हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
ऋतुराज

ऋतुविचार

अनि प्रधानमन्त्रीलाई 'गुस्सा' आउँदैन त?

आफूलाई मन नपर्ने कुरा सुन्नुपर्दा जसलाई पनि झोँक चल्छ। राणाशासनविरुद्ध सशस्त्र विद्रोहको समाचार रेडियोमा सुनेर राणा सरकारको कमान्डिङ जनरल भइटोपलेका बबरशमशेरले लात्तीले हानेर रेडियो नै फोरिदिएका थिए रे! ब्याङ्क ठगुवालाई समातेर पुलिसको जिम्मा लगाइदिएको समाचार सुनेर धन्न हाम्रा प्रधानमन्त्रीले माइक्रोफोन मात्रै पन्छाए टीभी क्यामेरा फोरेनन्।

व्यापार भनेको अपार हो, कहावतै छ। यसको साँध–सिमाना केही हुँदैन। मूल मन्त्र हो धन–आर्जन गर्नु। व्यापारमा तल–माथि दायाँ–बायाँ हुन्छ। भन्सार छल्नुपर्ने हुन्छ, कर लुकाउनुपर्ने हुन्छ। अन्तशुल्क ढाँट्नुपर्ने हुन्छ या अन्तशुल्कको स्टिकर आफैंले टाँस्नुपर्ने हुन्छ। रिन लिएर जानाजान नतिर्नुपर्ने हुन्छ। कोसेली टक््य्राउनुपर्ने हुन्छ। नजराना चढाउनुपर्ने हुन्छ। कतिलाई रिझाउनुपर्ने। त्यसो गर्न नसक्नेहरू पनि छन् तर खुद्रे व्यापारीहरू, जीवनभर जीरामरिच पोका पारेर बस्नेहरू। अथवा कुटिर वा साना उद्योग चलाउनेहरू। कहाँ हुन पाउने तिनीहरूले ठूलाठूला सङ्घ र महासङ्घका नेता? कहाँ चढ्न पाउने उनीहरूले पजेरो, प्राडो र मर्सिडिज बेन्ज? के पाउँथे तिनीहरूले कुम जोर्न मन्त्री, प्रधानमन्त्री, सचिव, करसाब–जरसाब र पार्टी नेताहरूसित?

कालो सूचीमा नाम नपर्ने त गोज्याङ्ग्रो हो केही हैसियत नभएको। ब्याङ्कको पैसा नचलाई आफ्नो सम्पत्ति लगानी गर्ने त हुस्सु हो बुद्धि नभएको। एल.सी. सेल.सी. मा घपला गर्ने, विदेशी मुद्रा अपचलन गर्ने, बगर धितो राखेर कर्जा लिन सक्ने पो हुनुपर्छ त उद्यम–व्यापार चलाउन। त्यसैले ब्याङ्क डुबायो भनेर कसैलाई कारबाही गरेर के साध्ये? कतिलाई पक्रनु? कतिलाई थुन्नु? गिर्दा हालेको काठमाडौँको टुँडिखेल पनि सानो होला त्यस्तालाई पक्रेर थुन्ने हो भने।

यस्ता काममा अल्झिने फुर्सद सरकारलाई छैन पनि। संसद चलाउनु छ, भाषण गर्नु छ, मन्त्री पद खानु छ, तलबभत्ता पचाउनु छ― काम कति छन् कति!

फेरि भनाइ नै छ पीर बूढीबज्यै मरिन् भन्ने होइन पीर काल पल्क्यो भन्ने हो। सुकिला अपराधीहरूलाई यसरी नै कार्बाही गर्न दिने हो भने त पालो कसको आउँछ आउँछ के थाहा?

अनि हाम्रा प्रधानमन्त्रीलाई 'गुस्सा' आउँदैन त?

प्रदूषित वायु
काठमाडौँको हावा कुन हदसम्म बिग्रिएको छ भनी थाहा पाउनलाई दस–पन्ध्र दिन बाहिर बिताएर आउनुपर्छ। नागढुङ्गा नाघेर भित्र छिर्नासाथ ह्वाप्प छोप्छ यहाँको प्रदूषित हावाले। धुवाँ रुमल्लिरहेको भान्साकोठामा छिरेजस्तो अनुभव हुन्छ।

तीस–चालीस किलोमिटर टाढाको कुनै अग्लो डाँडाबाट काठमाडौँतर्फ हेर्नुपर्छ वैजनी–कालो धुवाँको मुस्लो ओकलिरहेको ज्वालामुखी जस्तो देखिन्छ काठमाडाँैमाथिको आकाश।

