हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट माओवादी

राजनीतिक हतियार

वाईसीएलले गरेका पछिल्ला शृङ्खलाबद्ध कामकारबाही माओवादी रणनीतिअनुरुप नै भएका हुन्। वाईसीएलका उपत्यका इन्चार्ज सागर त हाकाहाकी भन्छन, “वाईसीएल डलर खाएर काम गर्ने संस्था हैन। हाम्रा सबै काम राजनीतिक फाइदाका निम्ति गरिएका हुन्।”

जेवी पुन मगर

किरण पाण्डे
२१ जेठमा राजधानीको खुलामञ्चमा सीताराम प्रसाईंलाई सार्वजनिक गर्दै वाईसीएल उपत्यका इन्चार्ज सागर र हातले अनुहार छोपेका प्रसाईं।

राजधानीमा सक्रिय योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) का तीन हजार 'डब्लुटी' (पूर्णकालीन) सदस्यलाई राख्न भाडामा लिइएको बालाजु हाइटको एउटा घरभित्र बिहान ५ बजे शारीरिक अभ्यास शुरु हुन्छ। 'अनुमति बिना प्रवेश निषेध' लेखिएको ठूलो पर्खालले घेरिएको सो घरमा वाईसीएलका उपत्यका इन्चार्ज सागर (चन्द्रबहादुर थापा) निर्देशन दिइरहेका हुन्छन्। दुई घण्टाको शारीरिक अभ्यासपछि मार्क्सवादी साहित्यको अध्ययनमा बसाइन्छ। १० बजे मेसमा पाकेको खाना खाएपछि शुरु हुन्छ– राजनीतिक प्रशिक्षण, जासूसी कला र सङ्गठन विस्तारलगायतका विषयहरूको अध्ययन। यहीबीचमा आवश्यकता अनुसार उनीहरू सङ्गठनले खटाएको ठाउँमा 'अपरेसन' मा पनि जान्छन्। समय हेरेर साँझ एक घण्टा फेरि शारीरिक अभ्यास गराइन्छ। ८ बजे खाना खाइसकेपछि अध्ययन गर्ने, रेडियो सुन्ने र ११ बजेसम्ममा सुतिसक्ने गर्नुपर्छ।

युद्धकालमा माओवादी जनमुक्ति सेनाका लागि तयार गरिएको समय–तालिका अहिले वाईसीएलले हुबहु पालना गरिरहेको छ। राजधानीका लागि मात्र वाईसीएल कार्यालयमा ६ वटा गाडी चौबीसै घण्टा जरुरी 'अपरेसन' मा जान तम्तयार अवस्थामा राखिएका हुन्छन्। बलियो सञ्चार सञ्जालको सहयोगले वाईसीएल सदस्यहरू तत्कालै घटनास्थल पुग्न सक्छन्। सम्पर्कका निम्ति लगभग प्रत्येक पूर्णकालीन सदस्यलाई मोबाइल उपलब्ध गराइएको छ। मोबाइल नचलेमा जगेडाको रूपमा राखिएका युद्धकालका सञ्चारसेटबाट पनि काम लिने गरिएको छ। सागर भन्छन्, “हामीलाई निर्देशन आएको आधा घण्टामै राजधानी ठप्प पारिदिन सक्छौँ।”

'संघ' देखि 'लिग' सम्म
आफ्ना सिद्धान्त र नीतिहरूको प्रचारप्रसार, कार्यक्रमहरूमा स्वयंसेवक परिचालन तथा पार्टीमा नयाँ सदस्य भर्ती गर्न संसारभरि नै कम्युनिष्ट पार्टीहरूले युवा सङ्गठन गठन गरेका हुन्छन्। नेपालका प्रायः सबै ठूला–साना कम्युनिष्ट पार्टीका युवा सङ्गठनहरू छन्। सशस्त्र सङ्घर्ष गरिरहेका वा त्यसको तयारीमा रहेका कम्युनिष्ट पार्टीहरूले चाहिँ यस्ता सङ्गठनलाई 'योङ्ग कम्युनिष्ट लिग' भन्ने नाम दिई हतियारविहीन लडाकू सङ्गठनको रूपमा विकास गरेर युद्धको लागि जनशक्ति आपूर्ति गर्नमा प्रयोग गर्छन्।

