अर्थ बजार
नयाँ स्वरूपमा बजाज डिस्कभर
बजाज मोटरसाइकलले १२५ सीसी इञ्जिन क्षमताको डिस्कभर
लाई परिस्कृत गरिएको डिस्कभर १३५ बजारमा ल्याएको छ। डीटीएसआई इञ्जिन
जडित कालो रङ्गमा नाइट्रोक्स सस्पेन्सन्, डिस्क ब्रेक, किफायती माइलेजजस्ता
नयाँ प्रविधि र सुविधाका साथ नयाँ मोडल सार्वजनिक गरिएको कम्पनीले
जनाएको छ। प्रति लिटर ८० किमि गुड्ने दावी गर्दै कम्पनीले उक्त मोटरसाइकलको
खरिदमा दुई वर्षको वारेन्टी र पाँच वर्षको सर्भिसिङका साथै एभरेष्ट
ब्याङ्कमार्फत् फाइनान्स सुविधा समेत उपलब्ध गराइएको जानकारी दिएको
छ। डिस्कभर को उपभोक्ता मूल्य रु.१ लाख २९ हजार ९०० राखिएको छ।
नयाँ रमपम बजारमा
प्रोटिन, क्याल्सियम, भिटामिन 'ए' तथा भिटामिन 'डी'
जस्ता अतिरिक्त पौष्टिक तत्व थपिएको दावी गर्दै एसियन थाई फुड्सले
नयाँ रमपम तयारी चाउचाउ बजारमा ल्याएको छ। चाउचाउलाई लामो समयसम्म
ताजा बनाइराख्न मेटालिक प्याकेटको प्रयोग गरिएको कम्पनीले जनाएको छ।
नयाँ रमपम को उपभोक्ता मूल्य रु.१२ तोकिएको छ।
सहुलियतमा मारुति
चौधरी ग्रुपको अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सले मारुति
स्विफ्ट गाडीको खरिदमा दुई वर्षको निःशुल्क गाडी बीमा र 'एक्सचेन्ज
अफर' सुविधाका साथै म्युजिक सिस्टम, सिट कभर, फ्लोर म्याट, बडी र बम्पर
माउल्डिङ सेट सित्तँैमा दिने भएको छ। यसैगरी कम्पनीले ग्राहकहरूलाई
रु.१ लाख ५० हजार भुक्तानी गरेपछि सिटिजन ब्याङ्कको फाइनान्स सुविधामा
मासिक रु.८,१११ को किस्तामा मारुति ८०० उपलब्ध गराउने योजना पनि सार्वजनिक
गरेको छ।
कुमारीपाटीमा सोनी
जापानी इलेक्ट्रोनिक कम्पनी सोनीको अधिकृत बिक्रेता
नेपा हिमा ट्रेड लिङ्कले उपत्यकामा नयाँ शो–रुम खोलेको छ। ललितपुर,
कुमारीपाटीमा खुलेको उक्त शो–रुममा पनि अन्य शो–रुममा झैँ विभिन्न
सोनी उपकरणहरू उपलब्ध हुने कम्पनीले जनाएको छ। यसअघि कम्पनीले काठमाडौँको
कान्तिपथ, न्यूरोड र चाबहिल तथा नारायणघाट र पोखरामा पनि शो–रुम सञ्चालन
गर्दै आएको छ।
लक्ष्मीको भीसा क्रेडिट कार्ड
भीसा इन्टरनेशनलको सदस्यता प्राप्त गरेको लक्ष्मी ब्याङ्क
भीसा क्रेडिट कार्ड जारी गर्ने नेपालको पाँचौँ ब्याङ्क भएको छ। यो
क्रेडिट कार्डको प्रस्तुतिपछि ग्राहकलाई प्रदान गरिँदै आएको ब्याङ्किङ
सुविधामा पूर्णता आएको ब्याङ्कको भनाइ छ। सञ्चालन भएकोको पाँच वर्ष
