रिपोर्ट एमाले
दिल्लीले भन्यो 'समाजवादी बन'
एमाले नेतृत्वको बहुचर्चित दिल्ली भ्रमणमा भारतले
के कुरामा जोड दिएको हुनसक्छ?
भ्रमणमा सहभागी एक एमाले नेता भन्छन्, “भारत चाहन्छ, एमालेले आफूलाई
वामपन्थी धारबाट समाजवादी धारमा रुपान्तरण गरोस्।”
• किरण
नेपाल
जेठको
दोस्रो साता नेकपा (एमाले) का नेताहरूले गरेको भारत भ्रमणलाई भारतीय
संस्थापन पक्षले पनि अति महत्त्व दिएको छ। महासचिव माधवकुमार नेपालको
नेतृत्वमा नेताद्वय केपी शर्मा ओली र भरतमोहन अधिकारी संलग्न टोलीसँग
भारतीय प्रधानमन्त्री, राजनीतिक दलका नेता र प्रशासकहरुले समेत प्राथमिकता
दिएर छलफल गरेका छन्।
यसबाट भारतले झण्डै डेढ दशकयता राख्दै आएको संवैधानिक
राजतन्त्र र बहुदलीय प्रजातन्त्रको 'दुई खम्बे' मान्यतामा परिवर्तन
गर्न खोजेको एकथरीको बिश्लेषण छ। भारतीय नेताहरूले राजाका बारेमा छलफल
गर्न रुचि नदेखाउनु र एमालेलाई विशेष महत्त्व दिनुले यस्तै सङ्केत
गर्छ। लोकतन्त्रको बहालीपछि क्रमशः ओरालो लागेका राजा भोलिको नेपाली
राजनीतिमा उल्लेख्य खेलाडी बन्न नसक्नेमा भारत पनि सहमत भएको अनुभूति
हुन्छ। एक एमाले नेता भन्छन्, “यो भ्रमणबाट नेपाली राजनीतिलाई कुनै
पनि बेला नेतृत्व गर्ने संभावना बोकेको एमालेका बारेमा भारत थप स्पष्ट
हुन खोजेको देखिएको छ।”
नेपाली राजनीतिक इतिहासको हरेक कालखण्डमा भारतको भूमिकाले
धेरथोर 'महत्त्व' पाउने गरेको छ। राणाकालमा राणाशासक, राजा र प्रजातन्त्रवादी
तीनैथरी शक्तिहरूमा रहँदै आएको भारतको 'प्रभाव' पञ्चायतकालमा पनि राजा
र पञ्चायतविरोधी दुवै शक्तिहरूमा कायम थियो। पछिल्लो समय पनि नेपालका
प्रमुख शक्तिहरू राजा, संसदीय दल र माओवादीसँग भारतको कुनै न कुनै
किसिमको सम्बन्ध रहँदै आएको हो। माओवादीसहित आठ दलको शान्तिपूर्ण जनआन्दोलनको
प्रारुपका रूपमा रहेको चर्चित १२ बुँदे सहमति पनि भारतमै भएको थियो।
स्पष्टताको खोजी
झण्डै सात दिन लामो भारत भ्रमणका क्रममा एमाले नेताहरूले भारतीय प्रधानमन्त्री
मनमोहन सिंह, कङ्गे्रस (आई) अध्यक्ष सोनिया गान्धी, पूर्व प्रधानमन्त्रीद्वय
अटलविहारी बाजपेयी र इन्दरकुमार गुजराल, भारतीय जनता पार्टीका अध्यक्ष
राजनाथ सिंह, नेता लालकृष्ण आडवाणी, जसवन्त सिंह, समाजवादी नेताहरू
लालुप्रसाद यादव, शरद यादव लगायतका आठ दलका १८ जना नेताहरूसँग भेटेका
थिए। यसबाहेक एमाले नेतृत्वको सम्मानमा भारतीय उद्योगपतिहरूको संस्था
कन्फेडेरेशन अफ इण्डियन इण्डष्ट्रिजले दिवाभोजको आयोजना गरेको थियो,
जहाँ एमाले नेताहरूले आफ्नो आर्थिक एजेण्डाका बारेमा भारतीय उद्योगी/व्यापारी
समुदायलाई स्पष्ट पार्ने मौका पाएका थिए।
भ्रमण टोलीका एक सहभागीका अनुसार अधिकांश नेताहरूसँगको
भेटघाटमा आसन्न संविधानसभाको चुनाव, शान्ति प्रक्रिया, हतियार व्यवस्थापन,
माओवादीको राजनीतिक रुपान्तरण लगायतका विषयहरू नै कुराकानीका प्रमुख
मुद्दा थिए। विजेपी अध्यक्ष राजनाथ सिंहले भने यीबाहेक हिन्दुत्व,
धर्म परिवर्तनलगायतका मुद्दाहरूमा समेत एमालेको धारणा बुझ्न खोजेका
