रमझम
गन्तव्य दक्षिण कोरिया
वेभ मिस्टर एण्ड मिस युनिभर्सिटी
 |
| तस्बिरः अनुप प्रकाश |
| हेम्बुङ राई र स्वेच्छा अधिकारी |
'वेभ मिस्टर
एन्ड मिस युनिभर्सिटी–२००७'को उपाधि हात पारेका इन्टरनेशनल स्कुल अफ
टुरिज्मका २० वर्षीय हेम्बुङ राई र ओरियन्ट कलेजकी १७ वर्षीया स्वेच्छा
अधिकारी दक्षिण कोरियामा हुने मिस्टर एण्ड मिस युनिभर्सिटी को अन्तर्राष्ट्रिय
प्रतियोगितामा भाग लिन ११ असारमा त्यसतर्फ लागेका छन्।
कोरियाका लागि उड्नुअघि सातदोबाटो, काठमाडौँका हेम्बुङले
अन्तर्राष्ट्रिय उपाधि जित्न कोरियामा यहाँभन्दा चर्को प्रतिस्पर्धा
गर्नुपर्ने बताए। भने, “२० देशका सहभागीसँग प्रतिस्पर्धा गर्न सजिलो
त छैन तर हामी नेपालको छवि राम्रो देखाउने गरी आफ्ना प्रस्तुति देखाउनेछौँ।”
बसुन्धरा, काठमाडाँैकी स्वेच्छालाई भने अन्तर्राष्ट्रिय प्रतियोगितामा
सहभागी हुन पाउनु नै ठूलो कुरा लागिरहेको छ। भनिन्, “तयारी त उपाधि
जित्ने गरी नै गरेको छु, त्यहाँ पुगेर धेरै कुरा सिक्न बुझ्न पाइने
भएकाले पनि धेरै खुशी छु।” २४ असारमा कोरियामा स्वेच्छा विश्व शान्तिको
कामनाका साथ आफ्नो प्रस्तुति लिएर प्रतिस्पर्धामा उत्रने छिन्। हेम्बुङले
भने नेपालको द्वन्द्वकालको विषयवस्तुलाई आफ्नो ९० सेकेण्डको प्रस्तुतिमा
उतार्ने भएका छन्।
घिल्लो वर्ष नेपालबाटै सहभागी भएका निरज बरालले अन्तर्राष्ट्रिय
उपाधि जितेकाले पनि स्वेच्छा र हेम्बुङलाई उपाधिको आशा भने छ।
वेभ पत्रिकामा छापिएको प्रतियोगिताको विज्ञापनमा निरजले
अन्तर्राष्ट्रिय उपाधि जितेको तस्बिर देखेरै भाग लिन आकर्षित भएका
हेम्बुङले १ असारमा राजधानीको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको
प्रतिस्पर्धामा ११ प्रतिस्पर्धीलाई उछिनेका थिए। यसअघि यस्ता कुनै
प्रतियोगितामा कहिल्यै भाग नलिएका उनलाई शुरुमा उपाधि जित्छु जस्तो
लागेकै थिएन। मिष्टर ट्रेन्डीको उपाधि समेत जितेका उनी भन्छन्, “केही
गरेर देखाउने अवसर खोजिरहेको थिएँ, त्यो चाहना यो प्रतियोगिताले पूरा
गरिदियो।” प्रतियोगितामा भाग लिनुको कारणका बारे निर्णायकले सोधेको
प्रश्नमा प्रतियोगितालाई आफ्नो सुन्दरता र बौद्धिकता प्रदर्शन गर्ने
थलोका रूपमा लिएर भाग लिएको भन्ने सटिक जवाफ दिएर उनले उपाधि हासिल
गरेका थिए। होटेल म्यानेजमेन्ट पढिरहेका हेम्बुङको फेशन, मोडलिङमा
लाग्ने सोच भने अहिले नै बनिसकेको छैन। परिवारका एक्लो छोरा हेम्बुङको
बुबा नेपाल वायुसेवा निगमका कर्मचारी हुन्। हेम्बुङ भन्छन्, “पढेर