नेकपाको चौथो महाधिवेशन समूहले २०४० सालतिर प्रचण्डकै अध्यक्षतामा 'अखिल नेपाल युवक संघ' गठन गरेको थियो। उक्त सङ्गठनका इन्चार्ज पार्टीका तत्कालीन महासचिव मोहनक्रिम सिंह नै थिए, जो अहिले माओवादीका प्रखर आलोचक छन्। मोहनक्रिम सिंह र निर्मल लामाबीच पञ्चायती चुनावमा भाग लिने–नलिने विषयमा विवाद चर्किएपछि सिंहले आफू इन्चार्ज रहेको युवा सङ्गठनको आडमा केन्द्रीय समितिबाट चुनाव बहिष्कार गर्ने प्रस्ताव पारित गराएका थिए। पार्टीभित्र राजनीतिक वर्चस्व कायम गर्न समेत कम्युनिष्ट नेताहरू युवा सङ्गठनलाई आफ्नो पकडमा राख्न चाहन्छन् भन्ने कुराको एउटा दृष्टान्त हो यो।

२०४८ सालमा नेकपा (एकता केन्द्र) बनेपछि टोपबहादुर रायमाझीको अध्यक्षतामा नेपालमा पहिलो पटक 'योङ्ग कम्युनिष्ट लिग' गठन भयो, जसको खास उद्देश्य सशस्त्र सङ्घर्षको तयारी गर्नुथियो। सशस्त्र सङ्घर्षका योजनाकार तथा एकताकेन्द्रका तत्कालीन महासचिव प्रचण्ड लिगको इन्चार्ज बने। प्रचण्डको निर्देशन र रायमाझीको नेतृत्वमा पार्टीको प्रभाव क्षेत्रमा लिगको सङ्गठन विस्तार गरियो र केही खास जिल्लामा लडाकू दल बनाएर हतियार चलाउने तालिम समेत दिइयो। योङ्ग कम्युनिष्ट लिगका सदस्यहरू मध्येबाट माओवादीले प्रत्येकमा ३५ जना रहने गरी चार वटा लडाकू दल गठन गरे। यिनै दलको तयारी पूरा भएपछि अनन्त (वर्षमान पुन) को कमाण्डमा रोल्पाको होलेरीस्थित प्रहरी चौकी र रश्मी (गणेश पुन) को कमाण्डमा रुकुमको रादी जिउला चौकीमा आक्रमण गरेर १ फागुन २०५२ मा जनयुद्ध शुरु गरियो।

माओवादीले योङ्ग कम्युनिष्ट लिगलाई लडाकू दल र छापामार दस्ताको स्वरूपमा ढाल्दै २०५८ सालमा जनमुक्ति सेनाको रूपमा विकास गरे, जसको सर्वोच्च कमाण्डर प्रचण्ड आफैँ थिए। नेपाल सरकार र माओवादीबीच शान्ति सम्झौता भएपछि माओवादीले माघमा पार्टीका जिल्ला सेत्रे्कटरी र ब्रिगेड सहकमाण्डर भन्दा माथिका सैनिक कार्यकर्ता तथा भातृ सङ्गठनका नेताहरूको चितवनमा एउटा भेला गरेर जनमुक्ति सेनाको पश्चिम केन्द्रीय कमाण्ड, चौथो डिभिजनका कमाण्डर रश्मिको अध्यक्षतामा योङ्ग कम्युनिष्ट लिगलाई पुनर्गठन गर्ने निर्णय गर्‍यो। प्रचण्ड स्वयं इञ्चार्ज रहेका लिगको घोषणा सभामा उनले साम, दाम, दण्ड, भेद प्रयोग गरेर भएपनि सत्ता कब्जा गर्ने र त्यसका निम्ति संविधानसभा चुनावमा वाईसीएलले प्रमुख भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए।