थिए। भ्रमणमा एक सहभागी भन्छन्, “सिंह हिन्दू राष्ट्रबाट धर्म निरपेक्ष
भइसकेको नेपालले धर्म परिवर्तनप्रति कस्तो नीति लिने हो भन्नेमा चिन्तित
देखिन्थे।”
तिनै सहभागीका भनाइमा, विजेपी नेता लालकृष्ण आडवाणीबाहेक
अरू कसैले पनि राजाको बारेमा एमाले नेतृत्वको धारणा जान्ने प्रयास
गरेनन्। विजेपी अध्यक्ष सिंहसँगको भेटमा नेपाली राजनीतिको पछिल्लो
अवस्थाका बारेमा कुरा भइरहँदा महासचिव नेपालले राजाको स्थितिबारे बोल्न
मात्रै के लागेका थिए, सिंहले 'उनको कुरै नगरौँ, पुरानो विषय भयो अब
नेपालको राजतन्त्र' भनेर कुराकानी अन्तै मोडेका थिए। आडवाणीले भने
यदि 'सेरेमोनियल' राजतन्त्रमा कुरा मिल्ने हो भने गिरिजाप्रसाद कोइरालाको
लाइन ठीक रहेको आफूले बुझेको, तर फेरि पनि नेपाली जनता जे चाहन्छन्
त्यही नै ठीक हुने विचार व्यक्त गरेका थिए।
एमालेको राजनीतिक धरातललाई खोतल्ने काम सत्ताधारी भारतीय
काङ्ग्रेस र समाजवादी नेताहरूले भन्दा पनि विजेपीका नेताहरूले बढी
गरे। ती दलका नेताहरूसँगको भेटघाटमा हिन्दुत्वको पर्यायका रूपमा रहेका
राजाको अस्तित्व नरहँदा नेपालमा हिन्दू धर्मको अवस्था के–कस्तो हुन्छ,
माओवादी सहितको उग्रवामपन्थी भड्कावको असर नेपाली राजनीतिमा के–कस्तो
पर्न सक्छ भन्ने विषयमा एमाले नेतृत्वले बढी नै समय खर्चिएको थियो।
ती सहभागी भन्छन्, “पार्टीको आर्थिक नीतिका बारेमा पनि राम्रैसँग व्याख्या
गर्नुपर्यो।”
भारतीय समकक्षीहरूले पछिल्लो समय नेपालमा चर्चामा आएको
'वाम एकता' का बारेमा पनि एमाले नेताहरूको धारणा थाहा पाउन खोजेका
थिए। तिनको संशय हटाउन एमाले नेतृत्वले 'आफूहरू काङ्ग्रेस जस्तो यथास्थितिवादी
र माओवादी जस्तो उग्र नरहेको' बताएको थियो। ती सहभागी भन्छन्, “उनीहरू
एमाले कुनै पनि हालतमा उग्र बाटोमा जाँदैन भन्ने कुरामा विश्वस्त हुन
खोजिरहेका थिए।” महासचिव नेपाल भन्छन्, “हामीले आफूहरू 'इलिट डेमोक्रेसी'
भन्दा पनि 'इन्क्लुसिभ डेमोक्रेसी' (सामाजिक न्यायमा आधारित समावेशी
लोकतन्त्र) को पक्षधर रहेको बताएका हौँ।”।
भारतीय नेताहरूले मधेशको विषयमा भारतको भूमिकाप्रति
नेपाली राजनीतिमा रहेको संशयप्रति स्पष्ट हुन पनि एमाले नेताहरूलाई
आग्रह गरेका थिए। यस क्रममा सबैजसो भारतीय नेताले मधेशका समस्याका
बारेमा सरकारले सम्बोधन गर्नुपर्ने आफ्नो दृष्टिकोण राख्दै नेपालको
अखण्डता र शान्तिमै भारतको पनि हित रहने भएकाले हतियार बन्द राजनीतिलाई
कुनै पनि हालतमा प्रोत्साहन गर्न नहुने मान्यतामा आफूहरू विश्वस्त
रहेको बताए। मधेशको सवालमा छलफल हुँदा विजेपीका नेताहरूले तराईमा रहेका
पहाडे मूलका मानिसहरूका सन्दर्भमा 'जो जहाँ बसेको छ, उसको त्यहीँ हक
लाग्ने' बताउँदै मधेशको आन्दोलनमा आफ्नो कुनै लेनदेन नरहेको प्रस्ट
पारेका थिए। माओवादीप्रति भने भारतीय नेताहरू पनि सशङ्कित नै देखिए।
विशेषगरी समाजवादी र विजेपीका नेताहरूले 'माओवादीहरूले हतियार लुकाएको',
'वाईसीएलका गतिविधि अराजक भएको', 'प्रजातान्त्रिक रुपान्तरणमा ढिलाइ
भएको'लगायतका कुराहरू राखेका थिए।
अझै पनि एमाले!
