हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०४ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट मधेशमा प्रहरी सक्रियता

थुप्रिंदैछ हतियार

सशस्त्र समूह र अपराधीहरूको विगविगी रहेको सप्तरी र सिरहामा शान्ति कायम गर्न सबैले प्रहरीलाई साथ दिएपछि स्थिति बदलिँदै गएको छ।

श्रवणकुमार देव

प्रहरी सक्रियताको परिणामः
बरामद गरिएका हतियार र गोली।

७ असोजमा मधेश मुक्ति टाइगर्सका सप्तरी इञ्चार्ज समेत तीनजना कार्यकर्ता समातिए। पक्राउ परेर केही महिनाअघि मात्रै मुक्त भएका उनीहरूलाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय, राजविराजकोे टोलीले सप्तरीको भारतीय सीमावर्ती क्षेत्र रम्पुरा मल्हनियाँबाट कटुवा पेस्तोलसहित पक्राउ गरेको हो। दोस्रो पटक पक्राउ परेका जिल्ला इञ्चार्ज अर्जुन भनिने ध्यानी मण्डल, ठोकान सिंह भनिने ललित झा र मनोज यादव अहिले प्रहरी हिरासतमा छन्। मण्डल र यादव यसअघि बन्दी प्रत्यक्षीकरण रिटमा पुनरावेदन अदालत राजविराजको आदेशबाट मुक्त भएका थिए भने ६ भदौमा सुनसरी, श्रीपुर–८ का मुक्तार अलीको मोटरसाइकल लुटेर भाग्दै गरेको अवस्थामा समातिएका झा दुई दिनमै मुक्त भएका थिए।

सप्तरी र सिरहामा सीमा सुरक्षा कार्यालय र निर्वाचन क्षेत्रहरूमा सशस्त्र प्रहरी बेसक्याम्प स्थापना भएपछि सशस्त्र प्रहरी दिनहुँजसो शस्त्रधारी समूहका कार्यकर्ता र अपराधीलाई पक्राउ गर्न सफल भएको छ। भदौको अन्तिम सातादेखि सशस्त्र प्रहरीले अपनाएको 'विशेष रणनीति' अन्तर्गत सप्तरी र सिरहामा मात्रै ३५ जनाभन्दा बढी हतियारधारी पक्राउ परिसकेका छन्। सिरहाका प्रहरी प्रमुख मिङ्गमार लामाका अनुसार, सशस्त्र प्रहरीले पक्राउ गरेका ४० भन्दा बढी मानिस जिल्ला प्रहरी कार्यालय र अन्य चौकीमा थुनामा छन्। उनी भन्छन्, “बरु कैदीहरूलाई राख्ने ठाउँको पो अभाव हुन थाल्यो।”

१ असोजयताका १० दिनमा सशस्त्र प्रहरीले सप्तरीमा मात्रै करिब २० जनालाई साना हतियारसहित पक्राउ गरेको छ। वैशाखदेखि असोज पहिलो सातासम्म जनतान्त्रिक तराई मुक्ति मोर्चाका दुवै खेमाका ३६ र मधेश मुक्ति टाइगर्सका १६ गरी ५२ हतियारधारी कार्यकर्ता पक्राउ परेका छन्।

जनताको सहयोग, सद्भाव र सुरक्षा निकायसँगको सहकार्यले अपराधीहरूलाई समात्न सहयोग पुगेको प्रहरीहरू बताउँछन्। सशस्त्र प्रहरी बलको दन्तकाली गण, बरमझियाका गणपति प्रहरी उपरीक्षक प्रल्हाद केसी भन्छन्, “विशेष अभियान चलाएको केही दिनमै सप्तरीमा २५ जना जतिलाई पक्राउ गरिएको र उनीहरूबाट २८ वटा कटुवा, ६ वटा बन्दुक, एक–एक वटा रिभल्वर र सटगन तथा सयौं गोली बरामद भएको छ। यसैगरी सिरहाबाट १५ भन्दा बढी व्यक्ति पक्राउ र दुई दर्जन जति कटुवा पेस्तोल बरामद भएका छन्।”

विभिन्न हतियारधारी समूहका नाममा फोनमा धम्की दिने, चन्दा उठाउने र लुटपाट गर्ने गिरोह पनि प्रहरी फन्दामा पर्न थालेको छ। ४ असोजमा सिरहा, लालपुर–६ का नयनबहादुर लामा, सञ्जिव राई र असनपुर–७ का अमित शर्मा दुई वटा कटुवासहित समातिएका छन्। त्यस्तै धम्की दिएको आरोपमा भदौको दोस्रो साता ज्वाला सिंह समूहका आठ कार्यकर्तालाई प्रहरीले लाहानमा समातेको छ।

