समाचार
राज्यको ध्यान खिच्ने घरझगडा
काठमाडौं मालीगाउँको एउटा घरझागडा प्रधानमन्त्रीदेखि
प्रमुख जिल्ला अधिकारीसम्मको ध्यान खिच्न सफल छ।
 |
| बेञ्जु, जश्मिन र जुहार |
१० चैत,
२०६३ को मध्यरातमा काठमाडौँ मालीगाउँको एउटा घरबाट बुहारी जश्मिन शर्मा
घर छोडेर हिँडेको ६ महिना भयो। ७ असार २०५९ मा जुहारराज पाण्डेसँग
मागी विवाह गरेकी जश्मिनले पाँच वर्षपछि प्रहरीको सहयोग लिएर घर छाडेकी
हुन्। घर छाडेपछि जश्मिनले पत्रकार सम्मेलन गरेर वैवाहिक जीवनको पाँच
वर्षसम्म भोग्नु परेका पीडा र आधारातमा प्रहरी बोलाएर घर छाड्नु परेको
कारण बताएपछि काठमाडौँको सम्भ्रान्त परिवारको यो झगडा बाहिर आएको हो।
यसले 'लोग्नेस्वास्नीको झगडा' कुनै बेला भनिए जस्तो 'परालको आगो' होइन
'भुसको आगो' पनि हुनसक्छ भन्ने देखाएको छ।
अहिले यो विवाद कहाँ पुगेको छैन? राष्ट्रिय मानवअधिकार
आयोग, राष्ट्रिय महिला आयोग, महिला सुरक्षा दबाब समूह, गृह मन्त्रालय,
जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालयलगायत विभिन्न सांसद तथा प्रधानमन्त्रीसमक्ष
पुगेको छ यो घरझगडा। बिहेको पाँच वर्षपछि मात्र किन यो घरझगडा सार्वजनिक
भयो? आफ्नी बुहारीलाई बेञ्जु शर्माले यस्तो व्यवहार गरिन् होला त?
जश्मिन किन सम्बन्धबिच्छेद भने गर्न चाहन्नन्? यस्ता प्रश्नका वरिपरि
गाँजिएर जेलिएको छ यो विवाद।
अहिले दुवै पक्ष न्यायिक लडाइँसँगै सञ्चार माध्यम प्रयोग
गर्ने तहमा पुगेका छन्। घर छाडेलगत्तै जश्मिनले सरकारी, न्यायिक निकायमा
उजुरी गरिन्। त्यससँगै बुहारी प्रेसमा गएपछि पति र सासू पनि त्यसको
खण्डन गर्दै प्रेसमा पुगे। बुहारी जश्मिनकै भनाइमा, “अति भएपछि म न्यायका
लागि आधारातमा घर छाडेर सम्बद्ध निकायहरूमा जाँदा नेपाल टेलिभिजनकी
पूर्व अध्यक्ष, साहित्यकार तथा करिब तीनदशकदेखि प्राध्यापनमा संलग्न
सासू डा. बेञ्जु शर्माको सामाजिक प्रभावले अन्याय हुने संभावना देखिएपछि
प्रेसमा समेत गएकी हुँ।”
विवाहअघि नै स्नातक जश्मिनका अनुसार 'विवाह पछि पढ्न
र जागिर खान पाउनुपर्ने' उनको माग थियो। तर बिहेपछि पढ्ने र जागिर
खाने वातावरण घरमा नभएपछि व्यापक मानसिक यातना सहनु पर्यो। उनी भन्छिन्,
“बिहेको दुई वर्षपछि त सासू बेञ्जु, अविवाहित आमाजू जुनु र पति जुहारबाट
मानसिक यातना मात्र नभएर घरेलु हिंसा नै शुरु भयो, जसका कारण आफू मात्रै
नभई अहिले चार वर्ष भएको छोराले समेत पीडा भोग्नु पर्यो।” कुनै चलचित्रको
सम्झना दिलाउने घटना सुनाउँदै जश्मिन भन्छिन्, “मेरो गल्ती नै पाँच
वर्षसम्म घरको इज्जत हो भनेर चुप लागेर बस्नु हो। राति मैले कुटाइ
