हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०४ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

पुस्तक समीक्षा/परिचय

सहरीकरणमाथि बहस

पुस्तकः सहरीकरणः जीविकाको विविध आयाम
सम्पादकः भास्कर गौतम, जगन्नाथ अधिकारी
प्रकाशकः मार्टिन चौतारी, काठमाडौँ, २०६३ -२००६)
पृष्ठः ३५५+६, मूल्यः रु.२००

सन् २००७ को तथ्याङ्कले विश्वको आधा र नेपालको १७ प्रतिशत जनसङ्ख्या सहरमा बसोबास गरेको देखाउँछ । नेपालमा सहरी बसोबासको इतिहास लामै भएपनि सहरीकरण, सहरियापन र सहरी बस्ती जस्ता विषयमा कमै चर्चा हुन्छ । विश्व परिवेश 'सहर पक्षपाती' भएको अवस्थामा हाम्रो राजनीतिक नेतृत्व पनि गार्हस्थ्य उत्पादनमा सहरको योगदानलाई बेवास्ता गरी 'विकासको मेरुदण्ड गाउँ' भन्ने मान्यतामा अल्झेको छ । यसले गर्दा सहरीकरण र जीविकाका आयामसम्बन्धी मुद्दा ओझेलमा परेका छन् । भास्कर गौतम र जगन्नाथ अधिकारीले सम्पादन गरेको पुस्तक सहरीकरणः जीविकाको विविध आयाम ले सहरीकरणसम्बन्धी बहसलाई अगाडि बढाएको छ । पुस्तकमा समेटिएका विविध सर्न्दर्भका १३ वटा लेखले नेपालमा सहरीकरण र सहरी सभ्यतासम्बन्धी सुस्त अवस्थामा रहेको बहसलाई उठाउन मद्दत पुर्‍याउने छन् ।

डा. पीताम्बर शर्माको पहिलो लेखमा सहरीकरणका सम्बन्धमा सरकारको दक्षिणमुखी सोचको विश्लेषण गरिएको छ । शर्माले नेपालमा आर्थिक विकासका लागि सहरीकरण अनिवार्य रहेको विश्लेषण गर्दै अहिले 'गाउँको सहरीकरण' भन्दा पनि 'सहरको ग्रामिणीकरण' भइरहेको तर्क गरेका छन् । 'परम्परागत सहरबाट सिक्नुपर्ने पाठ' शर्ीष्ाकको डा. सर्ुदर्शन तिवारीको लेखमा ऐतिहासिक सर्न्दर्भलाई पन्छाएर राज्यले सहरीकरणसम्बन्धी गलत योजना र विकास शैली अपनाउँदा सहरी सडकहरू गोरेटोमा सीमित भएको उल्लेख गरिएको छ । काठमाडौँको सुकुम्बासी आन्दोलनको विस्तृत चर्चा गरिएको मासाको तानाकाको लेखमा अरू सहरी बासिन्दा जस्तै सुकुम्बासी पनि सहरका सम्मानित नागरिक भएकाले उनीहरूको पहिचानमा कञ्जुस्याइँ गर्न नहुने तर्क गरिएको छ । समिता भट्टर्राईको लेखमा अपाङ्गहरूको समष्टिगत स्थिति चित्रण गर्दै सरकारले सामाजिक न्याय र समानताको दृष्टिबाट प्रत्येक अपाङ्गलाई पर्ूण्ा रूपमा आत्मनिर्भर र सामाजिकीकरण गर्नुपर्ने तर्क गरिएको छ । सहरी गरिबको मुद्दालाई सरकारले कसरी हेरेको छ भन्ने कुराको मार्मिक चित्रण छ झलक सुवेदीको लेखमा ।

'अमेरिकाद्वारा आकषिर्त काठमाडौँको गार्मेण्ट उद्योग र जीवनयापन' शर्ीष्ाकको सीजू उपाध्यायको लेखमा नेपालको गार्मेण्ट उद्योगमा संलग्न मजदुरहरूको अनुभव, अनिश्चितता र चुनौतीहरूलाई सरल रूपमा प्रस्तुत गरिएको छ । राधा अधिकारी र इयान हार्परले नेपालमा नर्सिङ पेशाको विकास र सहरको स्वास्थ्य स्थितिको विश्लेषण गरेका छन् । लेखमा महिलाका लागि सुरक्षित भएको नर्सिङ पेशामा लागेका महिलाको जीवनका सपना र सम्बन्धहरूको इतिहास सीधै सहरसँग गाँसिएको तर्क गरिएको छ । काठमाडौँ सहरको सर्न्दर्भमा केन्द्रित डा. जगन्नाथ अधिकारीको लेखमा सहरी खाद्य सुरक्षाका विविध पक्षबारे बहस चलाइएको छ । द्रुतगतिमा बढिरहेको सहरीकरणबाट केही वर्षभत्रै 'खाद्य सुरक्षा' गम्भीर समस्याको रूपमा देखापर्ने तर्क अधिकारीको छ  । डा. अधिकारीको अर्को लेखले रोजगारीका अनौपचारिक क्षेत्रमा जीविकोपार्जन गर्नेहरूको अनुभव समेटेको छ । कम लगानीबाटै चल्ने यो क्षेत्रले काठमाडौँको झण्डै ६० प्रतिशत श्रमशक्तिलाई रोजगारी दिएको र यसको भूमिकालाई मान्यता दिन सरकारी नीति र संयन्त्रको आवश्यकता भएको अधिकारीले उल्लेख गरेका छन् ।

