हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट विदेशमा अलपत्र

हुँदैछ उद्धार

वैदेशिक रोजगारीमा गएर विदेशमा अलपत्र परेका नेपालीहरूलाई देश फर्काउन सरकारले सम्बन्धित व्यवसायीको धरौटीबाट टिकट किन्ने पैसा पठाउन थालेको छतर, समस्या थपिने क्रम पनि जारी नै छ।

डम्बरकृष्ण श्रेष्ठ

काम गर्ने कम्पनीको प्रतिनिधि आएर नलैजाँदा पनि थुप्रै नेपालीहरू अलपत्र पर्छन्। दोहा एयरपोर्टमा नेपाली कामदारहरू।

२०६३ माघ पहिलो साता साउदी अरब पुगेर अलपत्र परेका काभ्रेका ओमनाथ चापागार्इंसहित ६ जना नेपाली कामदारलाई स्वदेश फर्काउने हवाइटिकट किन्न श्रम तथा रोजगार प्रबर्द्धन विभागले ५ असारमा साउदी दूतावासलाई रु.२ लाख ४० हजार पठायो। यसअघि वैशाखमा, एएनएस ओभरसिजबाट मलेसिया गएर अलपत्र परेका १२ नेपालीलाई पनि यसैगरी उद्धार गरिएको थियो।

तीन महिनायता मलेसियाबाट मात्रै एबीसी र एएनएस मेनपावर तथा कान्तिपुर ओभरसिजबाट गएका ५२ जनाको उद्धार भएको छ। विभागका महानिर्देशक केशरबहादुर बानियाँ भन्छन्, “अलपत्र परेकाहरूको उद्धारका लागि विभागले सम्बन्धित मेनपावर कम्पनीले राखेको धरौटीबाट काटिने गरी पैसा पठाउन थालेको हो।” न्यु गोर्खा इण्टरनेशनलले मलेसिया पठाएका दुई जनालाई पनि यसैगरी फर्काइँदैछ।

विभाग स्रोतका अनुसार, हिजोआज श्रम विभागमा विदेशमा अलपत्र परेको र ठगिएको भनेर महिनामा सय जना जतिको उजुरी पर्ने गरेको छ। श्रम विभागकै तथ्याङ्क अनुसार, अहिले सरदर दैनिक ५५० जना नेपाली वैदेशिक रोजगारीमा जान्छन्। विदेश जानेहरूको तुलनामा अलपत्र पर्ने र ठगिनेहरूको सङ्ख्या थोरै नै देखिए पनि उजुरी गर्न नआएका र नसकेकाहरू कति होलान् कसैलाई थाहा छैन। वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हंसराज वाग्ले भने सरकारकै कारण नेपालीहरू विदेशमा अलपत्र परेको बताउँछन्। उनी भन्छन्, “श्रम विभागले जानुअघि बागबजारमा बनेका नक्कली 'डिमाण्ड पेपर' का आधारमा स्वीकृति दिएर पठाउने, अनि उता गएर अलपत्र परेमा मेनपावरलाई समाउने गरेको छ। त्यस्तालाई जानै रोकेमा कोही पनि अलपत्र पर्दैनन्।”

दलालको चङ्गुलमा परेर वैदेशिक रोजगारीका लागि मलेसिया, साउदी अरब, कतार, बहराइन, ओमान, दुबईलगायतका देश पुगेका नेपाली कामदारहरू प्रायः अलपत्र पर्ने गरेका छन्। साढे चार लाख नेपाली कामदार रहेका मलेसियामा मात्रै एक हजार भन्दा बढी नेपाली अलपत्र परेका अनुमान छ। कतारमा करिब पाँच सय नेपाली तत्काल उद्धार गर्नुपर्ने अवस्थामा छन्। नेपाल फर्र्किएकाहरूको भनाइमा, खाडी मुलुकहरूमा नक्कली कम्पनीको नाममा पुगेर, भनेजस्तो काम नपाएर, काम गरेको तलब नपाएर, भीसा सकिएर र पासपोर्ट हराएर थुप्रै नेपाली अलपत्र अवस्थामा छन्। कति त एयरपोर्टमा ओर्लनासाथ कम्पनीको मान्छे लिन नआउँदा त्यहीँ अलपत्र पर्ने गरेका छन्। कतिपयले लुकेर काम गरे पनि धेरैजसो अन्य नेपालीकहाँ आश्रय लिएर, नेपाली संघ–संस्थाले जुटाइदिएका खानेकुरा खाएर र मागेर समेत गुजारा चलाइरहेका छन्।