रेष्टुरेण्ट व्यवसायमा लाग्ने मेरो चाहना छ।”
 |
| मीन बज्राचायर् |
आफ्ना ११ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जित्न सफल
स्वेच्छाको चाहना भने 'पपुलर' भएर सबै माझ चिनिने छ। अन्तर्राष्ट्रिय
प्रतियोगितामा सहभागी हुन के आवश्यक हुन्छ भन्ने प्रश्नमा “नेपाललाई
विश्वसामु चिनाउन सुन्दरता र बौद्धिकता दुवैको उत्तिकै महत्त्व हुन्छ”
भन्ने जवाफ दिएर उनले उपाधि जितेकी हुन्। स्वेच्छालाई पनि फेशन मोडलिङमा
रुचि छैन। अभिनय गर्न भने औधी रुचाउने उनी भन्छिन्, “आफ्नो परिचय बनाउनलाई
प्रतियोगितामा भाग लिएकी थिएँ, अब अभिनय क्षेत्रमा लाग्ने इच्छा छ।”
सन्तोष पन्तको 'हिजोआजका कुरा' मा समेत अभिनयको अनुभव सँगालेकी उनी
चलचित्रको नायिका बन्न चाहन्छिन्। प्रतियोगितामा मिस फोटोजेनिकको उपाधि
समेत जितेकी उनी भन्छिन्, “चलचित्र, म्युजिक भिडियोमा अभिनय गर्ने
मन छ तर क्याट्वाक् गरेर फेशन शोको र्याम्पमा हिँड्ने मन चाहिँ छैन।”
स्वेच्छालाई लेखनमा पनि रुचि छ। आफ्नो कलेजको पत्रिकाकी सम्पादक समेत
रहेकी उनको अर्को चाहना पत्रकार बन्ने पनि हो। ब्याङ्किङ पेशामा आवद्ध
बाबु–आमाकी एक्ली छोरी स्वेच्छाले भनिन्, “म मिडिया पढेर पत्रकारितामा
पनि लाग्न सक्छु।”
प्रतियोगिताको उपाधि विजेता हेम्बुङले यामाहाको ग्ल्याडिएटर
मोटरसाइकल र स्वेच्छाले यामाहाकै एफएट मोपेडसहित थुप्रै पुरस्कार पाएका
थिए। त्यस्तै डेबिड शाक्य र आकृति श्रेष्ठ फस्ट रनरअप भएका थिए भने
सौरमराज तुलाधर र रमिला श्रेष्ठले मिस्टर एन्ड मिस स्माइल, अनुज थापा
र अर्पणा सिंहले ट्यालेन्ट, डेबिड र प्रज्ञा मानन्धरले कोन्जिएनेलिटी,
सुलक्षण भारती र समीक्षा भट्टराईले सर्भिस, सौरमले मिस्टर फोटोजेनिक
र आकृति श्रेष्ठले मिस ट्रेन्डीको विधागत पुरस्कार जितेका थिए।
राजधानीका विभिन्न कलेजमा अध्ययनरत् २४ विद्यार्थीको
प्रतिस्पर्धा रहेको प्रतियोगिता वर्ल्ड क्राप नेपालको कार्यक्रम, यामाहा
ग्ल्याडिएटरको प्रस्तुति र हिमाल मिडियाको आयोजनामा सम्पन्न भएको थियो।
आयोजनाको 'इभेण्ट' व्यवस्थापन वीज इण्टरनेशनल र कोरियोग्राफी प्रशान्त
ताम्राकारले गरेका थिए।
अनुशील
रमझम आदिवासी चलचित्र
बढ्दैछ बजार
जनजातिका चलचित्रहरूले आफ्नै समुदायको माया पाएर विदेशमा
समेत बजार विस्तार गर्दै आएका छन्।
• डम्बरकृष्ण श्रेष्ठ
धेरैलाई लाग्न सक्छ, जातीय भाषामा चलचित्र बनाएर कतिले पो हेर्छन्
र? तर, अहिले जनजातिका विभिन्न भाषामा बनेका चलचित्रहरूले देशभित्र
मात्रै हैन विदेशमा रहेका आफ्नै समुदायको माया पाएर राम्रै व्यापार
