हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
ऋतुराज

ऋतुविचार

राजा चाहिन्छ

ठीकै हो राजा त चाहिन्छ। बालक, वृद्ध, बहिरो, कानो, खोरन्डो, सनकी, पागल जस्तो भए पनि राजा त नभई हुँदैन। ठूलाबडाले त्यसै भनेका होइनन् राजा चाहिन्छ भनेर।

वास्तवमा हेर्ने हो भने चराचर पशुजगत् सबैमा राजा छन्। हात्तीहरूका राजा गजराज। पन्छीहरूका राजा पन्छीराज। सर्पहरूमा राजा नागराज। जङ्गली पशुहरूका राजा सिंहराज। माछाहरूका राजा मत्स्यराज। भ्यागुताहरूको समेत राजा हुन्छ― मण्डुकराज। कमिलाहरूको पनि राजा हुनैपर्छ। हामीलाई थाहा नभएको मात्र हो। नत्र त्यत्रो कमिलाको संसार चल्ने कुरै आउँदैन। गँड्यौलाहरूको पनि राजा अवश्य हुँदो हो।

यसरी सारा चराचर प्राणीजगत्मा राजा हुन्छ र राजा नभई काम चल्दैन भने मानव संसारमा त राजा हुनु झनै अनिवार्य छ, अपरिहार्य छ।

फेरि नेपालको त इतिहास नै राजाबाट शुरु हुन्छ― राजा यलम्बरबाट। नेपालमा अनेक प्रतापी राजाहरू हुँदा भए― गोपालवंशी, महिषपालवंशी, लिच्छविवंशी, सेनवंशी, मल्लवंशी, शाहवंशी। राजाहरू नै नेपालका इतिहास हुन्। अतीत, वर्तमान, भविष्य सबै राजा नै हुन्।

राजा भनेको माली हुन् यस नेपाल नामको फूलबारीको। फूलबारीमा फूलको सट्टा काँडा र सिउँडी तथा गन्धेझार मौलाएका छन् त्यो अर्को कुरा हो। तर देश भनेको फूलबारी नै हो र राजा भनेको माली नै हुन्। त्यसैले जसरी फूलबारीका लागि माली चाहिन्छ, त्यसरी नै देशका लागि पनि राजा नभई हुँदैन। चाहिन्छ, चाहिन्छ!!

राजा नभए प्यारा प्रजा गैह्रके भनी सन्देश कसले दिने? राजा नभए एक्काइस तोपको सलामी कसलाई चढाउने? राजा नभए सात टाउके नागको छहारी भएको सिंहासनमा कसलाई बसाउने? राजा नभए सवारी कसको चलाउने? अभिनन्दन कसको गर्ने? राजा नभए कुमारीको जात्रा कसले शुरु गर्ने? राजा नभए कुमारीसित खड्ग कसले साट्ने? राजा नभए सम्यक् पूजामा कसको गोडा धुने? राजा नभए कसलाई प्रभो र सरकार भन्ने? राजा नभए दशैँमा कसको हातबाट टीका र जमरा थाप्ने? राजा नभए कसलाई दाम राख्ने?
राजा नभए देश भताभुङ्ग हुन्छ, छताछुल्ल हुन्छ, चकनाचुर हुन्छ। निःसन्देह राजा चाहिन्छ। यस अज्ञानीलाई आफ्ना तर्कबाट आफ्नै चित्त बुझ्यो। खालि समस्या उसले एउटा कुरामा देखेको छ :

राजा त सबैका थिए, सबै जातिका थिए। मगर, तमु, नेवार, किराँत, तामाङ, खस, थारू, धिमाल सबैका। मुस्ताङका राजा त अझै छन्। यस्तोमा सबैले राजा आफ्नै खोज्लान्। अनि ठकुरी राजालाई मात्रै सबैका राजा भनी अब कसरी मान्लान्?

असारमा साल तमामी

डम्बरकृष्ण श्रेष्ठ

असार के लाग्यो खेतमा भन्दा चटारो राजधानीका सडकहरूमा छ। कुनै सडक डोजरले जोतिएको छ। कुनैमा ढुङ्गामाटो थुपारिएको छ। कुनै सडकमा ढल हाल्न माझमा खोलिएको छ। कुनै ठाउँमा रोडाको रास लागेको छ। कुनै खण्डमा पिच हाल्न तगारो लागेको छ। कुनै खण्ड रोलरबाट पेलिँदैछ। कुनै खण्डमा अलकत्रा लिपिँदैछ।

