रिपोर्ट स्वास्थ्य
विश्वस्तरको उपचार नेपालमै
मिर्गौला प्रत्यारोपण, ढाड र मेरुदण्डका एकादुई
जटिल शल्यक्रियाबाहेक सबैजसो रोगको उपचार अब नेपालमै हुनसक्छ। तर धेरैजसो
महङ्गा र शहरकेन्द्रित यस्ता उपचार सेवालाई व्यापक र सर्वसुलभ बनाउनुपर्ने
खाँचो भने छ।
• बद्री
पौड्याल र विवेकराज मौर्य
 |
| शहीद गङ्गालाल राष्ट्रिय ह्दय केन्द्रको शल्यक्रियापछि बिरामी
राखिने सघन उपचार कक्ष। |
पछिल्लो
डेढ–दुई दशकयता नेपालको स्वास्थ्य सेवाले ठूलो फड्को मारेको छ। स्वास्थ्य
परीक्षण र उपचार गर्न लाखौँ खर्च गरेर विदेश जाने हुनेखाने नेपाली
बिरामीले समेत केही नगण्य केसहरूमा बाहेक स्वदेशमै धेरै कम खर्चमा
अन्तर्राष्ट्रियस्तरको सेवा पाउन सक्छन्। यद्यपि यस्ता उपचार सेवा
महङ्गा र शहरकेन्द्रित भएकाले गरीब र दुर्गम ठाउँका वासिन्दाको सहज
पहुँचमा छैनन्, तिनलाई निजी अस्पतालको त कुरै छाडौँ, सरकारी र सार्वजनिक
अस्पतालको सेवा पाउन पनि निकै गाह्रो छ।
धेरै रोगहरूको उपचार गर्न विदेश जानु नपर्ने भएपनि नेपालीहरू
भारत वा अन्य मुलुक जाने क्रम पूरै रोकिएको भने छैन। विदेश जानेमा
प्रायः पैसा खर्च गर्न सक्ने, यहाँको परीक्षण, औषधोपचार र चिकित्सकमाथि
विश्वास नगर्ने, विदेशमा राम्रो उपचार हुन्छ भन्ठान्ने, विदेश जानुलाई
आफ्नो इज्जत प्रतिष्ठासित जोडेर हेर्नेहरू छन्।
स्वास्थ्य मन्त्रालय, स्वास्थ्यक्षेत्र सुधार इकाईका
संयोजक डा. बाबुराम मरासिनी भौतिक संरचना र जनशक्तिको विकास, कम खर्च
र अन्य मुलुकमा भन्दा नेपाली चिकित्सकहरूद्वारा बढी पेशागत मर्यादाको
पालनालाई नेपालको स्वास्थ्य सेवाका सबल पक्ष ठान्दछन्। उनी भन्छन्,
“सिमाना नजिकका भारतीयहरू तराईका विभिन्न अस्पतालमा ओइरो लाग्नुको
कारण यी पनि हुन्।” नर्भिक एस्कोर्ट इन्टरनेशलन हस्पिटलका केयर डिभिजन
प्रमुख प्रवीण डावर थप्छन्, “पश्चिमा मुलुकमा भन्दा सस्तो उपचार र
प्रशस्त पर्यटकीय आकर्षणको कारण स्वास्थ्य पर्यटनको गन्तव्य बन्न सक्छ
नेपाल।”
आँखाः विदेशी आउँछन्
 |
| तस्बिरहरूः मीन बज्राचार्य |
| तिलगङ्गा आँखा केन्द्रमा भइरहेको परीक्षण।
|
आँखाको उपचार गर्न नेपालीहरू विदेश जाने होइन, विदेशीहरू
नेपाल आउँछन्। तिलगङ्गा आँखा केन्द्रका मेडिकल संयोजक नवीनकुमार राईका
अनुसार सन् २००६ मा नेपालमा उपचार गराएका करिब १ लाख ६० हजार आँखाका
बिरामीमध्ये २५ प्रतिशत नेपाली र बाँकी सबै भारतीय थिए। उनी भन्छन्,
“आँखाका एक प्रतिशतभन्दा कम बिरामी विदेश जान्छन्, लाखमा एक–दुई केस
मात्र विदेश पठाउनुपर्छ।”
३२ वर्षअघि काठमाडौँमा राष्ट्रिय आँखा अस्पताल स्थापना
भएपछि विराटनगर, लहान, भैरहवा, धनगढीमा आँखा अस्पतालहरू खुल्दै गए।
जिल्ला–जिल्लामा आँखा सेवा पुर्याउने उद्देश्यले सामुदायिक आँखा केन्द्र