खाएर रोएको सुन्ने छिमेकीहरूले भोलिपल्ट सोध्दा म छोरो रोएको भन्थेँ।
घरको कुरा आज नभए भोलि ठीक होला भनेर मैले सहेँ। १० चैत २०६३ मा अति
नै भएपछि मैले घर छोड्नु परेको हो।”
सासू बेञ्जुको भनाइ चाहिँ जश्मिनको भन्दा बिल्कुलै भिन्न
छ। ७ असोजमा मालीगाउँको घरमै भेटिएकी सासू बेञ्जुले भनिन्, “जश्मिन
र उनको माइती पक्षले शुरुदेखि नै मेरो सम्पत्ति एकलौटी पार्न खोजेका
थिए, त्यसमा सफल नभएपछि मेरो पद र प्रतिष्ठालाई चुनौती दिन नियोजित
रूपमा १० चैतको घटना घटाएका हुन्।” आफ्नो स्पष्टीकरण दिँदै बेञ्जु
भन्छिन्, “परिवारका तीनै जना मिलेर कुट्यौ भन्ने कुरा कपोलकल्पित हो।
आँसु झारेर मिडियालाई भ्रममा पार्ने काम भएको छ। पदमा बसेको बेला यस्तो
चरित्रहत्या गरिएका कारण म चाहिँ तनाव र हिंसामा परेकी छु।”
अहिले यो मुद्दा आफ्नो पक्षमा पार्न बुहारी जश्मिनसँगै
सासू बेञ्जुले पनि 'महिला विरुद्ध हिंसा' मुद्दालाई आफ्नो हतियार बनाएकी
छन्। यस क्रममा दुवैले विभिन्न संघसंस्थासँग सहयोग र समर्थनका लागि
गुहार मागेका छन्। बेञ्जु शर्माको समर्थनमा नेपाल प्राध्यापक संघ,
महिला सुरक्षा दबाब समूह तथा विभिन्न साहित्यिक एवम् सांस्कृतिक संघसंस्थाहरू
उभिएका छन्। बेञ्जुको समर्थनमा यी संस्थाहरू यति अगाडि बढेका छन् कि
यिनले सञ्चारमाध्यमहरूलाई 'सत्यतथ्य नबुझी एकतर्फी समाचार सम्प्रेषण
नगर्न' अपील नै जारी गरेका छन्। महिला हकहितमा काम गर्ने भनिएको महिला
सुरक्षा दबाब समूह जस्तो संस्था समेतले एकतर्फी रूपमा सासूको पक्षमा
उभिएर आफूलाई दोषी भनेकोमा आपत्ति जनाउँदै जश्मिन भन्छिन्, “पदको प्रभाव
नै यही हो, जसलाई तोड्नका लागि मैले सञ्चारमाध्यममा जानु परेको हो।”
हाल दुई पक्षबीच मानाचामल, सम्बन्धबिच्छेद र मानहानिको
मुद्दा चलिरहेको छ। जश्मिन भने सम्बन्धबिच्छेदको पक्षमा छैनन्। उनी
भन्छिन्, “मैले माइतीबाट धेरै दाइजो ल्याउन नसक्ने भएपछि उनीहरूले
मलाई यत्रो वर्ष सताएकै सम्बन्धबिच्छेद गरोस् अनि अर्को बिहे गरुँला
भनेर हो। त्यसमाथि वास्तविक भन्दा निक्कै थोरै सम्पत्ति देखाइएको छ।
त्यसबाट मेरो छोराको भविष्य कुनै पनि हालतमा सुरक्षित हुँदैन।”
काठमाडौँ मालीगाउँका यी सासूबुहारीको झगडा अब घर, दुईपरिवार
र मालीगाउँमा मात्रै सीमित रहेन। हिजोसम्म भातभान्साको कुरा भनेर नकार्दा
पनि हुने यस्ता विषयमा आज राज्यको हस्तक्षेप अपरिहार्य बनेको छ। जश्मिन
भन्छिन्, “मैले अझै पनि विभिन्न खाले धम्की सुनिरहेकी छु। मलाई अहिले
डर नमानिकन आफ्नो काममा लाग्न सक्ने वातावरण चाहिएको छ। घरेलु हिंसा
विरुद्ध कानून भएको भए म जस्तालाई न्याय पाउन सजिलो हुनेथियो।”
शैली बस्नेत
|