हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०३ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट समाज

पैसा लिएर सम्मान

राजधानीमा सम्मान किन्ने-बेच्ने र सम्मानको नाममा ठगी गर्ने प्रवृत्ति बढेको छ । पैसा तिरी-तिरी माला, दोसल्ला र खादा भिर्न मरिहत्ते गर्ने र बोल्न पाइन्छ भन्दैमा आतिथ्य ग्रहण गर्न पुग्नेहरूले सम्मान गर्नेहरूको र्सार्वजनिक पहिचान र सामाजिक प्रतिष्ठाबारे किन नसोचेका होलान् !

सन्तोष बराइली

काठमाडौँ, सुकेधाराकी समाजसेवी जानुका गिरी -कार्की) 'नेपाल युवा समाज' र 'राजधानी कलाकेन्द्र' बाट भव्य कार्यक्रम गरेर ताम्रपत्रसहित खादा ओर्ढाई सम्मान गर्ने भनिएको पत्र पाएपछि आफ्नो सेवाको कदर भएको ठानेर खुशी भइन् । तर आयोजकहरूले कार्यक्रमको मिति नजिकिँदै आएपछि जानुकासँग पटक-पटक टेलिफोन गरेर 'आर्थिक समस्याले गर्दा कार्यक्रम रोकिने भयो, सहयोग नगरी भएन' भन्न थाले । जानुका भन्छिन्, "कार्यक्रम नै रोकिने भयो भनेपछि मैले युवा समाजका अध्यक्ष सीताराम कार्कीलाई पाँच हजार र राजधानी कला केन्द्रलाई १२ हजार रुपैयाँ दिएँ ।" नेपाल युवा समाजले २५ फागुन २०६३ मा आयोजना गरेको सम्मान कार्यक्रममा सभामुख सुवास नेम्वाङ तथा राजधानी कलाकेन्द्रले १३ चैतमा आयोजना गरेको कार्यक्रममा तत्कालीन सञ्चारमन्त्री दिलेन्द्र बडू प्रमुख अतिथि थिए । दुवै कार्यक्रममा प्रशंसापत्र र खादाले सम्मानित हुँदा पौरखी महिला समूहकी सल्लाहकार, नारी जागरणकी उपाध्यक्ष तथा श्रीकृष्ण सञ्जीवनी तुलसी सेवा समितिकी सचिव जानुकालाई भने उनकै शब्दमा 'हर्षन्दा पनि ग्लानि' भइरहेको थियो  । -हे. तस्बिर)

बौद्ध धर्मावलम्बीहरूका गुरु ज्याडल रिम्पोछेलाई सम्मान गर्ने 'नागरिक मञ्च' का अध्यक्ष जीपी -गोपाल) ढुङ्गेलले डेढ वर्षघि रिम्पोछेसँग 'सापटी' लिएको रु.११ लाख फर्काएका छैनन् । रिम्पोछेकी पत्नी कमला भन्छिन्, "गुरुलाई सम्मान गर्ने कार्यक्रम रोकिने भयो, कार्यक्रमको भोलिपल्टै फर्काउँछु भनेर जीपीले ११ लाख रुपैयाँ सापटी लिएर लगेका थिए, डेढ वर्षबितिसक्यो अत्तोपत्तो छैन ।"

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको हातबाट सम्मान गर्ने कार्यक्रम सफल पार्न भनेर कलाकार सुशीला रायमाझीबाट रु.२० हजार लिएका 'एभरेष्ट फाउण्डेशन नेपाल' का अध्यक्ष एनबी सुब्बा साम्सुहाङ कार्यक्रम नै नगरी बेपत्ता भए । वर्षदनअघिको कुरा सम्झँदै सुशीला भन्छिन्, "मैले आफूलाई सम्मानित गर्लान् भनेर होइन, कार्यक्रम सफल बनाउन भनेर २० हजार रुपैयाँ सहयोग गरेकी थिएँ । तर उनीहरू कार्यक्रम नै नगरी बेपत्ता भए ।"

