हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

वैदेशिक शिक्षा

दोब्बर भए विद्यार्थी

यस वर्षको जेठ मसान्तसम्ममा मात्रै वैदेशिक अध्ययनका लागि करिब रु.६ अर्ब बराबरको विदेशी मुद्रा बाहिरिसकेको छ।

ध्रुब सिम्खडा

किरण पाण्डे
शिक्षा मन्त्रालयमा विदेश जान खोज्ने विद्यार्थी।

६ असार २०६३। बिहानको दश बजे नै शिक्षा मन्त्रालय केशरमहलमा ५०/६० जना हातमा फाइल बोकेका युवायुवती पुगिसकेका थिए। उनीहरू सरासर छात्रवृत्ति शाखाको गेटमा पुगेर भर्खरै मन्त्रालय छिरेका कर्मचारीलाई सोधे, 'दाइ नो अब्जेक्शन लेटर' बनाउने कहाँ हो? ती विद्यार्थीहरू विदेश पढ्न जानका लागि शिक्षा मन्त्रालयको स्वीकृति–पत्र (नो अब्जेक्शन लेटर) लिन बिहानैदेखि जम्मा भएका रहेछन्।

यही भीडमा भेटिइन् अभिनेत्री सज्जा मैनाली। उनी पनि अमेरिका पढ्न जान 'नो अब्जेक्शन लेटर' लिन त्यहाँ पुगेकी थिइन्। तीनवर्षे कोर्षका लागि 'हेरिसवर्ग कलेज' मा 'आर्ट एण्ड थिएटर' विषय पढ्न वार्षिक २० हजार अमेरिकी डलर लाग्ने उनले बताइन्। त्यसो त सज्जाका पति ओमराज भट्टराई उतै बसोबास गर्ने भएकाले पढाइ सकेर उनी तुरुन्तै स्वदेश फर्किने सम्भावना कमै देखिन्छ। सज्जाको भनाइबाट पनि यो झल्किन्छ। उनी भन्छिन्, “तीनवर्ष त म अध्ययनमै व्यस्त रहन्छु। त्यसपछि उतै बसेपनि बेलाबेलामा नेपाल आएर चलचित्रमा अभिनय भने गर्छु।”

मन्त्रालयको छात्रवृत्ति शाखाको रेकर्डअनुसार, त्यसदिन मात्रै ९३ जनाले त्यसरी 'नो अब्जेक्शन लेटर' लिए। अहिले दिनहुँ जसो ९०–१५० विद्यार्थीहरूले उक्त शाखाबाट त्यस्तो स्वीकृति–पत्र लिने गर्छन्। अघिल्लो वर्ष यस्तो पत्र लैजाने विद्यार्थीको सङ्ख्या ५ हजार २६२ रहेकोमा यो वर्षको जेठ मसान्तसम्म अर्थात् १० महिनामै त्यो सङ्ख्या १० हजार ४३७ पुगेको छ। छिमेकी भारत बाहेकका मुलुकमा जाने विद्यार्थीको सङ्ख्या हो यो। यसरी हेर्दा एकजना विद्यार्थीले वार्षिक सरदर ८ हजार अमेरिकी डलर मात्रै खर्च गर्छन् भनेर अनुमान गर्ने हो भनेपनि मन्त्रालयबाट पत्र लैजाने १० हजार ४३७ विद्यार्थीबाट करिब रु.६ अर्ब रकम बाहिरिइरहेको अनुमान गर्न सकिन्छ।

राजु चापागाइँ

आफूले पढ्न चाहेको मुलुक, शैक्षिक संस्था, विषय र तह खुलाएर आवेदन दिने यस्ता विद्यार्थीलाई शिक्षा मन्त्रालय छात्रवृत्ति शाखाले अनुमति–पत्र दिने गर्छ। मन्त्रालयको पूर्व स्वीकृतिविना विदेशमा अध्ययन गर्न जान नपाइने र प्रवेशाज्ञा र विदेशी मुद्रा सटहीका लागि पनि विद्यार्थीलाई यो पत्रको आवश्यकता पर्ने गर्छ।

पढ्नका लागि मात्र यो भीड लागेको होइन भनेर जो कोहीले अनुमान गर्न सक्छ। विद्यार्थीहरू हाकाहाकी स्वीकार गर्छन्, जाने पढ्ने पनि कमाउने पनि। ललितपुर चापागाउँका राजु बजगाइँ हाकाहाकी भन्छन्, “'पढाइ र कमाइ दुवैका लागि जान लागेको हुँ।” डल्लास ब्याप्टिस युनिभर्सिटीमा व्यवस्थापनमा स्नातकोत्तर अध्ययन गर्न अमेरिका जाने तयारीमा रहेका बजगाइँ अध्ययन पूरा गरेपछि यहाँजस्तो बेरोजगार बस्नुपर्दैन भनेर उता जान खोजिरहेका हुन्। छात्रवृत्ति शाखाका प्रमुख समेत रहेका मन्त्रालयका उप–सचिव दानबहादुर अधिकारीको बुझाइमा, “पढ्ने र कमाउने विभिन्न अवसरहरू पाइने हुँदा विद्यार्थीहरू विदेश जान तँछाड–मछाड गरेका हुन्।”

