रिपोर्ट मजदुर राजनीति
जुवाघरमा माओवादी
माओवादीका मजदुर नेताले आफ्ना श्रीमती र नातेदारहरू
समेत करिब ६०० जनालाई राजधानीका तारे–होटेलका जुवाघरहरूमा जागिर खुवाएका
छन्।
• डम्बरकृष्ण
श्रेष्ठ
 |
| मीन बज्राचार्य |
वर्तमान राजनीतिक
गतिरोध देखेर कतिका मनमा माओवादी फेरि युद्धमा फर्किने त होइनन् भन्ने
शङ्का उत्पन्न हुनसक्छ। तर माओवादी मजदुर सङ्गठनका नेताहरूले नेपाली
काङ्ग्रेस र नेकपा (एमाले) लाई समेत उछिन्दै राजधानीस्थित तारे–होटेलका
जुवाघरमा आफ्ना कार्यकर्ता र नातेदारलाई जागिर खुवाएको देख्दा त्यस्तो
शङ्का गर्नुको कुनै अर्थ देखिँदैन।
अहिले राजधानीका जुवाघर माओवादी मजदुर सङ्गठनका नेताहरूको
'अनुरोध' मा भर्ना गरिएका कार्यकर्ता, मजदुर नेताका श्रीमती, नातेदार
र जिल्लावासीहरूले भरिभराउ छन्। माओवादीले काठमाडौँका सोल्टी होटेलको
क्यासिनो नेपाल, अन्नपूर्णको अन्ना, याक एण्ड यतीको रोयल, एभरेष्टको
क्यासिनो एभरेष्ट, हयात्को तारा, र्याडिशनको र्याड, साङ्ग्रिलाको
क्यासिनो साङ्ग्रिलादेखि पोखराको फूलवारी होटेलस्थित जुवाघरसम्म आफ्ना
मान्छे भर्ना गर्ने अभियान चलाएका छन्। जनयुद्ध लडेर आएका माओवादी
छापामारहरू जुवाघरमा जुवा खेलाउने, हिसाब–किताब राख्नेदेखि सुरक्षा
प्रदान गर्नेसम्मको काम गरिरहेका भेटिन्छन्। जुवाघरको जागिरमा माओवादीको
हस्तक्षेप बढेपछि अन्य मजदुर सङ्गठन र माओवादीका कार्यकर्ताबीच झडप
पनि हुन थालेको छ।
नेपालमा सञ्चालित क्यासिनोहरू सरकारी स्वीकृति प्राप्त
जुवाघर हुन्। नेपालीका लागि जुवा खेल्न वर्जित क्यासिनोले सरकारलाई
एकमुष्ट रु.१० लाख शुल्क बुझाएर अनुमति लिएका र वार्षिक रु.१ करोड
५० लाख रोयल्टी बुझाएर सञ्चालन गर्दै आएका हुन्छन्।
यहाँका क्यासिनो चलाउने आरडी टटल र राकेश वादवा समूहबीच
पछिल्लो समय चलेको स्वामित्व विवादको फाइदा उठाउँदै माओवादीले त्यहाँ
आफ्ना मान्छे भर्ना गरेका मजदुरहरू बताउँछन्। वादवाले साङ्ग्रिला,
रोयल र एभरेष्ट क्यासिनोमा आफ्नो ८० प्रतिशत शेयर रहेको दाबी गर्दै
आएका छन् भने टटल आफ्नो ८० र वादवाको २० प्रतिशत मात्र शेयर रहेको
दाबी गर्छन्। यो विवादमा एक समूहले अर्को समूहविरुद्ध माओवादीको सहयोग
लिएको देखिएको छ। चार महिनाअघि क्यासिनो रोयल कब्जा गर्न टटलले क्यासिनो
नेपालमा कार्यरत माओवादी मजदुर समूह लिएर गएका थिए भने त्यसको प्रतिकारमा
वादवाले क्यासिनो रोयल र एभरेष्टका माओवादी मजदुरलाई नै अघि सारेका
थिए। त्यही विवाद 'मिलाइदिने' नाममा दुवै पक्षका क्यासिनोमा माओवादीले
आफ्ना मान्छे छिराउने मौका पाएका हुन्।
वादवा र टटलको एकअर्कालाई सिध्याउने खेलले माओवादीलाई
आफ्ना मान्छे भर्ना गर्न सजिलो भएको बताउँछन् नेपाल स्वतन्त्र होटेल
मजदुर युनियन (नेस्वहोमयु) का अध्यक्ष विष्णु लम्साल। उनको भनाइ छ,
“गएको मङ्सिरयता माओवादीले ६०० जति आफ्ना मान्छे यी क्यासिनोमा छिराएका
छन्। जसमा मजदुर नेताका श्रीमतीहरू समेत छन्।” उनको भनाइमा यसरी सयौँ
मान्छे भर्ना गरिँदा पुराना कामदार सङ्कटमा परेका त छन् नै, बाहिरका
नयाँ दक्ष व्यक्तिहरू रोजगारबाट वञ्चित हुने अवस्था पनि सिर्जना भएको
छ। तर, माओवादी सम्बद्ध अखिल नेपाल होटेल तथा रेष्टुरेण्ट मजदुर संघ
(अनेहोरेमसं) का अध्यक्ष रमेशबाबु पन्त भने आफ्नो सङ्गठन विस्तार भएको
देखेर विरोधीले नचाहिँदो प्रचारवाजी गरेको बताउँछन्। पहिले मन्त्री
र पार्टीका मान्छेहरू भर्ना गर्ने गरिएकोमा अहिले आफूहरूले शोषित पीडित
वर्गलाई पनि काम दिन सुझाव दिएको उनी बताउँछन्। क्यासिनोका मालिकहरूको
विवादमा आफूहरू संलग्न नभएको र उनीहरूसँग कुनै किसिमको सम्झौता नगरेको
दाबी गर्दै पन्त भन्छन्, “हामीले होटेल, क्यासिनोहरूमा आफ्ना मान्छे
भर्ना गरेका छैनौँ। पहिले अरूले हटाएकालाई पुनर्वहाली गराएका र केही
दक्ष पीडित कामदारलाई राख्न व्यवस्थापन पक्षलाई सुझावसम्म दिएका हौँ।”
श्रीमतीहरूलाई जागिर!