सम्मानको नाममा ठगी र व्यापार ! अहिले राजधानीमा नेपाल युवा समाज, राजधानी कला केन्द्र, नागरिक मञ्च र एभरेष्ट फाउण्डेशन मात्रै होइनन्; 'राष्ट्रिय सांस्कृतिक मञ्च', 'राष्ट्रिय बाल विकास तथा सम्मान केन्द्र', 'राष्ट्रिय सरोकार अभियान', 'त्रिवेणी कल्चर सेन्टर', 'जागृति समाज नेपाल' जस्ता अरू कैयौँ संस्थाहरू पनि सम्मानको धन्दा चलाउने संस्थाका रूपमा चिनिन्छन् । महिनामा चार पटकसम्म सम्मान कार्यक्रम गर्ने नेपाल युवा समाजका अध्यक्ष सीताराम कार्की भन्छन्, "हामीले सम्मान कार्यक्रम गरेको देखेर धेरै मान्छे अचम्म मान्छन् । समाजले महिनामा ६० जनासम्मलाई सम्मान गरेको छ ।"

किरण पाण्डे

समाज स्थापना भएको सात वर्षा एक हजार भन्दा बढी व्यक्तिलाई सम्मान गरेको कार्कीको दाबी छ । अधिकांश संस्थाले सरकारी कर्मचारी, प्रहरीका उच्चपदस्थ अधिकारी र समाजसेवीलाई सम्मान गर्ने गरेका छन् । सम्मान कसलाई र किन गरेको भन्नेमा यस्ता संस्थाका धेरैको एकैखाले जवाफ हुनर्ेगर्छ- 'समाजमा योगदान पुर्‍याएकोले ।' यस मामिलाका एक जानकार भन्छन्, "के को समाजमा योगदानको मूल्याङ्कन हुनु नि - कारोबार मिले गरिने हो सम्मान  ।"

सम्मान कार्यक्रम गर्नेहरूमध्ये धेरैको सामाजिक हैसियत स्पष्ट हुँदैन  । सम्मानित हुने व्यक्ति र सम्मान गर्न जाने नेता-व्यक्तित्वहरू अरूलाई सम्मान गर्नेहरू आफैँ कत्तिको सम्मानित छन् भनेर पनि शायद सोच्दैनन्  । उनीहरूले सम्मानका लागि गर्ने खर्चको स्रोत पनि थाहा हुँदैन । स्रोत कसरी जुटाउनुहुन्छ भन्ने प्रश्नमा सम्मान गरिने मानिसहरूसँग पैसा लिने नगरेको दाबी गर्दै युवा समाजका अध्यक्ष कार्की भन्छन्, "उद्योगी, व्यापारीसँग सहयोग माग्छौँ ।" तर कार्कीको दाबीलाई खण्डन गर्दै उनकै संस्थाका कार्यक्रम व्यवस्थापक गणेश सुवेदीले हिमाल सँग यसको रहस्य खोल्दै भनेका छन्, "सम्मानित व्यक्तित्वहरूबाट स्वेच्छिक सहयोग लिन्छौँ । अहिलेसम्म ५ हजारदेखि ५० हजार रुपैयाँसम्म लिने गरिएको छ ।"

२२ भदौमा कार्कीले रसियन कल्चर सेन्टरको प्राङ्गणमा आफूले सम्मानित व्यक्तिहरूबाट पैसा लिएको भन्ने कुरालाई 'विरोधीहरूले पिजाएको भ्रम' भनेका थिए । तर सोही दिन आयोजित कार्यक्रममा सम्मानित सरकारका उच्चपदस्थ कर्मचारीहरूसँग कार्कीले रु.१० हजारदेखि २५ हजार 'स्वेच्छिक सहयोग' लिएको उनकै कार्यक्रम व्यवस्थापक गणेश सुवेदीले स्वीकारेका छन् ।

