काउन ठूलो योगदान गरे। 'भारतीय मूलका मधेशीलाई माओवादीको नेतृत्वमा पहाडेहरूले लखेट्न थालेपछि मधेश रित्तिन थालेको छ' भन्ने जस्ता समाचार छापिए। जगदीशपुर घटनामा माओवादीले १५मधेशी मूलकालाई नृशंस हत्या गर्‍यो भन्ने 'प्रमुख समाचार' प्रकाशित गर्ने सहारा दैनिकका कारण उत्तरप्रदेश सरकारले सिमानामा अतिरिक्त सुरक्षा बल परिचालन गर्नुपरेको थियो। भ्रामक समाचार छापिन थालेपछि स्थानीय प्रशासनले भारतीय पत्रपत्रिका नेपाल भित्रिन रोक लगाएको थियो।

ठाउँठाउँमा मस्जिद जलाइएको, गाउँगाउँमा महिलाहरू बलात्कृत भएका, महिलाहरूको स्तन काटिएको, जिउँदै बच्चालाई खाल्डो खनी गाडिएको, जलिरहेको घरमा फालिएको, जस्ता समाचारले आतङ्क फैलाएपछि दुवै समुदायका सयौँ परिवार विस्थापित भएका हुन्। सञ्चारमाध्यमले ३१ जना मरेको, सयौँ हराइरहेका त्यतिकै सङ्ख्यामा घाइते भएका र हजारौँको सङ्ख्यामा विस्थापित भएका भनेता पनि अहिलेसम्ममा स्थानीय प्रशासनले १५ जना मरेको प्रमाणित गरेको छ भने अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले १८ जनाको नाम सार्वजनिक गरेको छ। मरेका भनिएकाहरू कतिपय सम्पर्कमा आइपुगेका छन्। चार जना हराइरहेका र १४ जना घाइते बताइएका छन्। प्रचार गरिए जस्तो हिन्दू–मुसलमान र पहाडे–मधेशी झगडा पनि हैन यो। कतिपय गाउँमा शतप्रतिशत मधेशी मूलका हिन्दू समुदायले आक्रमण गरेको देखिन्छ। अल्पसङ्ख्यक (१८.६२Ü) पहाडेहरू बसोबास गर्ने कपिलवस्तुमा मधेशी समुदाय प्रतिकारमा उत्रिएका भए अकल्पनीय क्षति हुनेथियो। भैरहवा बहुमुखी क्याम्पसका प्राध्यापक तथा कपिलवस्तु जगदिशपुरका महेश्वर यादव भन्छन्। प्रचार गरिएपनि पहाडे–मधेशी हिंसा हुँदै हैन कपिलवस्तु घटना।


कपिलबस्तुमा भएको क्षति

सवारी साधन जलाइएको–७३, तोडफोड–३९

घर जलाइएको–३६२, तोडफोड–९

पेट्रोलपम्प
जलाइएको–२, तोडफोड–३

पसल र होटेल जलाइएको–७६, तोडफोड–४५

ब्याङ्क जलाइएको–१

मस्जिद/मदरसा जलाइएको–२

अन्य जलाइएको–१५, तोडफोड–११


'माओवादीले मारे'
अताऊर रहमान (मोइद खाँका भाइ)

माओवादी र मोइदजीको दुस्मनी जगजाहेर छ।
सरकारले मोइदजीको सुरक्षाका लागि राखेको सेना हटाउन माओवादीले दबाब दिइरहेका थिए।
माओवादीले पूर्वी नेपाल तताए। पश्चिममा संविधानसभा हुन नदिन मोइदजीलाई शिकार बनाइयो।
साम्प्रदायिक दङ्गा भड्काउन जहाँतहीँ वाईसीएल परिचालन गरिनुको कारण स्पष्ट छ।
एकैछिनमा कपिलवस्तु तहसनहस पार्ने संरचना माओवादीबाहेक कसैसँग छैन।
पम्फा भुसालले चन्द्रौटामा आएर हिन्दू अतिवादीहरूले घटना घटाएको भनेकी छन्। त्यो उहाँलाई कसरी थाहा भयो।