गर्दै आएका छन्। राजधानीमा ८–१० असारमा सम्पन्न अन्तर्राष्ट्रिय आदिवासी
चलचित्र महोत्सवमा दर्शक छनोटको पुरस्कार पाएको गुरुङ भाषाको कृपा
को प्रदर्शन हुनुअगावै विदेशमा प्रदर्शनको टुङ्गो लागिसकेको छ।
कृपा अघि गुरुङ भाषाकै अन्य दुई चलचित्रको निर्देशन गरिसकेका माउत्से
गुरुङ आफ्नो चलचित्र बनिनसक्दै विदेशमा प्रदर्शनको लागि बिक्री भइसकेको
बताउँछन्। भन्छन्, “कृपा निर्माण भइरहँदा नै हङकङ, बेलायत, जापानमा
प्रदर्शन गर्ने तय भइसकेको थियो।” गुरुङ भाषाका चलचित्रको प्रमुख बजार
पोखरा, स्याङ्जा, बुटबल भएपनि विभिन्न देशमा रहेका गुरुङ समुदाय र
संघ–संस्थाले चलचित्र प्रदर्शनको माग गर्ने गरेको उनले बताए। रु.३
लाखमा निर्माण भएको कृपा ले विदेशको बजारबाटै रु.६ लाखभन्दा बढी आम्दानी
गर्ने अनुमान गुरुङले गरेका छन्।
यस्ता चलचित्रहरू देशभित्रै च्यारिटी शो हुन्छ र बनी नसक्दै विदेशमा
प्रदर्शनका लागि तिनको बिक्री हुने गरेको छ। ०६१ सालमा रु.१० लाख खर्चमा
बनेको मगर भाषाको आशे ले देशका केही स्थान र बेल्जियम, बेलायत, जापानबाट
मात्र २४ लाख रुपैयाँ उठाएको निर्देशक संजोग लाफा मगर बताउँछन्। उनी
भन्छन्, “अब हङकङमा प्रदर्शन हुँदैछ र त्यसपछि कोरिया र अमेरिकामा
देखाउने तयारी हुदैछ।” ६ वर्षअघि मगर भाषाकै लिसारा बनाएका संजोग अहिले
मगर भाषामा चलचित्र बनाउने अरू ३/४ जना निर्देशक थपिइसकेको बताउँछन्।
आदिवासी जनजातिहरूको भाषामा हालसम्म १०० भन्दा बढी चलचित्र बनिसकेका
छन्। नेवारी भाषामा डेढ दशक अघि ठूलो पर्दामा सिलु र त्यसपछि राजमति
नामक दुई चलचित्र निर्माण भए पनि भिडियो र अहिले डिजिटल फर्म्याटमा
नेपाल भाषाका ३५ चलचित्र राजधानीमै बनिसकेका छन्। प्रायःजसो हलमा प्रदर्शन
नहुने नेवारी चलचित्रको बजार भीसीडी र डीभीडी केन्द्रित छ। महोत्सवमा
प्रदर्शित मिंज का निर्माता भाइकाजी महर्जन भन्छन्, “वर्षमा ६/७ चलचित्र
बनिरहेका छन्, नेवारी चलचित्रका दर्शक हलमा भन्दा घरैमा भीसीडी हेर्ने
बढी छन्।”
थारू भ्ााषामा बनेको भाग्य के रेखा भने पूर्वी मधेश र पश्चिम तराईमा
हलमा नै प्रदर्शन भइरहेको निर्देशक परशुराम चौधरी बताउँछन्। पूर्व
र पश्चिमका थारू भाषासँगै नेपालीमा समेत स्वराङ्कन गरिएकाले रु.८ लाख
खर्च लागेको यो चलचित्रले लहानको एउटै हलमा १२ दिनमा १ लाख ४१ हजार
रुपैयाँ उठाएको चौधरी बताउँछन्। भन्छन्, “मधेश बन्द र आन्दोलनले अवरोध
नपुर्याएको भए लहानमा लगातार ५१ दिन चल्थ्यो।” चौधरी २०४६ सालतिर
