हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

टिप्पणी स्वास्थ्य

नेपालको खाँचोः गाउँ–गाउँमा पहुँच

मार्क जिमरम्यान

नेपाललाई बचाउन पहिले नेपालीहरूलाई बचाउनु आवश्यक छ। हामीले बझाङ छोड्नु एकदिन अगाडि एक बाबुले चैनपुर जिल्ला अस्पतालले उपचार हुन सक्तैन भनेर फर्काएको सात वर्षको छोरालाई जँचाउन ल्याए। केटाको घाँटीको घाउ पाकेर सुन्निएको रहेछ। भाग्यवश त्यति ठूलो समस्या नभएकोले हामीले छिट्टै घाउ सफा गरेर उपचार गर्‍यौँ। नदुख्ने औषधि र एनेस्थेसियाको अभावमा दुखेर ऊ धेरै रोयो, तैपनि एक–दुई दिनपछि नै घाउ ठीक भयो। नेपालमा यस्ता घटना दिनहुँ हुन्छन्। जिल्लामा अस्पताल हुन्छ, तर सामान्य उपचार पनि पाईँदैन। सुत्केरी, हात भाँचिएका केटाकेटी, पोलिएका विरामी सबै रोइकराइ गरेर र चिच्याएर नेपालको स्वास्थ्य सेवामा परिवर्तनको लागि आवाज उठाइराखेका छन्।

स्वास्थ्य मन्त्रालयका कर्मचारीहरू ठूला चुनौती सामना गर्दै गाउँ–गाउँमा स्वास्थ्य सेवा पुर्‍याउन लागेका छन्। पैसा कम छ। सरकारी अस्पताल र स्वास्थ्य चौकीहरूमा पर्याप्त पूर्वाधार छैनन्। राजनीतिक स्थिरता छैन। र, सबैभन्दा ठूलो समस्या, जिल्ला र गाउँमा स्वास्थ्यकर्मीहरूको कमी छ। त्यस्ता ठाउँमा स्वास्थ्यकर्मीको उपस्थितिमा सुत्केरी हुने १८ प्रतिशत, विकट जिल्लामा त ५ प्रतिशत मात्रै, हुन्छन्।

गएको दशकमा नेपालमा धेरै मेडिकल कलेज खुले, जसले वर्षमा एक हजार डाक्टर उत्तीर्ण गर्ने गरेका छन्। ४० वटा नर्सिङ क्याम्पस र १२५ जति स्वास्थ्य तालिम केन्द्रबाट चार हजार स्वास्थ्य सहायक, सीएमए, अनमिहरू निस्कन्छन्। तर जिल्ला अस्पताल र गाउँका स्वास्थ्य केन्द्रहरूमा कोही हुँदैनन्।

नेपालको स्वास्थ्य क्षेत्रमा ठूलै परिवर्तनको खाँचो छ र त्यस क्रममा गर्नुपर्ने कामहरू यस्ता छन्:

धेरै नेपालीको पहुँच
अहिले नेपालका ठूला शहर, खासगरी काठमाडौँ उपत्यकामा, थोरै नेपालीहरूलाई विश्वस्तरका अत्याधुनिक उपचार सेवा उपलब्ध छन्। तर हुनुपर्ने चाहिँ जिल्ला–जिल्ला, गाउँ–गाउँमा सकेसम्म धेरै नेपालीलाई धेरै किसिमको स्वास्थ्य सेवामा पहुँच हो। खुशीको कुरा, स्वास्थ्य मन्त्रालयले डाक्टर मात्र हैन, एनेस्थेसिया विशेषज्ञ, सहायक स्वास्थ्यकर्मी, अनमी र तालिमप्राप्त सुडेनीहरूलाई देशभरि परिचालन गर्न खोजेको छ।

जिल्ला र गाउँका स्वास्थ्यकर्मीलाई प्रोत्साहन
स्वास्थ्यकर्मीहरू किन जिल्ला र गाउँमा काम गर्न मान्दैनन्? एउटा कारण, विदेश पलायन पनि हो। नेपालको एउटा ठूलो मेडिकल कलेजका आधाभन्दा बढी स्नातक अमेरिका गए। तीमध्ये दुईतिहाइ फर्केर आउने सम्भावना कम छ। अब त डाक्टरहरू मात्र हैन, नर्सहरू पनि पलायन भइरहेका छन्। उनीहरूलाई मात्रै के दोष दिनु? नेपालमा भन्दा दशौँ गुणा बढी बाहिर कमाउन सक्छन्। स्वास्थ्यकर्मीहरूलाई जिल्लामा काम गर्न विभिन्न सुविधा उपलब्ध गराउनुपर्छ– उच्च शिक्षामा पहुँच, गाउँमा सञ्चार सेवा, केटाकेटीहरूलाई पढ्ने स्कूल, अस्पतालको उचित व्यवस्थापन, आदि। नेपालमा अब स्वास्थ्यकर्मीको कमी छैन, उनीहरूलाई चाहिएको ठाउँमा काम गर्न र बस्न सुविधा दिएर आकर्षित गर्नुपर्ने आवश्यकता मात्र छ।

जनरल प्राक्टिसनर र सहायक स्वास्थ्यकर्मीलाई प्राथमिकता
नेपालको ग्रामीण स्वास्थ्यमा सबै किसिमका आधारभूत परीक्षण र उपचार गर्न सक्ने जनरल प्राक्टिसनर डाक्टरहरू (एमडीजीपी) को आवश्यकता छ। नेपालको नीति नै अधिकतम एमडीजीपी उत्पादन गर्ने र हरेक जिल्ला अस्पतालमा दुई–तीन जनालाई खटाउने हुनुपर्छ। यस्ता डाक्टरले नेपालको ग्रामीण स्वास्थ्यमा योगदान पुर्‍याइरहेका पनि छन्। उनीहरू अपरेशन गर्न, प्रसुती सेवा दिन, बच्चाहरूलाई जाँच्न र स्वास्थ्य सेवासम्बन्धी विभिन्न तालिमहरू सञ्चालन गर्न सक्छन्। अर्कोतिर, सबै समस्याको समाधानका लागि डाक्टर मात्रै चाहिन्छन् भन्ने पनि छैन। कति ठाउँमा सहायक स्वास्थ्यकर्मी र अन्य अनुभवी स्वास्थ्यकर्मीहरूले पनि रोग पत्ता लगाउन र उपचार सेवा दिन सक्छन्। बच्चा पाउन सघाउन डाक्टरभन्दा अनमीहरू जान्ने हुन्छन्।

यति गरे मात्र पनि हामी जिल्ला र गाउँमा बस्ने धेरै नेपालीहरूको रोग र पीडालाई कम गर्न सक्छौँ।

(डा. जिमरम्यान निक साइमन्स इन्ष्टिच्यूटका प्रमुख सञ्चालक हुन्।)