नेपालका अन्य शहरको वायु शायदै यति खराब होला जति काठमाडौँको छ। यस्तोमा प्राणायाम गरेर पो के हुन्छ र! फोक्सोमा पस्ने त्यही धूलो र धुवाँ हो। कवि भूपी शेरचनले काठमाडौँ खाल्डोलाई एउटा चिसो 'एस ट्रे' को उपमा दिएका थिए। एस ट्रे अर्थात् चुरोटको खरानी झार्ने भाँडो। 'एस ट्रे' त हो, तर शायद चिसो चाहिँ होइन होला। पूरै निभी नसकेर धुवाँ छाडिरहेका चुरोटका ठुटैठुटाले भरिएको राखदानीजस्तो पो लाग्छ यो खाल्डो अहिले।

यहाँ बाहिरबाट क्रान्तिकारी आउँछन् र भ्रान्ति पाल्ने हुन्छन्। विद्वान् पस्छन् र विवेकहीन बन्छन्। इमानदार कर्मचारी आउँछन् र भ्रष्टाचारी हुन्छन्। मिहिनेती व्यापारी आउँछन् र कालाबजारी बन्छन्। नेता आउँछन् पिछलग्गु बन्छन्। मुठी उचालेर आउँछन् हात पसार्ने बन्छन्। सग्ला आउँछन् भाँचिएर टुक्राटुक्रा हुन्छन्। यो सबै हुने कारण यहाँको खराब वायु नै त होला, नत्र अरू कारण के हुन सक्ला?

नेपालीपन
नेपाली हुनलाई नेपालीपन चाहिन्छ, पक्का हो। तर, नेपालीपन केलाई भन्ने? के हो नेपालीपन? एक साँझ साथीभाइमाझ यसै कुरा चल्यो। भूमण्डलीकरणको यस युगमा खानपिन, रहनसहन, पहिरन सबै एकनासे भइसके। त्यसैले लवाइखुवाइले मात्र नेपालीपनलाई परिभाषित गर्दैन।

दुईचार क्वार्टर रित्याएपछि साथीभाइहरू निष्कर्षमा पुगे― नेपालीपन भनेको यस्तो चारित्रिक विशेषता हो, जो अरूमा पाइन्न। जुन बानीबेहोर किमार्थ बदलिन सकिन्न। के के हुन् ती बानीबेहोर? साथीभाइले निकालेको सूची यस्तो छः
१. खकार्नुः मुख धुँदा, दाँत माझ्दा र खाएर चुठ्दाखेरि र अरू बेला पनि नेपालीहरूको खकार्ने क्रिया विशिष्ट छ। यस क्रियामा विशिष्ट नेपालीपन पाइन्छ। नेपालीले जसरी घाँटीभित्रबाट खकार तानी खकार्छ त्यस्तो कसैले गर्न सक्तैन।
२. थुक्नुः थुक्न त सबैले थुक्छन्। तर नेपालीहरू जस्तो जहाँतहीँ र जहिलेसुकै थुक्दैनन्।
३. साइकलमा चुरोट खानुः चट्ट चुरोट सल्काएर मोटरसाइकल स्टार्ट गर्नु अनि हाँक्नु― त्यसमा नेपालीपन छ। खासगरी साइकलमा पाइडल मार्दै चुरोट तान्नु त झनै मौलिक नेपालीपन हो।
४. हर्न बजाउनुः प्रत्येक सवारी साधनमा हर्न हुन्छ जसलाई वेलाबखत बजाउनुपर्ने हुन्छ। तर नेपालीको हातमा परे त्यो हर्नले फुर्सद पाउँदैन लगातार बजिरहन्छ।
५. क्यु मिच्नुः क्यु लाग्न सिकाएको अङ्ग्रेजले हो। नेपाल सदैव स्वाधीन राष्ट्र थियो। अङ्ग्रेजले सिकाएको चालालाई नेपाली मान्दैनन्। क्यु मिचेर अघि बढ्नुमा आफूलाई स्मार्ट सम्झन्छन्।
६. मनपरी ओभरटेक गर्नुः ओभरटेक भनेको अर्कालाई उछिन्नु हो। दायाँबाट गरुँ कि बायाँबाट, के फरक पर्छ र?
७. हतारिनुः आजको समयमा हतार कसलाई पो हुँदैन र! तर अरू हतारिन्छन् कामले, नेपाली हतारिन्छन् विना कामले। हिँड्दा पनि अरूलाई ठेल्दै घचेट्दै हिँड्छन्। मोटरसाइकलको त कुरै भएन एकनिमेष पर्खन सक्तैनन्।

माथि वर्णित गुणहरू खाँट्टी नेपालीपनका परिचायक हुन् साथीभाइको दृष्टिमा। प्रिय पाठकवृन्द, तपाईंका दृष्टिमा पनि नेपालीपन जनाउने त्यस्ता केही उदाहरण छन् कि?