पूरा गरेको लक्ष्मी ब्याङ्कले क्रेडिट कार्डलगायत इन्टरनेट ब्याङ्किङ
सेवा विस्तार गर्दै लैजाने विश्वास दिलाएको छ।
कार्यालय उपकरण
काठमाडौँस्थित अमृत ट्रेडर्सले कार्यालय प्रयोजनमा उपयोग
हुने वस्तुहरूको निर्माता बेलायती कम्पनी जेस्टेटनर तथा जापानी कम्पनी
रिकोका उत्पादनहरू नेपाली बजारमा भित्र्याएको छ। कम्पनीले भित्र्याएका
वस्तुहरूमा जेस्टेटनर का साधारणदेखि अत्याधुनिक प्रिन्टर, स्क्यानर
र फ्याक्स तथा रिको का फोटोकपी, फ्याक्सलगायतका इलेक्ट्रोनिक उपकरणहरू
छन्। कम्पनीले नेपालमै उपकरणका सम्पूर्ण स्पेयर पार्ट तथा मर्मत सम्भारका
लागि दक्ष इञ्जिनियरसमेत उपलब्ध गराउने जानकारी दिएको छ।
माछापुच्छ्रेको शाखा विस्तार
माछापुच्छ्रे ब्याङ्क लिमिडेटले ग्राहकहरूलाई थप सुविधा
प्रदान गर्न थापाथलीमा विस्तारित काउण्टर सेवा सञ्चालन गरेको छ। १२
वटा शाखाबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको ब्याङ्कको उक्त काउण्टरबाट
निक्षेप सङ्कलन तथा भुक्तानी सेवा उपलब्ध गराइने ब्याङ्कले जनाएको
छ।
शिखरको मालामाल
शिखर शुको कमाल, हरेक जोरमा मालामाल' भन्ने नाराका साथ
शिखर शुज्ले शिखर जुत्ताको खरिदमा पाइने स्क्र्याच कुपनबाट रु.१००
देखि रु.२ लाख नगद उपहार वा १० देखि ५० प्रतिशत नगद छुट योजना अघि
सारेको छ। योजनाअनुसार रु.४२५ भन्दा बढी मूल्यका जुत्ताको हरेक खरिदमा
उपहार र छुट प्राप्त हुने कम्पनीले जनाएको छ।
इटालीको पाइनी नेपालमा
होम फर्निचरले नेपालमा इटालीस्थित पाइनी कम्पनीद्वारा
निर्मित स्यानेटरी सरसामानको बिक्री शुरु गरेको छ। सन् १९५४ देखि उत्पादित
पाइनी का सन् मोरगाना, जोली, कपर, फस्ट, पाइलट जस्ता ब्राण्डका धारा
र मिक्सरहरू उपलब्ध गराउने कम्पनीले जनाएको छ।
फेम नेपकिन
म्याग्नाभ्याक्स प्रालिले नेपाली महिलाहरूका लागि तीन
प्रकारका स्यानेटरी टावल (नेपकिन) बजारमा ल्याएको छ। फेम क्लासिक,
फेम ड्राई र फेम रिट्ज ब्राण्डमा उपलब्ध यी नेपकिनको प्रति प्याकेट
उपभोक्ता मूल्य क्रमशः रु.२८, ३२ र ४८ राखिएको छ।
बैंक अफ काठमाण्डूको नयाँ शाखा
ब्याङ्क तथा वित्तीय संस्थाबीच बढ्दो प्रतिस्पर्धाबीच
बैंक अफ काठमाण्डूले राजधानीको गोङ्गबु र बाँकेको कोहलपुरमा नयाँ शाखाहरू
खोलेको छ। अन्य शाखाबाट झैँ यी शाखाबाट पनि सम्पूर्ण ब्याङ्किङ सेवा
प्रदान गर्ने ब्याङ्कले जनाएको छ।
|