स्थापनाको अभियान शुरु भयो। अहिले देशभर १९ वटा आँखा अस्पताल, विभिन्न
अस्पतालमा १२ वटा आँखा विभाग र थुप्रै आँखा केन्द्रहरू छन्।
तिलगङ्गा आँखा केन्द्रले मोतीबिन्दुको शल्यक्रियापछि
आँखामा लगाइने अमेरिकामा ४५ देखि १०० डलर पर्ने लेन्स उत्पादन गरेर
४ देखि २५ अमेरिकी डलरमा विदेश निर्यात गर्न थालेपछि नेपालको आँखा
चिकित्सा अन्तर्राष्ट्रिय रूपमै प्रख्यात मानिएको छ। वार्षिक २ लाख
५० हजारको सङ्ख्यामा उत्पादन हुने यो लेन्स त्यसको आधा जति नेपालमै
र बाँकी ७२ मुलुकमा खपत हुन्छ।
विदेशीलाई सस्तो दन्तउपचार
 |
| शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र |
दन्तउपचारले नेपालीलाई विदेश जान त रोकेको छ नै, विदेशमा
बस्ने नेपाली तथा नेपाल घुम्न आउने कतिपय विदेशी पर्यटकलाई समेत तान्ने
गरेको छ। पश्चिमा मुलुकमा दाँतको बीमा र उपचार खर्च धेरै महङ्गो हुने
हुनाले सम्भवतः नेपाल उनीहरूको छनौटमा पर्ने गरेको हो। गैरआवासीय नेपालीहरू
महिनौदेखि समय लिएर आफूकहाँ आउने गरेका बताउँदै दाँत र 'कस्मेटिक'
उपचारको काम गर्ने वैदिक स्माइल प्रालिका अध्यक्ष डा. सुशील कोइराला
भन्छन्, “कति त डाक्टर सा'ब तीन घण्टापछि फ्लाइट छ, देखाएर जानुपर्यो
भन्दै आउँछन्।”
दाँत, आँखा, अनुहार, स्तनलगायत शरीरका विभिन्न भाग
र अङ्ग सुन्दर एवं आकर्षक बनाउने कस्मेटिक उपचारका लागि नेपालीहरू
विदेश पनि जान्छन्, जसमा प्रायः घुम्न जाने र सँगसँगै उपचार समेत गरेर
आउनेहरू हुन्छन्। तर घुम्न जान नसक्ने वर्गका मानिसहरू भने नेपालमै
हुने कस्मेटिक उपचारतिर आकर्षित छन्। डा. कोइरालाको अनुभवमा प्रायः
एयरलाइन्स, ब्याङ्किङ, पर्यटनजस्ता जनसम्पर्क र मार्केटिङ बढी हुने
ठाउँमा काम गर्नेहरूले यस्तो उपचार गराउने गरेका छन्। वैदिक स्माइलले
पश्चिमा आधुनिक कस्मेटिक उपचारलाई पूर्वीय योग, ध्यान, आयुर्वेद, जडिबुटी,
सङ्गीत, संस्कृति आदिसँग जोडेर अभ्यास गर्न शुरु गरेको र यो अवधारणालाई
दक्षिण एशियालगायत अन्य क्षेत्रमा पनि विस्तार गर्ने प्रयास गरिरहेको
उनी बताउँछन्।
मुटुः अधिकांश उपचार नेपालमै
केही वर्षअघिसम्म एञ्जियोप्लाष्टी, भल्भ मर्मत, ओपन हार्ट सर्जरीलगायत
सबैखालका शल्यक्रियाका लागि नेपालीहरूलाई विदेश जान बाध्य पार्ने मुटु
रोगका विश्वमा प्रचलित अधिकांश उपचार अहिले नेपालमै हुन्छन्। त्यो
पनि तुलनात्मक रूपले सस्तो सरकारी अस्पताल शहीद गङ्गालाल राष्ट्रिय
हृदय केन्द्रमा। केन्द्रका निर्देशक डा. भगवान कोइराला भन्छन्, “नेपालमै
विकास भएको जनशक्ति र संरचनाबाट हामी अधिकतम् सेवा पुर्याइरहेका छौँ।
हाम्रो अस्पतालले वर्षमा मुटुका १२ सय शल्यक्रिया गर्छ, उपचार गर्न
आएकालाई फर्काउनु परेको छैन।” गङ्गालाल हृदय केन्द्र मुटुको समस्या
