हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

चिठी

पूर्वाग्रह किन?

योङ कम्युनिष्ट लिगप्रति पूर्वाग्रही भएर तयार पारिएको 'राजनीतिक हतियार' (रिपोर्ट/माओवादी, हिमाल, १–१५ असार) प्रति मेरो असहमति छ। नेपाल र नेपालीविरोधी विदेशी तथा दरबारिया षडयन्त्र र हस्तक्षेपलाई नदेख्ने एकआँखे कलमले जनताको हितमा काम गर्ने वाईसीएललाई 'भयको राजनीति गरेको, द्वैध चरित्र अवलम्वन गरेको' भनी सत्तोसराप गर्नु विडम्बनापूर्ण कार्य हो। वाईसीएलका सकारात्मक कुराहरूलाई ओझेल पार्ने कलमले घूसखोरी, तस्करी र बढ्दो वैदेशिक चलखेललाई प्रशस्तै सेवा गर्दछ।

हिरालाल के.सी.
ढाकाडाम ८, सल्यान


खोज्नैपर्छ विकल्प

'विचरा सडक मात्र यस्तो निरीह र सहनशील रहेछ– सबैको रीस पोख्ने भाँडो! (रिपोर्ट/सुदूरपश्चिम, 'बन्द नभएको दिनै छैन' १–१५ असार)। अब त लोग्नेस्वास्नी वा सासूबुहारीको घरायसी झगडा भए पनि चक्काजाम हुने दिन धेरै टाढा छैन भन्दा अतिशयोक्ति नहोला। चक्काजामको विकल्पमा विरोधका अन्य उपायहरू पहिल्याउन शोधकार्य गर्नु अत्यावश्यक भइसक्यो। अहिले चक्काजाम गर्नेहरूले भोलि आफू यस्तै असहज परिस्थितिमा फस्दा कति पीडा हुँदोरहेछ भन्ने बुझिदिएमा चक्काजामको प्रतिशत केही कम त हुन्थ्यो।

सुब्रत स्वार, सुयश स्वार
पो.ब.नं. ५०३, काठमाडौं


जायज छ गुनासो

मुगुका जनताले 'पहिले चामल दिनुुस् अनि चुनाव गर्नुहोला' भनी मन्त्री खड्गबहादुर विश्वकर्मालाई दिएको जवाफ (फोटोफिचर/ एउटा अर्को नेपाल, १६–३१ जेठ) अति मार्मिक लाग्यो। हुन पनि अन्नपातकै व्यवस्था नभएको बेला संविधानसभा, गणतन्त्र जस्ता राजनीतिक शब्द सुन्ने धैर्य जनतामा कसरी होस्? बरु त्यहाँका जनतालाई बाह्रै महिना खान पुग्ने गरी कृषि पेशालाई वैज्ञानिक तरिकाले अघि बढाउने, सिंचाईको व्यवस्था मिलाउने, यातायातका लागि सडकको व्यवस्था मिलाउने हो कि!

हृदयप्रसाद श्रेष्ठ
जोमसोम, मुस्ताङ


प्रायश्चित आवश्यक

'आफूलाई नेपाली जनताका निर्विकल्प मुक्तिदाता ठान्ने प्रचण्डलाई 'उकालो लाग्दा' (१–१५ जेठ) ले आँखा खोलिदिएको हुनुपर्छ। विशेषतः वाईसीएलका गैरराजनीतिक क्रियाकलापप्रति बेवास्ता गर्नुमात्र होइन, तिनका आपराधिक क्रियाकलापको बचाउ गर्नु, वाईसीएललाई छापामार शैलीमा मुलुकभरि नै परिचालन गर्नु, 'पपुलिजम्' को स्वर उरालेर गणतन्त्रको रटान दिनुु, राजसंस्थाको शक्तिबारे अतिशयोक्तिपूर्ण प्रचारवाजी गर्नु; हिंसा, दबाब र धम्कीलाई जनयुद्धको धङधङीको रूपमा स्वाभाविक मान्नु र यत्रतत्र लालबुझक्कड बनिदिएर दर्शक एवं श्रोतामाझ भ्रम छर्नु भनेको निश्चय नै, सचेत नेपालीहरूका आँखा र मनमा हास्यास्पद पात्र बन्नु हो।