शिक्षा मन्त्रालयले तोकेको 'फर्म' भरेर बुझाएपछि छात्रवृत्ति शाखाले सटही सुविधाका लागि राष्ट्र ब्याङ्कलाई पत्र लेखिदिने र राष्ट्र ब्याङ्कले सम्बन्धित ब्याङ्कलाई 'ड्राफ्ट' का निम्ति अर्को पत्र बनाइदिने गर्छ। शैक्षिक तथा निर्वाह दुवैथरीका खर्च थप चाहिएमा फेरि यही प्रक्रिया दोहोर्‍याउनु पर्छ। नागरिकताको प्रमाण–पत्र र जुन तह अध्ययन गर्न जाने हो सोभन्दा एक तह मुनिको 'ट्रान्सक्रिप्ट' पेश गरेपछि सरल ढङ्गले एक दुई घण्टामै स्वीकृति–पत्र लिन सकिने शाखाका कर्मचारीहरूको भनाइ छ। निर्वाह खर्चका लागि ब्याङ्कले वार्षिक २५००–८००० अमेरिकी डलरसम्म दिने गरेको छात्रवृत्ति शाखाका प्रमुख दानबहादुर अधिकारी बताउँछन्।

सबैभन्दा बढी विद्यार्थी अष्ट्रेलिया गएका छन्। गएको साउनदेखि जेठसम्म त्यहाँ जान मन्त्रालयबाट अनुमति–पत्र लिनेको सङ्ख्या करिब ६ हजार छ। दोस्रोमा अमेरिका त्यसपछि क्रमशः बेलायत र जापान जानेहरू छन्। अमेरिकाका लागि करिब ३ हजारलाई यस्तो पत्र दिइएको छ। विद्यार्थीहरूका अनुसार कागजपत्र सही तरिकाले मिलाएर पेश गरेपछि अष्ट्रेलियाले प्रवेशाज्ञा दिन आनाकानी गर्दैन। त्यसले गर्दा अष्ट्रेलिया जानेको सङ्ख्या बढेको हो।

पढाइसँगै काम

श्वेता श्रेष्ठ, तानसेन, पाल्पा

रोजाइको विषय पढ्ने अवसर, छात्रवृत्ति पाइने, अभिभावकको बोझ कम हुने र पढिसकेपछि काम पाइने आश भएकाले नेपाली विद्यार्थीको विदेश मोह पछिल्लो समय ह्वात्तै बढेको देखिन्छ। विदेशमै रहेका सँगको वैवाहिक सम्बन्ध, कतिपयका अभिभावक नै उतै हुने र अध्ययनको वहानामा रोजगारीका राम्रा अवसरहरू पाइने हुँदा विशेष गरेर 'प्लस टू' गरेकाहरूको विदेश जाने 'चार्म' बढेको हो। यसरी जानेमा बढी २५ वर्ष उमेर समूहका पुरुषहरू नै भएको मन्त्रालयले जनाएको छ। तर, कानूनतः अध्ययन गर्न जानेहरूका लागि उमेरको हद भने छैन।

मानिसहरू मुलुकभित्र आउने अर्थात् 'इमिगे्रशन' र मुलुकबाट बाहिरिने अर्थात् 'एमिग्रेशन' लाई समाज अध्ययनमा निकै महत्त्वपूर्ण मानिन्छ। हाम्रो सन्दर्भमा, मानिसहरू विदेश मात्र गइरहेका छैनन्। आन्तरिक रूपमा पनि पहाडबाट तराई तथा पहाड र तराईबाट शहरतिर मानिसहरू बसाइँ सरिरहेका छन्। त्यसैले नेपालीहरू किन विदेश जान्छन् भनेर केलाउन इतिहासदेखिकै लेखाजोखा गर्नुपर्ने समाजशास्त्रीहरू बताउँछन्।

कामको खोजीमा परापूर्वकालदेखि नै नेपालीहरू भुटान, आसाम, बर्मालगायत भारतका विभिन्न ठाउँहरूमा गएको पाइन्छ। त्रि–चन्द्र कलेजका समाजशास्त्रका उप–प्राध्यापक होमराज दाहाल भन्छन्, “यसबाट देखिन्छ नेपालीहरू अहिले मात्र विदेशिने गरेका होइनन्। खालि जाने तरिका बदलिएको हो। अध्ययनलाई वैकल्पिक रूपमा प्रयोग गर्न थालिएको मात्रै हो।”

फेरि उच्च शिक्षाका लागि युरोप, अमेरिका र अष्ट्रेलिया गएका नेपालीहरू तुलनात्मक रूपमा मेेहनती, निरपराधी चरित्र र अनुशासित देखेर ती मुलुक आश्वस्त बन्नु अवसरको अर्को पाटो हुनसक्छ नेपाली युवापुस्ताका लागि। आफ्नो मुलुकको सुरक्षामा कुनै खतरा नहुने र अनुशासित र मेहनती भएकाले तिनीहरूले नेपालीलाई बढी मन पराएको बताउँदै उप–प्राध्यापक दाहाल भन्छन्, “अध्ययन र अवसरका लागि विदेशिन खोजिरहेका नेपालीलाई यो परिस्थितिले झन् सजिलो बनाइदियो।”

तपाइँ कुन देश जाँदै हुनुहुन्छ?
अध्ययनका लागिअमेरिका।
कुन विषय?
व्याचलर इन विजनेस एडमिनिस्ट्रेशन।
व्ाार्षिक कति जति खर्च लाग्छ?
कम्तीमा रु.१६ लाख।
पढ्नकै लागि मात्र जान लाग्नुभएको हो?
हो, पहिले त पढाइ नै पूरा गर्ने हो।
यो विषय त यहाँ पनि पढाइन्छ नि?
पढाइन्छ, तर नेपाली लेवलको मात्र।