प्रकाश अमात्यको 'काठमाडौँमा गरिबलाई खानेपानी' शर्ीष्ाकको लेखमा खानेपानीको परम्परागत अर्थ र उपलब्धताको पृष्ठभूमि खोतल्दै मेलम्ची आयोजनाको राजनीतिक विश्लेषण गरिएको छ । काठमाडौँमा दैनिक १७ करोड लिटर पानी भित्र्याउने लक्ष्य लिएको मेलम्चीले गरिब र विपन्न समुदायको हित गर्ने उद्देश्य राखेपनि त्यसमा सुधार गर्नुपर्ने थुप्रै पक्ष रहेको अमात्यले औँल्याएका छन् । चिरन मानन्धरको लेखमा सहरीकरणसँगै सडकमा खानेकुरा बेच्ने चलनको विकासले गाउँबाट सहर पसेका थुप्रै मानिसलाई 'गरिखाने मेलो' दिएको तर्क गरिएको छ ।

सहरीकरणको आयाम व्यापक भएकाले सबै पक्ष एउटै पुस्तकमा समेट्न गाह्रो छ । तर पनि यस पुस्तकमा समेटिएका लेखहरूमा विविधता र गुणात्मकता पाइन्छ । कुनै लेखमा सहरीकरणको सैद्धान्तिक पक्षको बढी चर्चा गरिएको छ भने कुनैमा यथार्थको प्रस्तुति । अङ्ग्रेजीबाट अनुवाद गरिएका लेखहरू सलल बग्ने गरी सरल छैनन् । पुस्तकमा केही प्राविधिक त्रुटि पनि छन् । सर्न्दर्भ सूचीमा कतिपय लेखकको नाम नहुने र प्रकाशकलाई मात्र श्रेय दिने कमजोरी देखिन्छ ।

जे होस्, विकासको सहरमुखी कार्यक्रमलाई प्राथमिकता दिने कि गाउँमुखी वा मध्यमार्ग अवलम्बन गर्ने भन्ने बहसलाई र्सार्थक र गहकिलो बनाउन महत्त्वपर्ूण्ा सर्न्दर्भ सामग्री हुनस्छ यो पुस्तक ।

डा. भीमप्रसाद सुवेदी
प्रमुख, भूगोल केन्द्रीय विभाग, त्रिवि


वाम्बुले जातिको परिचय

पुस्तकः वाम्बुले र्राई जाति
सम्पादकः गणेश र्राई
प्रकाशकः वाम्बुले र्राई साहित्य प्रकाशन, काठमाडौँ, २०६४
पृष्ठः १५८, मूल्यः रु.२००

नेपालमा १०१ जाति र ९२ भाषा समूह रहेको सरकारी तथ्याङ्कले देखाएको छ  । तर भाषाशास्त्रीहरूले १२५ वटा भाषा अस्तित्वमा रहेको दाबी गरेका छन् । तीमध्ये आधा जति संरक्षणको अभावमा जोखिममा परेका छन् । जातीय र भाषिक विविधताको संरक्षणमा सरकार संवेदनशील नभएको बताउने आदिवासी जनजातिहरू आफैँ त्यस कार्यमा जुटेका छन् । वाम्बुले र्राई साहित्य प्रकाशनले वाम्बुले र्राई जाति पुस्तक प्रकाशन गरेर आफ्नो समुदायको परिचयलाई अभिलेख गरेको छ ।

२०५० सालदेखि नै लिब्जु-भुम्जु त्रैमासिक पत्रिका सम्पादन गरेर वाम्बुले जाति र भाषाको उत्थानमा सक्रिय वाम्बुले जातिका पत्रकार गणेश र्राईले सम्पादन गरेको यो पुस्तक वाम्बुले र्राई जाति र भाषासम्बन्धी पहिलो परिचयात्मक पुस्तक हो । लिब्जु-भुम्जु मा प्रकाशित लेखरचनाहरू समावेश गरिएको यो पुस्तकमा वाम्बुले र्राईका साइनो सम्बन्ध, चार्डपर्व, संस्कृति, परम्परा र भाषालाई समेटिएको छ ।

पुस्तकका तीनमध्ये अन्तिम खण्डमा नयाँ राष्ट्रगानका रचयिता व्याकुल माइलाको परिचय पनि दिइएको छ, जो वाम्बुले र्राई जातिकै हुन् । वाम्बुले जातिको बारेमा जान्न चाहने सबैका लागि किताब उपयोगी छ ।