त्यसैले पनि प्रचण्डले अब “हामीले हतियार उठाउनु भूल थियो” भन्दै जनतासामु प्रायश्चित्त गरेर उनीहरूको सहानुभूति पाउनु आवश्यक छ।

इन्द्रकुमार श्रेष्ठ
कमलाकुञ्ज, ओखलढुङ्गा


खुट्टा नकमाउनुस्

१–१५ जेठको हिमाल मा प्रकाशित रिपोर्ट ('चाहियो नयाँ जहाज', १–१५ जेठ) मा “नेपाल वायु सेवा निगमलाई सबैले लुछेर खाएका छन्” भन्ने भनाइका साथ मन्त्री पृथ्वी सुब्बा गुरुङकोे खुला दृष्टिकोण स्वागतयोग्य छ।

जहाज पुरानो भइसकेको, नयाँ थप्नुपर्ने कुरा मन्त्रीमार्फत् प्रकट भएकाले जोखिमरहित नयाँ विमान चढ्न पाउने आशा ममा पलाएको छ। आशा निराशामा परिणत हुने परम्परा तोडियोस्। यो पत्रमार्फत् मन्त्रीज्यूसँग आग्रह गर्न चाहन्छु– तपाईंहरूको शासनकालमा नेपाल वायु सेवालाई डुबाउने काम नगरियोस्। लुछ्ने र चुस्ने काम नहोस््। क्यान्सर भएको थाहा पाएपछि राम्रो डाक्टरलाई उपचार गराइयोस्। नक्कली डाक्टरको जमात खडा गर्ने काम नगरियोस्। तपाईंलाई थाहा नै हुनुपर्छ– थाई एयरवेज र नेपाल वायु सेवा निगमको स्थापनाकाल र अन्तर्राष्ट्रिय उडान करिब करिब एकैसाथ भएको हो। ७० देशमा उडान र १०० वटा भन्दा बढी जहाज बनाइसकेको छ थाई एयरवेजले तर हाम्रो निगममा एक दुई वटा जहाज पनि ग्राउण्डेड छन्, किन? यो सबै केलाएर मन्त्री गुरुङले आफ्नोे मन्त्रालय र त्यसअन्तर्गतका निकायहरूमा सुधार गर्न सक्नुहुन्छ। नाम बदनामको कुरा नगर्नुस्, हामीलाई काम गरेर देखाउनुस्। कमसेकम नेपाल वायु सेवा निगमलाई बचाउनुस्। आरोप प्रत्यारोप तपसिलमा पर्नेछन्।

चिजकुमार श्रेष्ठ
हालः अमेरिका


बालुवामा पानी!

'संविधानसभा सफलता सरोकार समूह' का संयोजक प्रा. जीवराज पोख्रेलले चौध भाषामा संविधानसभासम्बन्धी पुस्तिका तयार पारी वितरण गरेको समाचार (हिँड्दाहिँड्दै, १–१५ जेठ) ले केही लेख्न बाध्य बनायो।
· नेपालमा साक्षर भएकामध्ये जम्मै नेपाली भाषालाई माध्यम भाषाको प्रयोग गरी साक्षर भएका हुन् भन्न सकिन्छ। मातृभाषामा अध्ययन गरी साक्षर भएकाहरूको सङ्ख्या न्यून छ। पोख्रेल महोदयले १४ भाषामा पुस्तिका छापी खर्च गरेको रुपैयाँ बालुवामा पानी हालेसरह हुनेछ।
· नेपाल बहुभाषिक मुलुक भएकाले विभिन्न भाषामा रेकर्ड गराई विभिन्न एफएम रेडियो स्टेशनबाट प्रसारण गराएको भए बरु यसले खडेरीमा पनि असारे वर्षा सरहको काम गर्ने थियो। ग्रामीण क्षेत्रका सर्वसाधारण निरक्षर व्यक्तिहरूले त्यस्ता पुस्तक अध्ययन गर्न भन्दा सुनेर ज्ञान लिन सक्दथे।