४५ सदस्यीय वाईसीएल केन्द्रीय समितिमा अधिकांश पूर्व छापामार छन्। अधिराज्यका १५ वटा क्षेत्रीय समितिहरूको नेतृत्व पूर्व सैन्य कमाण्डर र कमिसारले सम्हालेका छन्। वाईसीएलको संरचना जिल्ला, निर्वाचन क्षेत्र, गाविस र वडास्तरसम्म विस्तार गरिएको छ, जसको नेतृत्व स्थानीयस्तरका पूर्व छापामार तथा मिलिसियाहरूले गरेका छन्। रश्मिको अध्यक्षतामा गठन गरिएको १७ सदस्यीय सचिवालयमा माओवादीका अधिकांश क्षेत्रीय ब्युरो इन्चार्ज र वरिष्ठ नेताहरू छन्। त्यससँगै राजधानीमा एउटा जासूसी विभाग पनि क्रियाशील छ, जसलाई पार्टीले दिएको सूची अनुसारका व्यक्तिहरूको चियोचर्चो गर्ने र सूचना सङ्कलन गर्ने जिम्मा दिइएको छ।

जनमुक्ति सेनामा सञ्चार क्षेत्रमा काम गरेका छापामारहरूको बाहुल्य रहेको जासूसी विभागका सदस्यहरूले ५० जना 'भ्रष्ट' नेता, मानव अधिकारकर्मी र उद्योगी व्यापारीहरूको सूचना सङ्कलन गरिरहेको उपत्यका इन्चार्ज सागर बताउँछन्। वाईसीएल सदस्यहरूको भूमिका दोहोरो हुनेगर्छ। पार्टीमा उनीहरूको एउटा पद हुन्छ भने लिगमा अर्कै। लिगका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज सागर पार्टीमा क्षेत्रीय ब्यूरो सदस्य छन्। वाईसीएलमा पूर्णकालीन, सक्रिय र साधारण गरी तीन श्रेणीको सदस्यता प्रणाली छ। लिगले उपत्यकामा मात्रै ५० हजार सदस्य रहेको दाबी गरेको छ। अध्यक्ष रश्मिका अनुसार, देशभर तीन लाख भन्दा बढी सदस्य सङ्ख्या पुगिसकेको छ, जसमध्ये १२ हजार पूर्णकालीन छन्। चार महिनाभित्र सात लाख सदस्य पुर्‍याउने योजना छ। त्यतिबेला राजधानीमा मात्रै १ लाख २५ हजार पुग्ने दाबी गर्दै सागर भन्छन्, “हामी 'एक कोठा–एक सदस्य' र 'एक घर–एक कमिटि' अनुसार सङ्गठन विस्तारमा लागेका छौँ।”

पूर्णकालीन सदस्यहरूलाई लाउने, खाने र बस्ने बन्दोबस्त लिगले नै गरिरहेको छ। ठेक्कापट्टा, चन्दा र अपराधीहरूले सच्चिन्छु भनेर दिइएका पैसाले लिगको खर्च धानिएको दाबी गर्छन् महासचिव दिलीप प्रजापति।

भयको राजनीति
भ्रष्टाचारको अभियोग लागेका सीताराम प्रसाईंलाई २० जेठमा अपहरण गरी २१ गते खुलामञ्चमा सार्वजनिक गरेकै दिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले वाईसीएललाई 'योङ्ग क्रिमिनल लिग' भनेर टिप्पणी गरे। त्यसको जवाफमा प्रचण्डले २२ जेठमा कपिलवस्तुबाट कोइरालालाई नै 'अपराधीका संरक्षक' भनेका थिए।

मधेशमा पनि वाईसीएलले विशेष सक्रियता शुरु गरेको छ। पूर्वी मधेशमा एकहप्ते प्रशिक्षण सकेर अध्यक्ष रश्मि काठमाडौँ फर्किएपछि मधेशी मुक्ति मोर्चाले एकमहिने कार्यक्रमको घोषणा गर्नु संयोग मात्रै नहुन सक्छ। यसअघि प्रचण्डले मधेशी कार्यकर्ताहरूलाई राजधानीमा बोलाएर प्रशिक्षण दिएपछि 'अन्तिम लडाइँ मधेशमा हुने' सार्वजनिक अभिव्यक्ति दिएका थिए। अर्कोतिर पूर्वी कमाण्ड इन्चार्ज बादलले जेठ महिनाभरि मधेशकेन्द्रित कार्यक्रम तय गरी वाईसीएल सदस्यलाई प्रशिक्षण दिएका छन्। गौर घटनामा मात्रै होइन, त्यसयता पनि मधेशका विभिन्न समूहले माओवादी र वाईसीएल कार्यकर्ताको हत्या गरिरहेका छन्। खतराका बीच वाईसीएलको आडमा माओवादीको मधेशी मुक्ति मोर्चा मधेशमा कार्यक्रम लिएर जान खोज्दैछ।