टीभी र डेक लिएर गाउँ–गाउँ देखाउन जानु परे पनि अहिले प्रोजेक्टरबाट
ठूला हलहरूमा नै प्रदर्शन गर्न सकिने भएकाले बजार र आम्दानी दुवै बढेको
बताउँछन्।
कतिपय चलचित्रमा नेपाली र अङ्ग्रेजीमा 'सब टाइटल' राखिएकाले गैर आदिवासी
दर्शकलाई पनि बुझ्न गाह्रो छैन। केही गैर आदिवासीको यस्ता चलचित्र
निर्माणमा पनि संलग्नता देखिएको छ। महोत्सवमा प्रोत्साहन पुरस्कार
पाएको थारू भाषाको बुह्ान को निर्देशन अजित लामिछाने र श्रीराम दाहालले
गरेका हुन्। त्यस्तै हरि थापाले निर्देशन गरेको संकटमा राउटे जाति
र दीपेश खरेलको थामी जाति माथिको अ लाइफ विथ स्लेट वृत्तचित्र पनि
प्रदर्शन गरिएका थिए।
नेपालमा हालसम्म करिब ८० आदिवासी चलचित्र बनिसकेका छन्। तर, गैर आदिवासी
दर्शक र चलचित्रकर्मीवीच अन्तरक्रियाको अभाव थियो। यहि अभाव पुरा गर्न
र रचनात्मक शैली अभिवृद्धि गर्न इन्डिजिनियस फिल्म अर्काइभ (आईफा)
ले आयोजना गरेको महोत्सवमा १२ जनजाति समूहका १७ चलचित्र र १३ विदेशी
गरी ३० चलचित्रको प्रदर्शन भए। आयोजनाका संयोजक नविन सुब्बा यी चलचित्रले
जातीय भाषामा पनि प्रतिभाशाली सर्जक र कलाकार छन् भन्ने देखाएको र
समुदायको उत्थानसँगै अन्तर्राष्ट्रिय बजार समेत बनाउँदै लगेको बताउछन्।
एक दशक अघि लिम्बु भाषाको तरेवा बनाएर चलचित्र क्षेत्रमा हात हालेका
सुब्बा भन्छन् “जातिय पृष्ठभूमिको नुमाफुङ बाट म चिनिएँ तर, सबै आदिवासी
चलचित्रहरू मास मिडियामा आउन सकिरहेका छैनन्।”
 |
महोत्सवले जनजाति प्रतिभाहरूको कामलाई अन्य समुदायमाझ पुर्याउने
काम गरेको छ नै राजधानी बाहिर पनि राम्रा चलचित्र बनिरहेको देखाएको
छ। जातीय, भाषीक विविधतालाई विश्वसामु प्रस्तुत गर्न प्रभावकारी हुने
यस्ता चलचित्रलाई प्रोत्साहनको खाँचो छ। चलचित्र विकास बोर्डका अध्यक्ष
शैलेस आचार्यका भनाइमा आम चलचित्रमा भारतीय नक्कल हुने भएकाले विदेशीहरूलाई
नेपाली चलचित्र भनेर देखाउन पनि मौलिकता बोकेका यस्तै चलचित्र नै चाहिन्छ।
उनी भन्छन्, “त्यसैले पनि जनजातिका कथा र भाषामा बनेका यस्ता चलचित्रको
संरक्षण र प्रबर्द्धन आवश्यक छ।”
रमझम
विविध
पुरानै शैली अँगाल्दै
घाँटीमा रुमाल बाँधेर,
कालो र सेतो बुट्टे सर्ट, वेलिवटन पाइण्ट! साठी, सत्तरीको दशकको यो
पहिरन नयाँ पुस्ताले कत्तिको रुचाउलान्? रिमिक्सको यो जमानामा पुरानै
कुरा लोकप्रिय हुँदै गएको देखेर होला गायक धिरज राई आफ्नो नयाँ अल्बम
स्टार को म्युजिक भिडियोमा यस्तै 'रक एण्ड रोल' शैलीमा प्रस्तुत भएका
छन्।
चाहन्छु म तिमीलाई हर रात दिन
माया गर्दिनौ मोहनी लगायौ किन?
