हिमाल खबरपत्रिका  
पूर्णाङ्क २०३ होमपेज  | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

चिठी

पर्वाग्रह होइन, सद्भाव

'विदेशीको बढ्दो अभिरुचि' (हिमाल १६-३१ भदौ) मा 'इण्डियन आइडल बन्न मरिमेटेर लागेका प्रशान्त तामाङ त सजिलै अटाउँछन् तर त्यसै कार्यक्रमको निर्णायक मण्डलीका सदस्य रहेका उदितनारायण झाको परिचयमा भने बरोबर प्रश्न उठाउने गरिन्छ' भनेर लेखिएको अंश पढ्दा मेरो मनमा उब्जिएका सवालहरू राख्न चाहन्छु ।

२०३३ सालताका तत्कालीन भारतीय प्रधानमन्त्री मोरारजी देशाई नेपालको भ्रमणमा आएका थिए । उनको नागरिक अभिनन्दन समारोह काठमाडौँको खुलामञ्चमा भएको थियो । उनको स्वागतार्थ समूहगान गाउनेमा उदितनारायण झा पनि थिए । उनको स्वरले मोरारजी देशाई प्रभावित भएका थिए भन्ने सुन्दा हामीहरू औधी खुसी भएका थियौँ । त्यसपछि उदितनारायण भारतीय आकासमा उदाए  । उनको उदयले नेपाली सङ्गीतको आकाश पनि चहकिलो भयो ।

भारतीय सङ्गीत क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने साधकलाई दिइने उत्कृष्ट पुरस्कारका लागि उदित छनौटमा परेको सुन्दा ममात्र होइन सिङ्गो नेपाल र नेपाली समाज खुशी भएको थियो । तर त्यो खुशी क्षणभरमै माटोमा बिलायो जब उदितले आफू भारतीय नागरिक भएको उद्घोष गरेको र्सार्वजनिक भयो ।

नेपाली हुनुको प्रमाण नेपाली नागरिकता मात्र होइन रहेछ, मन पनि नेपालीपनले ओतप्रोत भए राज्यको सिमाना, जातीयता, वर्गीय, भूगोल र राजनीति पनि सीमा भत्काएर एकाकार हँुदोरहेछ भन्ने कुरा प्रशान्त तामाङको 'इण्डियन आइडल' को प्रतिस्पर्धामा नेपालीहरूको एकाकारले देखाएको छ ।

देवेन्द्र तिवारी
सिलगढी, डोटी


पत्याउनै गाह्रो भो

एउटै कोठामा दर्ुइ वटा कक्षा -हिमाल १६-३१ भदौ) रिपोर्टमा राजधानीको मुटु न्यूरोडको छेवैमा रहेको विद्यालयको दर्ुदशा पढ्दा काठमाडौैँका अन्य सुविधासम्पन्न निजी विद्यालयको याद आयो । राजधानी जस्तो ठाउँको विद्यालयको त यो हालत छ भने बाहिरका स्थिति कस्तो होला - अनि एउटै अवसरका लागि सुविधासम्पन्न निजी विद्यालय र विपन्न सामुदायिक विद्यालयमा पढेको विद्यार्थीबीच प्रतिस्पर्धा गराउँदा कस्तो परिणाम आउला ! सरकारले यस्ता विद्यालयलाई आजैदेखि गम्भीरतासाथ नलिए शिक्षा मन्त्री प्रदीप नेपालको 'एक विद्यार्थी, एक ल्यापटप' अभियानले पनि हावा नखाला भन्न सकिन्न ।

रामहरि बञ्जारा (शिक्षक)
गोरखा, हालः काठमाडौँ


'खाँचो कडा कानूनको

म्यानपावर कम्पनीहरूको झूठो प्रलोभनले गर्दा नेपालीले विदेशमा गएर कठोर परिश्रम गर्दा पनि उचित पारिश्रमिक पाउन सकेका छैनन्  । समय-समयमा हिमाल ले यसबारे आवाज उठाउँदै आएको छ तर कुनै सुनुवाई भएको छैन । सरकारले कडा कानून बनाई कार्यान्वयन नगर्दासम्म नेपालीहरू ठगिने क्रम रोकिनेवाला छैन ।