जसरी असारमा पानी परेपछि खेतमा रोपाइँ चल्छ, यहाँका सडकहरूमा पनि आफ्नै किसिमको रोपाइँ शुरु हुन्छ। सुक्खा मौसममा सडक र ढल बनाउने विभाग तथा कार्यालयका कर्मचारी सुतिरहन्छन् क्यार, अनि बर्खा लागेपछि अचानक जाग्छन्। बर्खामासमा हतारहतार लगाएको चपाती रोटीजस्तो पातलो कालोपत्र बस र ट्रकको थिचाइमा कति दिन टिकोस्? एकै बर्खामा त्यो पखालिन्छ। हाकिमहरू लाचारी प्रकट गर्छन्। असार मसान्तमा साल तमामी हुन्छ, बजेट सिध्याउनै पर्‍यो भन्छन्।

कसका पालामा शुरु भएको हो कुन्नि यो असार मसान्तमा आर्थिक वर्ष टुङ्गिने परम्परा? यो वैशाख १ गते सुरु भएर चैत मसान्तमा टुङ्गिन पनि सक्दो होला नि! या अन्तर्राष्ट्रिय क्यालेन्डरमा पनि त आधारित हुन सक्दो हो नि! यसै पनि हाम्रो बजेट बाहिरी अनुदानमै निर्भर छ।

साल तमामी असार महिनामा हुनाका कारण नै झरीमा ढल र सडक बनाउनुपर्ने सरकारको विवशता हो भने यसलाई सारेर अर्कै आर्थिक वर्ष पनि बनाउन सकिएला नि!

नेपालै नयाँ बनाउने भएपछि आर्थिक वर्ष पनि नयाँ नबनाउने किन?

घ्यू–कमिला अक्षर

सबै भन्थे 'अब साप्ताहिक अखबारहरूको खैरियत छैन।' यिनीहरूलाई कसैले अब पुछ्नेवाला छैन। २०४६ को राजनीतिक परिवर्तनपछि निजी क्षेत्रमा गोरखापत्र साइजमा दैनिक अखबारहरू निस्कन थालेको बेलाको कुरा हो यो।

नभन्दै कुनैकुनै साप्ताहिकहरू बिलाउन पनि थाले। लाग्थ्यो अब साँच्चि नै आठ पाताका अखबारहरू इतिहासका विषय बन्ने भए। रङ्गीन तस्बिरहरू छापिने ठूला साइजका अखबारहरूका सामुन्ने सादा कालो मसीमा छापिएका ठुटे साइजका अखबारहरूको के गन्ती? त्यसमाथि फेरि 'न्युजविक' र 'इन्डिया टुडे' को ढाँचामा साप्ताहिक म्यागेजिन पनि निस्कन थाले। बबुरा पुराना साप्ताहिकहरूको पत्तासाफ हुने पक्का थियो।

तर अचम्म! त्यस्तो भएन। जानिफकारहरूको सारा भविष्यवाणी र अड्कललाई असत्य साबित गर्दै साप्ताहिक अखबारहरू निस्किरहे। केही आफ्नो कलेबर फेरेर रङ्गीन बनेका छन्, तर अधिकांश अझै उही प्राचीन साजसज्जा र ढाँचा–ढर्रामै भए पनि जमिरहेका छन्। हराउने नाम लिइरहेका छैनन्। पाठक घटेका छैनन्, झन् ती साप्ताहिकहरूले आफ्नो बिक्री मोल पो बढाएका छन्।

उनीहरूले पस्कने समाचार र टिप्पणीहरू पढ्दा ती कहिल्यै हराउलान् जस्तो लाग्दैन पनि। उनीहरू यस्ता समाचार छाप्छन् जो कुनै दैनिक अखबारमा पढ्न पाइँदैन। उनीहरूको प्रस्तुतीकरणलाई कुनै रङ्गीन म्यागेजिनले भेट्टाउँदैन। समाचारको शीर्षक नै यस्तो हुन्छ जसलाई हेरेर पाठक खल्तीबाट पैसा निकाल्न विवश हुन्छ। एउटा साप्ताहिक नपढे त सेना र दरबारिया संसारमा के भइरहेछ त्यसको सुइँको पाइन्न।

एउटा कुराचाहिँ बुझिनसक्नु छ। ती अखबारहरूले घ्यू–कमिलाजस्ता मसिना अक्षरमा 'म्याटर' खाँद्नुपर्ने कारण के होला? त्यसको सट्टा अक्षरको साइज बढाएर ऋतुराजजस्ता आँखा कमजोर भएका पाठकहरूलाई पनि सहजै पढ्न सक्ने बनाउन सकिँदैन?