 |
| किरण पाण्डे |
| होटल हयात्स्थित क्यासिनो तारा। |
रमेशबाबु पन्तले माओवादीले आफ्ना मान्छे भर्ना गरेको
कुरा इन्कार गरेपनि राजधानीका जुवाघरहरूमा भने माओवादी मजदुर युनियनका
अध्यक्ष तथा अन्तरिम व्यवस्थापिका–संसदका सांसद शालिकराम जमरकट्टेल
र पन्त स्वयम्ले आफ्ना श्रीमती, भाइ, बहिनी, भाञ्जी, ज्वाइँ र सालासम्मलाई
काम लगाएको विवरण हिमाल ले प्राप्त गरेको छ। जमरकट्टेलकी श्रीमती लक्ष्मी
श्रेष्ठ र रमेशबाबुकी श्रीमती दुर्गा पन्तले एभरेष्ट क्यासिनोमा सातौँ
तहमा काम गर्ने अवसर पाएका छन्। एक मजदुर भन्छन्, “१३ वर्षअघि यो क्यासिनो
स्थापना भएदेखि नै काम गरिरहेका हामी पाँचौँ, छैठौँ तहमै छौँ, तर नाम
र दबदबाकै कारण माओवादी नेताका श्रीमतीहरू क्यासिनोको उपल्लो दर्जाका
कर्मचारी भए।”
माओवादी मजदुर नेताका नातेदारहरूलाई कुन–कुन क्यासिनोमा
कुन–कुन तहमा जागिर लगाइएको छ भन्ने लामो विवरण हिमाल सँग छ। यसमा
मजदुर युनियनका नेताका आफन्त र जिल्लावासीहरू धेरै छन्। प्राप्त विवरण
अनुसार माओवादीले पछिल्लो समयमा क्यासिनो नेपालमा १८१, अन्नामा ७८,
रोयलमा ९८, एभरेष्टमा ६५, तारामा ४० र र्याडमा ११ जनाका साथै क्यासिनोहरूको
छाता संस्था नेपाल रिक्रिएशन सेण्टर (एनआरसी) मा ४० जनालाई भर्ना गराएका
छन्। यीमध्ये क्यासिनोको सुरक्षागार्डका रूपमा काम पाएका केही माओवादी
जनयुद्ध लडेर आएका छापामारहरू पनि छन्। एक कर्मचारी भन्छन्, “जनयुद्धका
लडाकूहरू जुवाघरको सुरक्षाका लागि तैनाथ भएपछि गुण्डागर्दी गर्ने,
धारिला हतियार बोकेर प्रवेश गर्नेहरू भने ह्वात्तै घटेका छन्।”
क्यासिनो एभरेष्टका महाप्रबन्धक टी.आर. भट्टले माओवादी
कार्यकर्ता भर्ति गर्नु परेको बाध्यतालाई घुमाउरो पारामा स्वीकार गरेका
छन्। माओवादीको 'अनुरोध' मा आफूहरूले उनीहरूका मान्छेलाई काममा लगाएको
उनको भनाइ छ। भट्ट भन्छन्, “जनयुद्धमा बलिदान दिएका शहीदका परिवार,
विस्थापितहरूलाई रोजगारी दिनु पर्यो भनेर अनुरोध आएपछि हामीले एउटा
क्यासिनोमा ३०–३५ जनासम्मलाई काम दिएका र्हौँ।” स्पष्ट छ, क्यासिनो
व्यवस्थापनहरू आफू अप्ठ्यारो पर्ने ठानेर यथार्थ कुरा खोल्न चाहँदैनन्।
तर सबैजसो क्यासिनोमा माओवादीले 'पहिले एमाले, काङ्ग्रेसका मान्छे
राखेजस्तै अब हाम्रा मान्छे राख्नुपर्छ' भनेर दबाब दिएको व्यवस्थापन
सूत्रले बताएको छ।
क्यासिनोहरूमा पहिल्यै कर्मचारी धेरै थिए अहिले माओवादी
दबाबमा थप कामदार भर्ना गरिँदा पुराना कर्मचारीलाई अरू मार परेको नेपाल
पर्यटन तथा होटेल श्रमिक संघका अध्यक्ष नेत्रविक्रम थापा बताउँछन्।