पुन


खुम्बु पुर्‍याउने पुस्तक

पुस्तकः सगरमाथाको आधारशिविरबाट
लेखकः प्रतीक ढकाल
प्रकाशकः मकालु प्रकाशन गृह, काठमाडौँ, २०६४
पृष्ठः १५२+२६, मूल्यः रु.१५०

प्रतीक ढकालको यात्रा विवरण सगरमाथाको आधारशिविरबाट ले पाठकहरूलाई एउटा अलग्गै दुनियाँमा पुर्‍याउँछ, जहाँ सितिमिति पुग्न धेरै नेपालीलाई गाह्रो पर्दछ । खुम्बु क्षेत्रका लुक्ला, नाम्चे र त्यसमाथि सगरमाथा, ल्होत्सेलगायतका हिमालहरूको आधारशिविर रहने यो ठाउँ नेपालमै पर्ने भएपनि साधारण नेपालीहरूले त्यहाँ पुग्न धेरै कुरामा विचार पुर्‍याउनु पर्छ ।

पहिलो कुरा त पैसा नै हो- एक कप चियाको रु.२५ देखि रु.५० पर्दोरहेछ, रेष्टुरेण्टका मेन्युहरूमा रु.१०० देखि रु.१५० घटीका कुनै खाने चिज हुँदा रहेनछन्, होटेल-लजबाट एक दिन खाई-बसी निस्कँदा झण्डै हजार रुपैयाँ बाटोलाग्दो रहेछ । अर्को कुरा, हिमाली क्षेत्रको कठिन भूक्षेत्र र मौसमको अवस्थामा आफ्नो स्वास्थ्य र शरीरले यात्रालाई धान्न र यात्राको क्रममा आर्इपर्न सक्ने कठिनाई झेल्न सक्छ कि सक्दैन भन्ने पनि हो । त्यसैले त उच्च हिमाली क्षेत्रको यात्राको आफ्नै आकर्षा र आनन्द छ  । र, मानिसहरू कहाँकहाँदेखि ज्यान जोखिममा पारेर पदयात्रा एवं हिमाल आरोहण गर्न नेपाल आउँछन् । ल्होत्से हिमाल आरोहण गर्न आएको कोरियाली पर्वतारोहण टोलीको सर्म्पर्क अधिकृत भएर खुम्बु पुगेका लेखकले यो किताबमा त्यही आनन्द पाठकहरूसँग बाँडेका छन् ।

यो आनन्द उनले काठमाडौँबाट हवाईजहाजमा २८०० मिटर उचाइको लुक्लामा पुगेर ५४०० मि. उचाइमा स्थापित ल्होत्सेको आधार शिविर हुँदै सोही उचाइको हाराहारीमा पर्ने आसपासका भञ्ज्याङ, चुचुरा, हिमनदी, हिमताल, पोखरी, मैदान, गाउँवस्तीहरूको कठिन र रोमाञ्चक यात्रामा पाएका हुन् । किताबमा त्यस ठाउँको निश्छल प्रकृति, समाज, सँस्कृतिसँगै कतैकतै भेटिने अति व्यापारीकरणजस्ता सबै पक्षलाई समेटिएको छ । सगरमाथासम्बन्धी तथ्यविवरण, १७ पटक सगरमाथा चढेका कर्ीर्तिमानी आरोही अप्पा शर्ेपाको सगरमाथा आधारशिविरदेखि शिखरसम्मको आरोहण अनुभव तथा अन्य पर्वतारोहीहरूका भनाइ, अनि नेपाल सरकारको सर्म्पर्क अधिकृत भएर यस्तो ठाउँमा जाने मौका पाउन सरकारी संरचनामा हुने कटु सङ्र्घष्ाको लेखकको आफ्नै अनुभव -जुन उनले आफैँ पर्यटन मन्त्रालय नपुगी पाएनन्) जस्ता कुराले किताबलाई विषयवस्तुका समग्र पक्ष बुझन अझ सहयोग पुर्‍याएका छन् ।

यसअघि डोल्पा र मुस्ताङको पदयात्राको विवरण समेटेर २०६१ मा प्रकाशित ढकालको हिमालपारिको देश चार संस्करण निस्केको थियो भने यसले पनि एक महिनापछि नै दोस्रो संस्करणको मुख देखिसकेको छ । विषयवस्तु र सामग्रीको दृष्टिले कृतिको गहनता र सुन्दरतालाई स्वरुपले भने त्यति न्याय गर्न सकेको छैन । साजसज्जा, फोटोको प्रयोग र छपाइमा राम्रो ध्यान दिएको भए हिमाली क्षेत्रको पदयात्राको एउटा विशिष्ट यात्रा सँगालो हुन्थ्यो सगरमाथाको आधारशिविर ।

बद्री