भएका मध्यम र निम्नवर्गका धेरै नेपालीका लागि वरदान भएको छ भने उच्च
वर्गका कतिपय मानिसहरू अझै विदेश जाने गर्दछन्।
नर्भिक एस्कोर्ट इन्टरनेशलन हस्पिटलका कार्यकारी निर्देशक
डा. भरत रावत केही वर्षअघिसम्म मुटुरोगको उपचार गराउने ८० प्रतिशतसम्म
नेपालीहरू विदेश जाने गर्दथे भने अहिले २५ प्रतिशत जाने गरेको बताउँछन्।
उनी भन्छन्, “पर्याप्त स्रोत र संरचना विकास गर्न तथा स्तरीय सेवाको
विश्वास दिलाउन सके नेपालमा स्वास्थ्य उपचारको भरपर्दो विकास हुनेछ
र विदेश जानेहरूलाई रोक्न सकिन्छ।” विदेश जानेहरूलाई रोक्न सके राष्ट्रिय
अर्थतन्त्रमा टेवा पुग्नुका साथै मुलुकभित्रै स्रोत, संरचना र जनशक्ति
विकास गर्न मद्दत हुने डा. कोइरालाको धारणा छ। उनी काठमाडौँमा मात्र
सीमित मुटुलगायत अन्य विशेष सेवालाई देशका अरू स्थानमा पनि विस्तार
गर्नुपर्ने आवश्यकता दर्शाउँछन्।
क्यान्सरः विदेश जानै पर्दैन
 |
| जनक अर्याल |
| बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको
एक उपकरण। |
केही वर्षअघिसम्म क्यान्सरबाट देशका धेरै बिरामीले अकालमै
मर्नुपर्थ्यो; पैसा खर्च गर्न सक्ने थोरैले मात्र भारत, थाइल्याण्ड,
युरोप–अमेरिकातिर गएर उपचार गराउँथे। तर अहिले क्यान्सरको प्रायः सबै
उपचार नेपालमै हुन्छ। चितवन, भरतपुरस्थित बी.पी. कोइराला मेमोरियल
क्यान्सर अस्पतालका वरिष्ठ जनस्वास्थ्य अधिकृत भोला शिवाकोटी भन्छन्,
“क्यान्सर रोगको उपचारका लागि अब विदेश जानुपर्दैन; दक्ष जनशक्ति,
अत्याधुनिक उपकरण र कम खर्चबाट प्रायः सबैखाले क्यान्सर रोगको पहिचान
र उपचार नेपालमै हुन्छ। क्यान्सरको उपचारमा अपनाइने शल्य चिकित्सा,
केमोथेरापी र रेडियोथेरापी तीनवटै विधि नेपालमा उपलब्ध छन्।” तैपनि
नेपालबाट उपचारका लागि विदेश जानेमध्ये क्यान्सरकै बिरामीको सङ्ख्या
ठूलो छ। विदेश जानेहरूमा प्रायः बेलैमा रोग पहिचान भएका र पैसा खर्च
गर्न सक्नेहरू छन्।
चीनको सहयोगमा चितवनको भरतपुर–७, कृष्णपुरमा निर्मित
१४० शैय्याको क्यान्सर अस्पतालले आठ वर्षदेखि स्वदेशमै क्यान्सरका
प्रायः सबै उपचार गरिरहेको छ। क्यान्सरका बिरामीको परीक्षण र उपचार
भक्तपुरस्थित क्यान्सर अस्पताल तथा काठमाडौँ उपत्यका र देशका प्रमुख
शहरमा रहेका अन्य केही अस्पतालले पनि गर्ने गरेका छन्। भरतपुर अस्पतालका
क्यान्सर विशेषज्ञ डा. भक्तमान श्रेष्ठ भन्छन्, “क्यान्सर ठीक समयमा,
ठीक स्वास्थ्यकर्मीबाट, ठीक उपचार भएमात्र निको हुन्छ। त्यसका लागि
अत्याधुनिक उपकरण, सही प्रविधि, क्यान्सर रोगकै बारेमा अध्ययन गरेका
विषय विशेषज्ञको सेवा आवश्यक पर्छ।” सरकारी व्यवस्थापनमा सञ्चालित
भरतपुर अस्पतालबाट सन् २००१ (२०५७–५८) यता वार्षिक करिब ५० हजारदेखि