थापा भन्छन्, “काम भन्दा बढी मान्छे राखेपछि अहिले क्यासिनोहरू भार
थेग्न नसक्ने अवस्थामा पुगेका छन्। तलब नियमित हुन छाडिसकेको छ।” विष्णु
लम्साल पनि माओवादीले भर्ती केन्द्र बनाएर झन् भार थपेकाले समस्या
उत्पन्न भएको बताउँछन्। तर क्यासिनो एभरेष्टका महाप्रबन्धक भट्टले
भने “५–१० जना बढी हुनु सामान्य कुरा हो, थपिने र निस्किने त भइरहन्छ
नि” भनेर टार्न खोजे।
कुटपिट र धम्की
जागिरमा आफ्ना मान्छे हुलेपछि जुवाघरमा माओवादी मजदुर युनियनको दबदबा
बढेको छर उनीहरूको निशानामा अन्य पार्टीसँग सम्बद्ध युनियनहरू पर्न
थालेका छन्। एमाले निकट नेपाल स्वतन्त्र होटेल मजदुर युनियनका अध्यक्ष
लम्साल भन्छन्, “क्यासिनोहरूमा माओवादीको अराजकता बढेको छ।”
३१ वैशाखमा दरबारमार्गस्थित क्यासिनो रोयलले माओवादीको
दबाबमा अन्य मजदुर युनियनमा आवद्ध १४ जना कर्मचारीलाई निष्काशन र निलम्बन
गरेको ती युनियनसँग सम्बद्ध कर्मचारीहरूले बताएका छन्। निष्कासित हुनेमा
काङ्ग्रेस प्रजातान्त्रिक निकट नेपाल होटेल मजदुर संघका केन्द्रीय
अध्यक्ष खेमराज खड्का, सोही युनियनका तर्फबाट रोयलमा निर्वाचित अध्यक्ष
अर्जुन न्यौपाने र एमाले निकट नेपाल स्वतन्त्र होटेल मजदुर युनियनको
रोयल क्यासिनो इकाईका अध्यक्ष नवेन्द्र बस्नेतसमेत थिए। तर, अन्य युनियनको
विरोधका कारण तीन दिनपछि सबैलाई पुनर्बहाली गरियो। माओवादी मजदुर नेता
पन्त भने क्यासिनो रोयलको निष्काशन र निलम्बनको घटनामा आफूहरूको संलग्नता
नभएको बताउँछन्। उनले भने, “त्यो सबै काम क्यासिनोका मालिकले गरेका
हुन्, हामीले त उनीहरूलाई पुनर्बहाली गर्न सहयोग गरेका थियौँ।”
क्यासिनोमा अहिले मजदुरहरूबीच नै अस्वस्थ वातावरण छ।
नेपाल पर्यटन तथा होटेल श्रमिक संघका केन्द्रीय उपाध्यक्ष राजेश कार्की
माओवादीका मजदुर नेताहरूले आफूलाई पटकपटक धम्क्याएको बताउँछन्। उनी
भन्छन्, “अन्य युनियनका पदाधिकारीहरूलाई छानी–छानी निशाना बनाइएको
छ।” दुई साताअघि मात्र सोल्टी होटेलस्थित क्यासिनो नेपालका फ्लोर म्यानेजर
श्यामशम्शेर राणा र अर्जुन गुरुङलाई महिला कर्मचारीमाथि दुर्व्यवहार
गरेको आरोपमा हातपात गरेर जबरजस्ती माफी माग्न लगाई बोर्डमा सूचना
टाँसियो। जेठको पहिलो साता र्याडिसन होटेलको क्यासिनो र्याडमा कार्यरत
नेपाल पर्यटन तथा होटेल श्रमिक संघका सचिव उद्धव घिमिरेलाई पनि महिलामाथि
दुर्व्यवहार गरेको भन्दै एक सातासम्म काम गर्न रोक लगाइयो। संघका केन्द्रीय
अध्यक्ष नेत्रविक्रम थापा भन्छन्, “विचार नमिल्ने र उनीहरूको युनियनको
समर्थन नगर्नेलाई जेसुकै आरोप लगाएर भएपनि कुटपिट गर्नु र धम्की दिनु
उनीहरूको विशेषता नै हो।”
|