सुवेदीका अनुसार सो दिन रसियन कल्चरमा नेपाल युवा समाजद्वारा सम्मानित तातोपानी भन्सारका प्रमुख सन्तोष श्रेष्ठबाट रु.२५ हजार, आन्तरिक राजस्व विभागका दीप बस्न्यातबाट रु.१५ हजार र यातायात व्यवस्था विभागका महानिर्देशक खगेन्द्रमणि पोखरेल, काठमाडौँका स्थानीय विकास अधिकारी महेन्द्रलाल श्रेष्ठ तथा गृहमन्त्रालयका उपसचिव गणेश र्राईबाट रु.१०-१० हजार 'स्वेच्छिक सहयोग' मागिएको थियो । सुवेदी भन्छन्, "एउटा सम्मान कार्यक्रम उतार्न ५० देखि ६० हजार रुपैयाँ लाग्छ । त्यसैले उहाँहरूसँग स्वेच्छिक सहयोग लिइएको हो ।" 'सम्मानित' हरूलाई खादा ओढाएर प्रशंसापत्र दिने काम भूमिसुधार तथा व्यवस्था मन्त्री जगतबहादुर बोगटीले गरेका थिए ।

सीताराम कार्की

हालसम्म तीन सयभन्दा बढीलाई सम्मान गरेको बताउने नागरिक मञ्चका अध्यक्ष जीपी ढुङ्गेल प्रायः 'समाजसेवी' हरूलाई सम्मान गर्छन् । उनले प्रतिव्यक्ति रु.१० हजारदेखि १ लाख लिएर यस्तो काम गर्ने गरेको उनका सहयोगीहरू बताउँछन्  । रिम्पोछेसँग ऋण भनेर लिएको पैसा फिर्ता नगरेको एउटा उदाहरण मात्रै हो । तर बाहिर चाहिँ ढुङ्गेल पनि आफूले सम्मानित हुने व्यक्तिबाट पैसा नलिएको दाबी गर्छन् । उनी भन्छन्, "दर्ुइ सयभन्दा बढी उद्योगी, व्यापारी त मेरै साथी छन् । उनीहरूसँग सहयोग लिएर सम्मान गर्दै आएको छु ।"

अरूलाई सम्मान गर्दै हिँड्ने ढङ्गेलको आफ्नै जीवन भने कति सम्मानित होला - कुनैबेला एभरेष्ट फाउण्डेशन नेपालका सचिव रहेका ढङ्गेल सम्मानित व्यक्तित्वहरूबाट उठाएको पैसाको हिसाब नदिएर त्यस संस्थाबाट निकालिएका व्यक्ति हुन् । एभरेष्ट फाउण्डेशनका अध्यक्ष एनबी सुब्बा साम्सुहाङ भन्छन्, "जीपीले सम्मानित व्यक्तिहरूबाट १० हजारदेखि ५० हजार रुपैयाँ लिएको, तर त्यसको हिसाब नदिएकोले उनलाई निकाल्यौँ ।" ढङ्गेल चाहिँ एभरेष्ट फाउण्डेशनमा आफ्नो कार्यकाल पूरा भएपछि त्यो संस्था छाडेर नागरिक मञ्च खोलेको बताउँछन् । उनी भन्छन्, "राज्यले सम्मान गर्नुपर्ने व्यक्तिहरूलाई मैले निजी प्रयासबाट सम्मान गरेको छु । नानाथरी आरोपको मलाई मतलब छैन ।"

जीपी ढुङ्गेल

एभरेष्ट फाउण्डेशनका अध्यक्ष एनबी सुब्बा साम्सुहाङ स्वयं पनि यस क्षेत्रमा चोखो छैनन् । सम्मानित व्यक्तिहरूबाट स्वेच्छिक सहयोग लिने गरेको सहजै स्वीकार्दै उनी भन्छन्, "म सम्मानित व्यक्तिहरूबाट लिएको पैसा जीपी ढुङ्गेलले जस्तो व्यक्तिगत कमाइ बनाउँदिन, त्यसबाट गोलढुङ्गामा एभरेष्ट बाल आश्रम चलाउँछु ।" कुनैबेला प्रत्येक महिना एउटा सम्मान कार्यक्रम आयोजना गर्ने एनबी आजभोलि वर्षा एकपटक मात्रै कार्यक्रम गर्न थालेका छन् । किन होला - सय भन्दा बढीलाई सम्मान गरिसकेको दाबी गर्ने उनले साथीहरूको गद्दारीले गर्दा पछिल्लो समय तय भएका कार्यक्रमहरू पनि स्थगित गर्नु परेको बताए । तर कसले के 'गद्दारी' गर्‍यो भन्ने चाहिँ खुलाउन चाहेनन् ।