६५ हजारसम्म बिरामीले उपचार सेवा लिएका छन्।
हाडजोर्नीः आत्मनिर्भर हुँदैछ
 |
| मेडिकेयरको हाडजोर्नी उपचारकक्षमा बिरामीको परीक्षण। |
नेपाल अहिले हाडजोर्नीको उपचारमा दुर्घटना, खेल उपचार,
जोर्नी फेर्ने, घुँडाका जोर्नीको लिगामेण्ट च्यातिएको ठीक पार्नेलगायत
धेरै कुरामा आत्मनिर्भर हुँदै गएको छ। छोटा खुट्टा लम्ब्याउने, बाङ्गिएको
खुट्टा सोझ्याउने आदि काम पनि भएका छन्। बाङ्गो ढाड सीधा पार्ने र
मेरुदण्डको चोट (स्पाइनल इन्जुरी) का जटिल केसहरूको उपचार गर्ने प्रयास
पनि हुँदैछन्। मेडिकेयर अस्पताल, हाडजोर्नी विभागका अध्यक्ष डा. चक्रराज
पाण्डेका अनुसार नेपालमा हुन नसकेका केही उपचार पनि तिनका लागि चाहिने
अति महङ्गा उपकरण राख्न नसकिएकोले नभएका हुन्।
१० वर्षअघिसम्म घुँडा र नितम्बको जोर्नी फेर्न गाह्रै
थियो, भए पनि गुणस्तर थिएन। विदेशीहरू नेपालमा प्लाष्टर लगाउन हिच्किचाउँथे।
हाडजोर्नीको क्षेत्रमा भएको यो विकास त्रिवि शिक्षण, बी एण्ड बी, मेडिकेयर,
नेपाल अर्थोपेडिक अस्पताल, अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र
(बनेपा), नेपाल मेडिकल कलेज, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
(धरान) आदि स्वास्थ्य संस्थाहरूको लामो समयदेखिको विशेषज्ञता र प्रयासको
परिणाम हो।
यति भए पनि हाडजोर्नीको उपचारले विदेश जानसक्नेे हैसियतका
४०–५० प्रतिशत बिरामीलाई मात्र रोक्न सकेको डा. पाण्डेको अनुमान छ।
तिनलाई पूरै रोक्न नेपालका विशेषज्ञहरू सक्षम भएपनि पर्याप्त पूर्वाधार,
अत्याधुनिक उपकरण, सफासुग्घर वातावरण, व्यावसायिक सहयोगी, बिरामीको
विश्वास, वैज्ञानिक अनुसन्धान, सेवाभाव आदिको खाँचो छ। “नेपालमा भएका
विशेषज्ञहरू पनि छरिएका छन्। हाडजोर्नीका सबै हाँगामा विशिष्टता हासिल
गरेका चिकित्सकहरू एकै ठाउँमा भए अझ धेरै गर्न सकिन्थ्यो”, डा. पाण्डे
भन्छन्।
अविश्वास र विदेश मोह
कतिपय नेपालीहरूलाई सामान्य स्वास्थ्य परीक्षणले पनि विदेशतिर
डोर्याउने गरेको छ। थाइल्याण्डको बुम्रुङग्राड अस्पतालले प्रत्येक
वर्ष २५ सयभन्दा बढी नेपाली आफूकहाँ गएको दाबी गरेको छ। सामान्य स्वास्थ्य
परीक्षणका साथै विभिन्न रोग विशेषका लागि भारतका लखनउ, गोरखपुर, मोतिहारी,
सीतामढी, दरभङ्गा, सिलगुडीदेखि कोलकाता, दिल्ली, मुम्बई, मद्रास, भेलोर,
बैङ्गलोर, पुट्टपर्थी (साइबाबा अस्पताल) जाने नेपालीहरू त प्रशस्तै
हुन्छन्।
कतिपय नेपाली अस्पतालले पारिवारिक क्लिनिक या स्वास्थ्य
बीमाको अवधारणाअनुसार वा बिरामीको मागका आधारमा सामान्य स्वास्थ्य
परीक्षण गर्ने गरेका पनि हुन्, यद्यपि ती योजना त्यति आकर्षक भने छैनन्।
भरोसा डायग्नोष्टिक सेण्टरका जनरल फिजिसियन तथा पेटरोग विशेषज्ञ डा.
