हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनता

सरिताको साहस

६ असारमा नेपालगञ्जमा योङ कम्युनिष्ट लिग (वाईसीएल) का कार्यकर्ताबाट अपहरित क्षेत्रीय स्वास्थ्य निर्देशक डा. पीयूषकुमार राजेन्द्रलाई मुक्त गर्दा सरिता ज्ञवाली (३६) को सक्रियता निकै देखियो। मुटुरोगी डा. राजेन्द्रलाई मुक्त गर्न वाईसीएल कार्यालयमा गएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर पनि भित्रको भित्रै राखेपछि सरिता आफँै प्रहरीको घेराभित्र छिरेर बाहिर ल्याई अस्पताल पुर्‍याइन्। राष्ट्रिय मानवअधिकार आयोगको नेपालगञ्ज क्षेत्रीय कार्यालयकी सम्बर्द्धन अधिकृत सरिता भन्छिन्, “मुटुरोगी भएकाले उनको हालत नाजुक बनेको थियो। हामीले मानवीय उद्धार गर्नुपर्थ्यो, त्यही गर्‍यौँ।”

संवेदनशील परिस्थितिहरूमा धेरैपटक यस्तो साहस देखाएकी छन् सरिताले। जुझारु कानुन व्यवसायीको पृष्ठभूमि अनि घरेलु हिंसा, बलात्कारजस्ता सामाजिक अपराधको शिकार बनेका महिलालाई न्याय दिलाउँदा पलाएको आत्मविश्वास र निर्भिकतालाई उनले द्वन्द्वका बेलासमेत सदुपयोग गरिन्, राज्य–माओवादी पीडितलाई न्याय दिलाउने अभियानमार्फत्। पहिलो सङ्कटकालका बेला नेपालगञ्जका दुई मुश्लिम युवतीलाई सेनाले ब्यारेकमै बलात्कार गरेको घटना सार्वजनिक गर्ने साहस देखाएबापत उनले धेरैखाले धम्कीहरू खेप्नुपर्‍यो। तर उनी विचलित भइनन्। एड्भोकेसी फोरममार्फत् समेत युद्धकालका जघन्य अपराधका घटनालाई लिपिबद्ध गरिरहिन्। तीन वर्षअघि मानव अधिकार आयोगमा छिरेपछि उनलाई राज्य–माओवादीबाट भएका सबै खाले आपराधिक घटनाको गहिरो अनुसन्धान गर्ने अवसर जुरेको छ। अपराधीलार्ई कारबाही र पीडितलाई क्षतिपूर्तिका लागि आयोगबाट भएका सिफारिसको चित्तबुझदो कार्यान्वयन नभएकोमा भने उनी चिन्तित छिन्। भन्छिन्, “राज्य कानमा तेल हालेर बसेपछि अपराधी उम्कन्छन्, पीडितले पनि न्याय पाउँदैनन्। अब यस्तो नहोस्।”

शब्द/तस्बिरः रामेश्वर बोहरा


मोटरसाइकल एम्बुलेन्स

छिमेकी गोपाल घिमिरेकी अढाई वर्षे छोरीलाई तीन वर्षअघि मध्यबर्खाको एक साँझ गोमनले डस्यो। उपचारका लागि ल्याउँदाल्याउँदै बाटैमा उनको प्राण गयो। त्यसपछि “जस्तै दुश्मनलाई सर्पले डसे पनि उपचार केन्द्रमा चाँडो पुर्‍याउनु ठूलो पुण्यको काम रहेछ” भन्ने लाग्यो मोरङको इटहरा–३ भौडाँहाका होमप्रसाद निरौलालाई। त्यसयता उनले वरिपरिका चार गाउँका, सर्पले डसेर सिकिस्त भएका ५० भन्दा बढी बिरामीलाई मोटरसाइकलमा रेडक्रसद्वारा दमक (झापा) मा सञ्चालित सर्पदंश उपचार केन्द्र पुर्‍याएका छन्। र, विषालु सर्पले डसेकालाई समेत बचाएका छन्। यस्तो सत्कार्यमा सहयोग पुर्‍याउन झापा, मोरङ र इलामका तीन दर्जन गाविसमा होमप्रसादजस्ता एक सय चालीस स्वयंसेवी युवा आ–आफ्नो मोटरसाइकलका साथ खटेका छन्, 'मोटरसाइकल एम्बुलेन्स' को नयाँ चिनारीका साथ।

'मोटरसाइकल एम्बुलेन्स'को यस्तै सहयोगमा दमकको उपचार केन्द्रमा आ.व. २०६३/०६४ का दश महिनामा सर्पले डसेका साढे सात सय बिरामीको उपचार संभव भएको बताउँछन् केन्द्रका प्रमुख चन्द्र शाह। कतिपय 'एम्बुलेन्स' ले बिरामी ओसारेबापत दूरीअनुसार प्रति बिरामी पाँचसय रुपैयाँसम्म पाउँछन्, स्वीटजरल्याण्डको एक शिक्षण अस्पतालको सौजन्यमा। उपचार केन्द्र पुर्‍याउन एकछिन् ढिलो भएमा बिरामी मर्नसक्ने भएकाले दुर्गम गाउँठाउँबाट बिरामीलाई सकेसम्म चाँडो उपचार केन्द्र/अस्पताल पुर्‍याउने उत्तम उपाय र प्रभावकारी माध्यम बनेका छन्, यस्ता एम्बुलेन्स। यिनैमध्येका एक अगुवा होमप्रसाद भन्छन्, “म जस्ता स्वयंसेवकले धेरै घरपरिवारलाई हठात् शोकबाट जोगाएका छौँ। यसमा हामीलाई गर्व छ।”

शब्द/तस्बिरः गोपाल गडतौला