विपत्तिमा पर्ने क्रम अहिले पनि जारी छ। भर्खरै कतारबाट फर्किएका एक नेपालीका भनाइमा, कतारको अलहुदा इञ्जिनियरिङ् वर्क्स नामक कम्पनीमा काम गरिरहेका युवाहरूले कम्पनी व्यवस्थापनसँग आफ्नो सुविधा बढाउन माग राखी आन्दोलन गरेर दुई साताअघि जेल परेका ३६९ नेपालीमध्ये १५६ जनालाई पुनः काममा फर्काइएको छ भने अन्यलाई नेपाल फर्काउने तयारी चलिरहेको छ। सो कम्पनीमा कार्यरत सात हजार कामदारमध्ये करिब पाँच हजार नेपाली छन्। त्यस्तै चिनियाँ बहुराष्ट्रिय साइनो हाइड्रो कर्पोरेसनले सरकारी स्वीकिृत विना नयाँदिल्ली हुँदै ओमान पुर्‍याएका झण्डै ४०० नेपाली परियोजना नै बन्द भएपछि अहिले अलपत्र परेका छन्। काठमाडौँ स्थित कञ्चनजंघा मेनपावरबाट कुवेत पुगेका ६४ नेपाली कामदार कम्पनीको भीसा नक्कली परेका कारण अलपत्र परेको जानकारी प्राप्त भएको छ।

'छोरा फर्काइदेऊ'

१४ वैशाखमा मलेसिया गएका सुनसरीका १५ युवा त्यहाँ पुगेपछि अलपत्र परे। पठाइएको ठाउँमा काम नपाएपछि उनीहरू अहिले 'भोक–भोकै अलपत्र परेका छाँै, हामीलाई घर फर्काऊ' भन्दै आफन्तसँग गुहार मागिरहेका छन्। लुम्बिनी दर्शन मेनपावरलाई रु.८० हजारदेखि १ लाख बुझाएर पठाएका आफ्ना छोराहरू अलपत्र परेपछि परिवारले ६ असारमा श्रम विभागमा उजुरी दिए। मलेसियामा अलपत्र परेकाहरूमा सुनसरीको बसन्तपुर, मध्यहर्षाही, गौतमपुर, घुस्की, भासी र रामगछ सिनवारीका हनुमान मेहता, ढुलीचन्द यादव, सूर्यनारायण यादव, धनेश्वर मेहता, रामधनी मेहता, अशोककुमार मेहता, हीरालाल मेहता, सन्तोष मेहता, सन्तकुमार मेहता, अजय यादव, रविनकुमार यादव, शिवदयाल मेहता, शम्भुकुमार साह र श्यामदेव मेहता छन्।

छोराहरूको उद्धारका लागि सरकारसँग गुहार माग्न आएकी सूर्यनारायण यादवकी आमा देवकीदेवी र शम्भु साहकी आमा पूर्णिदेवीले ७ असारमा छोरा पठाउने मेनपावरका सञ्चालक माधुरी पौडेललाई बानेश्वरस्थित श्रम विभागको कार्यालय अगाडि घेरेर छोरा फर्काइदेऊ भनेका थिए। रु.१ लाख ऋण काढेर छोरा पठाएकी देवकीदेवीले आँखाभरी आँशु पार्दै भनिन्, “मेरो छोरो अहिले विदेशमा भीख माग्दैछ।” गंगाराम मेहता भन्छन्, “जग्गा धितो राखेर छोरा पठायौँ, अहिले उता उसको र यता हाम्रो विजोग भइरहेको छ।”

गएको २८ माघमा मलेसिया पुगेका रौतहट, गमहरिया–४ का शेखनेक मोहम्मदसहित सात जनाले पाएको दुःख र सास्ती सुन्ने जो कोहीका आँखा रसाउँछन्। उनीहरू मेमोरियल ओभरसिजबाट प्रतिव्यक्ति रु.८५ हजार बुझाएर मलेसिया गएका थिए। आफूहरूले भरपेट खाना खान पनि नपाएको, काम गरेको पारिश्रमिक नपाएको, खाना माग्दा जहिले पनि कुटाई खानु परेको उल्लेख गर्दै २६ वैशाखमा आफन्तलाई पत्र लेखेका छन्।

फ्याक्सबाट छोराका मर्मस्पर्शी पत्र पाएपछि मोहम्मदका बुबा शेख मोजरे आलमले सो मेनपावरका सञ्चालक लोकप्रसाद अर्यालविरुद्ध श्रम विभागमा उजुरी दिँदै सात जनालाई नेपाल फर्काई जरिवानासहित रु.८ लाख ९५ हजार ५०० उपलब्ध गराउन माग गरेका छन्। मेनपावरका म्यानेजर भोजराज सुवेदीले ४ जेठमा २२ दिनभित्र सबैलाई उद्धार गरी नेपाल फर्काउने भनेर श्रम विभागसँग सम्झौता गरेका छन्। तर, डेढ महिना बित्न लाग्दा पनि उनीहरूको उद्धार भएको छैन।