सुब्रत स्वार, सुयश स्वार
पो.व.नं. ५०३, काठमाडौँ


मधेशको अवस्था

१६-३१ भदौ अङ्कमा जेबी पुन मगरको मधेश सम्बन्धी स्थलगत रिपोर्टले मधेशको अवस्थालाई एकहदसम्म सबैसामु राखेको छ । वास्तवमा मधेश अहिले कसको नेतृत्वमा सञ्चालित छ भन्ने बारेमा सबै अन्योलमा छन्  । यो अवस्था आउनुमा मधेश आन्दोलन हाँक्ने व्यक्ति तथा पार्टर्ीीको अदूरदर्शिता र राज्यको भूमिका नै रहेको छ । साथै मधेशको भोट पाएर सत्तासीन हुने र त्यसपछि मधेशलाई नेपालको भू-भाग नै हैन झैँ व्यवहार गर्ने राजनेताहरूको अकर्मन्यताको परिणाम पनि हो ।

दीपक श्रेष्ठ
धनगढी-५, सिरहा


कर्तव्यको पालना

'किन नहुने मानव कर्तव्य संघ' (ऋतुविचार, १-१५ भदौ) ज्यादै मनासिब हुनुको साथै सान्दर्भिक पनि छ । मुलुकमा विभिन्न संघसंस्था खुलिरहेकै छन्, धेरै आन्दोलन पनि भइरहेकै छ, अधिकारकै लागि । सबैलाई आफ्ना अधिकारका बारेमा पूरै थाहा छ । तर अधिकारकै कुरा गर्दा सँगै जोडिएर आउने कर्तव्यको बारेमा भने कसैले वास्ता गरेका छैनन् ।

अधिकारका नाममा गरिने बन्द, तोडफोडले र्सवसाधारण मारमा परेका छन् । अधिकार खोज्नु अगाडि आफ्नो कर्तव्यलाई पूरा गर्न लागे सबैलाई फाइदा हुने निश्चित छ । अब सबैलाई कर्तव्यको बारेमा चेतना फैलाउनै पर्छ । ताकि अधिकारसँगै कर्तव्य पनि पालना गरुन् ।

अर्जुन दाहाल 'अपवाद'
मिर्गे-५ दोलखा


आँसुको उपेक्षा

सुरक्षा र शान्ति या जनयुद्ध र क्रान्ति, दुवै नाममा चले-चलाएको नरसंहारमा संलग्न व्यक्तिहरूलाई क्षमा दिनका लागि कानून बनाउने तयारी हुनु -आँसुको उपेक्षा, १-१५ भदौ) सुन्नै नसकिने कुरा हो । कालीकोटको कोटबाडा, बाजुराको पाण्डुसेन, रामेछापको दोरम्बा, चितवनको माडीजस्ता ठाउँहरूमा भएका कहालिलाग्दा हत्या हिंसाका जिम्मेवारलाई क्षमा दिनका लागि भनेरै लोकतन्त्र आएको पनि होइन । मानवहत्याका अपराधीहरूलाई कुनै पनि वहानामा क्षमा दिइयो भने, सामान्य जनताले लोकतन्त्रको अर्थ गलत लगाउन सक्छन् । फलतः जुनसुकै अपराध गरे पनि क्षमा पाउने भएपछि, समाजमा आपराधिक क्रियाकलापको जगजगी भइरहन्छ ।

एउटै कुरा के हो भने, कुनै पनि बठ्याइँ, बहाना र बहसलाई आधार बनाई दण्डहीनता बढाएर जनताका आँसुको उपेक्षा गर्न पाइँदैन ।

इन्द्रकुमार श्रेष्ठ
कमलाकुञ्ज, ओखलढुङ्गा


सुगाले राम भनेजस्तो  !

'मङ्सिरमा संविधानसभाको चुनाव हुन सक्दैन' भन्ने पढैया र राजनीतिक विश्लेषकहरूलाई 'उकालो लाग्दा' -१-१५ भदौ) मार्फ् दिइएको जवाफ -दर्ुइ वटा बाकसमा दुइटा भोट- एउटा उम्मेदवारलाई एउटा दललाई । यति पनि मतदाताले गर्न सक्दैनन् र !) निश्चय नै चित्तबुझदो छ । तर यथार्थ के हो भने, कार्यकर्ताहरूले त्यति कुरा मतदाताहरूलाई बुझाउन सकेपनि संविधानसभाको मर्मचाहिँ जनताहरूले बुझेका हुँदैनन् । यसरी कुरो नबुझकिन मत दिनु भनेको त सुगाले राम भनेजस्तो भएन र !

कमला राजभण्डारी
ऐंसेलरुखर्क-३, खोटाङ