धेरैको बुझाइमा माओवादी भयको राजनीति गरिरहेको छ। युद्धकालको घाउ ताजै भएकाले जनता अझै पनि माओवादीप्रति सकारात्मक छैनन्। युद्धकालमा रोल्पा, रुकुम, जाजरकोट जस्ता आधार क्षेत्रमा आफैँले गराएको चुनावमा आफ्नै उम्मेदवार हारेका माओवादीले बिर्सेका छैनन्। त्यसैले उनीहरू हिजोका विद्यार्थी नेता जनार्दन शर्मालाई होइन जनमुक्ति सेनाका पूर्व कमाण्डर प्रभाकरलाई रुकुमबाट उठाउन चाहन्छन्। हिजोका शिक्षक नन्दकिशोर पुनलाई होइन कमाण्डर पासाङलाई रोल्पाबाट उम्मेदवार बनाउन चाहन्छन्। वडास्तरसम्म वाईसीएलको सङ्गठन विस्तार गरिएबाट डर र धम्कीको आधारमा जनमत आफ्नो पक्षमा पार्ने रणनीतिमा माओवादी लागेको अनुमान गर्न गाह्रो छैन। शायद माओवादीको यही रणनीति बुझेर हुनसक्छ अमेरिका खुलेरै वाईसीएल विरुद्ध खनिएको छ।

शिविरमा रहेका लडाकूलाई मासिक रु.३ हजार नदिँदासम्म माओवादीले उनीहरूको प्रमाणीकरण गर्न मानेनन्। खाँटी छापामारलाई बाहिरै राखेर जागिरको लोभमा शिविर छिराइएका युवाहरूले तलब माग्न शुरु गरिसकेका थिए भने तिनका अभिभावकले 'कि छोराछोरी देऊ, कि तलब देऊ' भनेर मुख फोरिसकेका थिए। अस्थायी शिविरमा रहेका युवाहरू दोस्रो चरणको प्रमाणीकरणमा फालिए पनि वाईसीएलमा सङ्गठित गर्ने सोच बनाएको माओवादीका लागि उनीहरूलाई मासिक तलबको जोहो गर्नु बाध्यता नै थियो।

द्वैध–चरित्र
३० वैशाखमा दाङमा बाबुराम भट्टराईकै अगाडि वाईसीएलले देखाएको उद्दण्ड व्यवहार माओवादीकै योजनाअनुसार भएको थियो। माओवादीका एक उच्च नेताका अनुसार, पश्चिमका थारूहरू पार्टीबाट धमाधम विद्रोह गरेर निस्कन थालेको अवस्थामा जमिन्दारको पक्षमा निर्णय गरेको भए माओवादीले ठूलो मूल्य चुकाउनुपर्थ्याे। त्यसैले शान्ति सम्झौताका पक्षमा पनि देखिने र स्थानीय किसानको पक्षमा पनि देखिने गरी दाङमा दोहोरो मापदण्ड अपनाउन ऊ बाध्य थियो।

आफ्नो छवि बचाउन माओवादी धेरै ठाउँमा यसैगरी द्वैध–चरित्रमा प्रस्तुत हुने गरेेको छ। यस्तो अप्ठ्यारोमा ऊ वाईसीएललाई हतियार बनाउँछ। २१ जेठको सीताराम प्रसाईं प्रकरण लगायत वाईसीएलले गरेका पछिल्ला शृङ्खलाबद्ध कामकारबाही माओवादी रणनीतिअनुरुप नै भएका हुन्। अध्यक्ष रश्मिका अनुसार, “वाईसीएल राजनीतिक सङ्गठन भएकाले यसले पार्टीको निर्देशन बिना कुनै काम गर्दैन।” अझ सागर त हाकाहाकी भन्छन्, “वाईसीएल डलर खाएर काम गर्ने गैरसरकारी संस्था हैन, हाम्रा सबै काम राजनीतिक फाइदाका निम्ति गरिएका हुन्।”