त्यस्तै, सोही मेनपावरले २९ पुस २०६२ मा मलेसिया पठाएका स्याङ्जा, कुवाकोटका पूर्णचन्द्र भण्डारीसहित ३२ जना पनि अलपत्र परेका छन्। रु.८५ हजार बुझाएर मलेसिया गएका उनीहरूले आफूलाई भनिएबमोजिमको काम नपाएको भनेर विभागमा उजुरी गरेका छन्। त्यसपछि उनीहरूको पत्तो छैन। विभागका निर्देशक कृष्ण दवाडी कतिपय व्यवसायी आफैँले समस्या हल गर्ने तर हल भएको जानकारी विभागलाई नदिने भएकाले समस्या सुल्झिए–नसुल्झिएको आफूले भन्न नसक्ने बताउँछन्। उनका भनाइमा, आधिकारिक उजुरी मात्रै हेर्ने हुनाले विभागमा आएको भन्दा ठूलो सङ्ख्या हुनसक्छ यसरी अलपत्र पर्नेको।

महिला उद्धारमा कठिनाई
कानूनी रूपमा गएकामध्ये केहीको उद्धार शुरु भए पनि भारत हुँदै गैरकानुनी रूपमा खाडी मुलुक पुग्ने महिलाहरू अलपत्र पर्दा भने उद्धार गर्न कठिनाई हुने गरेको छ। खाडी राष्ट्रमा काम गर्न जान सरकारी अनुमति नभएकाले पनि महिलाहरू बढी ठगिने र यसरी अलपत्र पर्ने गरेको पाइन्छ। आवश्यक कागजपत्र नहुँदा इजरायलको जेलमा रहेकी टीका राई र कुवेतमा अलपत्र परेकी मीना गुरुङको वैदेशिक रोजगारबाट फर्केका महिलाहरूको संस्था पौरखीको पहलमा गएको महिना उद्धार गरिएको थियो। सात महिनाअघि हाई हिमालयन मेनपावरबाट इजरायल पुगेकी टीकाले मेनपावर सञ्चालक फरार भएकोले क्षतिपूर्ति समेत पाएकी छैनन्। पौरखीका अनुसार अहिले पनि लेवनानबाट शान्ति केसी, ओमानबाट शोभा थापा र कुवेतबाट अम्बु नेपालीले उद्धारका लागि अनुरोध गरिरहेका छन्। पौरखीकी कार्यक्रम संयोजक विजया राई (श्रेष्ठ) भन्छिन्, “वैदेशिक रोजगारमा जाने महिला त यो देशका लागि अनागरिक जस्तै भएका छन्। पुरुष अलपत्र परेमा सरकारबाट पनि सुनुवाई हुन्छ, उद्धार गरिन्छ तर महिलाको लागि केही गरिन्न।”

आवश्यक कागजपत्र नभएकाले नेपाल फर्कन नपाएर वैशाख अन्तिम सातादेखि कुवेतमा नौ जना महिला अलपत्र अवस्थामा छन्, जसमा झापा, दुर्गापुरकी गङ्गाकुमारी राई, मोरङ, गछियाकी मायाकुमारी खड्का, चितवन, जगतपुरकी चन्द्रकला बुढाथोकी, नवलपरासी, बन्जरियाकी शुभलक्ष्मी कहते, उदयपुर, ठोक्सिलाकी गीता बस्नेत र मदिरेकी ओमकुमारी सुनुवार, मोरङ, शनिश्चरेकी दिलकुमारी सुब्बा र आसमाया धिमाल छन्। उनीहरूले घर मालिकबाट भएको कठोर यातनाका कारण गैरकानुनी रूपमा काम गर्न बाध्य हुनुपरेको बताउँदै नेपाल फर्किन पहल गरिदिन खाडीमा रहेका नेपाली संघसंस्थाहरूलाई अनुरोध गरेका छन्।


'नहि तो फाँसी पर चढ जाएङ्गे'
खत लिखता हुँ, शेख मोजरे आलम और साथमे सब पढ्ने वालोको हमारे तरफ से सलामे आलैकुम और हिन्दु भाईयोको सादर प्रणाम। लिखन खास वात जरुरी यह है की हम लोगोको मलेशीयामे पैसा कमानेके ले भेजे की जान गमाने के लिए भेजे है?

दुःख कि बात क्या बताउ सुबह साम पीटाई न करता है जब काममे नहि ले जाता हे खाना देता ३ बजे हाप पेट, दो महिनेमे एक वार भी भरपेट खाना नहि खाया हुँ। काम बोला था टेवल पोछ्ना, खाना लगाना, हल्का काम बताया था। लेकिन यहाँपर गन्धा साफ करवाता है, ट्रक पर लोड कर बहार फेकवाता हे। काम कर थक जाता हु तो बोल्ता हु भुख लगे हे, तो जम के पीटाई करता है।

बावुजी, देखीए हम लोग से इतना दुःख बरदास नहि होगा। कसम से कह रहा हुँ, हम लोगोको बुलवाई ए। नहि तो हम लोग फाँसी पर चढ जाएङ्गे या तो जहर खाकर मर जाएङ्गे। नहि तो अब चिठ्ठी नहि लिखुङ्गा, नहि फोन करुङ्गा। इए आखरी बार फैकस् कर रहा हुँ। अब कलम बन्द करता हुँ।

खुदा हाफीज।