आशिफ शाहले निर्देशन गरेको चार मिनेटको यही गीतको श्याम/श्वेत भिडियोमा
धिरजले पुरानो शैलीमा पूरा चलचित्रको कथा नै समेट्न खोजेका छन्। भिडियोमा
उनी माया बस्यो चलचित्रका नायक बनेका छन्, नायिका छिन् पूजा लामा।
नायिका पाउन नायकले खलनायकसँग द्वन्द्व गर्छ पत्रिकाहरूमा चलचित्र
सुपरहिट भएको खबर छापिएको दृश्य पनि देख्न पाइन्छ भिडियोमा! धिरज किन
यसरी पुरानो शैलीमा प्रस्तुत भए? भन्छन्, “श्रोता, दर्शकलाई केही अलग
स्वाद दिउँ भनेर आफैँलाई 'रक एण्ड रोल' का गायक एलभीस प्रिस्लेको शैलीमा
ढालेको हुँ।” म्युजिक नेपालले निकालेको उनको अल्बममा दश वटा नयाँ गीत
समेटेका छन्।
विगत डेढ दशकदेखि निरन्तर नेपाली पप गायनमा सक्रिय धिरज कहिले माइकल
ज्याक्सन शैलीमा प्रस्तुत भएर, कहिले पुस्तक लेखेर त कहिले वृत्तचित्रमा
खेलेर, निर्देशन गरेर चर्चामा आइरहेका छन्। धेरैले उनलाई 'मिडिया क्रेजी'
भन्ने गरे पनि उनी आफ्नै प्रतिभाले आजसम्म आफू टिकेको बताउँछन्। उनीभन्दा
अघि र पछि आएका धेरै पप गायकहरू आए र हराएर पनि गइसके तर धिरज टिकिरहेका
छन्। यसपटक भने धिरजले आफूलाई तीन दशक पछाडि धकेलेर पुरानो शैली अँगालेका
छन्। तर, यसले उनलाई कहाँ पुर्याउँछ त्यो भने हेर्न बाँकी नै छ।
'हिरो' बन्न ज्यानको बाजी
द्वन्द्वप्रधान नेपाली
चलचित्रले बजार लिन थालेको बेला मोफसलका एक युवा ज्यानको बाजी थापेर
नेपाली रजतपटमा छाउने तयारीमा छन्। कैलालीको बलिया–८ लम्कीका रोहन
ढकाल (२३) ले आफ्नै लगानीमा निर्माणाधीन चलचित्र अग्निपुत्र छायाङ्कनका
क्रममा कर्णालीको पुलबाट हाम्फाल्ने, कर्णाली नदीकै सुर्खेत–कैलाली
सीमास्थित कुइनेको झोलुङ्गे पुलको तारमा हिँड्ने जस्ता जोखिम कार्य
गरेका छन्। त्यस्तै आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लाउने, आगोमै
हिँड्ने, चलिरहेको गाडीमुनि हातले मात्रै समातेर हिँड्ने, साँढेसँग
जुधेका दृश्य दिएका छन्। ज्यानकै जोखिम मोल्दै उनी पहाडको खोँचमा रहेको
कुइनेको पुलको तारमा पनि हिँडे। रोहन भन्छन्, “मौका पाए योभन्दा डरलाग्दा
दृश्य दिनसक्छु।”
२०६१ मा थारू भाषाको चलचित्र जाली संसार बाट अभिनययात्रा शुरु गरेका
उनले अग्निपुत्र मा तेहरो भूमिका निभाएका छन्। रोहन अब राजधानी ताक्दैछन्।
नाम चलेका सिनेहस्तीहरूले उनलाई अफर गर्न थालिसकेका छन्। उनी भन्छन्,
