हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

समाचार टिप्पणी

चाहियो विशेष व्यवस्था

राजमार्ग, यातायातका साधन र यात्रुको सुरक्षा गर्न अब छुट्टै नीति र कानून जरुरी भइसक्यो।

डम्बरकृष्ण श्रेष्ठ

नेपालको सडकयात्रा जोखिमपूर्ण र पीडादायी छ। सडकको दुर्दशा आफ्नै ठाउँमा छ भने आन्दोलन, विरोध र दबाबमूलक कार्यक्रमका नाममा गरिने बन्द, चक्काजाम र जुलुस–धर्ना–विरोधले झन् बेहाल पारेका छन्।

लाग्छ; आन्दोलनकारीलेे रिस फेर्ने, आक्रोश पोख्ने र आफूलाई विद्रोही देखाउने ठाउँ सडक मात्रै हो। आगो बालेर, रूख ढालेर, ढुङ्गा–माटो थुपारेर वा आफैँ उभिएर सडक अवरुद्ध पार्ने काम अब सामान्य भइसकेका छन्। सडकमा गुडिरहेका सवारीसाधनमा तोडफोड, आगजनी र लुटपाट बढेको छ। टायरको धुवाँ र खरानीले जनस्वास्थ्यलाई क्षति पुर्‍याइरहेको तथा शहरबजारलाई फोहोर, प्रदूषित र विरुप बनाइरहेको छ।

सडकमा निस्किने सबैखाले 'आन्दोलनकारी' मा एक किसिमको साझा प्रवृत्ति छ– सडकमा निस्क्यो, टायर, फोहोर, कागजपत्र, काठदाउरा, आदि डढायो र चक्काजाम 'सफल' पार्‍यो। यति गरे मात्रै सम्बन्धित पक्षको ध्यानाकर्षण हुन्छ भन्ने विश्वास आयोजकहरूलाई हुन्छ। त्यसैले राष्ट्रिय राजनीतिक मुद्दामा मात्रै होइन, शैक्षिक, औद्योगिक, व्यापारिक मामिला, कुनै एउटा कार्यालयसँग सम्बन्धित माग पूरा गराउन पनि सडक जाम गरिन्छ। हुँदाहुँदा कुनै समूह, समुदाय, परिवार र व्यक्तिका असन्तुष्टि विरुद्ध पनि सडक नै प्रयोग भएका छन्।

सडकजामले यात्रुहरू अलपत्र र बेखर्ची भएका तथा निर्धारित समयमा गन्तव्यमा पुग्न नसकेका मात्र होइन, उनीहरूको जीउधन नै जोखिममा परेका घटना पनि भएका छन्। गत माघमा भएको लामो मधेश बन्दको बेला पूर्वीक्षेत्रका सयौँ यात्रु भारतको बाटो भएर राजधानी जान बाध्य भए। यस क्रममा गोरखपुर पुगेका तीन वटा बसका यात्रु त्यहाँ लगाइएको कर्फ्युको कारण बेखर्ची भएर अलपत्र परेका थिए। देशभित्रै पनि लहान, इटहरी र काकडभिट्टामा यात्रु अलपत्र र बेखर्ची भएका, बालबालिका भोक र प्यासले बेहोस भएका दुःखदायी दृष्टान्त छन्। कति मानिसले बेलामा उपचार नपाएर ज्यान गुमाएका छन्। सर्वसाधारणका लागि आवागमनको भरपर्दो विकल्प सडक यातायात नै अवरुद्ध भएपछि उनीहरूका विभिन्न कामधन्दा, व्यवहारमा कति ठूलो असर पर्ला र देशको आपूर्ति अवस्था कतिसम्म खलबलिएला भन्ने अनुमान गर्न पनि सकिँदैन।

कानूनी राज्यका आधारभूत मान्यता अनुसार मानिसका प्रत्येक काम र व्यवहार कानूनद्वारा निर्देशित हुनुपर्दछ। तर अहिलेसम्मको व्यवहार हेर्दा सडकमा जसले जे गरेपनि हुने देखिएको छ। हाल क्रियाशील सवारी ऐनले सडक यातायात व्यवस्थित गर्न विभिन्न व्यवस्था गरेपनि सडक, यातायातका साधन र यात्रुहरूको सुरक्षालाई ध्यानमा राखेर तिनको निर्वाध आवागमनमा हस्तक्षेप गर्न नपाइने कडा प्रत्याभूति भएको छुट्टै नीति र कानून जरुरी भइसकेको छ। यसो भन्दा हरेक कुरालाई सम्बोधन गर्ने छुट्टै नीति र कानून निर्माण सम्भव होला र भन्ने लाग्न सक्छ। तर देशको विकास, अर्थतन्त्र र जनजीवनसँग गहिरोसँग गाँसिएको सडकमा अवरोध पुर्‍याउने गतिविधिमाथि नियन्त्रण गर्नैपर्छ। त्यसमाथि पूर्व–पश्चिम राजमार्गलाई एसियाली राजमार्ग बनाउने र अरनिको राजमार्ग हुँदै चीनको मुख्य भूमिसम्म यातायात सुविधा विस्तार गर्ने चर्चा चलिरहेका सन्दर्भमा तिनलाई सार्थक बनाउने हो भने राजमार्गको सुरक्षा सुनिश्चित हुनु अपरिहार्य छ।

हाम्रो सन्दर्भमा सडक यातायात नै सबै विकासको मेरुदण्ड हो। समग्र र सन्तुलित विकासका लागि सडकहरू व्यवस्थित र तिनमा निर्वाध आवागमन हुनैपर्छ। जथाभावी हुने चक्काजाम र सवारी साधनमाथिको आक्रमण रोकिनैपर्छ। सडकको अवस्था हेर्ने सडक विभाग, सवारी यातायात व्यवस्थित गर्ने सवारी ऐन र देशमा शान्तिसुरक्षा हेर्ने गृह मन्त्रालयले सडक, सवारी साधन र यात्रुलाई सुरक्षा दिन नसकेपछि विकल्प नसोची हुँदैन। चक्काजामका नाममा यति ज्यादती गरियो कि यसलाई अब राजनीतिक समस्या समाधान भएपछि आफैँ समाधान हुन्छ भनेर पर्खन सकिन्न।

सडकलाई व्यवस्थित र सुरक्षित गर्न यस्तो ठोस नीति र कानून बन्नुपर्छ, जसले सडकलाई वर्गीकरण गरोस्, तिनको न्यूनतम स्तर, त्यहाँ गुड्न आवश्यक शर्त र पाइने सुविधाको मापदण्ड तय गरोस्, कुनै पनि कारण देखाएर तिनमा चक्काजाम, धर्ना वा अवरोध गर्न रोक लगाओस्, राजमार्ग र सडकहरूबाट कति दूरीमा बस्ती रहन सक्छ भन्ने मापदण्ड बनाओस्, अनि आवश्यक परे सडक, सवारी साधन र यात्रुलाई मात्रै हेर्ने गरी विशेष सुरक्षाबलको समेत व्यवस्था गरोस्।