खेलकुद
महिला फुटबलरको खोजी गाउँमा
बाँकेको
रझेनास्थित एनसीसीएन मैदानमा करिब १५० किशोरी फूटबलसँग खेलिरहेका भेटिन्छन्
। विद्यालय समयपछि आसपासका गाउँगाउँबाट किशोरीहरू यहाँ भेला भएर खेल्छन्
र र्फकन्छन् । प्रतिभाशाली महिला खेलाडीको कमी भएपछि गाउँगाउँबाट 'महिला
फुटबलर' खोज्न अखिल नेपाल फूटबल संघ -एन्फा) को अभियान अनुसार गाउँमै
खुल्ला प्रशिक्षण शुरु भएपछि फूटबलमा 'करिअर' बनाउन यी किशोरीहरू हौसिएका
छन् । तीन वर्षघि बाँकेमा यसरी नै महिला क्रिकेटर खोजी गर्न क्रिकेट
संघले प्रशिक्षण शुरु गरेको थियो । सोही प्रशिक्षणबाट छनौट गरिएका
कप्तानसहित बाँकेका सात खेलाडी सम्मिलित नेपाली महिला क्रिकेट टिम
मलेसियामा सम्पन्न एसीसी महिला क्रिकेटमा उपविजेता समेत बन्न सफल भयो
।
'क्रिकेटले राम्रो सम्भावना देखायो, हामी महिला फूटबलमा
पनि त्यस्तै नतिजा हात पार्न चाहन्छौँ' एन्फाका बाँके महासचिव भोजराज
शाही भन्छन् "प्रतिभाहरू गाउँमै ेहुन्छन्, उनीहरूको खोजी गर्न
गाउँमै प्रशिक्षण शुरु गरिएको हो ।"
महिला फुटबलर खोज्न एन्फाले आफ्ना प्रशिक्षकहरूलाई गाउँमै
खटाएको छ । १५ दिनसम्म चल्ने प्रशिक्षणका लागि रझेनामा रवीन्द्र श्रेष्ठ
र सानु तामाङ खटेका छन् । एन्फाका अनुसार केही दिनभित्रै शुरु हुने
प्रशिक्षणका लागि खजुरा र नेपालगन्जमा प्रशिक्षकहरू क्रमशः अर्जुन
थापा, श्याम श्रेष्ठ र वासु भट्टर्राईलाई खटाइनेछ । तीनै ठाउँको प्रशिक्षणपछि
जिल्लास्तरीय महिला फूटबल प्रतियोगिता गराउने र त्यसैबाट राष्ट्रिय
प्रतियोगितामा बाँके जिल्लाबाट प्रतिनिधित्व गर्ने टोली छनौट गरिने
भएको छ । महासचिव शाही भन्छन्, "यो टोली राष्ट्रिय टिममा प्रतिनिधित्व
गर्ने टोली होस् भन्ने हाम्रो चाहना हो, त्यही लक्ष्यसाथ मेहनत गर्दैछौँ
।"
गाउँमै यस्तो अवसर आएपछि फूटबलमा करिअर बनाउन चाहने
किशोरीहरू उत्साहित छन् । प्रशिक्षणस्थलमा देखिएका सयौँ किशोरीको भीड
त्यसैको प्रमाण हो । "खेल्ने मन भएपनि वातावरण हुँदैनथ्यो, अहिले
हामी निकै उत्साहित छौँ" रझेनाको प्रशिक्षणमा नियमित सहभागी लक्ष्मी
माविकी उषा रिजाल खुशी व्यक्त गर्छिन् ।
क्षमता भएर पनि अवसर नपाउँदा गाउँका खेल प्रतिभाहरू
ओझेेलमा परेका बेला प्रतिभाको खोजीमा खेलसम्बद्धहरू गाउँगाउँ पुग्नुलाई
सुखद् खबर मान्न सकिन्छ ।
रामेश्वर बोहरा, नेपालगञ्जमा
|