दिनेशचन्द्र पोखरेलको विचारमा यस्ता परीक्षणमा नेपालका स्वास्थ्य संस्थाहरूको
प्रविधि, क्षमता र दक्षतामा त्यति विश्वास नगरेर तथा बाहिर जान सजिलो
भएर विदेश जानेहरू धेरै छन्। बजार सानो भएको र अधिकांश अस्पताल घाटामै
चलेकाले तिनका प्रबर्द्धकहरूले यसमा धेरै लगानी गर्न नचाहेका पनि डा.
पोखरेलको भनाइ छ। अर्कोतिर उपचारको निश्चित मापदण्डको अभावमा चाहिने
भन्दा बढी महङ्गा परीक्षण गराउने प्रवृत्तिले पनि यस्तो सेवा आकर्षक
हुनसकेको छैन।
न्यूरोसर्जन डा. वसन्त पन्तको विचारमा पछिल्लो समय चिकित्सक–बिरामी
सम्बन्धमा बढेको तिक्तता, यो पेशामा सम्भव नहुने पूर्ण ग्यारेण्टी
खोज्ने प्रवृत्ति र डाक्टरले सम्भव प्रयास गर्दागर्दै पनि बिरामीलाई
केही भइहाल्यो भने हुने तोडफोड, हुलदङ्गा, जोरजबर्जस्तीका घटनाक्रमले
गर्दा पनि चिकित्सकहरू बिरामीलाई अलि बढी बाहिर 'रिफर' गर्न बाध्य
भएका छन्। उनी भन्छन्, “बरु बाहिरका चिकित्सकहरू विदेशी बिरामी त हो
नि भनेर अलि बलजफ्ती गरिदिन सक्छन्। यहीँकालाई त जिम्मेवारीबोध र पेशागत
सुरक्षाको डर हुन्छ। मैले सरासर पाँचवटा केस बिगारेँ भने मेरो पेशाको
स्थिति के होला भन्ने चिन्ता मलाई हुँदैन र?”
जो अगुवा, उही...
अलिकति केही हुँदैमा विदेश गइहाल्नेमा राजनीतिक नेता, मन्त्री र सरकारी
उच्च पदाधिकारी पनि त्यत्तिकै छन्। नेता र कर्मचारीहरूको अनावश्यक
विदेश मोहले साधारण मानिसहरूलाई नेपालमा त्यस्ता रोगको उपचार नै हुँदैन
कि भन्ने भान पारेको चिकित्सकहरूको कथन छ। एकजना चिकित्सक त यतिसम्म
भन्छन्, “आफ्नै देशको स्वास्थ्य सेवाको उपभोग र विकास गरेर जनतालाई
बाहिर जानबाट रोक्न उदाहरण बन्नुपर्नेमा नेताहरू नै गलत बाटो देखाइरहेका
छन्, त्यो पनि जनताले नै तिरेको कर सिद्ध्याएर राज्यकै खर्चमा। यस्ता
नीतिनिर्माताबाट के आश गर्ने?”