भ्रमणका क्रममा एमाले नेतृत्वलाई भारतीय नेताहरूले काङ्ग्रेससँग सहकार्य
गरेर जानुपर्ने सल्लाह दिएको भन्ने समाचार प्रकाशमा आएपछि माओवादी
अध्यक्ष प्रचण्डले 'भारत माओवादी सिध्याउने खेलमा लागेको' प्रतिक्रिया
दिएका थिए। यद्यपि त्यसलगत्तै प्रचण्डले 'भारतले आठ दल नै मिलेर जान
सल्लाह दिएको' भन्दै आफूलाई सन्तुलित बनाएका पनि थिए।
कतिपय जानिफकारका भनाइमा, प्रजातान्त्रिक मुलुकमा मध्यमार्गतर्फ
उन्मुख शक्तिलाई छिमेकीले पनि मन पराउँछन्। तर नेपाली राजनीतिको विडम्बना
यहाँ दलपिच्छे दक्षिणपन्थी, वामपन्थी, मध्यमार्गी समूहहरू त प्रशस्त
छन्, तर स्पष्ट रूपमा 'मध्यमार्गी' भन्न सकिने एउटै दल पनि छैन। राजाले
आफ्नो स्थान गुमाउँदै गएको पछिल्लो समयमा दक्षिणपन्थी शक्ति कमजोर
भएको छ। परम्परागत शक्तिले केही हदसम्म विभाजित अवस्थामा रहेको नेपाली
काङ्ग्रेसमार्फत् आफूलाई प्रकट गर्ने प्रयास गरिरहेको छ। परिणामस्वरुप,
नेपाली काङ्ग्रेसको पछिल्लो अवस्था 'राइट टु दि सेण्टर' (मध्यमार्गबाट
दक्षिणपन्थतिर) ढल्किन पुगेको छभने झण्डै डेढ दशकको संसदीय अभ्यासमा
सहभागी एमाले उग्रवामपन्थबाट क्रमशः 'लेफ्ट टु दि सेण्टर' (मध्यमार्गतिर)
आइरहेको छ।
भ्रमणमा सहभागि एक एमाले नेता भन्छन्, “भारत चाहन्छ,
एमालेले आफूलाई वामपन्थी धारबाट समाजवादी धारमा रुपान्तरण गरोस्। र,
यसका लागि आफ्नो नाम समेत फेरोस्।” यही कारणले हुनसक्छ, भारतीय पूर्व
प्रधानमन्त्री अटलविहारी बाजपेयीले एमाले नेतृत्वसँगको भेटको शुरुमै
आफ्नै ठट्यौली शैलीमा भनेका थिए, “अरे... आपलोग अभी भी यूएमएल!”
