हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०३ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

तन्नेरी

हाम्रा कुरा

चरम गरिबी, घरेलु हिंसा, यौन दर्ुर्व्यवहार, कम्लरी, जातीय छुवाछूत, बालविवाह आदिको चपेटामा परेका दर्ुगम क्षेत्रका ७६ बालिकाहरू भदौको तेस्रो साता राजधानी आएर केही गर्ने अठोटका साथ गाउँ फर्किएका छन् ।

डम्बरकृष्ण श्रेष्ठ

तस्बिरहरू किरण पाण्डे
कुसुम तामाङ -१३ कास्की

आफ्ना तीन दिदीहरूको सानैमा बालविवाह भइसकेकाले बिहेको पालो मनोजाको थियो तर परिवारले विवाहको कुरा छिनेपछि उनी घरै छाडेर भागिन् । सन्तपुर-२, रौतहटकी मनोजा कुमारी पासवान -१७) ले पाँच वर्षघि यसरी बिहे गर्न नमान्दा उनकी बहिनी समुन्द्रीले १० वर्षै उमेरमा बिहे गर्नु पर्‍यो । उनी भन्छिन्, "मेरी बहिनी १६ नलाग्दै बच्चाकी आमा बनिसकेकी छिन्, म भने अहिले बालविवाह विरोधी अभियानमा लागेकी छु ।"

छोरीहरूको बालविवाह गर्दा-गर्दा मनोजाका बुबा सोहन र आमा आकाशवती पासवान झन् कङ्गाल भएका छन् । गाउँमा ज्यालादारी काम गरेर गुजारा चलाउँदै आएको ५ छोरी र २ छोरा सहित ९ जनाको यो परिवार ऋणमा चर्ुर्लुम्मै डुबेको छ । मनोजा भन्छिन्, "बहिनीको बिहे गर्दा रु.२० हजार नगद र एउटा रङ्गीन टेलिभिजन तिलक दिन काढेको ऋणको ब्याज तिरेर खान पुर्‍याउनै गाह्रो छ ।" स्थानीय ओम सेकेण्डरी कलेजमा ११ कक्षासम्म पढेकी उनले अहिले गरिबीकै कारण १२ कक्षामा नाम लेख्न नपाई पढाइ छाड्नु परेको छ ।

मनोजाले सानैदेखि गाउँमा छुवाछूतको चर्को भेदभाव सहेकी छिन् । त्यसैले उनी बालविवाह, छुवाछूतका विरुद्धमा आफूजस्तै साथीहरूको समूह बनाएर सक्रिय बनेकी छिन् । भन्छिन्, "छठ पर्वमा हामी सबैको पूजापाठ गर्ने ठाउँ बनाइदिन्छौँ सफा गर्र्छौँ तर त्यहीँ पूजा गर्न हामीलाई दिँदैनन्, मन्दिरमा पस्न समेत रोक लगाइन्छ ।" गाउँकै दीपज्योति बाल क्लबकी सल्लाहकार रहेकी उनी आफूले धेरै समस्या भोगे पनि त्यसका विरुद्ध डटेर लडिरहने बताउँछिन् । अहिलेका नयाँ पुस्ताका युवाहरू बालविवाह, छुवाछूतका पक्षधर नभए पनि समाजमा यस्ता कुरा निर्मूल हुन बाँकी रहेको उनी बताउँछिन् ।

हुम्लाकी सुनिता बोहोरा -१४) ले नचाहेरै बालविवाह गर्नु पर्‍यो । सानैमा विवाह गरेकी उनले अहिले श्रीमान् छाडेर गाउँमै पढ्दै चेतनामूलक कार्यमा लागेकी छिन् । आफूले नचाहँदा नचाहँदै पनि बालविवाह गर्नु परेको सुनाउँदै उनले भनिन्, "बालविवाह गर्न हुन्न, छोरीलाई पनि पढाउनर्ुपर्छ भन्ने चेतना गाउँ-गाउँमा पुर्‍याउन अझै पुगेको छैन  ।" राजधानीमा आयोजित बालिका राष्ट्रिय परामर्श कार्यशाला, राष्ट्रिय नीति सम्वाद मा हुम्लाका बालिकाहरूका कुरा राख्न आएकी सुनिताले आफ्नो गाउँ-ठाउँको समस्या सुनाउँदै भनिन्, "काठमाडौँ र हाम्रो गाउँमा धेरै फरक छ । यहाँ सबथोक छ, हामीकहाँ केही नै छैन ।"