साथमा चितवन, भरतपुरबाट जनक अर्याल।
सय पुगे 'टेष्ट–ट्यूब बेबी'
 |
| ॐ अस्पतालमा आईभीएफ उपचार। |
तीन–चार वर्षअघिसम्म
प्राकृतिक रूपले गर्भधारण गर्न नसक्ने नेपाली महिलाहरूले कृत्रिम तवरबाट
गर्भधारण गराइने 'आईभीएफ' (इनभिट्रो फर्टिलाइजेसन) उपचारका लागि भारत,
थाइल्याण्ड वा अन्य मुलुक जानुपर्थ्यो। नेपालमै यो उपचार शुरु गर्ने
ओम अस्पतालमा अहिलेसम्म ३८६ जनाको आईभीएफ उपचार भएको र एक सय 'टेष्ट–ट्युब
बेबी' जन्मिएका छन्। अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. सविना श्रेष्ठ
भन्छिन्, “यसमा लगातार दुई–तीन महिनाको प्रयासपछि मात्र गर्भधारण हुनसक्ने
हुनाले आफ्नै देशमा गराउँदा आर्थिक र मानसिक तनाव कम हुन्छ। विदेशमा
असफल भएर फर्किएका कति महिलाहरू समेत यहाँ सफल भएका छन्। हाम्रो सफलता
दर अन्तर्राष्ट्रियस्तरकै मानिन्छ।”
टेष्ट–ट्युब बेबीे जन्माउन शुरु गरेको तीन वर्ष बितिसके
पनि अस्पतालले यसनिम्ति आवश्यक आफ्नै पूर्ण टीम भने बनाउन सकेको छैन।
उपचारका केही महत्त्वपूर्ण काम भारतीय विशेषज्ञहरूले आएर गर्छन्।
मिर्गाैलाः प्रत्यारोपण अनुमतिको खाँचो
 |
| राष्ट्रिय मिर्गौला केन्द्रको डायलाइसिस उपचार कक्ष। |
अहिलेसम्म सरकारले
नेपालमा मिर्गौला प्रत्यारोपणको अनुमति नदिएकोले त्यो अवस्थाका बिरामी
विदेश जान विवश छन्। राष्ट्रिय मिर्गौला केन्द्रका कार्यकारी निर्देशक
डा. ऋषि काफ्लेको अनुभवमा त्यसबाहेक नेपालमा परीक्षण गराएर दोस्रो
विचारका लागि खासगरी भारत जानेहरू पनि छन्, यद्यपि कतिलाई भारतीय चिकित्सकहरूले
नै मिर्गौला परीक्षण र डायलाइसिस नेपालमै गराए हुन्छ भनेर फर्काइदिन
थालेका छन्। कति नेपालको परीक्षण र उपचारप्रति विश्वास नभएर जान्छन्।
डा. काफ्ले भन्छन्, “अविश्वास पनि कुन हदसम्म छ भने नेपालमा भारतीय
विशेषज्ञहरू आएर एकपटक जाँचेको रु.४००–५०० लिए पनि ह्वारर लाइन लागेर
देखाउन जान्छन्। कति बिरामी पाँच–पाँच हजारसम्म उठाएर विशेषज्ञ बोलाउँछन्।”
मिर्गौला प्रत्यारोपणमा विदेश जानुपर्ने बाध्यता नहट्नुका पछाडि स्रोतसाधन
र जनशक्तिभन्दा पनि स्वास्थ्य मन्त्रालय, अङ्ग प्रत्यारोपण समितिको
अकर्मण्यता जिम्मेवार छ। डा. काफ्ले भन्छन्, “बिरामीहरू दुःख पाइयो,
खर्च धेरै भयो भनेर गुनासो गर्छन्, तर समिति कानमा तेल हालेर बसेको
छ।” प्रत्यारोपणबाहेक मिर्गौलाको परीक्षण, पहिचान र डायलाइसिसलगायतका
सेवामा नेपालमै भरपर्दो संरचना विकास भइसकेको छ। काठमाडौँमै शल्यक्रिया
नगरिकनै मिर्गौलाको अवस्था थाहा पाउन सकिने न्यूक्लियर प्रविधिमा आधारित
'आइसोटोप' परीक्षण समेत हुन्छ। वीर अस्पतालले शुरु गरेको यो परीक्षण
हाल उसले छाडेपनि मेट्रो रेडियोलोजी इन्भेष्टिगेसन्स् (एमआरआई) भन्ने
