हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०४ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनता

सद्भावका सारथि

शब्द/तस्बिरः रामेश्वर बोहरा
मौलाना अब्दुल जब्बार मञ्जरी र।हन्त चन्द्रनाथ योगी ।

३० भदौमा मोइद खाँको हत्या भएपछि कपिलवस्तुमा भड्किएको हिंसाको ज्वालाले नेपालगञ्जलाई पनि गाँज्ला भन्ने चिन्ता धेरैलाई थियो । कपिलवस्तु घटनालगत्तै नेपालगञ्जमा हिन्दू-मुस्लिम सद्भाव विथोल्ने प्रयत्न नभएको होइन । तर विगतका हिंसाबाट पाठ सिकेका नेपालगञ्जका सुरक्षा निकाय, प्रशासन, राजनीतिक दल, उद्योगी व्यापारी, नागरिक समाजका अगुवा र पत्रकारको सक्रियताले त्यसो हुन दिएन  । जसको अगुवाई गरेका थिए, नेपालगञ्जका मुस्लिम र हिन्दू धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरी र महन्त चन्द्रनाथ योगीले । 'काटमारमा नलागौँ, भाइचाराको सम्बन्ध जोगाऔँ' भन्ने नारासाथ सद्भाव सारथिको रूपमा देखापरेका धर्मगुरु मञ्जरी र योगीको अगुवाईमा भएको र्‍याली तथा घरदैलो अभियानमा सबैले साथ दिए । फलस्वरुप रुपन्देही र दाङमा देखिएको कपिलवस्तु हिंसाको ज्वाला नेपालगञ्ज नपुग्दै निभ्यो ।

मन्दिर र मस्जिदमा धार्मिक प्रवचन दिँदा समेत हिन्दू र मुस्लिम धर्मगुरुले आपसी सद्भाव जोगाइराख्न आहृवान गरेपछि नेपालगञ्जले संयमता देखायो । मुस्लिम धर्मावलम्बीहरूले त सद्भाव र भाइचाराको सन्देश दिन सडकमै नवाज समेत पढे । सिङ्गो मुस्लिम समुदायमा सद्भावको अपील गर्दै हिँडेका मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरी भन्छन्, "जुन समुदाय र धर्मको भएपनि सबै नेपाली हौँ भन्ने सन्देश दिनुपर्ने स्थिति आयोे, त्यही गर्‍यौँ ।" पहेँलो पगरी गुथेका बागेश्वरी मन्दिरका पुजारी महन्त चन्द्रनाथ योगी पनि भाइचारा र सद्भावको सन्देश बाँड्दै हिँडे । "अरू जे जे भएपनि मुख्य कुरा भाइचारा सम्बन्ध हो" योगी भन्छन्, "सद्भाव विथोल्न खोज्नेसँग सचेत रहनुस् भन्ने सन्देश दियौँ ।"

पुस २०६३ मा नेपालगञ्जमा देखापरेको साम्प्रदायिक तनाव साम्य पार्न गठित शान्ति र सद्भावका लागि नागरिक समितिका संयोजक सतिशचन्द्र अग्रवाल यसपालि नेपालगञ्जको सद्भाव भत्किन नदिन धर्मगुरुहरूको भूमिका महत्त्वपर्ूण्ा रहेको ठान्छन् । हिन्दू र मुस्लिमको बाक्लो बसोवास रहेको नेपालगञ्जमा धर्मगुरु मञ्जरी र योगीले सद्भाव कायम राख्न राम्रो भूमिका खेलेको बताउँदै अग्रवाल भन्छन्, "विगतमा धर्मगुरु खुलेर बाहिर आउँदैनथे । यसपालि उनीहरूको भूमिका प्रभावकारी र प्रशंसायोग्य रहृयो ।"
बधाई छ, सद्भावका सारथिलाई !