सीपी अधिकारी
एमए दोस्रो वर्ष (समाजशास्त्र)
पाटन संयुक्त क्याम्पस ललितपुर


आस्थामा तुँवालो

“पैसा लिएपछि काम गरेन भने न्यायाधीशको घाँटी समाउन सजिलो हुन्छ” भन्ने बाबुराम दाहालको भनाइ (अन्तर्वार्ता/सीडी प्रकरण, १६–३१ वैशाख) पढ्दा अदालत न्यायको मन्दिर हो, न्यायाधीशहरू न्यायमूर्ति हुन् अतः अनैतिक कार्य हुँदैन भन्ने मेरो मान्यतामा तुषारापात भएको छ। सँगसँगै, अदालतप्रतिको आस्था मूर्झाएको छ। मिडियाले यतिविधि हाइलाइट गरेको घूस प्रकरणलाई सरकारी निकायहरूले किन गम्भीरतापूर्वक लिँदैनन्?

लक्ष्मण ज्ञवाली
जनहित मावि, चण्डीभञ्ज्याङ–३, स्याङ्जा


वन फाँडिएको हैन

'वन फाँडेर बजार' (देश, १६–३० चैत) मा प्रकाशित समाचारले भोटेचौर बजारवासीलाई आश्चर्यचकित बनाएको छ।
समाचारमा उल्लेख भएझैँ बजार विस्तार गरेको ठाउँ कुनै सरकारी वन क्षेत्र होइन। २०४२ सालमा राप्ती बसोवास आयोगले कित्ताकाट गरी बाउण्डरीमा राखेको जग्गामा २०५३ सालदेखि बजार क्रमिक रूपले विस्तार हुँदै आएको हो। २०५६/५७ मा गाविस सहारेले प्लानिङ्ग गरी चिट्ठा प्रक्रियाद्वारा घडेरी वितरण गर्ने क्रममा द्वन्द्वका कारण उक्त कार्य सफल हुन सकेन। त्यसपछि छिञ्चु–जाजरकोट जाने मोटरबाटोलाई फराकिलो पार्ने र बसपार्क व्यवस्थित गर्ने हेतुले पुनः २०६२ सालमा बोटेचौर बजारवासी र युवराज गौतमको अध्यक्षतामा रहेको तत्कालीन बजार व्यवस्थापन समितिले उक्त ठाउँलाई चिट्ठा प्रणालीद्वारा प्रति घडेरी ४ मिटरका दरले वितरण गरी बजार व्यवस्थित गरिएको थियो।

बलबहादुर रोका, अध्यक्ष
तथा बोटेचौर बजार व्यवस्थापन समिति, सहारे –८, बोटेचौर, सुर्खेत


'ओभरहल' जरुरी

'गफै बढी' (रिपोर्ट/इ–गभर्नेन्स, १–१५ असार) पढेपछि सरकारी कार्यालयमा मैले भोगेका केही अनुभवहरू बाँड्न मन लाग्यो। एक पटक काठमाडौँस्थित घरेलु कार्यालयमा कम्पनी दर्ता गराउन जाँदा त्यहाँका कर्मचारीले पुरानै शैलीमा टाइपराइटर चलाएको देख्दा अचम्म लाग्यो। कम्पनी दर्ता गर्ने क्रममा टेबुलपिच्छे कर्मचारीको सही गराउँदा उक्त कार्यालयमा पूरै दिन बिताउनु पर्‍यो। यस्ता कार्यालयहरूमा व्यवस्थित कम्प्युटर प्रणाली हुँदो हो त यस्ता काम एकघण्टाभित्र सकिन्थेे। सरकारी कार्यालयमा कार्यरत अधिकांश कर्मचारी कम्प्युटर असाक्षर रहेको, कम्प्युटर र त्यससँग सम्बन्धित सरसामान खरिद गर्दा ठूलो अंश कमिशनको रूपमा खाने परम्परा तथा देशभर कमजोर इन्टरनेट संरचना भएको स्थितिमा इ–गभर्नेन्स अवधारणा एक हास्यास्पद सपना मात्र हुनसक्छ।
विकिपिडिया, याहु र गुगलजस्ता ठूलाठूला कम्पनीहरूले समेत खुला तथा स्वतन्त्र सफ्टवेयरको व्यापक गरिरहेको पृष्ठभूमिमा नेपाल जस्तो गरिब राष्ट्रले सफ्टवेयरमा ठूलो रकम खर्चिनु न्यायोचित देखिँदैन। प्राविधिक दृष्टिकोणले हेर्दा पनि माईएसक्युएल डाटावेशमा चल्ने विकिपिडियामा प्रति सेकेन्ड २५ हजार क्वेरीहरू आउने गर्छन्। खुला तथा स्वतन्त्र सफ्टवेयरमा आधारित माईएसक्युएलजस्तो सस्तो विकल्प हँुदाहुँदै मन्त्रालयहरूमा अति नै महङ्गो ओराकलको प्रयोग हुने गरेको तथ्य पनि हाम्रो सामु छ। तसर्थ, नयाँ कम्प्युटर प्रणाली अपनाउनुपूर्व कार्यसम्पादन गर्ने र सरकारी कर्मचारीको सोच्ने प्रणालीमा परिवर्तन ल्याउन जरुरी छ।