निजी संस्थाले गरिरहेको छ। काठमाडौँ उपत्यकामा राष्ट्रिय मिर्गौला
केन्द्र, वीर, त्रिवि शिक्षण, मेडिकेयर, सैनिक, नेपाल मेडिकल कलेजलगायतका
अस्पताल तथा बाहिर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान),
मणिपाल कलेज (पोखरा) र नेपालगञ्ज मेडिकल कलेजले डायलाइसिस सेवा सञ्चालन
गरेका छन्।
गङ्गा–जमुनाको जस्तो शल्यक्रिया यहीं हुनसक्छ
 |
| सिंगापुरमा शल्यक्रिया गरेर छुट्याइनुअघि गङ्गा–जमुना। |
न्यूरो उपचारमा पहिले
धेरैलाई बाहिर जान सिफारिस गर्ने काठमाडौँ मोडल अस्पतालका न्यूरोसर्जरी
विभागका प्रमुख डा. वसन्त पन्त हिजोआज वर्षमा दुई–तीन जनालाई मात्र
पठाउँछन्। अहिले नेपालमा यही विषयको विशिष्ट सेवा दिने उद्देश्यले
हालै खुलेको न्यूरो अस्पताललगायत वीर, त्रिवि शिक्षण, काठमाडौँ मोडल,
नर्भिक, बी एण्ड बी, ओम, मेडिकेयर, भरतपुर क्यान्सर अस्पतालमा न्यूरोका
धेरैजसो शल्यक्रिया हुन्छन्। धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान
प्रतिष्ठान र पोखराको पश्चिमाञ्चल तथा फेवा सिटी अस्पतालमा पनि कहिलेकाहीँ
न्यूरो शल्यक्रिया हुने गरेका छन्।
मस्तिष्कसँग गाँसिएर शरीरभर फैलिने स्नायुसँग सम्बन्धित न्यूरोचिकित्सामा
पहिलेपहिले क्षतिग्रस्त अङ्ग काम लाग्ने होस् वा नहोस्, मान्छेलाई
बचाउने कुरालाई प्राथमिकता दिइन्थ्यो, पछि त्यस्तो अङ्गको कार्यक्षमतामा
ह्रास आउन नदिने काम हुन थाल्योर अहिले कार्यक्षमता सुधार गर्ने र
व्यक्तिको व्यवहार सच्याउने कुरामा ध्यान दिइन्छ। 'फङ्कसनल न्यूरोसर्जरी'
भनिने यही उपचारविधि अभ्यास गरिरहेका न्यूरोसर्जन डा. वसन्त पन्त भन्छन्,
“न्यूरोचिकित्सामा संसारभरि चलेको चलन यही हो र नेपालमा पनि भइरहेको
छ।” उनका अनुसार यसैबाट छारेरोगका धेरै बिरामीको अवस्था राम्रो भएको
छ, जन्मँदै लुलो खुट्टा र 'पार्किन्सन' रोगबाट निष्त्रि्कय अङ्ग ठीक
भएका छन्। गङ्गा–जमुनाको जस्तो केस अब बाहिर पठाउनुपर्दैन। मोडल अस्पतालमा
उपचार गराइरहेका जनआन्दोलनका घाइते विष्णुलालको मस्तिष्कको तलपट्टि
डायफ्राममा 'पेस मेकर' राखेर सास लिनसक्ने बनाइएको छ।
यसो भन्दैमा न्यूरो उपचारमा सुधार गर्नुपर्ने केही छैन भन्ने होइन।
डा. पन्तको विचारमा नेपालमा न्यूरो उपचारको लागि एउटा विश्वस्तरको
विशिष्ट उपचार सेवा दिनसक्ने र देशभरि धेरै सामान्य उपचार सेवा दिने
स्वास्थ्य संस्थाहरूको खाँचो छ। यसो भयो भने कसैलाई पनि जटिल उपचार
गर्न विदेश जानु र कुनै ठाउँमा न्यूनतम आधारभूत उपचार नपाएर ज्यान
गुमाउनु पर्दैन। उनी भन्छन्, “काठमाडौँमा ठूला सुविधासम्पन्न अस्पताल
खडा गरेपनि वीरगञ्जमा सडक दुर्घटनामा परेको बिरामीको तत्काल न्यूरोसर्जरी
गर्न नसकेर मृत्यु भयो भने यो विकासको केही अर्थ रहँदैन।” |