जागृति समाज नेपालले हालसम्म ५० जनालाई सम्मान गरिसकेको छ, जसमा इन्जिनियर, आईएनजीओ-एनजीओ सञ्चालक धेरै छन् । दर्ुइदेखि तीन महिनाको अन्तरमा सम्मान कार्यक्रम गर्दै आएको जागृति समाजका अध्यक्ष केशव दाहाल पनि सम्मानित व्यक्तिहरूबाट पैसा लिने कुरालाई लुकाउँदैनन् । उनी भन्छन्, "हाम्रो सम्मानले कसैले खुशी भएर दर्ुइ-चार हजार दिन्छ भने हामी लिन्छौँ । तर, अरूले जस्तो बहाना बनाएर पैसा माग्दैनौँ ।"

राष्ट्रिय सांस्कृतिक मञ्च नेपालका अध्यक्ष सरोज ओली महिनामा एकपटक सम्मान कार्यक्रम गर्दछन् । उनको संस्थाले धेरैजसो वैदेशिक रोजगार व्यवसायीलाई सम्मान गर्ने गरेको छ । आफूले मात्रै नभ्याएर श्रीमतीको नाममा 'राष्ट्रिय सरोकार अभियान' भन्ने अर्को संस्था समेत खोलेका ओलीले सम्मान कार्यक्रमका लागि राष्ट्रिय सभागृहको हल अग्रिम बुक गरेका छन्  । 'जिरेखर्ुसानी', 'हिजो आजका कुरा' लगायतका टेलिसिरियल र एक दर्जन जति नाटकमा खेलेका सरोजले अहिलेसम्म १५ वटा सम्मान कार्यक्रमको आयोजना गरिसके । पुतलीसडकस्थित उनको कार्यालयमा पटक-पटक प्रयास गर्दा पनि उनी सर्म्पर्कमा आउन चाहेनन् ।

'ठूलो विकृति'

संस्कृतिविद् सत्यमोहन जोशीको विचारमा सेवा र योगदानको मूल्याङ्कन नै नगरी हचुवाको भरमा गरिने यस्ता सम्मानले समाजमा ठूलो विकृति निम्त्याउँदछ  । सम्मान मान्छेलाई होइन, उसले गरेको कामलाई गर्ने हो भन्दै जोशी भन्छन्, "व्यक्तिगत स्वार्थपर्ूर्तिका लागि गरिएको सम्मान क्षणिक हुन्छ  । पैसा लिएर-दिएर गरिने सम्मानलाई समाजले मान्यता दिँदैन । सम्मानले कालोलाई सेतो बनाउन सक्दैन । तर समाजले कालो र सेतोलाई राम्रोसँग छुट्याउँछ  ।"

अझै आर्श्चर्यको कुरा त के छ भने, यस्ता संस्थाहरूले आयोजना गर्ने सम्मान कार्यक्रममा कुनै सङ्कोच नमानी दलका प्रमुख नेता, मन्त्री र समाजले मानेका व्यक्तिहरू नै प्रमुख अतिथि र अतिथि बन्न पुगिदिन्छन्  । एकजना कार्यक्रम आयोजक हाकाहाकी भन्छन्, "नेताहरूलाई पनि त आफ्नो कुरा राख्ने मञ्चको खाँचो हुन्छ, नआउने कुरै भएन ।"

यी प्रसङ्गहरूले एकैचोटि धेरै कुरा भनेका छन्- राजधानीमा सम्मानका नाममा ठगी मौलाएको छ । र्सार्वजनिक पहिचान, सामाजिक सम्मान र प्रतिष्ठा नभएका व्यक्ति र संस्थाबाट गरिने सस्तो सम्मान पाउन पैसा तिरी-तिरी मरिहत्ते गर्नेहरू पनि थुप्रै छन् । अझ महत्त्वपर्ूण्ा पक्ष त यस्ता कार्यक्रममा प्रमुख दलका प्रमुख नेताहरू नै सजिलैसँग अतिथि र प्रमुख अतिथि भइदिन्छन् ।