उता बाजपेयीले 'अझै पनि एमाले' भन्नु र यता पार्टीका
प्रभावशाली नेता तथा शिक्षामन्त्री प्रदीप नेपालले हालैको एक अन्तर्वार्तामा
'पार्टीले नाम परिवर्तन गर्नुपर्छ' भन्नुलाई संयोग मात्र मान्दैनन्,
पार्टी निकटवर्तीहरू। तिनको भनाइमा चाँडै नै, कम्तीमा अर्को महाधिवेशनसम्ममा,
एमाले नेतृत्वले आफ्नो नाम परिवर्तनको एजेण्डा छलफलमा ल्याउन र समाजवादी
दलका रूपमा नेपाली राजनीतिमा आफूलाई उभ्याउन सक्छ। २०५० सालमा विपक्षी
दलको नेताको हैसियतले संयुक्त राष्ट्रसंघको कार्यक्रमका लागि अमेरिका
जाँदा तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारीले 'एमालेले कम्युनिष्ट
पार्टीको नाम र झण्डा ब्राण्डको रूपमा मात्रै प्रयोग गरिरहेको' बताउँदा
निकै चर्चाको विषय बनेको थियो।
'राजनीतिक सम्बन्ध अझ बलियो भएको छ'
 |
| एजेन्सी |
माधवकुमार नेपाल,
महासचिव, नेकपा एमाले
तपाईहरूको भ्रमणको उपलब्धि के हो?
दल र नेताहरूप्रति भारतले विश्वास देखाएको छ। दुई मुलुकबीचको राजनीतिक
तहको सम्बन्ध झनै बलियो भएको छ। प्रजातान्त्रिक र शान्तिपूर्ण प्रक्रियाप्रति
सकारात्मक अपेक्षा राखेको भारतले दुई मुलुकबीचको विश्वास र समझदारी
अझै समुन्नत बनाउनुपर्ने चाहना देखाएको छ।
भारतको मूल चासो केमा देखियो?
मुख्य चासो संविधानसभाको चुनाव नै थियो। उनीहरू मङ्सिरमा चुनाव हुनुपर्ने
भन्नेमा देखिए। उसले यहाँको स्थिरता र एकता नै आफ्ना लागि सहयोगी हुने
बुझेको छ भन्ने हामीलाई लाग्यो। त्यसबाहेक यहाँको शान्ति प्रक्रिया,
हतियार व्यवस्थापन, माओवादीको रुपान्तरण, वाईसीएलका कार्यकर्ताहरूको
उद्दण्ड व्यवहारका बारेमा पनि उनीहरूको चासो देखियो। मधेशको समस्या
समयमै सम्बोधन गर्नुपर्ने उनीहरूको मान्यता थियो। नेपालको अखण्डता
र शान्ति नै भारतको हितमा रहेको स्पष्ट गर्दै हतियारबन्द राजनीतिलाई
कुनै पनि हालतमा प्रोत्साहन दिन नहुने पनि बताए। अहिले नेपालको शान्तिसुरक्षाको
स्थिति कमजोर भएको बुझेका छन्।
तपाईँहरूको चासो चाहिँ के थियो नि?
हामीले मूलतः मधेश आन्दोलन, भुटानी शरणार्थी मामिला, पञ्चेश्वर आयोजनालगायतमा
आफ्नो कुरा राख्यौँ। नेपालको आन्तरिक राजनीतिका बारे तिनको बुझाइ जान्न
चाह्यौँ। यीबाहेक हाम्रो पार्टीको राजनीतिक लाइन, आर्थिक नीति, विदेश
नीतिप्रति रहेको तिनको कतिपय चासोलाई पनि स्पष्ट पार्ने काम भयो।
यसपटक एमालेप्रतिको लगाव अलि बढी नै
देखियो नि?
नेपालको राजनीतिमा एमालेले बनाएको स्थान र प्रजातन्त्रप्रतिको हाम्रो
प्रतिबद्धताले भारतको ध्यानाकर्षण भएको हुनुपर्छ। प्रजातन्त्रप्रतिको
प्रतिबद्धता, कुशल कूटनीतिक क्षमता, अन्तर्राष्ट्रिय समुदायसँगको सुमधुर
सम्बन्ध, आर्थिक नीतिमा स्पष्टता र हृदयको फराकिलोपनले हामीप्रति उनीहरूको
चासो बढेको हुनुपर्छ। उनीहरू एमालेका बारेमा जान्न चाहन्थे। हामीले
पनि आफूहरू 'इलिट डेमोक्रेसी' भन्दा पनि 'इन्क्लुसिभ डेमोक्रेसी'को
पक्षमा रहेको स्पष्ट पार्यौँ। हामीले मूलतः उनीहरूलाई विश्व ब्याङ्करुपी
आर्थिक मोडलका पक्षमा आफूहरू नरहेको बताएका थियौँ, जसमा उनीहरूले पनि
'त्यो त हामी पनि छैनौँ' भनेका थिए। यो भ्रमणको मूल उपलब्धि भनेको
दुई देशको राजनीतिक सम्बन्ध झनै बलियो हुनु हो।
|