“अफर आइरहेको छ, छायाङ्कन सकेपछि काठमाडौँ जाँदैछु।
रामेश्वर
रक र शास्त्रीय एकसाथ
 |
राजधानीको खुल्लामञ्चमा
रक कन्सर्ट चलिरहँदा पाटनमा शास्त्रीय सङ्गीतको लहर छाइरहेको थियो।
७ असार दिउँसो दुई बजेदेखि पारखीहरूले लगातार ६ घण्टासम्म सङ्गीतको
अलगअलग स्वाद लिएका थिए। फ्रान्सेली केन्द्रको आयोजनामा राजधानीमा
अन्तर्राष्ट्रिय सङ्गीत दिवस मनाउने क्रममा दुईतिर अलग–अलग सङ्गीतको
यो माहौल बनेको थियो। सन् १९८२ मा फ्रान्सले शुरु गरेको यो दिवस यसपटक
एकसाथ १२० देशले मनाए। नेपालमा विगत १३ वर्षदेखि लगातार नेपालमा यो
महोत्सव मनाइए पनि एकैसाथ दुई स्थानमा कार्यक्रम राखिएको पनि पहिलो
पटक हो। इभेण्टस् डट बन को व्यवस्थापनमा खुल्ला मञ्चमा भएको रक कन्सर्टमा
अनुप्रस्था, कबवेभ, इलेक्ट्रिक्स, फ्रेन्च स्कुल, इनर ग्रुभ, लाइमस्टोन,
लुजः, शुभतारा स्कुलको रिइन्कार्नेशन ब्याण्ड, स्ट्रिङस्, स्ट्रोफिकस
आदि समूहले भाग लिएका थिए। अन्तर्राष्ट्रिय सङ्गीत समाजको व्यवस्थापनमा
पाटनमा सम्पन्न शास्त्रीय सङ्गीतमा ध्रुवेशचन्द्र रेग्मी, सरिता मिश्र,
रुपा न्यौपाने, माइला डङ्गोल, सुरज श्रेष्ठ, रविनदास श्रेष्ठ, जीवन
आले, सन्तोष भक्त श्रेष्ठ, सुशील विश्वकर्मा, आरम्भ समूह तथा विभिन्न
सङ्गीत स्कूलका विद्यार्थीहरूको सहभागिता थियो।
मन–मन्दिरमा रजनीकान्त
भारतीय चलचित्र क्षेत्रमा
अहिले तामिल चलचित्र शिवाजी–द बोस को निक्कै ठूलो चर्चा छ। अहिलेसम्मकै
महङ्गो मानिएको शिवाजीमा अभिनय गरे वापत दक्षिण भारतका सुपरस्टार रजनीकान्तले
रु.३२ करोड लिएकाछन्। यति धेरै पारिश्रामीक पाउँने एशिया मै उनी ज्याकी
च्यान पछिको दोस्रो कलाकार हुन्। बलिउडका सुपरस्टार अमिताभ बच्चनले
भने एक चलचित्रबाट रु. ३ करोड लिने गरेकाछन्।
१ मंसीरमा रजनीकान्तको शिवाजी रिलिज हुँदा चेन्नईमा कफर््यु नै लाग्यो,
एक टिकटको मुल्य ब्ल्याकमा रु.२५ सय सम्म पुग्यो। मलेशीया, दुवईमा
हाउसफुल भएर हेर्न नपाएपछि दर्शकले हल नै तोडफोड गरे। दक्षिण भारतमा
त रजनीकान्तलाई 'भगवान' नै ठान्ने दर्शकहरूले उनको मन्दिर नै बनाएकाछन्।
उनको नयाँ चलचित्र हलमा लाग्दा भगवाननै पर्दामा आएको ठानेर तामीलनाडु,
कर्नाटकका रजनिकान्तको मन्दिरमा र पोष्टरमा दुध चढाउनेहरूको घुईचो