सुनिता बोहोरा -१४ हुम्ला

गेटा-३, अत्तरिया, कैलालीकी अञ्चला चौधरी -१६) ले गाउँमै सामाजिक विभेद, छुवाछूत, घरेलु हिंसा, कम्लरी प्रथाविरुद्ध चेतना जगाउन लागि परेकी छिन् । आफू सानैहुँदा बुबाको निधन भएकाले ७५ वषर्ीय आमा रुक्मिणी र उनी दाजुका साथ बस्छन् । आमाको नाममा भएको जग्गा आफ्नो नाममा बनाएपछि दाजु र उनको परिवारबाटै आफूहरू पीडित भएको र आमाछोरीलाई घरबाटै निकाल्न खोजिएको उनी बताउँछिन् । भन्छिन्, "घरको काम नगरे खानै दिँदैनन्, त्यसैले स्कूलको पढाइ छाडेर पनि काम गर्नुपर्छ । जसोतसो खान पाएपनि राम्रो लुगा लगाउन कहिल्यै दिँदैनन् ।" स्थानीय युनिटी बाल क्लबकी अध्यक्ष रहेकी उनी अहिले भने डटेर लड्न थालेको बताउँछिन्  ।

स्थानीय सिद्धबाबा माविमा १० कक्षामा पढ्दै गरेकी अञ्चलालाई ७ कक्षापछि नै शुल्क तिर्न समस्या थियो । जसोतसो पढ्दै गरेकी उनले विद्यालयमा आफ्नो समस्या सुनाएर छात्रवृत्ति मागे पनि सुनुवाई नभएको बताउँछिन् । घरबाटै हेपिएकी उनलाई अहिले क्लब खोलेर आफूजस्ता बालबालिकाको हितमा लागेपछि गाउँले समेतले "नेता भएकी छे, जान्ने हुन्छे" भन्न थालेका छन् । उनी भन्छिन्, "घरभित्रैको हेपाहा प्रवृत्तिको विरोध गर्दा 'वेश्या' जस्तो अपशब्द र गालीगलौज पाउने गरेकी छु भने समाजका अरूले त हेप्ने भइहाले नि !" घरभित्र र बाहिरबाट जति नै हेपिएपनि उनलाई कुनै कुराको डर छैन । "जायज कुराका लागि म जोसँग पनि लड्न तयार छु, अन्याय सहेर चुपचाप बस्दिनँ ।" पढेर वकिल हुने र भेदभाव र अन्यायका विरुद्धमा लाग्ने उनको लक्ष्य छ ।

उनको क्लबले गाउँमा सरसफाई र सामाजिक विकृति, घरेलु हिंसा, भेदभाव विरुद्ध चेतनामूलक नाटकहरू गर्ने, कम्लरी प्रथा विरुद्ध अभियान चलाउने काम गर्दै आएको छ । सीता राना, सरस्वती थापासहित तीन जना कम्लरी समेत आफ्नो समूहमा आवद्ध रहेर गैरसरकारी संस्थाको सहयोगमा पढ्दै गरेको बताउँदै उनले भनिन्, "हामीले केही साथीहरूलाई समूहमा ल्याएर कम्लरी मुक्त गराउने काम गरिरहेका छाँै तर, यसको अन्त्य गर्न सरकार नै अघि र्सर्नुपर्छ ।"

मनोजा कुमारी पासवान -१७, रौतहट

सुदूर पश्चिम कैलालीकी पर्ूव कम्लरी रामकुमारी चौधरी -१६) ले आफू कम्लरीको रूपमा ४ वर्षअर्काको घरमा बस्दाको पीडा सुनाउँदै भनिन्, "अर्काको घरमा काम गर्दै बस्दा पढ्न पाइनँ, अहिले म मुक्त भए पनि अरू धेरै कम्लरीहरू दुःखपर्ूण्ा जीवन बिताइरहेका छन् ।"

राजधानी बाहिर दर्ुगम क्षेत्रबाट आएका साथीहरूको दुःख, पीडाका कथा-व्यथा सुनेर माले पाटन, पोखराकी कुसुम तामाङ -१३) ले भने आफूभन्दा अन्यत्रका धेरै बालिकाहरूले अनेकौँ दुःख र सास्ती खेप्नु परिरहेको महसूस गरिन् । उनी भन्छिन्, "पहिले म आफूलाई नै दुःखी ठान्थे अनेकौँ समस्या देख्थेँ तर अरू साथीहरूलाई देखेर आफ्ना समस्या र दुःख केही रहेनछ भन्ने भयो ।" पर्ूव सैनिक र शिक्षिकाकी छोरी कुसुम पोखराकै स्थानीय धर्मस्थली विद्यालयमा ९ कक्षामा पढिरहेकी छिन्  ।

