तन्नेरी
पौरखी आवाजविहीन
वनमन्त्रीले तराईमा सामुदायिक वन हस्तान्तरण
रोक्ने र उपभोक्ताले विरोधमा देश ठप्प पारिदिने घोषणा गरेका छन्, तर
समस्याको चुरोर निराकरणका उपायमा कसैको ध्यान पुगेको छैन।
 |
| रश्मि अमात्य, ठूलोभाइ तिमिल्सिना, सुनिल आलेमगर,
बीरबहादुर बोगटी, रमेशलाल श्रेष्ठ, उपेन्द्र खनाल, कुलप्रसाद भट्टराई,
विकास घिमिरे र सुशील कर्माचार्य। |
उनीहरू कोही पनि
बोल्न र सुन्न सक्दैनन्। तर उनीहरूको पौरखले जो–कोहीलाई पनि आश्चर्यचकित
तुल्याउँछ। कुनै बेला समाज र आफ्नै घर–परिवारबाटै हेपिएका तिनै बहिराहरू
अहिले समाजमा सम्मानित जीवन बाँचिरहेका छन्। रश्मि अमात्य, ठूलोभाइ
तिमिल्सिना, सुनिल आलेमगर, बीरबहादुर बोगटी, रमेशलाल श्रेष्ठ, उपेन्द्र
खनाल, कुलप्रसाद भट्टराई, विकास घिमिरे र सुशील कर्माचार्य सवलाङ्गहरूका
लागि पनि उदाहरणीय लाग्छन्। कला, खेलकुद, पत्रकारिता, शिक्षा र प्रविधिको
क्षेत्रमा उनीहरूले गरेको अपत्यारिलो प्रगतिले के पनि पुष्टि गर्छ
भने अवसर पाउने हो भने बहिराहरू पनि कोहीभन्दा कम हुने छैनन्।
कुपण्डोल–१ ललितपुरकी रश्मि अमात्य (२४) स्थापित चित्रकार
हुन्। सयभन्दा बढी साहित्यिक पुस्तकहरूमा समेत उनले आफ्नो कला पोखेकी
छन्। उनका चित्रहरू ब्याङ्गलोर, सिक्किम, दार्जीलिङलगायत विदेशी भूमिमा
समेत प्रदर्शन भइसकेका छन्।
प्रकृतिमा आधारित भएर समाजमा देखिएका विकृति विसङ्गतिलाई
चित्रमा उतार्न सिपालु रश्मिका 'पेन्टिङ्ग'हरू केही समययतादेखि बिक्रीका
लागि अमेरिका समेत पुग्न थालेका छन्। अपाङ्गता भएकाहरूका संघसंस्थाले
अमेरिकामा आयोजना गर्न लागेको चित्रकला प्रदर्शनीमा भाग लिन जाने तयारीमा
छिन् अहिले उनी। विश्वभरिका अपाङ्ग कलाकारहरूले तयार पारेका पेन्टिङ्ग
प्रदर्शन गरिने उक्त प्रदर्शनीमा नेपालको प्रतिनिधित्व रश्मिले गर्ने
भएकी हुन्। के छ उनको भावी योजना? जन्मजात कान नसुन्ने उनले साङ्केतिक
भाषामा भनिन्, “अहिले विवाहका बारेमा सोचेकी छैन। बाँचुन्जेल चित्रकलाका
माध्यमबाट अपाङ्गहरूका पक्षमा वकालत गर्छु। किनकि बोल्न र सुन्न नसक्नेहरूको
पक्षमा धेरै काम गर्न बाँकी नै छ।”
सुनिल आलेमगर (२२) बोल्न र सुन्न सक्दैनन् तर पत्रकारिता
गर्छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। चिदिका–३ अर्घाखाँचीका आलेमगर
नेपाल टेलिभिजनको साङ्केतिक भाषा समाचार शाखाका सम्पादक हुन्। महेन्द्ररत्न
बहुमुखी क्याम्पस ताहाचलमा आई.एड. दोस्रो वर्षमा अध्ययनरत् उनी पत्रकारितामै
आफ्नो 'करिअर' बनाउने धुनमा छन्। सुनिल भन्छन्, “आवाजहीनहरूको आवाजलाई
बाहिर ल्याउन पत्रकारितामा लागेको हुँ।” भाइ र बहिनीको पढाइ खर्च जुटाउने
जिम्मा पनि उनकै काँधमा छ। केही गर्ने अठोटका साथ २०५६ सालमा काठमाडौँ
आएका आलेमगरले आफूजस्तै बहिराहरूको विकासको लागि सहयोग पुगोस् भनेरै
पत्रकारिता थालेका हुन्। उनी कहिलेकाहीँ पत्रपत्रिकाहरूमा अपाङ्गहरूको
हक अधिकारका विषयमा लेखहरू पनि लेख्ने गर्छन्।