सप्तरी र सिरहा बाहेक अन्य जिल्लामा पनि प्रहरी सक्रियता बढेको छ। खासगरी सीमापार अपराधको अभियोग लागेका मानिसहरू समातिन थालेका छन्। १ असोजमा महोत्तरी, रामनगर–२ बाट प्रहरीले ज्वाला सिंह समूहका शङ्कर महतो र शम्भु यादवलाई पक्राउ गरेको छ। ३ असोजमा सप्तरी, बनैनियाँ–४ का जयकान्त सिंहको घरबाट दुई वटा ठूला कटुवा पेस्तोल, एक–एक वटा चिनियाँ र सानो कटुवा पेस्तोल तथा सय राउण्ड भन्दा बढी गोली बरामद भएपछि प्रहरी झन् सक्रिय भएको छ। हाल भारतीय सीमावर्ती गाउँहरूमा सर्च गर्ने क्रम पनि तीब्र भएको छ।

यस क्रममा भारतीय अपराधीहरू पनि पक्राउ पर्न थालेका छन्। २ असोजमा भारतको बिहार, सुपौलका वासुदेव कामैतलाई कोशी ब्यारेजमा सशस्त्र प्रहरीले पक्राउ गर्‍यो। बिहारका नामूद डाँका अमृत मण्डलसहित ६ जना भारतीय पहिलेदेखि सप्तरी प्रहरीको हिरासतमा छन्। भारतीय सीमा सुरक्षा बल पनि सक्रिय देखिएको छ। हालै मात्र केही हतियार बरामद गरिएको बताउँदै सुपौलस्थित कुनौली एसएसबी प्रमुख डीएसपी शिव भट्टाचार्यले हिमाल लाई भने, “सीमावर्ती भारतका गाउँहरूमा गस्ती बढाएका छौँ र अपराधीलाई निरुत्साहित गर्न तत्पर रहने छौँ।”

राजमार्गमा लुटपाट गर्नेहरू पनि समातिन थालेका छन्। विराटनगरबाट सिरहा जाँदै गरेका सिरहा, बस्तीपुर–३ का कालीलाल ठाकुरलाई बा ३ प ३९३४ नम्बरको मोटरसाइकलसहित महेन्द्र राजमार्गबाट अपहरण गरेपछि खोजी कार्यमा गएको प्रहरीले पकरी–३ का घनश्याम यादव, देवनन्दन यादव, पकरी–६ का महेन्द्र यादव र दिघवा–४ का जगदीश यादवलाई हतियारसहित पक्राउ गरेको छ। राजमार्गका लुटपाटमा कलिला युवाहरू पनि सक्रिय रहेका पाइएको छ। सप्तरी पंसेराका १६ वर्षीय शान्तिलाल चौधरी र हरेराम रामलाई लुटपाटमा संलग्न अवस्थामै पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूबाट तीन वटा कटुवा पेस्तोल, दुई राउण्ड गोली र खुकुरी, छुराजस्ता घरेलु हतियार बरामद भएको थियो।

उपरीक्षक केसीका भनाइमा, संवेदनशील मानिएका मधेशका आठ जिल्लामा सशस्त्र प्रहरी निकै सक्रिय छ। जनपद पनि त्यति नै चनाखो भएको छ। सप्तरी प्रहरी प्रमुख मिलन बस्नेत र सिरहा प्रहरी प्रमुख मिङ्गमार लामा सशस्त्रले साथ दिन थालेपछि जिल्लाका अधिकांश प्रहरी चौकी स्थापना भइसकेका र बाँकी पनि हुने तरखरमा रहेका बताउँछन्।

उत्साहित प्रहरी

बस लुट्ने किशोरहरू प्रहरी हिरासतमा।

बढ्दै गएको आपराधिक गतिविधि नियन्त्रण गर्न र शान्ति सुरक्षा सुदृढ बनाउन यहाँका राजनीतिक दल, मानवअधिकारकर्मी, नागरिक समाज, कानून व्यवसायी एकठाउँमा उभिएका छन्। जिल्ला प्रशासन कार्यालय सप्तरीमा केही दिनअघि बसेको दल, नागरिक समाज, उद्योगी, व्यापारी, सुरक्षा निकायका प्रमुखहरू र पत्रकारसहितको बैठकले तीनबुँदे प्रतिबद्धता पनि सार्वजनिक गरेको छ।