लाग्छ। शिवाजीमा उनी अमेरिकाबाट आफ्नो मातृभुमी फर्कीएको गैर आवासीय
भारतियको भुमीमा छन्, जो भ्रष्टचारमा जेलिएको सरकारी संरचना विरुद्ध
लड्छ। चलचित्र समिक्षकहरूका अनुसार ५० वर्ष नाघेका रजनीकान्तले दक्षिण
भरतमा अझै पनि 'सुपरएक्सन हिरो' को आफ्नो छविलाई कायम राखेकाछन्। उनको
अनौठो शैलीको द्वन्द्व र चुरोट सल्काउने 'स्टाईल' बलिउडमा समेत चर्चित
छ। गिरफ्तार, भगवान दादा, चालवाज, हम जस्ता हिन्दी चलचित्रबाट उनले
बलिउडमा समेत ख्याती आर्जन गरेकाछन्।
कर्नाटकमा शिवजी राव गायकवाडको रुपमा जन्मीएका रजनीकान्त चलचित्र
क्षेत्रमा आउनु अघि बसका कण्डक्टर थिए। बसमा अनौठो तरिकाले टिकट बाँडने
र सीटी बजाउने कलाले उनलाई अभिनय तर्फ डोर्याएको थियो। २५ वर्ष अघि
अवरगाल नामक तामील चलचित्रमा खलनायक बनेर अभिनय सुरु गरेका उनलाई दक्षिण
भारतको 'सुपर स्टार' बन्न धेरै समय लागेन। रजनीकान्तको चलचित्रको 'क्रेज'
यस्तो छ, राजनीतिमा आएर चुनावमा लड्दा उनले दक्षिण भारतमा विपक्षीलाई
धुलो चटाए। उनका पहिलो चलचित्रका निर्देशक बालाचन्द्रले उसबेलैे उनको
प्रतिभा देखेर भनेका थिए “यो युवकले एकदिन तामीलनाडुमा राज गर्छ।”
समयको ख्याल राख्ने, गम्भीर स्वभाव र सरल जीवनका कारण पनि रजनीकान्तको
छवि 'महान' बनेको छ। भारतमा उनका ६३ हजार फ्यान क्लब दर्ताछन्।
तस्बिरमा प्रकृति
वाइल्ड लाइफ कन्जरभेसन
नेपाल (डब्लुसीएन) को आयोजनामा १–४ असारमा नेपाल आर्ट काउन्सिलमा सम्पन्न
नेचर थ्रु लेन्स–३ नामक वातावरणीय तस्बिर प्रदर्शनीमा हिमाल खबरपत्रिकाका
विशेष सम्वाददाता विवेकराज मौर्यको तस्बिर उत्कृष्ट घोषित भएको छ।
१०० जना फोटोग्राफरका ३०० तस्बिरहरू मध्येबाट मौर्यको गैँडाको तस्बिरले
पहिलो पुरस्कार पाएको हो। डब्लुसीएन को युथ इनभाइरोमेण्ट प्रोग्राम
को सक्रियतामा सम्पन्न सो कार्यक्रममा फोटोग्राफर यात्रा थुलुङ, विनोद
राई, सञ्जय लामा, राजेन्द्रदेव अधिकारी पनि पुरस्कृत भएका थिए। पुरस्कृत
सबैलाई अमेरिकन राजदूत जेम्स एफ मोरिआर्टीबाट पुरस्कार प्रदान गरिएको
थियो। १० उत्कृष्ट तस्बिरहरूको 'पोष्ट कार्ड' प्रकाशन गरिएको उल्लेख
गर्दै कार्यक्रमकी संयोजक सञ्जीवनी योञ्जनले युवाहरूमा वातावरणीय चेतना
जगाउनका लागि आफूहरूले बर्सेनि यस्ता आयोजना गर्दै आएको जानकारी दिइन्।
|