बोल्न र सुन्न नसके पनि नेपाली रङ्गमञ्चमा छुट्टै पहिचान
बनाएका छन् बीरबहादुर बोगटी (३१) ले। एक दर्जन नाटकहरूमा कुशल अभिनय
प्रस्तुत गरिसकेका बोगटीद्वारा अभिनीत साङ्केतिक भाषाको नाटक 'मान्छे–मान्छेहरू'
नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय नाटक महोत्सव
२०५८ मा सर्वोत्कृष्ट नाटक घोषित भएको थियो। बोगटी भन्छन्, “बहिराहरूप्रतिको
सामाजिक दृष्टिकोणमा परिवर्तन ल्याउन नाटक खेलेको हुँ।” रङ्गमञ्चसम्बन्धी
सामान्य तालिम लिएका उनी नाटकका कुशल 'कोरियोग्राफर' पनि हुन्। साङ्केतिक
भाषाको नाटकमार्फत् समाजमा जनचेतना जगाउँदै आएका छन् उनले।
 |
| बेकरी क्याफे, जावलाखेल । |
काभ्रेका रमेशलाल श्रेष्ठ (३१) र ठूलोभाइ तिमिल्सिना
(२५) चाहिँ साङ्केतिक भाषाका शिक्षक हुन्। आई.कम. पढ्दापढ्दै श्रेष्ठले
२०५१ सालबाट बहिरा बालकको स्कूल नक्सालमा नेपाली विषय पढाउन थालेका
हुन् भने ठूलोभाइ चाहिँ दोलखामा साङ्केतिक भाषा प्रशिक्षकका रूपमा
कार्यरत छन्। नेपालमा साङ्केतिक भाषालाई देशव्यापी बनाउने अठोटका साथ
ठूलोभाइले यसअघि सिन्धुली, जुम्ला र दाङमा पनि साङ्केतिक भाषाको प्रशिक्षण
दिइसकेका छन्। दुवैको उस्तै भनाइ छ, “शिक्षा पाए भने बहिराहरू पनि
सुन्ने सरह नै आत्मनिर्भर बन्न सक्छन्।”
विकास घिमिरे (२७) कम्प्युटर प्राविधिक हुन्। बी.एड.
अध्ययनरत लम्जुङका विकास अहिले काठमाडौं महानगरपालिकामा कम्प्युटर
अपरेटरका रूपमा कार्यरत छन्। यसअघि उनले युगसंवाद, खुलामञ्च, खबरकागज,
देशान्तर र कान्तिपुर पत्रिकामा काम गरिसकेका थिए– कम्प्युटर अपरेटरकै
रूपमा। विकास राम्रा कम्प्युटर डिजाइनर पनि हुन्। उनी भन्छन्, “कार्यालयका
कामहरूमा बहिराहरूलाई हेप्ने प्रवृत्ति छ। चाकडी गर्न बहिराहरू जान्दैनन्,
उनीहरूलाई कामसँग मात्रै मतलब हुन्छ। त्यसैले पनि हुनसक्छ अफिसहरूमा
कार्यरत बहिराहरूको पदोन्नति हुँदैन। बाठाहरूको मात्रै हुन्छ।”
कुलप्रसाद भट्टराई (२६) चाहिँ बहिरा क्रिकेट खेलाडीहरू
तयार पार्दैछन्। बहिरा क्रिकेट खेलाडीको विकास र सम्बर्द्धनमा लागेका
भट्टराई युवा बहिरा क्रिकेट संघका महासचिव समेत हुन्। १५ जना बहिरा
खेलाडीहरू रहेको बहिरा क्रिकेट संघले विश्व बहिरा क्रिकेट महासंघले
दुई वर्षअघि भारतको लखनउमा आयोजना गरेको मैत्रीपूर्ण क्रिकेट खेलमा
सहभागिता जनाइसकेको छ। त्यस्तै बाङ्लादेश, पाकिस्तान र श्रीलङ्कामा
पनि क्रिकेट प्रदर्शन गरिसकेका छन् उनीहरूले। उनीहरू प्रत्येक शनिबार
टुँडिखेलमा क्रिकेट अभ्यास गर्छन्। महासचिव भट्टराई भन्छन्, “नेपालमा
अन्तर्राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता गराउने योजना छ हाम्रो।
यसका लागि तयारीमा जुटिरहेका छौँ।”
नेपालमा आफूजस्तै बहिरा युवाहरूलाई आत्मनिर्भर बनाउने
अभियानमा लागेका छन् उपेन्द्र खनाल (२८) र सुशील कर्माचार्य (२७)।
नेपाल राष्ट्रिय बहिरा तथा सुस्त श्रवण महासंघका केन्द्रीय परियोजना