सुशील बजिमय
बुद्धनगर, काठमाडौँ


दोष लुकाउने प्रपञ्च

माओवादी विधायक देवी खड्काले बुद्धिमान पाखि्रनको मृत्युलाई स्वाभाविक ठानेकी रहिछन्। त्यसमाथि उनले सुराकीको आरोप लगाउँदै सूर्यलाई हत्केलाले छेक्न खोजेकी रहिछन् (देश/'तुष अझै बाँकी छ', १–१५ वैशाख)। ९ मङ्सिर २०५९ को साँझ खाना खानै लाग्दा उनैको घरबाट कृति र शिला जस्ता अबोध बालिकासँग 'बाबालाई छिट्टै पठाइदिन्छु' भनेर लगेका माओवादीले मारी नै हाल्छन् भन्ने विश्वास छँदै थिएन तर १५ गते सुनखानीको स्याउली बजारमा बुद्धिमानको लास भेट्दा जिल्ला नै स्तब्ध भयो। देवी खड्काले बुद्धिमानलाई सुराकीको आरोप लगाइन्। तर जति हत्या गरिन्छ, ती सवैबाट उम्कनका लागि सुराकीको आरोप लगाउने माओवादीको नियमित प्रक्रिया नै थियो त्यतिबेला। बुद्धिमान जस्तो इमान्दार र कतर्व्यनिष्ठ कम्युनिष्ट कार्यकर्तालाई सुराकीको आरोप लगाउनु गलत हो। हाम्रा साथीहरूलाई मृत्युदण्डको सजाय सुनाउँदा होस् वा घरमा ताला लगाएर लखेट्दा वा जायजेथा रोक्का गर्दा होस्, अत्यन्त संयमतापूर्वक उनीहरूलाई राजनीतिक शक्तिको रूपमा स्वीकारेर वार्ताबाट समाधान खोजेको हो। तर आफ्ना हजार गल्तीलाई ढाकछोप गर्न क्रूर र निरङ्कुश चरित्रलाई राजनीतिक आवरण दिन खप्पीस दोलखा–माओवादीको नेतृत्व पानीमाथिको ओभानो हुन खोजेको छ।

अहिले वाम एकताको कुरा गरेर नथाक्नेले त्यो बेला वाम एकताको विषय सोचेको मात्रै भए पनि दोलखाली जनताले बुद्धिमानको नेतृत्व त पाउने नै थिए, बुद्धिमानकै गर्भे टुहुरी छोरी प्रकृतिलाई आमा शान्ति पाखि्रनले बुबा काठमाडौँ जानुभएको छ भनेर ढाँट्नुपर्ने पनि थिएन।

देवीजीले १५ कार्यकर्ता मारेको आरोप बुद्धिमानजीलाई लगाउनुभएको छ। नेकपा एमालेको कारण माओवादीको कुनै पनि कार्यकर्ताको हत्या भएको छैन।

वसन्तराज कार्की
प्रमुख, प्रचार विभाग
नेकपा एमाले, जिल्ला कमिटी, दोलखा


सच्याइएको
गताङ्क (१–१५ असार) को जनता स्तम्भमा प्रकाशित एक सामग्रीमा सिर्जनशील प्रकाशन प्रालिका सञ्चालक/निर्देशक विजयराज आचार्य हुनुपर्नेमा विकासराज आचार्य भएकाले सच्याइएको
छ – सं.