प्रेरणा बाल समूहकी अध्यक्ष रहेकी कुसुम सुविधा सम्पन्न परिवारमा हर्ुर्किएकाहरूले पनि दर्ुगम ठाउँका बालिकाहरूले भोग्दै आएको समस्याहरूका विरुद्धमा आवाज उठाउनुपर्ने बताउँछिन् । कतिपय बाल अधिकारका कुरा भाषणमा मात्र सीमित हुने गरेको बताउँदै उनले भनिन्, "नेताहरूले यो गर्र्छौँ र त्यो गर्र्छौँ भनेर भाषण त गर्छन् तर आफूले गरेका प्रतिबद्धता पूरा गर्दैनन् । संविधान सभामा हामीजस्ता बालबालिकाहरूले भोट दिन नपाए पनि हाम्रा समस्याका कुरा त्यहाँ पुर्‍याइयोस् ।"

युनिसेफ रोजा, एक्सन एड, प्लान नेपाल, युनिफेम, युएनएफपीए, हिम राइट्स र सेभ द चिल्ड्रेनको सक्रियतामा वियोण्ड बेइजिङ महिला कमिटीले १८-२३ भदौमा पाँच विकास क्षेत्रका ३२ जिल्लाका ७६ बालिकाहरूको बृहत् भेला गराएको थियो । जसमा विपन्न एवं अवसरबाट बञ्चित तथा फरक क्षमता भएका, दलित, मधेशी, जनजाति, अल्पसङ्ख्यक तथा हिंसात्मक द्वन्द्व, बेचविखनबाट पीडित, विद्यालय जानबाट बञ्चित र सडक बालिकाहरूदेखि विवाहित र बाल्य अवस्थामै आमा बन्न बाध्य बालिकाहरू थिए । बालविवाह गरेकी सप्तरीकी सरिता साह -१६) र दुखिया पासवान -१७) काखमा बच्चा लिएरै भाग लिन आएका थिए ।

कुसुम तामाङ -१३) कास्की

ललितपुरमा सम्पन्न कार्यशालाका क्रममा बालिकाहरूले यौन शोषण तथा दर्ुर्व्यवहार, अपाङ्ग बालिका, बालविवाह, सबै किसिमका विभेद, शिक्षाको कमी, सशस्त्र द्वन्द्वमा बालिका र कम्लरी प्रथालाई प्रमुख सवाल पहिचान गरी सातबुँदे ललितपुर घोषणापत्रसमेत जारी गरेका छन् । यी सवालबारे नीति संवाद कार्यक्रम अर्न्तर्गत सांसद, सरकारी पदाधिकारी, प्रमुख राजनीतिक पार्टर्ीी प्रतिनिधिलगायतका सरोकारवालाहरू र अन्तर्रर्ााट्रय दातृ निकायसमक्ष अन्तरक्रिया समेत गरेका थिए ।

सहभागी ७६ बालिकामध्ये अधिकांश पहिलो पटक काठमाडौँ आएका थिए । आफ्ना गाउँघरका बालिकाहरू र तिनका समस्यालाई आयोजकले उपलब्ध गराएको क्यामराबाट तस्बिरमा उतारेर ल्याएका थिए । उनीहरू आफैँले खिचेको तस्बिरहरूको राजधानीमा पर््रदर्शनी समेत गरिएको थियो । सबै बालिकाहरूलाई आयोजकले महिलाहरूमा उर्जा प्रदान गर्ने कथा समेटिएको चक्दे इण्डिया नामक हिन्दी चलचित्र सिनेमाहलमै लगेर देखाएका थिए ।

चलचित्र हेरेर आफूमा समेत अझ केही गर्ने आँट आएको अञ्चला चौधरीले बताइन् । मान्छेलाई अवसर दियो भने जे पनि गर्न सक्छ र एकअर्काको समस्या हल गर्न सबै मिलेर लागे सकिन्छ भन्ने कुरा देखाइएको सो चलचित्र हेरेपछि उनले भनिन्, "छोरीले केही गर्न सक्दैनन् भन्छन् तर, अवसर पाए गर्न नसक्ने के छ र ?"