प्रवन्धक उपेन्द्र र क्रियटिभ ह्याण्ड काठमाडौँका निर्देशक सुशीलले
बहिरा युवाहरूलाई लक्षित गरेर सीपमूलक तालिमको आयोजना गर्दै आएका छन्।
बी.एड. प्रथम वर्षमा अध्ययनरत् उपेन्द्र भन्छन्, “महासंघबाट बहिरा
युवालाई कम्प्युटर टाइप, वेटर, नेतृत्व विकास, सिलाइकटाइ, साङ्केतिक
भाषा आदिको तालिम दिँदै आएका छौँ। तालिमपछि सबैले रोजगार पाएका छन्।”
सुशीलले चाहिँ क्रियटिभ ह्याण्डबाट बहिरा युवाहरूलाई फोटोग्राफी, स्त्रि्कन
प्रिन्ट, भिडियो सम्पादन, ह्यान्डिक्राफ्ट, फाइन आर्ट आदिको तालिम
दिइरहेका छन्। सुशील भन्छन्, “सीपले नै मानिसलाई आत्मनिर्भर बनाउँछ
त्यसैले बहिराहरूलाई सीपमूलक तालिम दिँदै आएको हुँ।”
साङ्केतिक भाषासँगै सीपमूलक तालिम लिएका बहिरा युवाहरू
कुनै न कुनै काम गरेर जीविका मात्रै चलाइरहेका छैनन्, घरपरिवारलाई
आर्थिक सहयोग पनि गरिरहेका छन्। जावलाखेल बेकरी क्याफेमा कार्यरत नवलपरासीकी
पार्वती श्रेष्ठ भन्छिन्, “मासिक ४ हजार तलब पाउँछु। भाइबहिनीलाई पढ्न
र घर खर्चका लागि महिनाको दुई हजार घर पठाउँदैछु।” नेपाल राष्ट्रिय
बहिरा तथा सुस्त श्रवण महासंघ, काठमाडौँका अनुसार काठमाडौँमा मात्रै
दुई सय भन्दा बढी युवाहरू रेष्टुरेन्ट, निजी कार्यालय, फर्निचर उद्योग
तथा निजी बोर्डिङ्ग स्कूलहरूमा कार्यरत छन्। महासंघका केन्द्रीय अध्यक्ष
विकास डङ्गोल भन्छन्, “काठमाडौँमा बेरोजगार बहिरा युवाहरू भेट्न गाह्रै
पर्छ।” काठमाडौँका बेकरी क्याफेहरूमा मात्रै ३५ जना बहिरा युवाहरू
वेटरका रूपमा कार्यरत छन्। ८ जना यस्तै युवा कार्यरत जावलाखेल बेकरी
क्याफेका काजिमान तामाङ्ग ग्राहकहरूका लागि बहिरा वेटरहरू अनौठो आकर्षण
बन्ने गरेको बताउँछन्।
बहिराहरू सबै क्षेत्रमा सक्रिय हुँदै गएका छन्। सितेरियो
कराँते डोका राम्रा खेलाडी तथा प्रशिक्षक ध्रुवमान मास्के बहिरा भएपनि
एकदशक अगाडि नै उनले ब्ल्याकबेल्ट प्राप्त गरिसकेका छन्। सन् २००२
मा ताईवानमा आयोजित एशिया प्रशान्त क्षेत्रीय बहिरा फूटबल खेलमा नेपालबाट
बहिराहरूले सहभागिता जनाइसकेका छन्। प्रतिज्ञ शाक्यले बहिरा शब्दकोशमा
हजारौं चित्रहरू बनाएका छन्। उनी कार्टुनिष्ट पनि हुन्।
शिक्षाका क्षेत्रमा पनि बहिराहरूलेे पछिल्लो समयमा रामै्र
फड्को मारेका छन्। अमेरिकाको ग्लाउटेड युनिभर्सिटी, वासिङ्गटनबाट एमबीएस
गरेका जगदीश दवाडी, स्वीडेन र डेनमार्कमा समेत 'बहिरा युवा इन्टर एक्सचेन्ज
कार्यक्रम' सञ्चालन गरिसकेकी बी.ए. तेस्रो वर्षमा अध्ययनरत् दीपावली
शर्मा, भरतपुर मेडिकल कलेजमा एकाउन्टेन्टका रूपमा कार्यरत एम.बी.ए.
उत्तीर्ण प्रशंसा लम्साल यसका उदाहरण हुन्। त्यस्तै, अध्ययनका लागि
१० जना बहिरा युवा अमेरिका गएको नेपाल बहिरा तथा सुस्त श्रवण महासंघले
जनाएको छ। बहिराहरूकै कार्यक्रमका सिलसिलामा अमेरिका, अष्टे्रलिया,
थाइल्यान्ड पुगिसकेका महासंघका पूर्व अध्यक्ष राघवीर जोशी भन्छन्,
“विदेशमा बहिराहरूलाई समान अवसर हुन्छ तर हामीकहाँ भने अझै छि, छि
र दूरदूर गरिन्छ।”
|