उक्त प्रतिबद्धतामा जिल्लामा हत्या, हिंसा, अपहरणजस्ता अपराध हुन नदिन प्रहरी र प्रशासनलाई चुस्तदुरुस्त राख्ने तथा त्यस्ता घटना भएमा प्रहरी र प्रशासनलाई सहयोग गर्ने उल्लेख छ। त्यसैगरी सवारीसाधन प्रयोगकर्ताले वैधानिक कागजात साथमा राख्नुपर्ने र मोटरसाइकलमा दुई जनाभन्दा बढी व्यक्ति बिना हेल्मेट हिँड्न नपाउने र उक्त कार्यको जाँच गर्ने राजनीतिक दल, उद्योग वाणिज्य संघलगायत सबैले ट्राफिक प्रहरीलाई सहयोग गर्ने सहमति भएको छ।

राति १० बजेदेखि औषधिबाहेक अरू सबै पसल बन्द गरिनेछन्। यस कार्यमा उद्योग वाणिज्य संघलगायत नागरिक समाजले प्रहरी प्रशासनलाई पूर्ण सहयोग गर्नेछ। आपराधिक समूहका व्यक्तिलाई प्रहरीले पक्राउ गरेमा कुनै पनि निकायले हस्तक्षेप र मुक्त गराउन पहल गर्ने छैनन्। प्रहरी प्रमुख मिलन बस्नेत भन्छन्, “अपराधीलाई निरुत्साहित गर्ने यस्तो प्रतिबद्वता सबै निकायले व्यक्त गरेपछि प्रहरीको हौसला अझ बढेको छ।”

समग्रमा हतियारधारी समूहको विगविगी रहेको सप्तरी र सिरहामा प्रशासनले विस्तारै राज्यको पहुँच बढ्दै गएको, अपराध न्यून हुँदै गएको दाबी गरेको छ। तर अधिकारकर्मी र नागरिक समाजका अगुवाहरूले भने शान्तिसुरक्षाको स्थितिमा हुनुपर्ने जति सुधार भइनसकेको बताएका छन्। “मान्छु प्रहरीले दिनहुँजसो हतियारधारीलाई पक्राउ गरिरहेको छ, तर अपहरण र लुटपाटका घटना पनि जारी छन्”, अधिकारकर्मी जङ्गबहादुर सिंह भन्छन्, “अपराधका घटना बन्द नभएसम्म शान्ति सुरक्षाको स्थितिमा पूरै सुधार आएको मान्न सकिन्न।” यस्तै धारणा छ, इन्सेकका सिरहा प्रतिनिधि देवराज पोखरेलको। उनी भन्छन्, “प्रहरी सक्रियता बढेको छ तर जुन अनुपातमा अपराध घट्नुपर्थ्यो त्यो भएको देखिँदैन।”

सिरहा र सप्तरी प्रशासन भने संविधानसभा निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा स्थिति अझ भरपर्दो बनाउँदै लैजाने बताउँछन्। सिरहाका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी र सप्तरीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर खत्री दुवैको एकैखाले भनाइ छ, “परिस्थितिमा अब उल्लेख्य परिवर्तन आउँछ।”


संयमित प्रेस

मधेशको प्रेस निकै संयमित देखिएको छ। सप्तरीका स्थानीय पत्रिकाहरू केही महिना अघिसम्म कुनै पनि समूह, सङ्गठन या व्यक्तिले निकालेको विज्ञप्तिका भरमा समाचार लेख्थे। त्यस्ता संस्थाले आम हड्ताल जस्ता सङ्घर्षका कार्यक्रमहरू पत्रपत्रिकामार्फत् सजिलै सार्वजनिक गर्थे।

तर अहिले युवा पत्रकारहरू समाचार लेख्ने विषयमा निकै संयम अपनाउन थालेका छन्। बन्दले जनजीवन कष्टकर हुँदै गएपछि स्थानीय पत्र–पत्रिकामा बन्दको समाचारले प्राथमिकता पाउन छाडेका हुन्। “दुई महिना भयो यहाँका पत्र–पत्रिकामा बन्दको समाचार छापिएको छैन”, पत्रकार राजु विश्वकर्मा भन्छन्, “बिना 'लेटर प्याड' र 'स्ट्याम्प' निस्किने विज्ञप्तिको त समाचार बनाउनै छाडियो।”

संविधानसभा निर्वाचनविरोधी तत्वका गतिविधिमा ध्यान पुर्‍याउन यसो गर्नु परेको पत्रकार श्यामसुन्दर यादव बताउँछन्। प्रेसको यो अभियानको सकारात्मक असर देखिन थालिसकेको छ। नेपाल पत्रकार महासंघ सप्तरीका सभापति शम्भु झा भन्छन्, “पत्रकारको अभियानले पनि अपराधमा कमी आउन थालेको छ।”